मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

एकसय पाँच वर्षीयदेखि एक सय पन्ध्र वर्षीया वृद्धाद्वारा मतदान

बिहीबार, २१ मङ्सिर २०७४, १५ : ०४
बिहीबार, २१ मङ्सिर २०७४

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका ११५ वर्षीया जंगलीदेवी चौधरीको मतदान गर्ने धोको पूरा भएको छ । उनले आज घर नजिकैको सिद्धनाथ आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा बिहान मतदान गरेकी हुन् । 

उनका नाति जितबहादुर चौधरीले बोकेर उनलाई मतदान केन्द्रसम्म पुर्याई मतदान गराएका हुन् । पञ्चायतकालदेखि गरी हालसम्म ११औँ पटक मतदान गरेको वृद्धा चौधरीले बताइन् । “देशमा शान्ति आउनुपर्छ गरिब जनतालाई हेर्ने उम्मेदवारलाई मतदान गरेको छु”, उनले भनिन्, “कसैको दबाबमा नपरी मतदान गरेको छु ।” 

उनी जस्तै १०५ वर्षको उमेरमा मतदान गर्न मतदान केन्द्रमा आइपुगेकी तुलसीदेवी ऐरले विकास गरी देशलाई समृद्धिमा पुर्याउने उम्मेदवारलाई मतदान गरेको बताइन् । शुक्लाफाँटा नगरपालिका–११ को सरस्वती माविमा रहेको मतदान केन्द्रमा उनले मतदान गरेकी हुन् । 

उनका नाति वीरेन्द्र ऐरले बज्यैले अन्तिम पटक मतदान गरी देशलाई गति दिने उम्मेदवारलाई मतदान गर्छु भन्ने हठ गरेपछि मतदान केन्द्रमा मोटरसाइकलमा बोकेर ल्याई मतदान गराएको बताइन् । सोही मतदान केन्द्रमा ११० वर्षीया जसुदेवी ऐरले समेत मतदान गरेकी छन् । 

मतदान गर्न आइपुगेकी वृद्ध ऐरले वृद्ध भत्ता दोब्बर बनाउने अश्वासन दिएका उम्मेदवारलाई मतदान गरेको बताइन् । उनकी बुहारी बिष्नादेवी ऐरले मतदान गर्न धेरै कर गरेपछि उनलाई मतदान गराउन ल्याइएको बताइन् ।

नगरपालिकाकै वडा नं १० मा रहेको श्रीकृष्ण माविमा रहेको मतदान केन्द्रमा दृष्टीविहीन ७० वर्षीय फक्का डगौराले समेत मतदान गरेकी छन् । उनी लगायत तीनजना दृष्टीविहीनले मतदान गरेको मतदान अधिकृत हिक्मतराज जोशीले बताए । सोही केन्द्रमा क्रियापुत्री नेत्रराज जोशीले समेत मतदान गरेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप