बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डसँग हारेका लिला, प्रचण्डकै सहयोगमा जिते

आइतबार, २४ मङ्सिर २०७४, १८ : ५०
आइतबार, २४ मङ्सिर २०७४

सिरहा । २०७० सालको संविधानसभाको निर्वाचनमा सिरहा ५ बाट नेकपा (माओवादी केन्द्र) तथा पूर्व प्रधानमन्त्री प्रचण्डका प्रतिस्पर्धी नेकपा (एमाले) का लिलानाथ श्रेष्ठले माओवादी केन्द्र समेतको सहयोगमा चार वर्षपछि प्रतिनिधिसभाका लागि सिरहा ३ बाट जितेका छन् । श्रेष्ठको जितसँगै प्रतिनिधिसभामा वाम गठबन्धनले खाता खोलेको छ । 

वाम गठबन्धनबाट एमालेका उम्मेदवार रहेका श्रेष्ठले दुई हजार ५२ को मतान्तरले जितेका हुन् । उनले २३ हजार २ सय ७२ मत ल्याएका छन् भने निकटतम् प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका अशेश्वर यादवले २१ हजार २ सय २० मत प्राप्त गरेका छन् । ‘गरिब र पिछडिएको रुपमा लिइने सिरहालाई समृद्ध बनाउन सम्पूर्ण रुपले लाग्ने छु’ जितपछि उनले भने ‘गठबन्धनसहित विगतमा आफूले जनताका लागि गरेको कामको कदर स्वरुप विश्वास गरेर जिताएका छन्, त्यो विश्वासलाई कायम राख्दै नमूना जिल्ला बनाउन लाग्ने छु ।’ 


सिरहाको गोलबजार नगरपालिका ७ मा घर रहेका ६० वर्षीय श्रेष्ठ २०५४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन सिरहा जिल्ला विकास समितिको उपसभापति चुनिएका थिए । जिल्लाको उपसचिव, सचिव हुँदै जिल्ला पार्टी अध्यक्षको भूमिका निभाएका श्रेष्ठ २०७० को संविधानसभामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रतिस्पर्धी रहेकाले चर्चामा थिए ।


जिविस उपसभापति भए लगत्तै जिल्लाको पूर्वाधार विकासका लागि पाँच वर्षे योजना निर्माण र कार्यान्वयन, कमलाको बाढीले वर्षेनी जिल्ला सदरमुकाम सिरहासहित वरिपरिका तत्कालीन ८ गा.वि.स. ले भोग्दै आएको डुबानको समस्याको अन्त्य, ३ नं. क्षेत्रमा विकास निर्माणको कामको मूल्याङकन गरेर यो पल्ट जनताले जिताएको बताउँछन्, उनी । वि.सं. २०३६ सालको विद्यार्थी आन्दोलनदेखि नै राजनीतिक यात्राको थालनी गरेका श्रेष्ठ ५० को दशकदेखि विभिन्न भूमिकामा पार्टीको जिल्ला नेतृत्वमा रहेर काम गर्दै आएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप