शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

किन भाइरल भयो प्रमुख निर्वाचन आयुक्त यादवको छाता ?

मङ्गलबार, १३ असार २०७४, १८ : ४७
मङ्गलबार, १३ असार २०७४

काठमाडौं – पानी परेको बेला कोही कसैले छाता ओड्नु सामान्य कुरा हो तर प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको छाता ओडेको तस्विरले यतिबेला सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ । उनलाई पछाडिबाट सुरक्षकर्मीले ठूलो छाता ओडाएर हिँडेको तस्विरसहित उनको आलोचना गरिएको हो । 


प्रमुख आयुक्त यादवले आफैले छाता समात्न नसकेको भन्दै विश्वका चर्चित व्यक्तिहरुको उदाहरण दिँदै फेसबुक तथा ट्वीटरमा उनको आलोचना भएको हो । उनको तस्विरसँग अमेरिकी पूर्वराष्ट्रपति बराक ओवामा, रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन लगायत विश्वका चर्चित व्यक्तिहरुले पानी परेका बेला आफैले छाता ओडेको तस्विरसँग जोडेर आलोचना भएको हो । 


प्रमुख आयुक्त यादव स्थानीय तह पहिलो चरणको निर्वाचन भएको बैशाख ३१ गते काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकामा मतदान कार्यको अवलोकन गर्न गएका थिए । सो क्रममा पानी छिट्टाउन थालेपछि सुरक्षाकर्मीले पछाडिबाट छाता ओडाउन शुरु गरेका थिए । 


सचिव गोपीनाथ मैनाली सरुवा प्रकरण 


निर्वाचन आयोगले दोश्रो चरणको निर्वाचनको मुखैमा सचिव गोपीनाथ मैनालीलाई सरुवा गरेपछि सामाजिक सञ्जालमा यादवको बिरोध शुरु भएको थियो । मैनालीले आयोगले मंहगा बिलासी गाडि खरिदका लागि दबाब दिएको र आफूलेल नमानेपछि सरुवा गरिएको बताएका थिए । त्यसपछि आयोग विवादमा फँसेको थियो । आयोगको कार्यशैलीप्रति रुष्ट सर्वसाधारणहरुले प्रमुख आयूक्त यादवलाई छाता ओडाएको तस्विरसहित आलोचना शुरु गरेका थिए । कतिपयले भने एउटा छाता समेत आफूले समात्न नसक्ने सामन्ती शैली भन्दै बिरोध गरेका छन् । 


सामाजिक संञ्जाल फेसबुकमा तिमिल्सिना एस डिले सामन्तवाद देखिएको भन्दै आलोचना गरेका छन् भने अन्सु अनु थापाले तस्विर आफै बोल्छ भन्दै भ्लादिमिर पुटिन र बाराक ओवामाको तस्विर जोडेकी छिन् । यस्तै पत्रकार प्रकाश गिरीले घाम पानी केही नपरेको बेला प्रमुख आयुक्त यादवलाई छाता चाहिएको भन्दै पानी परेका बेला रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छाता ओडेको तस्विर राखेर कडा टिप्पणी गरेका छन्–‘प्रजातन्त्र बोल्ने कुरा होइन, अवलम्बन गर्ने कुरा हो । व्यवाहारमा देखिनुपर्छ ।’


दलका प्रमुख नेताहरुले कार्यकर्ताको पीठ्युमा चढेर खोला तरेकोे, घाम पानीमा सुरक्षाकर्मीले छाता ओडाइदिएको, मन्दिरमा गएका बेला सुरक्षाकर्मीले जुक्ता बोकिदिएको तस्विरहरु सहित बेला बेला सामाजिक सञ्जालहरुमा चर्चा र बिरोध हुने गर्छ । जनस्तरबाट यसरी बिरोध हुँदा पनि भिआपी तथा भिभिआइपीले किन आफ्नो शैली परिवर्तन गर्न सक्दैनन् ? के यो लोकतन्त्रमा पनि शाही शैलीलाई निरन्तरता दिन आवश्यक छ र ? आमनागरिकले सामाजिक संञ्जालहरुमा यस्ता प्रश्न गरिरहेका छन् ।     
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप