शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

परमाणु परिक्षणको तीन महिनापछि पनि किन जाँदैछ उत्तर कोरियामा भूकम्पको धक्का ?

सोमबार, २५ मङ्सिर २०७४, १६ : ४९
सोमबार, २५ मङ्सिर २०७४

प्योङयाङ । उत्तर कोरियाले गत सेप्टेम्बरमा परमाणु परिक्षण गर्दा कुटनीतिक क्षेत्रमा भूकम्प मात्र गएन, ६.३ म्याग्निच्युडको भूकम्पसमेत गएको थियो ।

त्यसयता लगतार रुपमा त्यस क्षेत्रमा पराकम्पहरु गइरहेका छन् । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार शनिबार दुई थप पराकम्प गएका छन् । यसले त्यहाँ जमिनमूनि वास्तवमा के हुँदैछ भन्ने प्रश्न खडा गरेको छ ।

परमाणु परिक्षणमा के भएको थियो ?

गत सेप्टेम्बर ३ मा उत्तर कोरियाले उत्तरपश्चिम क्षेत्रमा रहेको पुङ्ग्ये–री परिक्षणस्थलमा अहिलेसम्मकै शक्तिशाली परमाणु बम परिक्षण गरेको थियो ।

प्योङयाङले यसलाई हाइड्रोजन बम भनेर दाबी गरेको छ । यदी यो सत्य हो भने यो अणुबम भन्दा कयौँ गुणा शक्तिशाली हुनेछ ।

विशेषज्ञहरुले उक्त शक्तिशाली परिक्षणका कारण आसपासका पहाडहरुलाई समेत असर पुर्याएको हुनसक्ने बताएका छन् ।

किन आउँदैछ पराकम्प ?

युएसजीएसका अनुसार गत शनिबारको पराकम्प ‘रिल्याक्सेसन प्रक्रिया’ थियो । त्यसको तीव्रता २.९ र २.४ थियो ।

‘ठूलो परमाणु परिक्षण गर्दा पृथ्वीको सतह सर्दछ । त्यो आफ्नो पूरानो अवस्थामा फर्कन केही समय लाग्दछ । छैटौँ परमाणु परिक्षणपछि पराकम्पको संख्यामा कमी आएको छ,’ एक अधिकारीले रोयटर्ससँग कुरा गर्दै भने ।

‘पृथ्वीको सतह सर्नु’ भूकम्पको परिभाषासँग मिल्ने भएको हुँदा वैज्ञानिकहरु त्यति ठूलो मात्राको विष्फोट पछि केही महिनासम्म पराकम्प आउन सामान्य भएको बताउँछन् ।

‘६.३ म्याग्निन्युडको परमाणु परिक्षणपछि पराकम्प आउन कुनै आश्चर्यजनक विषय होइन,’ भूगर्भ विज्ञ रहेका डा. जस्चा पोलेट भन्छन् ।

यद्यपि, अमेरिकाको नभाडामा यस्तै शक्तिशाली परमाणु परिक्षण गर्दा निकै कम मात्रामा र कम तीव्रता भएका पराकम्प गएका थिए ।

के पराकम्पले परिक्षण स्थल ध्वस्त बनाउन सक्छ ?

गत सेप्टेम्बरको परिक्षण पछि परिक्षण स्थलमा उत्तर कोरियाले खनेको सुरुङ ध्वस्त हुने अनुमान गरिएको थियो । जियोफिजिस्टि मिका म्याककिननका अनुसार एक क्षेत्रमा जति धेरै उर्जा केन्द्रीत गरे त्यतिनै त्यो क्षेत्र अस्थिर बन्छ । ‘त्यहाँ धेरै परिक्षणहरु भइरहेको छ । जसको अर्थ त्यहाँ धेरै उर्जा केन्द्रीत भएको छ । त्यही भएर तनाव कम गर्न धेरै ढुंगाहरु टुक्रिने छ,’ उनले भनिन् ।

उनले केही सुरुङहरु भत्किएको संकेतहरु पनि पाइएको बताइन् । यो संख्या बढ्ने पनि उनको भनाई थियो ।

तर, सबै सुरुङ भत्किन्छ वा भत्किदैन भन्ने यकिन गर्न नसिकने उनले बताइन् । ‘यो वैज्ञानिक भन्दा पनि इन्जिनियरिङको समस्या हो,’ उनले भनिन् ।

पछिल्लो परिक्षणले उत्तर कोरियाको परिक्षण स्थलमा कति क्षति पुर्यायो भन्ने यकिन नभए पनि आगामी परिक्षण जमिनमूनि नभएर जमिन माथि गरिने संकेत उत्तरले दिइसकेको छ ।

के परमाणु परिक्षणले ज्वालामुखी विष्फोट गराउन सक्छ ?

पुङ्ग्ये–री परिक्षणस्थल नजिकै माउन्ट पायिक्टु नामक सक्रिय ज्वालामुखी रहेको छ । 

म्याककिननका अनुसार सिस्मिक तरङले ज्वालामुखी र त्यसको तल रहेको म्याग्मालाई हिर्काइरहेको छ । तर, यतिले ज्वालामूखी विष्फोट हुने खतरा नहुने उनी बताउँछिन् ।

ज्वालामुखी पछिल्लो पटक सन् १९०३ मा विष्फोट भएको थियो ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप