शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनले मुलुकलाई अग्रगतिमा लैजाने : पौडेल

बिहीबार, २१ मङ्सिर २०७४, ११ : ३१
बिहीबार, २१ मङ्सिर २०७४

तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास नगरपालिकास्थित सत्यवती मावि मतदान केन्दबाट मतदान गरेका छन् । 

तनहुँ क्षेत्र नं. १ का प्रतिनिधिसभाका उम्मेदवार रहेका नेता पौडेलले विहान ७ बजे नै पहिलो मतदान गरेका हुन् । 

मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले मुलुकलाई अग्रगतिमा लैजाने र लोकतन्त्र साकार हुने विश्वास व्यक्त गरे । 

“सत्तरी वर्षदेखिको लोकतान्त्रिक आन्दोलनको संघर्षको परिणामको संविधानलाई कार्यान्वयन गरेर लोकतन्त्रलाई संस्थागत गर्ने र देशलाई समृद्धिको बाटोमा अगाडि बढाउन यो निर्वाचन भइरहेको छ”– वरिष्ठ नेता पौडेलले भने । आफूले आफ्नो क्षेत्रका जनताको सेवा गर्दै आएको हुँदा त्यहाँका जनताले आफूलाई नै मतदान गर्ने विश्वास व्यक्त गरे । 

पत्रकारको प्रश्नको जवाफ दिँदै नेता पौडेलले भने,–“स्थानीय निर्वाचन केवल स्थानीय तहको सिमित क्षेत्रको लागि मात्रै थियो, यो निर्वाचन समग्र देशलाई कुन दिशामा लैजाने, समग्र राष्ट्रलाई लोकतन्त्रमा अगाडि बढाउने र मुलुकको राजनीतिक संक्रमण अन्त्य गर्ने निर्वाचन हो ।” 

निर्वाचनको समयमा अनेकौ हिंसा र आतंकजस्ता समस्याको बीच पनि लोकतन्त्रलाई उन्नतीमा लग्नको लागि मतदान गर्नबाट जनता विचलित नभएको उनको भनाइ छ । 

नेता पौडेलले विविध समस्या वा दुःख सुखका बीच पनि ढुक्क भएर राष्ट्र, समाज र भविष्यप्रतिको कर्तव्य पूरा गर्न मतदान केन्द्रसम्म आएर मतदान गर्न आम जनतालाई आह्वान गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप