शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यसकारण मधेशमा पसेन वामगठबन्धनको ‘हुरी’ !

बुधबार, २७ मङ्सिर २०७४, १७ : ५९
बुधबार, २७ मङ्सिर २०७४

काठमाडौं । देशभर बामगठबन्धनले अप्रत्याशित जित निकाल्दा पनि तराई–मधेशका आठ जिल्लामा भने सोचेजस्तो नतिजा पाउन सकेन । यसका पछाडि के कारणले काम गरेको छ ?

वामगठबन्धनले दुई नम्बर प्रदेशमा रहेको ३२ वटै प्रतिनिधिसभा सीटमा उम्मेदवारी दिएको थियो । तर, सातवटा सीत मात्र हात पार्न सक्यो ।

त्यसको मुख्य कारणमा मधेश आन्दोलन मानिएको छ । लामो समयसम्म चलेको मधेश आन्दोलनका कारण सबैभन्दा बढी प्रभाव वामगठबन्धनलाई पर्यो ।

पहिलो मधेश आन्दोलनपछि २०६४ मा भएको सविधानसभा चुनावमा काँग्रेसको हालत यस्तै भएको थियो । त्यतिबेला माओवादी पहिलो र एमाले दोस्रो तथा काँग्रेस तेस्रो भएको थियो ।

दोस्रो सविधानसभा चुनावमा मधेशी दल आन्दोलनमा नहुँदा काँग्रेस पहिलो भयो र माअ‍ेवादी तेस्रोमा झर्यो । यो तेस्रो मधेश आन्दोलनपछि भएको चुनावमा वामगठबन्धनलाई असर गरेको छ । एमालेले दुईटा र माओवादी केन्द्रले पाँचवटा सीट मात्र ल्याएको थियो ।  

किन जितेन बामगठबन्धनले ?

‘मधेशमा वामगठबन्धन कहिल्यै बलियो थिएन’ मधेश राजनीतिकको विश्लेषक तुलानारायण साह भन्छन्, ‘वामगठबन्धनमा रहेका दलहरु मधेशमा कहिल्यै बलिया थिएन र अहिले जुन अवस्था आएको छ, त्यो मधेश आन्दोलनको कारणले नै भएको हो ।’

मतदाताले यसपटक सविधान संशोधन कि कार्यान्वयन दुईटा कुरालाई बढी ख्याल गरेर मतदान गरेको साहको विश्लेषण छ ।

विश्लेषकहरुका अनुसार मधेश आन्दोलनमा एमालेको भूमिकाप्रति मधेशी जनता सकारात्मक देखिएका थिएनन् । र, त्यस अवस्थामा माओवादी केन्द्रसँग वाम गठबन्धन बनाएर चुनावमा गएपछि त्यसको असर दुवै दललाई परेको देखिन्छ ।

विश्लेषकहरु मान्छन् कि, ‘एमालेप्रति मधेशी जनताको नाकारात्मक सोच त छँदै थियो । त्यस अवस्थामा एमालेसँग माओवादी केन्द्रले गठबन्धन बनायो । माओवादी केन्द्रले एमालेसँग गठबन्धन बनाएपछि मधेशी जनता माओवादीप्रति नकारात्मक बन्न पुग्यो र त्यसैको नतिजा हो अहिलेको निर्वाचन परिणाम ।’

स्थानीय तहको चुनावमा एमाले र माओवादी केन्द्र अलग–अलग चुनाव लडेको थिए । त्यही भएर एमाले भन्दा माओवादीको परिणाम राम्रो आयो । तर, प्रतिनिधि तथा प्रदेशसभाको चुनावमा संयुक्त चुनाव लड्दा जित्ने ठाउँमा पनि माओवादी हारेको उनीहरु मान्छन् ।

स्थानीय तहको चुनावमा एमाले र माओवादी केन्द्रले पाएको मतलाई हिसाब गर्ने हो भने दुई नम्बर प्रदेशमा मात्र १६–१७ वटा सीट जित्ने अबस्था थियो । तर, स्थानीय चुनावको प्याटर्नले केन्द्रको चुनावमा काम गरेन ।

स्थानीय तहको चुनावमा स्थानीय मुद्दाले बढी काम गरेको थियो भने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा केन्द्रीय एजेण्डाले काम गरेको छ । त्यसकारणले यी दुई चुनावको मत यतिको अन्तर भएको विश्लेशषक तुलानारायण साहकको दावी छ । उनका अनुसार स्थानीय तहको चुनावमा सविधान संशोधन मुख्य मुद्दा बनेको थिएन, यो प्रतिनिधि तथा प्रदेशसभाको चुनावमा सविधान संशोधन मुख्य मुद्दा बन्यो ।

‘सविधान संशोधनमा जुन दलले जति सकारात्मक देखियो । त्यो दलले त्यति नै मत पाएको छ । मधेशवादी दलले चुनावमा सविधान संशोधनलाई मुख्य मुद्दा बनाएको कारणले यतिको सीट ल्याएको छन’ दुई नम्बर प्रदेशमा भएको चुनावलाई नजिकबाट नियालेका पत्रकार एवं प्रध्यापक विजय मिश्र भन्छन्, ‘सविधान संशोधनको मुद्दालाई जसले जति बेचे त्यसले त्यति मत प्राप्त गरे ।’

उनी भन्छन्, ‘मधेशमा वामगठबन्धन पहिलादेखि कमजोर थियो, यदि कमजोर नभएको भए काँग्रेसका पुराना नेता सुरेशचन्द्र दास यादवलाई वामगठबन्धनबाट टिकट किन दिनुपथ्र्यो ? मधेशको मागप्रति एमाले सकारात्मक नभएको कारण त्यसको नतिजा आज यस्तो भएको हो ।’

६–६ महिनासम्म आन्दोलन गर्दा सविधान संशोधन हुन सकेन । त्यसको दोषी एमाले नै हो भन्ने प्रचार मधेशमा भएको थियो । त्यसको परिणाम स्थानीय तहको चुनावमा पनि देखाएको थियो । प्रतिनिधि तथा प्रदेशसभामा माओवादी केन्द्रले सविधान संशोधन हुन नदिएको एमालेलाई साथ दिएको भन्दै मतदाताले माओवादीलाई पनि पाठ सिकाएको विश्लेषकहरु मान्छन् ।

सविधान संशोधनमा लागेका थियो माओवादी केन्द्र । तर, चुनावको समयमा मधेशवादी दलले वामगठबन्धनले सविधान संशोधन हुन नदिएको प्रचार गरे । चुनावका समयमा दुई नम्बर प्रदेशमा मधेशी नेताहरु काँग्रेसभन्दा वामगठबन्धनप्रति बढी आक्रमक देखिएका थिए ।
 
मधेशबादी दललाई काँग्रेसभन्दा वाम गठबन्धन बढी चुनौतिपूर्ण थियो । जहाँ पनि मधेशी दलको प्रतिस्पर्धामा वाम गठबन्धन नै देखिन्थ्यो । त्यहीँकारण भएर उनीहरु योजनावद्ध तरिकाले वाम गठबन्धनको विरोधमा लागेको थियो ।

मधेशी दलमा शीर्ष नेताकै कुरा गर्ने हो भने राजेन्द्र महतोबाहेक सबैका चुनौति वामगठबन्धन नै थियो । सप्तरीमा उपेन्द्र यादवका लागि वामगठबन्धनका उमेश यादव, सिरहामा राजकिशोर यादवका लागि वामगठबन्धनका अजय शंकर नायक, महोत्तरीमा महन्थ ठाकुरका लागि वामगठबन्धनका विजय चौधरी, शरतसिंह भण्डारीका लागि वामगठबन्धनका कासिम नदाफ, सर्लाहीमा महेन्द्रराय यादवका लागि वामगठबन्धनका दिनेश यादव, रौतहटमा अनिल झाका लागि वामगठबन्धनका सत्यनारायण भगत चुनौति बनेका थिए ।

मधेशवादी दलले सविधान संशोधनमा वामगठबन्धन बाधक रहेको प्रचार गरे नै । त्यसबाहेक वामगठबन्धनको सरकार निर्माण भयो भने प्राप्त उपलब्धी पनि गुम्नेछ भनि प्रचार गरेको थिए । वामगठबन्धनले दुई तिहाई बहुमत ल्याएर सविधान संशोधन गरि देशमा अधिनायकवाद ल्याउने प्रचार पनि उनीहरुले गरेका थिए ।

वामगठबन्धनका बारेमा मधेशवादी दलका नेताहरुले प्रचार गरेर मधेशका मतदातालाई आफ्नो अनुकल बनाउने कोषिश गरेका थिए ।

दल पनि दोषी

चुनावको समयमा वाम गठबन्धनका कुनै पनि शीर्ष नेताहरु दुई नम्बर प्रदेशमा चुनाव प्रचारका लागि गएनन् । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पटक पटक दुई नम्बर प्रदेशका विभिन्न जिल्लामा गएर चुनावी सभा गरे तर वामागठबन्धनका कुनै पनि शीर्ष नेताहरु त्यहाँ पाइला टेकेको छैन ।

जब कि स्थानीय चुनावमा माआवादी केन्द्रका अध्यक्ष प्रचण्डले मधेशमा पटक पटक गएर चुनावी भाषण दिएका थिए । एमालेले पनि त्यहाँ आफ्ना सबै शीर्ष नेतालाई केन्द्रीत गरेको थियो ।

मधेशी दलको विरोधका कारण एमालेका  अध्यक्ष केपी शर्मा ओली मधेश झर्न डराए । तर, प्र्रचण्डलाई त्यो समस्या थिएन । तैपनि वामगठबन्धनको तर्फबाट दुई नम्बर प्रदेशमा कुनै गतिविधि भएन ।

वामगठबन्धनका नेता ओली र प्रचण्डले दुई नम्बर प्रदेश अन्य प्रदेशमा संयुक्त रुपमा आआफ्नो चुनावी भाषण दिएका थिए ।  

चुनावको समयमा आफ्नो क्षेत्रमा भेट भएका मातृका यादवले पार्टी नेतृत्वले दुई नम्बर प्रदेशप्रति ध्यान नदिएको गुनासो गरे ।

पार्टीका शीर्ष नेताहरु पनि चुनाव लडेका कारण चुनावी सभाका लागि समय दिन नसकेको होला भन्दै उनले संगठन निर्माणप्रति ध्यान नदिएको बताए ।     

र, अहिलेसम्मको नतिजा
 
 प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक भइसकेको छ ।

सर्वजनिक भएको नतिजा अनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमालेले ८०, माओवादी केन्द्रले ३६, काँग्रेसले २३, राजपा नेपालले ११ र फोरम नेपालले १०, नयाँ शक्ति पार्टी, नेपाल, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रले एक–एकवटा सीट हात पारेका छन् ।

प्रदेशसभाको प्रत्यक्षतर्फ एमालेले १६८, माओवादी केन्द्रले ७३, काँग्रेसले ४१, फोरम नेपालले २४, राजपा नेपालले १६, स्वतन्त्रले ३, नयाँ शक्ति पार्टी नेपालले २, राष्ट्रिय जनमोर्चाले २, नेपाल मजदुर किसान पार्टीले १ वटा सीट हात पारेका छन् ।

यो देशभरिको तथ्यांक हो । देशभरिको तथ्यांक अनुसार वाम गठबन्धन सबैभन्दा अगाडि देखिएको छ । तर नेपालको राजनीतिकमा महत्वपूर्ण रुपमा हेरिएको दुई नम्बर प्रदेशमा वाम गठबन्धन निकै कमजोर देखिएको छ ।

दुई नम्बर प्रदेशमा रहेको ३२ वटा प्रतिनिधिसभामध्ये ७ वटा सीट मात्र वामगठबन्धनले जितेको छ ।  त्यसमा माओवादीले पाँच सीट जितेको छ भने एमालेले दुईटा सीटमा चित्त बुझाउन बाध्य भएको छ ।

सप्तरी, बारा र पर्सामा वामगठबन्धनलाई शुन्य हात लागेको छ भने सिरहामा चारमध्ये एउटा एमाले र अर्को माओवादी गरि दुईटा सीट जितेको छ भने धनुषामा पनि एउटा माओवादी र अर्को एमालेले जितेको छ ।

महोत्तरीमा चारसीट मध्ये माओवादीले एउटा सीट मात्र हात परेको छ । सर्लाही र रौतहटमा पनि एउटा–एउटामा मात्र चित्त बुझाउनु परेको छ । बरु काँग्रेस एक्लैले पनि छवटा सीट जितेको छ । सप्तरी, सिरहा, सर्लाही र बारामा एउटा–एउटा सिट जितेको छ भने रौतहटमा दुईटा सीट जितेको छ ।

दुई नम्बर प्रदेशमा वामगठबन्धनले १५–७ वटा सीट जित्ने आँकलन गरेको थियो भने काँग्रेसले ७–१० र मधेशवादी दलले ८–११ वटा सीट जित्ने आँकलन गरिएको थियो । तर, परिणाम आउँदा त्यसको ठिक उल्टो भयो । बरु काँग्रेसका लागि गरिएको आँकलन ठिक भयो तर वामगठबन्धन आधामा गएर झरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप