यसरी बित्यो गोली लागेपछिको ९६ घन्टा

person access_timeमंसिर १९, २०७४ chat_bubble_outline0

अघिल्लो रात बेनी आक्रमण भएको थियो । आश्रय लिएको गाउँभन्दा थोरै माथि बारीको पाटामा बसेर गंगा लामा र बुद्धि तमू रेडियो सुन्दै थिए । समाचार सकिनै लाग्दा सेनाले फायर खोल्यो । कताबाट फायर खोलियो भनेर उनीहरूले भेउ पाउन सकेनन् । उनीहरू बस्तीतिरै पसे । सिमसिम पानी परिरहेको थियो । बादल लागेको थियो । बारी हिलाम्य थियो । भाग्दाभाग्दै जुत्ता गाडिएपछि लामाको खुट्टामा मोजामात्रै बाँकी रह्यो । 

आठ/नौ कान्ला पार गरेपछि अर्को अग्लो कान्ला आयो । ‘हाम्फाल्न १ सेकेन्डमात्रै उभिएको थिएँ, मलाई गोली लाग्यो,’ लामाले अतीत सम्झे, ‘तत्काल नदुखे पनि म टुक्रुक्कै बसें । म यहीं बसे मार्छन् । परिवार भेटेर मर्नका लागि पनि म भाग्नुपर्छ भन्ने लाग्यो । घस्रँदै त्यही अग्लो कान्लाबाट झरें । त्यसरी नै आठ÷नौ कान्ला पार गरें ।’ 

त्यतिन्जेल तिर्खामात्रै होइन थकाइसमेत लागिसकेको थियो । अघि बढ्न नसकेपछि कान्लामा अडेस लागेर बसेका उनले सेनाले साथीहरूलाई लखेटिरहेका देखे । गोली लागेर एकजना यतै कतै ढलेको थियो, टर्च निकाल् त हेरम भनेर सुरक्षाकर्मी बोलेको नजिकै सुन्थे । अर्कोले टर्चलाइट साटो भेरिलाइट बाले । भेरिलाइटले बस्ती नै उज्यालो भयो । उनीहरूले चारैतिर हेरे । कतै नदेखेपछि सुरक्षाकर्मी बाटो लागे । टर्चलाइट बालेको भए रगतको टाटा प्रस्टै देखिन्थ्यो । घस्रेको गोहो पहिल्याउँदै उनी ठाउँका ठाउँ समातिन्थे । 

‘क्रस फायर’ चलिरहेको थियो । 

दुवै खुट्टाको मोजा गाँसेर गोली लागेको ठाउँमा बाँध्न खोजे पनि पुगेन । ‘त्यसपछि लगाइरहेको ट्राउजर र ज्याकेट च्यातेर घाउमा कसें । त्यति गरेपछि रगत बग्न रोकियो,’ उनले सुनाए, ‘यहीं बसे सुरक्षाकर्मीले समात्न सक्छन् । म अलि टाढा पुग्नुपर्छ भन्ने निष्कर्ष निकालें । एक खुट्टाको सहायताले हिँड्न सक्छु कि भनेर प्रसाय गरें । सकिनँ । पुनः घस्रँदै आठ/नौ कान्ला पार गरें । जाँदाजाँदा यस्तो ठाउँ आयो, जहाँबाट म उता जान नसक्ने भएँ ।’ उनी त्यहीं रोकिए । साथमा चुरोट र लाइटर थियो । चुरोट खाए । पानी सिमसिम परिरहेकै थियो । तिर्खा लागेकाले आँ गर्दा मुस्किलले एक दुई थोपा मुखमा पथ्र्यो ।

रात पर्यो । चिसो बढ्यो । तर, गोली लागेको ठाउँमा दुखेको थिएन । ‘जाडोले काँपेर अर्धबेहोश हुन्थें । फेरि बौरिन्थें,’ उनले भने, ‘योक्रम रातभरि चल्यो ।’ उनी बसेको केहीपर खरपाखा थियो । त्यहाँ ढुंगा गुडेको प्रस्टै सुनिन्थ्यो । आफूजस्तै कोही घाइते होलान् कि भनेर उनी ‘कोही हो’ भन्थे । सेनाले रातभरि विभिन्न रङको भेरिलाइट बाल्थे । फायर गरिरहन्थे । 

बिहान भयो । 

घाम लाग्यो ।

शरीर रगतै रगतले भिजेको थियो । झिँगा भन्कन थाल्यो । घाउमा बसेका ठुल्ठूला झिँगाले कीरा छाडेर जान्थे । बेलुकासम्म घाउमा कीरा बढ्न थाल्यो । झिँगा धपाउन उनीसँग केही थिएन । दिउँसो गाउँका एक बूढा उनी बसेको माथिपट्टि गाईबस्तु चराए । बूढालाई देखेर उनले पानी ल्याइमागे । अनेक अनुरोध गर्दा पनि बूढा एक शब्द बोलेनन् । बेलुका चार बजेतिर बूढा फेरि त्यहीं देखापरे । भर्खरभर्खर तीनपाते हुँदै गरेको मकै खान पसेका बाख्रा धपाउन पुगेका तिनै बूढालाई उनले फेरि पानी ल्याइदेऊ न, म पैसा दिउँला भन्दै बिन्ती बिसाए । बूढाले टाउकोमा हात राखेर रोए, ‘म पानी ल्याउन सक्दिनँ । तिमीलाई पानी ल्याइदिएको थाहा पाए मलाई मार्छन् । नत्र पैसा चाहिँदैनथ्यो ।’ 

दिन बित्यो ।

रात पर्यो ।

रातभरि कुकुर भुक्न छाडेनन् । स्याल त्यत्तिकै कराउँछन् । गंगा लामा बारीको पाटामै बेहोश हुँदै बौरिन्छन् । त्यो क्रम रातभरि चल्यो ।

फेरि बिहान भयो । 

दिउँसो प्रचण्ड गर्मी हुन्छ ।

गोली लागेको तेस्रो दिन गोठाला गरिरहेकामध्ये एक बच्चीले छेउमा आएर उनलाई हेरे । लामाले उनलाई पानी मागे । बच्चीले गाउँमा दिँदैनन् भनिन् । आधा घन्टा पैदल हिँडेर उनले चाउचाउको प्याकेटमा खोलाबाट पानी ल्याइदिइन् । उनीकहाँ पानी ल्याइपुर्याउँदा अलिअलि मात्रै बाँकी थियो । त्यतिले मुख भिजाउँदा पनि बाँच्ने आस पलाउँथ्यो । 

भोलिपल्ट बुद्धि तमू चाउचाउ र जर्किनभरि पानी लिएर आइपुगे । ‘पानी खाएँ । पानी खाएपछि रिंगटा लाग्यो,’ उनले विगत कोट्याए, ‘चाउचाउ खान खोजे पनि सकिनँ ।’ 

गोली लागेको यत्तिका दिनसम्म उनी बारीको पाटामै थिए । उनलाई खतरा हुने नै भयो । वरिपरि हुने साथीलाई पनि त्यस्तै होला भनेर सकेसम्म छिट्टै ओडारतिर लैजानूस् भनेर तमूलाई आग्रह गरे । घाउमा कीरा परिसकेकाले उपचार गर्न अपरिहार्य थियो । 

गाउँमा कसैले सहयोग गर्न नमाने पनि म प्रयास गर्छु भन्दै बुद्धि तमू (स्थानीय जनसरकार प्रमुख) त्यहाँबाट निस्के । तमूले स्वास्थ्यकर्मी लिएर फर्के । भर्खरको स्वास्थ्यकर्मीले घाउ हेरेर डराए । उनले कपासको सहायताले बेटाडिन हाल्न सुझाए । गंगाले त्यसै गरे । कीरा झर्दै गए । झिँगा भन्कन छाड्यो ।

यहाँबाट चाँडै सार्छु भन्दै हिँडेका बुद्धि बेलुकासम्म आउलान् भनेर गंगाले आस गरिरहे । तर, उनी फर्केनन् । रात पर्यो । रातभरि बेहोश हुने र बौरिनेक्रम चलिरह्यो । बिहानीपख एकदमै जाडो भयो । ‘बिहान घाम लागेपछि बाँच्छु कि के हो भन्न आस जाग्थ्यो,’ उनले अतीत कोट्याए, ‘मिर्मिरे उज्यालो हुँदै थियो । म बसेको कान्लामाथि नियाल्दा गाउँका एक वृद्धले हेल्मेटजत्रो ढुंगा उचालेर मलाई प्रहार गर्न लागेका रहेछन् । उनको र मेरो आँखा जुधेपछि उनी रोकिए ।’ त्यतिबेला गंगाले ती वृद्धलाई भने, ‘म मर्नु न बाँच्नुको दोसाँधमा छु । तिमीले राम्रो काम गर्न लागेछौ । तिमीले मलाई एकैचोटि मार्नू । नत्र तिमीलाई पाप लाग्नेछ । पाप र धर्मको कुराले तिनले प्रहार गर्न लागेको ढुंगा फाले ।’ 

ढुंगा प्रहार गर्न खोज्ने वृद्ध लामा बसेको ठाउँ ओर्ले । ती वृद्धले तँलाई भोक लागेको छ भनेर सोधे । लामाले छ भने । जाडो लागेको छ ?, तिर्खा पनि लागेको छ ? भन्दा छ भन्नबित्तिकै उनले जर्किनमा रहेको पानी टाउकोमा खन्याइदिए । लगत्तै बूढाले आक्रोश पोखे, ‘यस्तो ज्यान छ, ब्रिटिस या इन्डियन आर्मी भए हुन्थ्यो । खेतिपाती गरे पनि त हुन्छ । साले तिमीहरूले गर्दा हाम्रो गाउँ आतंकित छ ।’ त्यति भन्दै बूढा बाटो लागे । उनीसँग आएको एक युवक हेरिबसे ।
उज्यालो भयो ।

हिउँसो ११/१२ चार/पाँचजना बच्चा गंगालाई हेर्न पुगे । उनीहरूलाई समेत लामाले बिन्ती गरे, ‘नानी हो म भोकाएको छु । तिर्खा लागेको छ । बिस्कुट, चाउचाउ र सम्भव भए पानी ल्याइदेऊ भनेर सय रुपैयाँ दिए ।’ ठुल्ठूला भागे पनि सानासाना दुई बच्चीले ६ रुपैयाँ पर्ने पाँच चाउचाउ र १० रुपैयाँ पर्ने दुई बिस्कुट ल्याइदिए । उनले खाने प्रयास गरे पनि सकेनन् । 

रात पर्यो ।

बिहान भयो 

आज पनि कोही आएका छन् भनेर उनले यताउता हेरे । कोही देखेनन् ।

११/१२ तिर एक बूढा देखापरे । उनी गंगाले पहिलो दिन पानी मागेको बूढा हुन् । बिहान एउटाले ढुंगाले हान्न खोजे । अहिले यिनी आएका छन्, मार्ने भए कि के हो भनेर डराएका उनको सोचाइ गलत भयो । छेउमा आएर तिनले भोक लागेको छ भनेर सोधे ? उनले सिलबरे कचौरामा मकैको च्याख्लामा कोदोको पीठो ओडालेको (जसलाई गुरुङले मालेकाङ भन्छन्) ढिँडो, तोरीसागको तरकारी, खुर्सानी र मुला ल्याइदिए । साथमा एक बोतल छ्याङ पनि थियो । 

तिनले यो खानेकुरा मैले ल्याइदिएको नभन्नू, मलाई मार्छन् भनेर गंगालाई सचेत गराए । पानी ल्याउन नसकेकाले जाँड ल्याइदिएको हुँ, खान सक्नेजति खानू बाँकी फाल्दिनू है भनेर उनी हिँडे । ‘मैले छ्याङ खाएँ । नखाएको धेरै भएकाले पेट खाल्डो परेको थियो,’ उनले भने, ‘हेर्दै डर लाग्थ्यो । जबरजस्ती अलिकति ढिँडो खाएँ । औषधि सेवन गर्नुपर्ने भएकाले छ्याङ जोगाउनुपर्ने बाध्यता थियो ।’ 

खाएको १५ मिनेटपछि पखालो चल्यो । फेरि झिँगा भन्कन थाल्यो । दिन बित्यो । रात पर्यो । भोलिपल्ट दुई कलाकार भाइबहिनी उनीकहाँ पुगे । अघिल्लो दिन छैलुङ पुगेका उनीहरूले लामा बारीको पाटामा छन् भनेर थाहा पाएनन् । गाउँलेले सुनाएपछि उनीहरू लामाकहाँ पुगेका थिए । भेटघाटपछि एकछिन रुवाबासी चल्यो ।

लामाले आफूलाई सार्न पुनः अनुरोध गरे । कलाकार भाइबहिनीले गाउँलेलाई सहयोग मागे पनि कोही तयार भएनन् । त्यसपछि गंगाले उनीहरूलाई सुझाए, ‘गाउँलेलाई थर्काऊ । हाम्रा सेना बेनी लडाइँ सकेर फर्कंदै छन् । तिमीहरू गाउँमा बस्ने भए सहयोग गर । नत्र........।’ 

त्यसो भनेपछि गाउँले जम्मा भए । कसैले बाँस, कसैले बोरा, कसैले डोरी लिएर आए । स्ट्रेचर बनाए । स्ट्रेचर बन्दै गर्दा बुद्धि तमूसहित तीनजना साथी आइपुगे । गंगालाई सुरक्षित ठाउँ लैजान गाउँलेको सहयोग चाहिएन । पार्टीसम्बद्धले नै उनलाई दुई घन्टा स्ट्रेचरमा बोकेर पाचोककै एक ओडारमा पुर्याए । त्यही ओडारमा पहिलेपहिले जनसेना बस्ने र हतियार लुकाउने गर्दारहेछन् । जहाँ ३० जना सजिलै बस्न सकिन्थ्यो । 

गोली लागेको ९६ घन्टापछि उनलाई ओडार पुर्याइयो । उनलाई साता दिन ओडारमै राखियो । तात्कालिक माओवादी गोरखा इन्चार्ज कृष्ण धितालले उद्धारका लागि खर्चसहित दुई बहिनी पाचोक पठाए । ओडारमा खान बस्न सहज भए पनि उपचार सम्भव थिएन । रातिराति हिँडाएर उनलाई लमजुङ, गोरखा हुँदै भरतपुर अस्पताल पुर्याइयो । संवत् २०६० चैत ८ गते गोली लागेको उनलाई २०६१ वैशाख ८ गते अस्पताल पुर्याइएको थियो ।

अस्पताल बसाइ त्यत्तिकै गाह्रो थियो । सेनाले चेक जाँच गरिरहन्थे । बालबाल जोगिएर विविध कठिनाइबीच उनको उपचार गरियो । उपचारपछि एम्बुलेन्समा हालेर चितवनकै एक गाउँमा पुर्याइयो । तीन महिनादेखि उपचार गरिँदै आए पनि घाउ पाकेको पाक्यै थियो । उनलाई खुट्टा भारी हुँदै गयो । पार्टीसँग सल्लाह गरेर गोली लागेको उनको खुट्टा काटियो । विडम्बना त्यही दिन अस्पताल छापा मारियो । उनलाई शौचालयमा लुकाएर बचाइयो भने त्यसपछि अस्पतालको ‘हस्पिस’ मा राखेर सुरक्षित बनाइयो । तीन दिनपछि उनी बसेको ढोका ढकढकाइयो । सहयोगी र उनलाई छुट्टाछुट्टै सोधपुछ गरियो । अस्पतालले सहयोग गर्यो । दिउँसो फेरि सेनाले दुई घन्टा अन्तर्वार्ता लिए ।

दुई/तीन दिनपछि पार्टीका साथीहरूले उनलाई छापामार शैलीमा अस्पतालबाट निकाले । अस्पतालबाट बाहिरिइएपछि पार्टीको बैठकमा भाग लिँदै गए । पार्टीका साथीबाटै भेदभाव हुन थालेपछि राजनीमा दिए पनि स्वीकृत भएन । ‘म बावुरामप्रति अलि नजिक थिएँ । त्यही भएर मलाई सुरक्षित गर्न चाहिएन । त्यसपछि म आफ्नै पहलमा काठमाडौं आएँ,’ उनले दुःख व्यक्त गरे, ‘पार्टी विभाजन हुँदै गएपछि म पनि टाढाटाढा हुँदै गएँ । हेटौंडा महाधिवेशनबाट पार्टीलाई लेबी बुझाउन छाडेको हुँ ।’

डा. बावुराम भट्टराई सरकारमा हुँदा गंगा लामा सचिवालय अधिकृत थिए । एक अन्तक्र्रियामा डा. भट्टराईको आलोचना गरेको भन्दै साथीहरूको जोडबलमा सचिवालय अधिकृत बनाइएका लामालाई बावुराम सरकारले हटायो ।

राज्य समिति सदस्यको भूमिका निर्वाह गर्दै गर्दा उनलाई साबिकको पाचोक गाविस–६ छैलुङमा गोली लागेको थियो । त्यतिबेला तात्कालिक माओवादीले जनसत्ता निर्माण गर्दै ८० प्रतिशत भूभाग कब्जा गरेको दाबी गर्दै थियो ।

राजनीतिक अभियानसहित सत्ता विस्तार अभ्यासका लागि त्यहाँ पुगेकामध्ये खुसीराम पाख्रिनका छोरा दोर्जेले सहादत पाए पनि लामालाई गोली लागेको ९६ घन्टापछि उद्धार गरिएको थियो । गोरखाको अभियान सकेर लमजुङको छैलुङ पुग्दा सुरक्षाकर्मीले उनले नेतृत्व गरेको टोलीमाथि आक्रमण गरेको हो ।

‘कार्यक्रम सकिएकाले रोलकलमा बसेका थियौं । केटाकेटीले सेना आयो, सेना आयो भने,’ उनले भने, ‘फर्मेसनमा रहेको २२ जनाको भागदौड मच्चियो । त्यहाँबाट दौडेर जंगल पुग्न झन्डै पाँच÷सात मिनेट लाग्थ्यो । लडाइँको समयमा त्यति समय भनेको धेरै हो । सेकेन्ड–सेकेन्डमा मृत्यु हुन्छ । दौडँदै बारीको बीचपाटोमा पुग्दासमेत सेना नआएपछि हामी त्यसै दौडिराखेका छौं कि के हो ? सेना नै आएको भए फायर गरिसक्थ्यो, बुझ्नुपर्यो भनेर हामी फेरि पहिलेकै घर फक्र्यौं ।’ 

घरभेटी आमैले तल गाउँका एक बूढा अलि फटाहा छन्, तिनैको काम होला भनिन् । को रहेछन् भने बुझ्न थालियो । सेना आएको हो कि होइन भनेर बुझ्न लगाइयो । खोजिएका बूढा भेटिएनन् । छोरीमात्रै भेटिइन् । ‘जसले दुःख दियो, त्यसैका घरमा खाना खाने निधो गर्यौं,’ लामाले प्रस्ट पारे, ‘छोरीले २२ जनालाई पुग्ने चामल छैन भनिन् । अन्तिममा आठजनालाई खाना पकाइन् ।’

केटाकेटीले सेना आयो भनेको सत्य रहेछ । देख्दा वारिपारि देखिए पनि सेना माओवादी रहेको ठाउँ आइपुग्न एक घन्टा लाग्दोरहेछ । माओवादी सेना बेनी पुगेको थियो । पाचोकमा सेना छैन भनेर आतंक मच्चाउन उनीहरू छैलुङ पस्दै रहेछन् । ‘सेनाले हामी बसेको देख्यो वा देखेनन्,’ उनले सुनाए, ‘हामी भागदौड गरेपछि सेना पछाडि हटे । पछि सादा पोसाकमा गाउँ पसे । हतियारविहीन छ भन्ने थाहा भएको भए एकैचिहान बनाउँथे । उनीहरूले सी आकारमा घेरा हालिहाले । हामी आठ बजे हिँड्ने योजनामा थियौं ।’

सेनाले फायर खोलेपछि भागदौड मच्चियो । दोर्जेले घेरा तोडिसकेका थिए । उनीसँग दुई ग्रिनेड थिए । एउटा ग्रिनेड पड्काए साथीहरू सुरक्षित होलान् भनेर तयारी गर्दै गर्दा उनले सहादत पाए । 

त्यतिबेला गंगा लामालाई देब्रेघुँडामा गोली लागिसकेको थियो । संवत् २०६० चैत ८ मा गोली लागेपछि शल्यक्रिया गरेर लामाको देब्रेखुट्टा काटियो । बहिनी अमेरिका गएपछि हिजोआज उनले बहिनीको गलैंचा कारखाना चलाएर जीविकोपार्जन गर्दै आएका छन् । लामाको जीवनीमा आधारित ‘तान्द्रो’ नामक चलचित्र बनेको छ भने ‘दसवर्षे जनयुद्ध स्मृतिका डोबहरू’ किताबसमेत प्रकाशित छन् । 

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ