शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालद्वारा हङकङ पराजित

मङ्गलबार, २६ मङ्सिर २०७४, १५ : ४४
मङ्गलबार, २६ मङ्सिर २०७४


काठमाडौँ– थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि (यु–१६) इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ । थाइल्याण्डस्थित टेर्डथाई क्रिकेट क्लबमा ८३ रनको लक्ष्य पाएको नेपालले २४।१ ओभरमा छ विकेट गुमाएर लक्ष्य भेट्टायो । त्यसअघि टस जितेर ब्याटिङ गरेको हङकङले निर्धारित ३५ ओभरमा नौ विकेट गुमाएर ८२ रन बनायो । जितसँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । 

नेपालका लागि तृपराज दासले सवाधिक २७ रनको योगदान दिए । यस्तै राजन मगरले १७ तथा विशाल विक्रम केसींले ११ रन जोडे भने सुनिल भण्डारी ११ रनमा अविजित रहे । हङकङका नसरुल्ला रानाले तीन विकेट लिए । 

हङकङका लागि आयन शरद सेट्टीले सर्वाधिक २४ रन जोडे । कलहान चल्लुले १६ तथा आरुस भगवतले १२ रन बनाए । बलिङतर्फ नेपालका प्रतिस जिसीले तीन, अजयकुमार लोनियाले दुई तथा नारायण जोशी र निखिलकुमार सिंहले एक/एक विकेट लिए । नेपालले समूह चरणको अन्तिम खेलमा मंसिर २८ गते म्यानमारको सामना गर्नेछ । 

यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले आयोजक थाइल्याण्डलाई १३३ रनको अन्तरले पराजित गरेको थियो । आठ राष्ट्र सम्मिलित उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक थाइल्याण्ड, हङकङ र म्यानमार छन् भने समूह ‘बी’ मा मलेसिया, भुटान, चीन र सिंगापुर छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप