बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मतदान लगत्तै गच्छदारको प्रतिक्रियाः लोकतान्त्रिक नेतृत्वले जित्ने संकेत देखिएकोले उत्साह जागेको छ

बिहीबार, २१ मङ्सिर २०७४, १४ : ४७
बिहीबार, २१ मङ्सिर २०७४

इटहरी– नेपाली काँग्रेसका नेता उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले आज दिउँसो दुहवी नगरपालिका–२ तुताहास्थित नवीन निकेतन शिक्षा विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।  उपप्रधानमन्त्री गच्छदारको निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले वैकल्पिक केन्द्रीय सदस्य एवम् पूर्वराज्यमन्त्री भगवती चौधरीले पनि सोही मतदान केन्द्रबाट ‘ख’ मतदान गरेका छन् । 

दुई हजार मतदाता रहेको उक्त मतदान केन्द्रमा मतदान गरेपछि उपप्रधानमन्त्री गच्छदारले अहिलेको निर्वाचन संविधान कार्यान्वयन गर्ने अवसरको गौरवपूर्ण मतदान भइरहेकाले आफूले संविधान कार्यान्वयनसँगै देशको आर्थिक समृद्धि र युवालाई देशभित्रै स्वरोजगार सिर्जनाको निर्णायक कार्य भएको बताए । 

उनले मतदातामा लोकतन्त्रको पक्षमा मतदान गर्दै देशले प्राप्त गरेको उपलब्धि रक्षाका लागि जुन उत्साह र उमंग देखिएको छ त्यसलाई मूर्तरुप दिन लोकतान्त्रिक नेतृत्वले चुनाव जित्ने वातावरण बनिरहेकामा आफूलाई भित्रैदेखि उत्साह जागेको पनि सञ्चारकर्मीसँगको संक्षिप्त जिज्ञासामा उक्त कुरा बताए । 

उपप्रधानमन्त्री गच्छदारले विपक्षी उम्मेदवार वा दलभन्दा आफूले निकै धेरै फरक मत प्राप्त गरेर निर्वाचन जित्ने परिस्थिति देखिएको समेत जानकारी दिए । उनले पछिल्लो समयमा राजनीतिप्रति सर्वसाधारणमा देखिएको निराशालाई यो चुनावले अन्त्य गर्ने विश्वास व्यक्त गरे । 

यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुमित्रा विश्वासले तुताहा केन्द्रबाट र नेकपा ९माओवादी केन्द्र०का तर्फबाट बिना विभागीय मन्त्री रहेका जाकिर हुसैनले इटहरीको पकली मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । 

यस जिल्लामा अहिलेसम्म सम्पूर्ण मतदाताले निर्बाध रुपमा मतदान गरिरहेका छन् । बिहान मतदान प्रारम्भ भएको केही घण्टापछि धरान उपमहानगरपालिका–१६ को चन्द्र संस्कृत विद्यलायको मतदान केन्द्रबाहिर बम विस्फोट भएको छ । तर बम विस्फोटबाट सर्वसाधारण मतदातालाई कुनै असर नपरेको प्रहरीले बताएको छ । 

सुनसरीको सम्पूर्ण मतदानस्थलमा लगभग ४० देखि ४५ प्रतिशत मतदान भइसकेको जिल्ला निर्वाचन अधिकृत भक्तबहादुर भट्टराईले आँकडा दिएका छन् । मतदाताहरु आ–आफ्नो निर्वाचन क्षेत्रको मतदान केन्द्रमा मत दिनका लागि उत्साहका साथ पङ्क्तिबद्ध भएर पालो पर्खिरहेका रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप