बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बहस : के सम्भव छ ‘वीपीको घर’ मा बाबुरामको ‘प्रवेश’ ?

बुधबार, २७ मङ्सिर २०७४, ११ : ५२
बुधबार, २७ मङ्सिर २०७४

काठमाडौं–समय थियो–मिति २०७४ कात्तिक २० गते । स्थान थियो, गोरखा नगरपालिकाको छेपेटार । नयाँशक्ति र कांग्रेसको संयुक्त चुनावी सभाको कार्यक्रम । नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई, नयाँ शक्तिकै नेतृ करिष्मा मानन्धर र काँग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे चाहिँ अथिति ।
 
भट्टराई, मानन्धर र पाण्डेले चुनाव अगाडि बोलेको कुरा अहिले पनि गोरखाका गाउँ गाउँमा चर्चामा छ र अलि अलि काठमाडौंमा पनि । गोरखाबाट नयाँ शक्तिका एक जना जिल्ला तहका नेताले फोनमा भने, ‘त्यसदिन नेताहरुले बोलेको कुरा, कति सम्भव होला ?’
 
चुनाव अगाडि बोलेको कुरा चुनाव नतिजा आएपछि पनि चर्चामा आउने गरी खासमा भट्टराई, मानन्धर र पाण्डेले के बोलेका थिए ? पहिला यो जानेपछि मात्र त्यसको सम्भावनावारे खोतल्न सहज हुनेछ ।


 
शुरुमा जानौँ, त्यसदिन नेताहरुले राखेको मत ।
 
चुनावी कार्यक्रममा करिष्माले गोरखा पुगेपछि काँग्रेसलाई हेर्ने देष्टिकोणमा परिवर्तन आएको बताएकी थिइन् । ‘काँग्रेसकाबारेमा मैले जे सोचेकी थिएँ, गोरखा आएपछि फरक पाएँ । काँग्रेस मैले सोचेँ भन्दा फरक पार्टी रहेछ । धेरै सहयोगी पार्टी रहेछ,’ यो थियो करिष्माको भनाई ।


 
करिष्मा बाबुरामको चुनावी प्रचारमा पटक–पटक गोरखा गएकी थिइन् । चुनाव जितेपछि पनि विजयी र्यालीमा सहभागी बन्न उनी गोरखा पुगेकी थिइन् । करिष्मालाई नयाँ शक्तिले समानुपातिकतर्फ एक नम्बरमा नाम राखेको थियो ।
 
करिष्मापछि बोलेका थिए, काँग्रेस नेता सुरेन्द्र पाण्डे । पहिला करिष्मालाई जवाफ दिए र पछि बाबुरामलाई स्वागत गर्न चाहेको बताए । करिष्मालाई जवाफ दिदै पाण्डेले भनेका थिए, ‘करिष्माले भनेजस्तै काँग्रेस अरुले सोचे भन्दा फरक छ । गोरखा आएर उहाँले थाहा पाउनुभयो । काँग्रेसवारे मानिसले अलि पछि थाहा पाउँछन् । कुनै समय डा सा’वसँग मन नमिले तपाईं काँग्रेस पार्टीमा आउनुहोला । यहाँलाई काँग्रेसमा स्वागत छ ।’
 
काँग्रेस नेता पाण्डे यतिमा मात्र सीमित भएनन् र बाबुरामलाई काँग्रेसमा स्वागत गर्न चाहेको बताए । पाण्डेले बाबुरामको ‘माओवाद’ र ‘कम्युनिस्ट विचार’ प्रति दृष्टिकोण बदलिएको ठान्दै काँग्रेसले स्वागत गर्न चाहेको बताएका थिए ।

याे पनि पढ्नुहाेस्

टिप्पणी : अब ओली–प्रचण्डबाट के खतरा ?

 
उनले भनेका थिए, ‘बाबुरामजीलाई हिजो माओवाद ठीक थियो भन्ने लागेको थियो, कम्युनिस्ट आवश्यक छ भन्ने लागेको थियो र त्यसमा लाग्नुभयो । आज त्यसको औचित्य सकिएको छ भनेर नयाँ शक्तिमा लाग्नुभएको छ, त्यो ठीक छ । बाबुरामजी अब कांग्रेसलाई नयाँ शक्ति बनाउनुस्, तपाईंलाई स्वागत छ । ठूलो पार्टी कांग्रेसलाई नयाँ शक्ति बनाउन भूमिका खेल्नुस्, त्यसमा मेरो पनि साथ रहन्छ ।’
 
बाबुरामलाई काँग्रेसमा स्वागत गर्न अगाडि पाण्डेले चुनावमा बाबुरामलाई जिताउन गोरखाका काँग्रेसका नेता कार्यकर्तालाई आग्रह गरेका थिए । पाण्डेले भनेका थिए, ‘जनयुद्धका घटना सम्झेर भए पनि आँखामा भोट हाल्नुहोला, यदि आँखामा भोट हाल्नुभएन भने अर्को (माओवादी नेता नारायणकाजी श्रेष्ठ) ले जित्छ र दुःख फर्किन सक्छ ।’


 
कांग्रेसको समर्थनमा गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा उम्मेदवार बनेका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईसँग वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ चुनावी मैदानमा उत्रेका थिए । र, अन्तिम चुनावी दौडमा बाबुरामले नारायणकाजीलाई हराए ।
 
काँग्रेस नेता पाण्डे बोलेपछि बाबुरामको पालो आयो । उनले पाण्डेलाई जवाफ दिँदै भने, ‘पूराना शक्तिहरु सकिएर नयाँ बन्नुपर्छ भनेकै हो, नयाँ परिस्थिति र सन्दर्भ अनुसार परिवर्तन हुनुपर्छ भनेर म लागेकै हो । कांग्रेस तयार छ भने म पनि तयार छु । अहिले नै त्यो बाटोमा लाग्न त मिल्दैन । चुनावपछि म तयार छु, तपाईँ वातावरण बनाउनुस् ।’
 
बाबुरामका थप भनाई थियो, ‘नयाँ शक्तिले बोकेको विचार आत्मसाथ गर्ने वातवरण बनाउनुहोस् । वीपीको मेलमिलापको नीति चित्त नबुझेर म कम्युनिष्ट विचारतिर लागेको हुँ । वीपीको कल्पना गरेको समाजवादी लोकतन्त्रमा फर्कनुहोस् । प्रत्यक्ष कार्यकारीणी, पूर्ण समानुपातिक संसद र नवउदरवादी अर्थनीतिमा पुनर्विचार गर्नुपर्छ । यसो भयो भने अगाडि बढन सजिलो हुन्छ ।’
 
अहिले गोरखामा काँग्रेस र नयाँ शक्तिका नेता–कार्यकर्तावीच चियागफ हुने प्रसंग हो, ‘काँग्रेस नेता पाण्डेले बाबुरामलाई काँग्रेसमा स्वागत गर्न चाहेको र बाबुरामले वातावरण बनाउन भनेको ।’
 
र, हामीले यहाँ बहस गर्न खोजेको विषय हो, ‘के काँग्रेस र नयाँ शक्तिवीचको एकता सम्भव छ ? के बाबुराम काँग्रेसमा जान सम्भव छ ?
 
औपचारिक रुपमा काँग्रेस र नयाँ शक्तिवीचको एकताको विषय प्रवेश कतै भएको छैन । तर, दुई चरणमा भएको प्रतिनीधिसभा र प्रदेशसभा चुनावको परिणामले चाहिँ काँग्रेस र नयाँ शक्ति दुवैलाई झस्काएको छ ।
 
बामगठबन्धनले जर्वजस्त जित निकालेको छ र विपक्षी गठबन्धन रक्षात्मक अबस्थामा पुगेको छ । यस्तोमा राजनीतिक र प्राविधिक दुवै कारणले काँग्रेस र नयाँ शक्तिवीचको एकता सम्भव पनि हुन सक्छ ।
 
हुन त काँग्रेस र नयाँ शक्तिवीचको एकता त्यति सजिलो कोर्स होइन । तर, राजनीतिमा असम्भव भन्ने केही हुँदैन ।


 
केही कारणहरु हुन सक्छन्, जसले काँग्रेस र नयाँ शक्तिलाई एकै ठाँउ ल्याउन सक्छ ।
 
चुनावमा अप्रत्याशित ठूलो हारको सामना गरेको काँग्रेसले अव संसदको विपक्षी वेञचमा बसेर राजनीति गर्नुपर्नेछ । केन्द्रदेखि प्रदेशसम्ममा बामकै सरकार बन्ने छ । दुई नम्वर प्रदेशमा मधेशवादीदलसँग मिलेर सरकारमा बस्ने सुविधा काँग्रेसलाई हुन सक्छ ।
 
काँग्रेसका धेरै नेता, जो संसदमा राष्ट्रिय मुद्दामा अर्थपूर्ण बहस गर्न सक्थे, उनीहरुले चुनाव हारेका छन् । यस्तोमा बाबुरामजस्तो नेता पाउनु काँग्रेसका लागि ठूलो मुद्दत हुन सक्छ, जसले सडकदेखि सदनसम्म पार्टीका एजेन्डा, राष्ट्रिय महत्वका विषय, अर्थराजनीति र अन्तराष्ट्रिय सम्बन्धमा दखल राख्छन् ।
 
काँग्रेसकै सहयोगमा चुनाव जितेका कारण काँग्रेस नेता–कार्यकर्ताले बाबुरामलाई ‘टाढा’ को नेता नठान्न सक्छन् । काँग्रेसको नेतृत्व ‘संकट’  मा बाबुरामको उपस्थिति अर्थपूर्ण हुन सक्छ ।
 
एकातिर काँग्रेसका लागि बाबुराम संसदका ‘पोस्टर व्याय’ हुन सक्छन् भने अर्कोतिर बाबुरामका लागि पनि आगामी राजनीति बाटो तय गर्ने परिस्थिति आउन सक्छ । नयाँ शक्तिले यसपाली राष्ट्रिय पार्टी बन्ने र अर्कोपटक देशको नेतृत्व लिने कल्पना गरेको थियो । तर, प्रत्यक्षतर्फ बाबुरामले जित निकालेपनि राष्ट्रिय पार्टी बन्न समानुपातिक तर्फ चाहिने ३ प्रतिशत मत ल्याउन नयाँ शक्तिले नसक्ने देखिएको छ ।
 
यस्तो अबस्थामा बाबुराम स्वतन्त्र संसदको हैसियतमा बस्नुपर्नेछ, यो उनका लागि र नयाँ शक्तिको राजनीतिक ‘ब्रान्डिङ’ का लागि त्यति धेरै अर्थपूर्ण हुनेछैन् । यस्तोमा बाबुरामले पनि उपयुक्त अवसरलाई ‘समात्न’ सक्छन् । तर, जतिसुकै घाइते हुँदा पनि हार नमान्ने उनको स्वभावले आफ्नो बाटोमा हिडिरहन पनि सक्छन् ।


 
असोज १७ गते एमाले, माओवादी र नयाँ शक्तिले चुनावी तालमेलसहित पार्टी एकताका लागि गठबन्धन बनाएका थिए । तर, टिकट वितरणलगायतका विषयमा उत्पन्न विवादले बाबुराम बामगठबन्धनको किक्ताबाट बाहिरिए । लगत्तै उनले काँग्रेससँग संवाद बढाए ।
 
काँग्रेसले लोकतान्त्रिक गठबन्धनमा स्वागत गर्यो र त्यहीँ गठबन्धनबाट चुनाव लडेका थिए बाबुराम । काँग्रेस र नयाँ शक्तिको गठबन्धन सफल बन्यो गोरखा र रसुवामा । रसुवामा काँग्रेसले जित्यो र गोरखा २ मा बाबुरामले । यद्यपी गोरखा १ मा चाहिँ काँग्रेस उम्मेदवार चिनकाजी श्रेष्ठले हारे । जवकि कैलाली र कपिलबस्तुका केही सिटमा काँग्रेस र नयाँ शक्तिवीचको तालमेल नहुँदा बाम गठबनन्धनको जित भएको छ ।
 
काँग्रेसभित्र केही यूवा नेताहरु छन्, जसले बाबुरामसँग निकटता राख्छन् । नयाँ शक्ति जन्मदा सहयोग गर्ने विनोद चौधरी अहिले काँग्रेसमा छन् ।
यी त भए प्राविधिक पक्ष । राजनीति सिद्धान्त र विचारमा हुन्छ । के काँग्रेस र नयाँ शक्तिवीच विचारात्मक रुपमा निकटता हुन सक्छ । सवैभन्दा महत्वपूर्ण प्रश्न चाहिँ यो हो ।
 
काँग्रेसले वीपीको समाजवाद र लोकतन्त्रलाई सवैभन्दा महत्वपूर्ण पाटो ठान्छ, जहाँ बाबुरामको मत मिल्न सक्छ, किनभने उनले उनले आफुलाई ‘पूर्ण कम्युनिष्ट’ नेताबाट बाम–लोकतान्त्रिकधारको नेता बनाएका छन् । यही जगमा उनले काँग्रेससँग चुनावी तालमेल गरेका थिए ।


 
बाबुरामलाई लागेको छ, काँग्रेसले वीपीको समाजवादीधार छाडेको छ । यो करेक्शन भए उनका लागि काँग्रेसमै बसेर काम गर्ने वातवरण बन्न सक्छ । वीपीको कल्पना गरेको समाजवादी लोकतन्त्रलाई आत्मसाथ गर्ने, कार्यकारी प्रमुखलाई स्वीकार गर्ने, पूर्ण समानुपातिक संसदलाई मान्ने र नवउदरवादी अर्थनीतिलाई सच्चाउने हो भने काँग्रेससँग अगाडि बढन सजिलो हुने बाबुरामको मान्यता छ ।
 
काँग्रेस यहाँ जान सक्छ कि सक्दैन, यो अर्को प्रश्न हो, तर चुनाव हारपछि काँग्रेसभित्र यसको समीक्षा हुन सक्छ । यसैका लागि काँग्रेसभित्र गगन थापादेखि भीमसेनदास प्रधानसम्मका नेताहरुले विशेष महाधिवेशनको माग गरेका छन् ।
 
जे उद्देश्य र सोचसहित नयाँ शक्ति स्थापना भएको थियो । नीतिगत रुपमा त्यसका मुल्य मान्यताहरु यथावत छन् । तर, बाबुरामका लागि सवैभन्दा ठूलो चिन्ताको विषय संगठन निर्माण भएको छ । संगठन झन् झन् कमजोर हुँदै जादा राजनीतिक जीवनको उत्तरार्धमा उनले कतै ‘सेफल्यान्डिङ’ गर्ने हुन कि भन्ने विकल्प पनि रहन्छ नै ।
बाबुराम नेतृत्वको नयाँ शक्तिको स्थापना २०७३ जेष्ठ ३० गते काठमाडौंको दशरथ रंगशालामा हज्जारौं संस्थापकहरुले सामूहिक सपथ गरेसँगैभएको हो । २०७२ असोज ३ गते जननिर्वाचित संविधानसभाले नेपालको संविधान (२०७२) जारी गरेसँगै देशमा लोकतान्त्रिक आन्दोलनको एउटा युग आधारभूत रुपमा अन्त्य भएकोले, नयाँ युगको कार्यभार पूरा गर्न एउटा विल्कूलै नयाँ र वैकल्पिक धारको दलको आवश्यकताअनुभूत गरी पार्टी स्थापना भएको सो पार्टीको दावी छ ।
 
वैकल्पिक सोचसहित जन्मिएको पार्टीलाई काँग्रेससँग एकता गराउँदा केही प्रश्नहरुको जवाफ दिन बाबुरामलाई कठिन हुन सक्छ । तर, उनी यो तहका राजनीतिक विचारक हुन्, जसले विषयवस्तुलाई आफ्नो अनुकुलतामा ब्याख्या गर्न सक्छन् ।
 
संसदीय लोकतन्त्रको ठाउँमा लोकतन्त्रको एक फरक ढाँचा ‘समानुपातिक–समावेशी सहभागितामूलक लोकतन्त्र’ मार्फत सुशासनको प्रत्याभूति दिलाई देशलाई मूलतः आर्थिक क्रान्ति, विकास र समृद्धिको मार्गमा अग्रसर गराउनुलाई यो पार्टी स्थापनाको मूख्य उद्देश्य मान्छ ।
 
‘उदार लोकतन्त्र’ र खुल्ला बजार अर्थतन्त्रको नाममा भएका अभ्यासहरुले असमानता, गरिबी, बेरोजगारी, वातावरणीय विनाशलाई झनै बढाएको नयाँ शक्तिको भनाई छ ।
आजको युग एकसाथ ‘उत्तर पूँजीवाद’ र ‘उत्तर राज्यसमाजवाद’को युग रहेको तथा राजनीतिक प्रणाली र अर्थतन्त्रको ढाँचा दुबै हिसाबले नयाँ मोडेलको खोजी र विकास गर्न नयाँ शक्ति जन्मिएको सो पार्टीको दावी छ । यही आधारमा यो पार्टीले एकैसाथ ‘वाम’ र ‘लोकतान्त्रिक’ दुबै हुने अर्थात ‘वाम–लोकतान्त्रिक’ चरित्र लिएको थियो । यो चरित्रले नै काँग्रेससँग सहकार्य र एकताका लागि नयाँ शक्तिको ढोका खुला रहन सक्छ ।
 
देशलाई ५ वर्षभित्र अल्पविकसित देशहरुको समूहबाट बाहिर निकाल्ने, १५ वर्षभित्र मध्यम आयस्तर भएको देश बनाउने, २५ वर्षभित्र विश्वका विकसित मुलुकहरुको
हाराहारीमा समृद्धि हासिल गर्ने संकल्प नयाँ शक्तिले आफ्नो पहिलो संकल्प मानेको छ । काँग्रेसले पनि आफ्नो चुनावी घोषणापत्रमा लोकतन्त्रसहित विकास र समृद्धिको नारा अगाडि सारेको छ ।
 
आदिवासी जनजाति, खस–आर्य र मधेसी–थारु, यी तीन जातीय क्लष्टर र महिला, दलित, मुस्लिम लागयत अन्य समुदायको समानुपातिक सहभागिता, प्रतिनिधित्व, पहुँच र एकताबाट इन्द्रेणी राष्ट्रियताको प्रवद्र्धन गर्ने नयाँ शक्ति पार्टीको दोस्रो संकल्प छ । काँग्रेस र बामले अगाडि सारेको राष्ट्रियताको मुद्दामा नयाँ शक्तिको असन्तुष्टि छ ।
 
मुलुकमा सुशासन कायम गर्ने तथा राष्ट्रको स्वाधीनतालाई अखण्ड राख्ने यसको तेस्रो र चौथो संकल्प छन् । यसरी लोकतान्त्रिक पद्धतिमा आधारित समाजवाद अर्थात ‘समुन्नत समाजवाद’ मुलुकमा स्थापना गर्नु नयाँ शक्ति पार्टी, नेपालको मूल अभिष्ट हो । यी विचारहरुलाई यो पार्टीले पार्टीले ५‘स’मा अभिव्यक्त गरेको छ । यी पाँच मान्यताको आधारभूत सम्बोधनले बाबुरामको वीपीको घरमा जाने बाटो खुला गर्न सक्छ ।
 
यसबाहेक अर्कोपक्ष पनि छ । स्थानीय तह, प्रतिनीधिसभा र प्रदेशसभाको चुनावी परिणामले दिएको सन्देशलाई लिएर नयाँ शक्तिभित्र दुई थरी बहस छन् । एउटापंक्तिले अव सवै वैकल्पिक शक्ति र साना पार्टीहरु मिलेर तेस्रोधार निर्माण गर्न सुझाएको छ ।
 
र, अर्कोपंक्तिले चाहिँ लोकतान्त्रिक समाजवाद स्वीकार गरेको काँग्रेससँग मिलेर जान सकिने विकल्प अगाडि सारेको छ । राजनीतिक पृष्ठभूमिका नेताहरु यो धारमा छन् । बाबुरामको बुझाईमा उनीप्रति माओवादी केन्द्रका नेताहरु निकै अनुदार छन्, यस्तो अबस्थामा बामगठबन्धनमा सहकार्य सजिलो छैन । यद्यपी केपी ओलीको ठोस अग्रसरता हुँदा यो कोर्स पनि एउटा विकल्प हुन सक्छ ।


 
तर, बाबुराम आफैले चाहिँ अर्को चुनावसम्ममा वैकल्पिक धार बनाउने दावी गरेका छन् । उनले चुनावपछि वीवीसी नेपाली सेवासँगको कुराकानीमा भनेका छन्, ‘हामी कुनै गठबन्धनमा छैनौँ । हामी बामगठबन्धमा पनि जाँदैनौँ । लोकतान्त्रिक गठबन्नधमा पनि जाँदैनौँ । मुद्दाका आधारमा सहकार्य हामी जो कसैसँग पनि गर्छौँ । हामीले अहिले काँग्रेससँग चुनावी तालमेल गरेको हो । हाम्रो विश्वास के छ भने पुरानो शक्तिहरुले गठबन्धन बनाएर एउटा शक्तिले चुनाव जितेको छ ।

उसले सरकार चलाओस् । हाम्रो बुझाई के छ भने हाम्रो देशको जुन राष्ट्रिय विविधता छ, हिमाल, पहाड, तराई–मधेशको विविधता, भूराजनीतिक जटिलता, अन्त्यन्तै पिछडिएको आर्थिक अबस्था, यसलाई विल्कुल नयाँ ढंगले सम्बोधन नगरेसम्म समस्या सम्बोधन हुँदैन । त्यसो भएकाले अर्को चुनावसम्म जनताले विकल्प खोज्छ र त्यसका लागि हामी तयार छौँ ।’

बाबुरामले गोरखामा चुनाव जितेपछि भने, ‘सवै नेपालीले घर नबनाएसम्म म भाडाकै घरमा बस्छु ।’ तर, राजनीतिक रुपमा मर्मत गरेर वीपीको घरमा जालान ? यो अवको केही समय बहसमा प्रश्न हुन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेत्र पन्थी
नेत्र पन्थी
लेखकबाट थप