बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लाको एकल महिलाले गरिन् प्रहरी चौकीलाई २२ लाखको जग्गादान

बिहीबार, २८ मङ्सिर २०७४, ०८ : ४७
बिहीबार, २८ मङ्सिर २०७४

जुम्ला - जुम्लाको सिंजा क्षेत्रकी एक स्थानीय एकल महिलाले प्रहरी चौकी गुठिज्यूलालाई रु २२ लाख बराबरको जग्गादान गरेका छन् । 

कनकासुन्दरी गाउँपालिका–५ का स्थायी निवासी देवीकन्या उपाध्यायले आफ्ना स्वर्गीय पति लक्ष्मीनारायण उपाध्यायको सम्झनामा जग्गादान गरेका हुन् । 

नाग्म–मुगु–गमगढी राजमार्गसँग जोडिएको ६४५ वर्गमिटर क्षेत्रफलको जग्गा तीनै छोराको सहमतिमा प्रहरी चौकीलाई निःशुल्क प्रदान गरिएको माइला छोरा मच्छिन्द्रप्रसाद उपाध्यायले बताए । 

देवीकन्याले छोरा पृथ्वीनारायण, मच्छिन्द्र र धनन्जय उपाध्यायसहितको सहमतिमा जग्गा उपलब्ध गराएको बताए । छोरा मच्छिन्द्रले बुबाको सम्झना इतिहासका थुप्रै कालखण्डमा रहिरहोस् भनेर बिनास्वार्थ आफूहरुले जग्गादान गरेको यद्यपि स्मृतिस्वरुप सानो सालिक निर्माण गर्न जिल्ला प्रहरी कार्यालय, जुम्लालाई अनुरोध गरिएको पनि बताए । 

लामो समयदेखि भाडाको भरमा काम गर्दै आएको गुठिज्यूला स्थायी प्रहरी चौकीलाई उपाध्याय परिवारले ६४५ वर्गमिटर जग्गा उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिए ।
उपाध्याय परिवारप्रति कृतज्ञता प्रकट गर्दै प्रनाउ दाहालले भने, “उपाध्याय परिवारले दिल खोलेर करिब रु २२ लाखको जग्गा चौकीलाई निःशुल्क प्रदान गरेको छ, यसका लागि हार्दिक धन्यवाद दिन चाहन्छु । 

आफ्नै भवन नहुँदा विभिन्न सास्ती खेप्दै आएको राजमार्ग छेउको यो प्रहरी चौकीको लागि अब भने आफ्नै भवन निर्माण गर्ने बाटो खुलेको उनले बताए । उपाध्याय परिवारको यो सहयोगको उच्च कदर गरिने उनको भनाइ छ । 

दर्जनभन्दा बढी प्रहरी चौकी भाडाकै घरमा 

इलाका प्रहरी कार्यालय, हाडसिंजा, जुम्लासहित यहाँका १४ वटा प्रहरी चौकी भाडाकै भरमा सञ्चालन हुँदै आएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । 

विभिन्न झञ्झटबाट मुक्त हुन अहिले आफ्नै जग्गाका लागि जिप्रका जुम्लाले अभियान थालेको छ । १४ प्रहरी चौकीमध्ये कनकासुन्दरी–५ स्थित गुठिज्यूला प्रहरी चौकीले भवन बनाउने अवसर मिलेको बताएको छ । 

प्रहरी नायब उपरीक्षक डा दाहालका अनुसार गुठीचौर गाउँपालिकाको मणिसाँघु र तातोपानी गाउँपालिकाको ताम्ती प्रहरी चौकीका लागि जग्गाको पहल भइरहेको छ । हाल निःशुल्क जग्गा प्राप्त गरेको गुठिज्यूला प्रहरी चौकी सिंजाको सिरान र रारातालको बेसक्याम्पका रुपमा मानिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप