शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अव यसरी चुनिनेछन् नयाँ प्रधानमन्त्री

सोमबार, २५ मङ्सिर २०७४, १२ : ११
सोमबार, २५ मङ्सिर २०७४

काठमाडौं– निर्वाचन आयोगले आगामी पुष १० भित्र प्रतिनिधिसभा र प्रदेशसभातर्फको निर्वाचन परिणाम सार्वजनिक गर्नेगरी आफ्नो काम तिव्र बनाएको छ । प्रत्यक्षतर्फको नतिजासँगै समानुपातिकतर्फको मतगणना पनि जारी राखेकाले पुष १० भित्र दुवैतर्फको गणना सकेर राजपत्रमा प्रकाशित गर्ने आयोगको तयारी छ । 


आयोगका प्रवक्ता नवराज ढकालका अनुसार प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन २०७४ अनुसार समानुपातिक नियमावलीको धारा ४०, प्रतिनिधिसभा निर्वाचनको  धारा ६०, प्रदेशसभासदस्य निर्वाचनको ६० र निर्वाचन नियामावलीको धारा ४० अनुसार आयोगले आफ्नो प्रतिवेदन तयार पार्ने काम गरिहरेको छ । 


ती नियामावली अनुसार सवै निर्वाचनपरिणाम आइसकेपछि दलहरुले बन्दसूचिमा राखेकाहरुबाट आएको मतबाट समानुपातिक तर्फका संसद सदस्य तय गर्नेछन् । त्यसपछि नयाँ संविधान र नयाँ व्यवस्था अनुसार सरकार गठनको बाटो खुल्नेछ । 


संविधानको भाग ७ को धारा ७६ को उपधारा ३ मा प्रधानमन्त्री चयनको व्यवस्था गरिएको छ । त्यो व्यवस्था अनुसार निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गरेको ३० दिनभित्र प्रधानमन्त्री चयन गर्नुपर्नेछ । जसमा संसदमा बहुमत प्राप्त दलको नेता हुनुपर्नेछ  । कुनै दलले बहुमत ल्याउन नसके पहिलो दलले अरु कुनै दलको साथ लिएर बहुमत सिद्ध गर्नुपर्नेछ । 

प्रतिनीधिसभामा कुल २७५ संसद रहनेछन्, जसमा प्रत्यक्षतर्फबाट १६५ र समानुपातिकबाट ११० सदस्य आउनेछन् । बहुमतका लागि १३८ सदस्य चाहिनेछन । 


नतिजा आएपछि बहुतप्राप्त दलले बहुमत सदस्यको समर्थनसहितको दावी पेश गर्नुपर्नेछ । त्यहीँ आधारमा राष्ट्रपतिले प्रतिनीधिसभामा बहमतप्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछन् । 


यहि आधारमा नियुक्त हुने प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्नेछ र त्यसका लागि ३० दिनभित्रै संसद बैठक आव्हान गर्नुपर्ने हुन्छ । संसद बैठक राष्ट्रपतिले डाक्नुपर्नेहुन्छ ।  


प्रधानमन्त्री अघि कि सभामुख ?

अहिलेको संविधान अनुसार प्रधानमन्त्री चयन गर्न संसद बैठक बस्नैपर्ने बाध्यकारी व्यवस्था छैन । प्रधानमन्त्री चयन गर्न बहुमत प्राप्त दलले आफ्नो पक्षमा बहुमत सासंद सदस्यहरुको हस्ताक्षर राष्ट्रपति र संसद सचिवालयमा दर्ता गराएर प्रधानमन्त्री चयन गर्न पनि सकिनेछ ।
राष्ट्रपतिले संसद आव्हान गरेपछि संसदबाट सभामुख र उपसभामुखको मतदानमार्फत निर्वाचन हुनेछ । 

राष्ट्रपति बन्न सांसद हुन नपर्ने 
नयाँ संविधान अनुसार राष्ट्रपति बन्न सांसद सदस्य अनिवार्य छैन । सांसद बन्न योग्य व्यक्ति पनि राष्ट्रपति बन्न पाउनेछन् । नयाँ व्यवस्था अनुसार अवको राष्ट्रपति निर्वाचन आयोगले नै गराउनेछ ।
जसमा संघीय र प्रदेश सभाका सदस्यहरुको निर्वाचक मण्डलबाट बहुमतका आधारमा राष्ट्रपति चयन गर्न सकिनेछ । संविधानको भाग ६, धारा ६२ को उपधारा १ र ३ मा यसवारे तोकिएको छ ।  
 

नतिजामा बाम नै अगाडि
यता जारी मतगणनामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ सिटमा बाम गठबन्धन (एमाले र माओवादी) दुई तिहाई नजिक पुगेका छन् । 
१४३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा वाम गठबन्धन प्रत्यक्षतर्फ १०८ क्षेत्र जितेर दुई तिहाई नजिक पुगेको छ । 
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई तिहाई ल्याउन वामगठबन्धनले ११० सिट जित्नुपर्छ । यो समाचार तयार पार्दासम्म २२ मध्ये १५ स्थानमा वाम गठबन्धनको अग्रता रहेको छ ।
पछिल्लो परिणाम अनुसार नेकपा एमाले एक्लैले हालसम्म ७४ सिट जितेको छ भने माओवादीले हालसम्म ३१ सिट जितिसकेको छ ।  कांग्रेसले अहिलेसम्म १७ सिटमा विजय हासिल गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप