शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

क्रिकेट र बलिउडको ‘लभ कनेक्सन’

मङ्गलबार, २६ मङ्सिर २०७४, १६ : २७
मङ्गलबार, २६ मङ्सिर २०७४

मुम्बई । लामो समयदेखि एक अर्कालाई डेट गरिरहेका क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मा अन्ततः विवाह बन्धनमा बाँधिएका छन् ।

दुई जनाको भेट सन् २०१३ मा भएको थियो । त्यसयता उनीहरुको प्रेमको चर्चा चलेको थियो ।

सन् २०१४ मा इन्डियन प्रिमियर लिगको खेलका दौरान दर्शकदीर्घामा बसेकी अनुष्कालाई विराटले मैदानबाट ‘फ्लाङ्ग किस’ दिए पछि उनीहरुको सम्बन्धको पुष्टि भएको थियो ।

त्यसपछि दुवै कयौँ पटक सार्वजनिक कार्यक्रममा सँगै देखिए । अन्त्यमा ११ डिसेम्बर २०१७ मा पूरा रुपमा एकअर्काको भए ।

तर, क्रिकेट र बलिउडको मिलन भएको यो पहिलो पटक भने होइन । विराट–अनुष्काअघि पनि कयौँ क्रिकेटर र अभिनेत्रीहरुको प्रेमको किस्सा चर्चित थियो ।

युवराज सिंह–हेजल कीच
विराट–अनुष्का अघि सन् २०१६ को डिसेम्बरमा क्रिकेटर युवराज सिंहले मोडलबाट अभिनेत्री बनेकी हेजल कीचसँग विवाह गरेका थिए ।
गत वर्ष एक अन्तर्वार्तामा युवराजले हेजलसँग भेट्न तीन वर्षसम्म कोशिष गरे पनि हेजलले भाउ नदिएको खुलासा गरेका थिए । त्यसपछि दुई जनाको एउटै साथीले उनीहरुको भेट गराएका थिए ।

दुई जनाले २०१५ मा बालीमा इन्गेजमेन्ट गरे र सन् २०१६ डिसेम्बरमा ४० किलोमिटर टाढा एक गुरुद्वारमा विवाह गरे । विवाह पछि हेजलका नाम गुरबसन्त कौर बनेको छ ।

जहीर खान–सागरिका घाटगे


तीव्र गतिका बलर जहीर खान र अभिनेत्री सागरिका घाटगेको विवाहको पनि खुब चर्चा भएको थियो । उनीहरुको प्रेमको हल्ला धेरै अघिदेखि चलेको थियो । दुवै जना युवराजको विवाहमा सँगै पुगेपछि उनीहरुको प्रेमको पुष्टि भएको थियो ।

सन् २०१७ को अप्रिलमा इन्गेजमेन्ट गरेका उनीहरुले २३ नोभेम्बरमा विवाह गरे ।

हरभजन सिंह–गीता बसरा


अफ स्पीनर हरभजन सिंह पनि गीता बसरामाथि क्लीन बोल्ड भएका थिए । गीता र हरभजनको प्रेमको बारेमा पनि लामो समय चर्चा थियो । तर, उनीहरुले यसलाई नकार्दै आइरहेका थिए । अन्ततः उनीहरुले २०१५ मा विवाह गरे । अहिले उनीहरुको एक छोरी पनि छ ।

मोहम्मद अजहरुद्दीन–संगीता विजलानी


भारतको पूर्व मिस इन्डिया संगीता विजलानी र भारतीय क्रिकेट टीमका पूर्व कप्तान र मोहम्मद अजहरुद्दीनको भेट सन् १९९० को शुरुवातमा भएको थियो । अजहर पहिले नै विवाहीत थिए र सँगै दुई छोरा पनि थियो । तर, संगीताका लागि उनले आफ्नो पहिलो पत्नीलाई सन् १९९६ मा सम्बन्धविच्छेद गरे । यद्यपि, दुई जना पनि सन् २०१० मा अलग भए ।

शर्मिला टैगोर–मन्सुर अली खान पटौदी
अभिनेत्री शर्मिला टैगोर र भारतीय क्रिकेट टिमका कप्तान रहिसकेका मन्सुर अली खान पटौदीको जोडी पनि यो सूचीमा आउँछ । दुई जनाको प्रेम कहानी कुनै चलचित्रभन्दा कम छैन । नवाब पटौदीले शर्मिलालाई मनाउन निकै पापड बेल्नुपरेको थियो ।

पटौदीले शर्मिलालाई चार वर्षसम्म पत्र लेखे र फूल पनि पठाए । उनले पेरिसको एक सडकमा शर्मिलालाई प्रपोज गरेका थिए । सन् १९६९ मा दुवैले विवाह गरे । सन् २०११ मा पटौदीको निधन भयो ।

उनको र शर्मिलाको तीन सन्तान छन् । जसमा सैफ अली खान र सोहा अली खान वलिउडमा छन् । 

विवियन रिचर्डस् र निना


अभिनेत्री निना र वेस्ट इन्डिजका आक्रमक ब्याटसम्यान विवियन रिचर्डसको सम्बन्धलाई लिएर निकै लामो समय बवाल मच्चिएको थियो । निनासँग उनको अफेयर शुरु हुँदा विवियन विवाहीत थिए । यो सम्बन्ध विवाहसम्म पुग्न सकेन । दुई जनाको सम्बन्धबाट मसबाको जन्म भयो । जसलाई निनाले पाले । आज मसाबा चर्चित फेशन डिजाइनर छिन् ।

मोहसिन खान–रीना राय
पाकिस्तानी क्रिकेटर मोहसिन खान र भारतीय अभिनेत्री रीना रायबीच प्रेमको चर्चा कुनै समय खुबै चलेको थियो ।

उनीहरुको प्रेम विवाहसम्म पुगे पनि लामो समय टिक्न सकेन ।

आफ्नो सम्बन्ध र परिवार टिकाउन चलचित्रबाट टाढा भइन् भने मोहसिन पनि क्रिकेटबाट टाढिए । तर, दुवैको सम्बन्ध लामो टिक्न सकेन र सम्बन्ध विच्छेद भयो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप