कतारमा १२ घन्टा काम गरेर चार भाषाको किताब

person access_timeमंसिर २०, २०७४ chat_bubble_outline0

वैदेशिक रोजगारीमा गएकाहरूले घर फर्कंदा के–के ल्याउलान् ? भन्नुहोला, ‘रुपैयाँसहित सुन, चाँदी, टीभी, मोबाइल, ब्ल्याङ्केट, लत्ताकपडा आदि ।’ त्यतिमात्रै भन्नुभयो भने तपाईं गलत ठहरिनुहुन्छ । वैदेशिक रोजगारीमा गएकाहरू लेखक, साहित्यकार, सम्पादक, गजलकार, गीतकारको परिचयसहित फर्कंदै छन् । तर, हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिम साल्तेम्मा खोटाङका विक्रम चेतनशील राई भने वैदेशिक रोजगारीमा जानुअघिदेखि नै साहित्यका विभिन्न विधामा कलम चलाउँथे । 

लेखनले निरन्तरता पाएकै छ । लेखकलाई स्थानविशेषले फरक पार्दैन, बरु मलजल गर्दोरहेछ । पछिल्लो समय गजल विधामा रमाएर लेख्दै आएका राई कतारमा दैनिक १० देखि १२ घन्टा काम गर्छन् । कामको पूजा गर्ने उनले लेख्न भ्याएकै छन् । भन्छन्, ‘लेख्न समय चाहिँदैन । काम गर्दागर्दै भावना फुर्यो भने तत्काल लेखिहाल्छु । लेख्न समय निकालिरहनै पर्दैन ।’ 

नेपालमा नाम चलेका लेखक, साहित्यकारले नाम चलेका होटलमा महिनौं बसेर लेख्न थालिसकेका छन् । कतिपयले आफूले लेखिसकेको पाण्डुलिपि अन्तिम रूप दिन सारासाराबाट टाढा रहेर लेख्ने अभ्यास गर्दै आएका छन् । त्यो सम्भव नभए पनि वैदेशिक रोजगारीमा गएकाहरूले लेख्न छाडेका छैनन् । त्यसमध्येका एक हुन्– विक्रम चेतनशील राई ।

गजलकार राईको ‘तुवाचुङ’ नामक गजलसंग्रह हालै प्रकाशित भएको छ । खस नेपाली, अंग्रेजी, चाम्लिङ राई र किरात लिपिमा लिपिबद्ध ‘तुवाचुङ’ गजलसंग्रह प्रकाशित भएको हो । भन्नेहरूका अनुसार, अहिलेसम्म चार भाषामा गजलसंग्रह प्रकाशित भएको छैन । त्यस अर्थमा पनि ‘तुवाचुङ’ लाई ऐतिहासिक गजलसंग्रह हो । 

चार भाषामै गजलसंग्रह प्रकाशित गर्नुको प्रभावकारिताबारे प्रस्ट्याउँदै गजलकार राई भन्छन्, ‘नेपाली पाठकका लागि खस नेपाली भाषा नै प्रभावकारी मानिन्छ । नेपालीभाषीबाहेक संसारभरिका पाठकले नेपाली गजलबारे जान्न, पढ्न चाहेमा अंग्रेजी भाषा नै उत्तम मानिन्छ ।’ 

नेपाल बहुजाति, बहुभाषी र बहुसांस्कृतिक मुलुक हो । नेपालको सुन्दरता भनेकै यही हो । ‘बहुभाषाको कुरा गरिए पनि भाषा संरक्षण गर्न सम्बन्धित निकायले कन्जुस्याइँ गरेको हो कि जस्तो लाग्छ,’ उनने थपे, ‘भाषा हराउनु भनेको जाति हराउनु हो । जाति हराउनु भनेको म हराउनु हो । म हराउनु भनेको देश हराउनु हो ।

तसर्थ, म ‘म’ भएर रहिरहनका लागि पनि चाम्लिङ राई भाषाका गजल समेट्ने लोभ गरेको हुँ ।’ भाषासँगै संस्कार, संस्कृति र पहिचानको कुरा उठिरहेको छ । त्यसलाई सम्बोधन गर्न पनि ‘तुवाचुङ’ मा समेटिएका चाम्लिङ राई भाषाका गजलले सघाउ पुर्याउँछ । उनको मान्यता छ, ‘म को हुँ ? मेरो भाषा के हो ? भन्ने जान्न सधैं तत्पर हुन्छु । मपछि मेरो समुदायको पुस्ताले पनि त्यसै गरून् भन्ने चाहनाले चाम्लिङ राई भाषाका गजल समेटेको हुँ ।’

लिपिमध्ये किरात पनि एक हो । किरात लिपि संरक्षण तथा प्रवद्र्धन गर्न त्यत्तिकै आवश्यक छ । किरात लिपिसम्बन्धी जागरण, सचेतना फैलाउन ‘तुवाचुङ’ मा समेटिएका गजललाई किरात लिपिबद्ध गर्न जाँगर चलाएको उनले सुनाए । यो काम भोलिका पुस्ताले खोजून् भन्ने उनको ध्येय छ । 

तुवाचुङ गजलसंग्रह प्रकाशित गर्नअघि कतारमा उनकोबारेमा निकै चर्चा चल्यो । विक्रम चेतनशील राईले लेखेको गजललाई गायक तीर्थ याम्फू राईले २० हजार रुपैयाँ दिए भनेर समाचार प्रकाशित भए । एउटा गजलको २० हजार रुपैयाँ भनेर कतिले जिब्रो टोके । रेकर्ड भइसकेको सो गजलको पारिश्रमिक नभएर सम्मानस्वरूप स्रष्टालाई २० हजार दिएको हुँ भनेर तीर्थ याम्फूले पंक्तिकारलाई सिधा उत्तर दिए । 

कतारमा साहित्यिक संघ संस्था थुप्रै छन् । नवोदित वाचनालय, अन्तर्राष्ट्रिय साहित्य समाज कतार, मुग्लानी सौगातलगायत सक्रिय साहित्यिक संघ संस्थाको निम्ता मान्न उनी भ्याएसम्म कतारको राजधानी दोहा पुग्छन् । समय निकाल्न नसक्दा ‘सरी’ भन्नु त छँदै छ । कतिपय संघ–संस्थाले अतिथिका रूपमा निम्ता दिन्छन्, कतिले सिर्जना वाचन गर्न अनुरोध गर्छन् । सकेसम्म कसैले गरेको अनुरोध लत्याउन चाहँदैनन् । 

कविता, मुक्तक, गजलमात्रै होइन, उनले गीत पनि लेखेका छन् । उनको कतिपय गीत रेकर्ड भइसकेका छन् । गाउँछु भन्दै धेरैले गीत र गजल लगे पनि उनलाई इन्दिरा शाहले गाएको गीतिएल्बममात्रै हात परेको छ । कतिले रेकर्ड भइसकेको जानकारी गराएका छन् । 

कविता लेखेर थालेको साहित्यिक यात्राले राजमार्ग समातिसकेको छ । ‘पहिलोपटक ‘समय’ शीर्षाकृत कविता लेखेको थिएँ,’ उनले अतीत सम्झे, ‘बहुदलीय व्यवस्था आएपछि सक्रिय रूपमा लेख्न थालें । दुर्छिम उच्च माध्यमिक विद्यालयमा हुने साहित्यिक प्रतियोगितामा कहिल्यै गयल भइनँ । त्यसले लेखिरहन प्रेरित गर्यो ।’ बहुदलीय व्यवस्था आएलगत्तै बहुदलीय व्यवस्था पक्षधर राजनीतिज्ञ दुर्छिम आएका थिए । त्यतिबेला उनले ‘हामी हाम्रो माग पेस गर्छौं’ शीर्षाकृत कविता वाचन गर्ने अवसर पाए । विशाल आमसभामा कविता वाचन गरेपछि पाएको तालीले लेख्न झनै हौसला बढायो ।

विद्यालयमा हुने साहित्यिक प्रतियोगितामा पहिलो, दोस्रो हुँदा पाउने पुरस्कारले लेखन तिखार्न मद्दत गर्यो । सहर पसेपछि डायरीमा सीमित सिर्जना प्रकाशन हुन थाल्यो । यो संवत् २०५५ तिरको कुरा हो । त्यसपछि गोरखापत्र, कान्तिपुर, मधुपर्कलगायत थुप्रै पत्रपत्रिकामा उनको साहित्यिक सिर्जना प्रकाशित हुँदै गए । छन् । 
०५६ ।
उनले ०५६ बाट गजल लेख्न थाले । अहिलेसम्म लेखिरहेका छन् । ‘गजल सहज र सरल तरिकाले बुझिन्छ । बुझाउन सकिन्छ,’ कतार फर्कनुअघि काठमाडौंमा भेटिएका विक्रम चेतनशील राईले भने, ‘गजल लेख्न लोभ र आकर्षण त्यत्ति हो ।’

अरू पनि आकर्षण छन् कि ?
‘सुन्न र सुनाउन पनि आनन्द हुन्छ,’ उनले भनाइ छ, ‘कविता सबैले सजिलै बुझ्न सक्दैनन् । गजलमार्फत सन्देश प्रवाह गर्न त्यत्तिकै प्रभावकारी हुन्छ ।’
एकताका गजल मायाप्रेममै सीमित थियो । यत्तिमै सीमित हुनुहुन्न भन्नेको बाहुल्य बढ्दै गयो । हिजोआज मायाप्रेमभन्दा बाहेकमा पनि गजल लेखिन्छन् ।

गजलकार राईका गजलमा पहिचान, देशको वास्तविकता, जीवनका आरोह अवरोह, अवयव पढ्न सुन्न पाइन्छन् । तुवाचुङ गजलसंग्रहमा समेटिएका गजलमा समेत मायापिरती, जीवनको आरोह अवरोध, अवयव, पहिचान, भाषा, संस्कार संस्कृति उठान गरिएको छ । उनले ‘म को हुँ’ भन्ने विषय गजलमार्फत प्रस्ट पारेका छन् । 
 

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

यो पनि पढौँ

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ