शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चुनाव जितेपछि गगन थापाको अन्तर्वार्ता : पराजय काँग्रेसका निम्ति सानो धक्का होइन

शनिबार, २३ मङ्सिर २०७४, १४ : ०२
शनिबार, २३ मङ्सिर २०७४

काठमाडौँ– ४ बाट प्रतिनिधिसभामा नेपाली काँग्रेसको तर्फबाट विजयी भएका चर्चित नेता गगनकुमार थापाले रातोपाटीका लागि नरेश ज्ञवालीसँग गरेको विशेष कुराकानीः

अप्ठेरो समयमा जीत हाँसिल गर्नु भएको छ, मतदातालाई के भन्न चाहनु हुन्छ ?
म सबै मतदाताहरुलाई धन्यवाद दिन चाहन्छु । साथै उहाँहरु प्रति म कृतज्ञ छु । त्यसैले मेरो यो जीत उहाँहरु प्रति समर्पण गर्न चाहन्छु । जनताको निरन्तर विश्वास नै मेरो जीतको आधार हो । साथै पार्टीका साथीहरु अढाई–तीन महिनादेखि जसरी खट्नु भएको छ, मेरो जीत उहाँहरुको मिहिनतको प्रतिफल हो । त्यसैले म उहाँहरुको त्यो विश्वासलाई कायम राख्ने गरी अगाडि बढ्छु भन्ने कुरा विश्वास दिलाउन चाहन्छु ।

००७ सालदेखि नेपालको राजनीतिमा नेपाली काँग्रेस जसरी हाबी थियो, यो निर्वाचन परिणामले काँग्रेसलाई जसरी हुत्याइदिएको छ, यस सन्दर्भमा तपाईको विजयको के अर्थ छ ?
नेपाली काँग्रेसको यसपटक अनपेक्षित नतिजा आयो । हाम्रो जीवनकालमै पार्टी यति धेरै सानो गरी कहिलै खुम्चिएको थिएन । यो नेपाली काँग्रेस निकै अप्ठेरोमा परेको बेला हो । पार्टी नेतृत्व पनि अप्ठेरो परेको छ । मतदाताहरुको आफ्नो अप्ठेरो छँदैछ । त्यसमा पनि राष्ट्रिय राजनीतिमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका छँदैछ । पार्टी अप्ठेरोमा परेको बेलामा पार्टीको अतरिक्त काम गर्दै अगाडिको चुनौतीपूर्ण यात्रा हामीले तय गर्नु पर्नेछ ।

साथै नेपाली काँग्रेसले गम्भीरतापूर्वक दुईवटा कुरालाई हेर्नु पर्नेछ । पहिलो, जनताले दिएको प्रतिपक्षको भूमिकालाई इमान्दारीतापूर्वक निर्वाह गर्नुपर्नेछ । दोस्रो, जनताको यो परिणामले पार्टी भित्र ठूलो सुधारको खाँचो रहेको छ भन्ने सन्देश दिएको छ ।

यस सन्दर्भमा मैले दुवै मञ्चमा प्रतिपक्षको मञ्च र अर्को पार्टी सुधारको विषयमा पार्टीको मञ्च दुबै स्थानमा मेरो भूमिकाको अपेक्षा गरिएको रहेछ भन्ने सन्दर्भमा मैले आफ्नो विजयलाई लिएको छु । अब हामीले पार्टी सुधारको काम हाम्रो काँधमा आइपुगेको छ भनेर भन्नु पर्ने हुन्छ । यस जिम्मेवारीलाई हामीले सँगै लिएर जानु पर्नेछ ।

तपाईंले पार्टी सुधारको विषय उठाइरहँदा नेपाली काँग्रेसका शुभेच्छुक, नेता तथा कार्यकर्ताहरुले पार्टी सभापति शेरबहादुर देउवाले राजीनामा दिनुपर्ने बताइरहेका छन् । तपाईले यो कुरालाई कसरी लिनु भएको छ ?

यस विषयमा यति छिटो र एउटा मात्र आधारमा टिप्पणी गर्नु भनेको हतार गर्नु हो । नेपाली काँग्रेसको पराजय एकजना व्यक्तिको राजीनामासँग मात्रै जोडेर हेर्ने र अरु बाँकी सबै विषयमा सन्तोष मानेर बस्नु पर्ने अवस्था छैन ।

राजीनामाको विषय पार्टी सभापतिको नैतिकतासँग जोडिन्छ होला नि ?

नैतिकता भनेको जहिले पनि निजी विषय हो । अहिलेको अवस्थाको पार्टी सभापतिले जिम्मेवारी लिनुपर्ने विषय त छँदैछ । जिम्मेवारी लिने कुरा कुनै बहसको विषयनै भएन । तर के, यो पार्टी सभापतिको जिम्माको मात्र विषय हो ? कि सिङ्गो नेपाली काँग्रेसले आफूलाई पुनःसमिक्षा गर्नुपर्ने हो ? के हामीले पार्टीका अरु सन्दर्भहरुमा यो पराजयलाई लिनु पर्दैन ? मलाई लाग्छ, हामीले अन्य विषयहरुलाई समेत ध्यान दिनुपर्छ । मैले भन्न खोजेको कुरा के भने तपाईंले उठाएको विषय सानो विषय भयो । त्यति मात्र कुराले पुग्दैन । हामीले यो भन्दा बृहद दायरामा पार्टीको विषय र पोजिसनलाई हेर्नुपर्ने हुन्छ । हामीले धेरै विषयहरु छलफल गर्नु पर्नेछ भने धेरै कुरा सुधार गरेर अगाडि बढ्नु पर्नेछ ।

देशैभरी बामगठबन्धनले जस्तो मतपरिणाम ल्याइरहेको छ, यसलाई तपाईले कसरी लिनु भएको छ त ?
मैले माथि पनि भनेँ, यो हाम्रो निम्ति अनपेक्षित हो । खास गरी परिणामका हिसावले । दुईटा पार्टी एक हुँदैगर्दा हामीलाई अप्ठेरो पर्छ र अवस्था प्रतिकुल हुन्छ भन्ने अनुमान नभएको होइन । तर जुन खालको मत परिणाम आयो, यस्तो मत परिणामको अपेक्षा थिएन । त्यसैले यसको सहि विश्लेषण गर्दा हामीले यसलाई जनताको हामीसँगको गुनासो र आक्रोसको रुपमा मत व्यक्त भयो भनेर हेर्नुपर्ने हुन्छ ।

दोस्रो, जसरी हामी प्रतिपक्षको भूमिकामा सीमित भएका छौँ र प्रचण्ड बहुमत बाम गठबन्धनले प्राप्त गरेको छ । यस्तो अवस्थामा हामीलाई संविधानका कतिपय कुराहरु नै चलाइने हुन कि भन्ने जस्तो आशंका छ र जुन हामीले जनताको बीचमा पनि भन्यौँ त्यहाँ हाम्रो भूमिका थप बढेको छ । हामी झनै बढी सचेत भएर काम गर्नुपर्ने अवस्था आयो भन्ने लाग्छ ।

यतिखेर गठबन्धन जसरी निर्वाचित भएको छ, मैले भन्ने भनेको उसले हामीहरुले धेरै जिम्मेवारी पायौँ भनेर त्यो जिम्मेवारीको बोध गर्दै अगाडि बढ्यो भने मुलुकका निम्ति फाइदाको कुरा हो । त्यसमा आत्तिनु पर्ने केही छैन । तर मलाई के लागेको छ भने जसरी पहिलो संविधानसभाको निर्वाचनमा माआवादीले जुन अनपेक्षित परिणाम हासिल गरेपछि उ सम्हालिने र उसले देशलाई सम्हाल्नु पर्ने हो त्यो भन्दा पनि ऊ त्यसको उल्टो जसरी उत्ताउलो भएर अगाडि बढ्यो र उसले जनताको मतलाई थेग्न सकेन ।  त्यहीँबाट आफ्नो अहंकारको यात्रा उसले जसरी सुरु ग¥यो गठबन्धनले पनि आफ्नो यात्रा त्यसरी तय नगरोस् । अहिले दिने शुभकामना यति नै हो ।

गठबन्धन बलियो छ, भन्ने सबैले अनुमान गरेकै कुरा भयो  । तपाईले पनि आफूलाई अप्ठेरो पर्छ भनेर जनताबाट सद्भावना बटुल्न खोज्ने काम र बम हमला एकै सन्दर्भमा भयो भनेर कतिले संशय व्यक्त गर्ने गरेका छन् । तपाईको जीतमा सद्भावना मतले पनि काम गर्यो है ? तपाईं के भन्नु हुन्छ ?

हेर्नु यो विल्कुलै अमानविय, असंवेदनशिल कुरा हुन्छ । मेरा घाइते साथीहरु अझै पनि अस्पतालमा हुनुुहुन्छ । यो निर्वाचन क्षेत्रमा निर्वाचन जित्नका निम्ति हामीलाई हाम्रो मतदाताको सुभेच्छा र विश्वास नै काफी थियो । यो बीचमा त्यत्रो घटना हुँदै गर्दा मलाई अरु मान्छेले गरेको टिप्पणीमा केही भन्नु छैन ।
तर, नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली जो सम्भवतः अबको प्रधानमन्त्री हुँदै हुनुहुन्छ । उहाँले यत्रो हिंसात्मक घटना जो एउटा समूहले घटायो र जसरी मानिसहरु पक्राउ परेका छन्, अनुसन्धान चलिरहेको छ । त्यो घटनाको सन्दर्भमा चुनावको ठिक अगाडि एउटा टेलिभिजनलाई अन्तरवार्ता दिएर त्यो प्रयोजित हो । त्यो घटना हामी आफैले गराएको हो भन्नेसम्मको तल्लो स्तरमा गिरेर जस्तो अभिव्यक्ति दिनु भयो त्यसले मलाई निकै दुःखी बनाएको छ ।

शायद त्यस्तो अभिव्यक्ति दिँदै गर्दा उहाँलाई के लागेको हुनसक्छ भने उहाँको त्यो बोलीले यस निर्वाचन क्षेत्रमा मत बढ्ला । तर यो कुरा मत बढ्ने अथवा घट्नेसँग थिएन कि उहाँको स्तरको नेताबाट निर्वाचनको तत्कालको परिणामलाई लिएर यस्तो विषयमा यति गैरजिम्मेवार, यति तल्लोस्तरको टिप्पणी प्रति मेरो खेद छ ।

म हिंसाको राजनीतिको खिलाफ उभिँदै गर्दा, म एमाले, माओवादी लगायत सबै पार्टीहरु अब यो भन्दा अगाडिको यात्रामा एकै ठाउँमा उभिनुपर्छ भन्ने विश्वास व्यक्त गर्छु । म त्यसका निम्ति प्रयत्न पनि गर्छु । तर घटनापछि मानिसमा हुनुपर्ने जुन सामान्य संवेदनशिलता हुन्छ नी यतिको ठुलो दुर्घटनामा, फेरी त्यस्ता घटना मेरोमा मात्र होइन कि स्वंयम एमाले, माओवादीका नेताहरुमाथि भएका छन्, हामीसँगै उभिनुपर्नेमा उहाँले घटनालाई जसरी प्रस्तुत गर्ने प्रयास गर्नु भयो त्यो निकै निन्दनिय छ ।

निर्वाचन परिणाम पछि काँग्रेसले गर्नु पर्ने मुख्य काम के हुन् जस्तो लाग्छ ?

म यस विषयमा यति छिट्टै प्रतिक्रिया दिने मनसायमा छैन । यो काँग्रेसका निम्ति सानो धक्का होइन । तर पनि पहिलो, नेपाली काँग्रेसले जनताले दिएको जनादेशको सम्मान गर्नुपर्छ । दोस्रो, पार्टी भित्र ठुलो परिवर्तन गर्नुपर्नेछ भन्ने कुरालाई आत्मसाथ गर्नुपर्छ । तेस्रो, आरोप प्रत्यारोपको राजनीतिबाट हामी कहीँ पुग्दैनौँ भन्ने बुझ्नु पर्छ । एक थरी नेताहरुले पार्टी सभापतिलाई दोष दिने र पार्टी सभापतिले अर्कोलाई दोष दिने कुराले हुँदैन । यो हाम्रो सामूहिक असफलता हो ।

चौथो, पार्टीको एउटा पंक्तिले अब विश्राम लिनुपर्छ । सबै नेताहरुले आफ्नो एउटा सीमा हुन्छ भनेर बुझ्नु पर्छ । उहाँहरुले नेपाललाई र काँग्रेसलाई गर्नुपर्ने योगदान गर्नु भयो । अब विश्राम लिनु पर्छ । उहाँहरुको विश्रामसँगै त्यहीँ भित्रबाट एउटा सम्भावना जन्मन्छ ।  

युवाहरुको काँधमा पार्टीको जिम्मेवारी दिनुपर्छ भन्न खोज्नु भएको ?
म त युवा पनि भन्दिन । तर पार्टीको जुन पहिलो पुस्ता छ, त्यो पुस्ताले अब जनताको यो सन्देशलाई मान्नु पर्यो नि । त्यो पुरानो पुस्ताले विश्राम गर्नु प¥यो । ठाउँ छोड्नु पर्यो । अरु पनि त्यसका निम्त तयार हुनु प¥यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेश ज्ञवाली
नरेश ज्ञवाली

नरेश ज्ञवाली रातोपाटीका अन्तर्वार्ताकार तथा विचार पृष्ठका संयोजक हुन् । अन्तर्वातासँगै उनी लेख, फिचर र समाचारमा कलम चलाउँछन् । @GyawaliNaresh 

लेखकबाट थप