शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जलवायू परिवर्तनको मुद्धा विश्वको लागि चूनौती बन्दै, जुट्ला सहमति ?

बुधबार, २७ मङ्सिर २०७४, १५ : ३१
बुधबार, २७ मङ्सिर २०७४

–लरेन्स टुवियाना 

एजेन्सी- फ्रान्सका तत्कालिन विदेशमन्त्री लरेन्ट फेबिअसले करिब दुई बर्ष पहिले जलवायु सम्बन्धि पेरिस सम्झौता स्वीकृत भएको घोषणा गरे । यसै बिषयमा आगामी हप्ता राष्ट्रपति इमानुयल म्याक्रोँ तथा फ्रान्स सरकारले सरकारी तथा जलवायु सम्बन्धमा गैर सरकारी संघसंस्थामा काम गर्दै आएका विश्वका नेताहरूलाई एक कार्यक्रमबीच स्वागत गर्दै छन् । यो भेलाको उद्देश्य सन् २०१५ पछि वातावरण परिवर्तनका सम्बन्धमा भएका उपलब्धिको मुल्याङ्कनबारे छलफल गर्ने र प्राप्त सफलतालाई राजनीतिक तथा आर्थिक सहयोग प्रदानगर्दै लक्ष्यमा पुग्नका लागि आगामी दिनमा गर्नुपर्ने योजनाको निर्माण गर्ने हुनेछ । 

पेरिस जलवायु सम्झौतालाई अन्तर्राष्ट्रिय वातावरण संरक्षण र सहकार्यका लागि सफल विश्वका कैयौं राजनीतिक तथा सामाजिक शक्तिद्वारा अघि सारिएको एक ऐतिहासिक अन्तर्राष्ट्रिय साहसिक पहलका रूपमा लिने गरिन्छ । स्मरणीय कुरा के छ भने एकसयभन्दा बढी देशको समूह, जसलाई ‘उच्च महत्वाकांक्षी गठवन्धन’ भनिन्छ, ले सम्भौतालाई सन् २०१५ को संयुक्त राष्ट्रसङ्घ जलवायु परिवर्तन सम्बन्धि सम्मेलनको अन्तिमतिर अन्तिम रूप दिइएको थियो । 

जलवायु सम्झौता सम्बन्धि बिषयमा मिलेको सफलतामा महत्वाकांक्षी गठबन्धनको आवश्यकता आज पनि छ भन्ने पुष्टि भएको छ । किनकि विश्वका नेताहरूको मजबुत पहलमा दुई बर्ष पहिले वातावरण परिवर्तनका एजेन्डामा कुटनीतिक विजय भएको हो । अब त्यो प्रतिवद्धतालाई काममा वदल्न नयाँ आर्थिक तथा राजनीतिक सहकार्य (गठबन्धन) को खाँचो छ । 

पेरिस सम्झौतामा मिलेको कुटनीतिक सफलता आफ्नो ठाउँमा प्रशंसनीय छ । यो जलवायु परिवर्तनको नियन्त्रण प्रयासमा भएको उल्लेखनीय प्रगति थियो । तर हामी उक्त सफलताको प्रशंसामा मात्र भुल्नु कदापि हुँदैन । ग्रीन हाउस ग्यास उत्सर्जनमा ठूलो भूमिका खेल्ने अमेरिका सम्झौताप्रति उदासिन देखिएपनि बाँकी विश्वले कार्बन डाइअक्साइड उत्सर्जनमा कमी ल्याउन प्रयाप्त काम गर्न जरुरी भएको छ ।

यसका लागि नाटकीय, सार्थक एवम् तत्काल कदम चाल्न जरुरी छ । पेरिस सम्झौताको लक्ष्यअनुसार विश्वव्यापी तापक्रम बृद्धिलाई दुई डिग्रीभन्दा तलराख्न आगामी तीन बर्षभित्रमा काम शुरु गर्नुपर्ने हुन्छ । आधुनिक विज्ञानले वातावरणीय प्रभावका बारेमा अनुमान गर्न नसकेका बिषयहरूलाई पृथ्वीमा देखिने अस्वभाविक आँधी, बाढी, डढेलो र खतरनाक खडेरीले सङ्केत गर्न थालेका छन् । अगाडि देखिएका वा तत्काल देखिनसक्ने चुनौतिलाई कसरी बचाउन सकिन्छ तत्काल समाधान खोज्ने वेला आएको छ । 

पैसाले खोज्न सकिने र अन्तर्राष्ट्रिय सम्मेलनले खोज्ने समाधान भनेको जलवायु परिवर्तन गराउने प्रदुषणको कमी गर्न सार्वजनिक तथा निजी लगानीका आयोजनामार्फत काम शुरु गर्नु हो । सम्मेलनमा ‘जलवायु लगानी दिवस’ का अवसरमा अन्तर्राष्ट्रिय कम्पनी, वैंक, लगानीकर्ता, तथा राष्ट्रहरूले कार्बनबाट स्वतन्त्र भविष्यका लागि पर्ने ठूलो वजेटको व्यवस्थाको लागि घोषणा गर्नेछन् । 

खाली वाचाले भेलामा स्थान पाउने छैनन् । योजनाका लागि चाहिने वास्तविक बजेट र वाचा छलफलका एजेन्डा बन्नेछन् । जसका कारण जलवायु परिवर्तनसँग जुध्न भएको पहलले सार्थक पहलका लागि करोडौँ डलरको बजेट उठ्ने विश्वास लिइएको छ । रकममध्ये प्रशस्त बजेट नवीकरणीय उर्जा योजना, सफा यातायात, कृषि, आधारभूत भौतिक संरचना र शहरी व्यवस्थामा खर्चिने छ । यसरी उठ्ने बजेट विश्वव्यापी तापक्रम वृद्धिमा सम्वेदनशील प्रभाव पारेका समुदायको सुरक्षाका लागि पनि छुट्टाइने छ । 

आगामी हप्ता हुने ‘वन प्लानेट समिट’ विश्व सम्मेलन संसारभरका निजी सङ्घसंस्था, कम्पनी र राष्ट्रहरूका लागि बस्तुपरक रणनीति बनाउन र अवशेषजन्य इन्धनबाट वैकल्पिक उर्जाको प्रयोगका लागि एक अवसर बन्नेछ । क्यानडा र बेलायतको नेतृत्वमा जर्मनीको बोनमा गत महिना भएको राष्ट्रसङ्घीय जलवायु वार्ताले विद्युत निर्माणमा कोइलाको प्रयोगलाई हटाउने योजनाको घोषणा गरिसकेको छ । जसअनुसार बेलायतले १ सय ३५ बर्ष पछि कोइलाको प्रयोगलाई हटाउने छ । 

पेरिसमा हुने भेलाले थप राष्ट्रलाई विद्युतमा कोइलाको प्रयोगबाट बाहिर ल्याउने अवसर दिलाउने छ अर्थात् थप राष्ट्रले कोइलाको प्रयोगलाई हटाउने प्रतिवद्धता जाहेर गर्नेछन् । कोइलाबाट विद्युत उत्पादन हटाउने कार्यक्रम यत्तिमा सीमित नबनी यसले अवशेषजन्य इन्धनको प्रयोगलाई आगामी बर्षमा हुने अन्य सभा तथा सम्मेलनका एजेन्डा समेत बन्नेमा विश्वास लिइएको छ । 

आखिर छोटो समयमै पेरिस सम्झौताको तापक्रम नियन्त्रणको लक्ष्य सफल बन्ने देखिएको छ । सम्झौता भएको दुइबर्षमा नै विश्वका नेताहरू फेरि एक पटक पेरिसमा जम्मा हुने भएका छन् । यस पटक विगतमा भएका सम्झौतालाई शब्दमा मात्र नभई व्यवहारिक कार्यान्वयनतर्फ लाग्ने कुरामा लक्षित हुनुपर्छ ।

(राष्ट्रसङ्घ फ्रेमवर्क कन्भन्सन अन क्लाइमेट चेन्जका लागि फ्रान्सका पूर्व राजदूत लर्न्स टुविआना अहिले यूरोपियन क्लाइमेट फाउण्डेसनका कार्यकारी प्रमुख हुन् ।)  अनुवादः दिलीप शर्मा 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप