शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओजिललाई भित्र्याउन चाहन्छन् मोरिन्हो

सोमबार, १८ मङ्सिर २०७४, १६ : ५३
सोमबार, १८ मङ्सिर २०७४

म्यान्चेस्टर । टालीमा नम्बर १० को समस्या समाधान गर्न म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्हो जर्मनीका स्टार मेसुट ओजिललाई भित्र्याउने तयारी गरेका छन् ।

टेलिग्राफमा प्रकाशित रिपोर्टका अनुसार आर्सनलका स्टारले क्लबसँग नयाँ करार अनुबन्ध गरेका छैनन् र यो सिजनको अन्त्यमा उनी करारविहिन हुनेछन् । ओजिल नर्थ लण्डन क्लब छाडेर नयाँ चुनौतीको खोजीमा रहेको बताइएको छ ।

सन् २०१० मा रियल म्याड्रिडमा हुँदा उनले नै ओजिललाई क्लबमा भित्र्याएका थिए । गत शुक्रबार मोरिन्होलाई यस विषयमा प्रश्न गर्दा उनले ओजिललाई ‘विश्वकै उत्कृष्ट १० नम्बर’ को संज्ञा दिँदै यो सम्भावनालाई नकारेनन् ।

आर्सनलविरुद्धको खेलअघि मोरिन्होलाई ‘क्लबले ओजिललाई अनुबन्ध गर्ने तयारी गरेको हो ?’ भनेर सोधिएको प्रश्नमा मोरिन्हो मात्र मुस्कानसहित ‘नो कमेन्ट’ भनेका थिए ।

रिपार्टमा युनाइटेडले विन्टर ट्रान्सफर विन्डोमा २.५ करोड पाउण्ड खर्च गर्नुको साटो यो सिजनको अन्त्यसम्म पर्खने बताइएको छ ।

तर, यो कुरा जनवारीको घटनाक्रमले निर्धारण गर्नेछ । आर्सनलका प्रशिक्षक आर्सन वेंगरले यसअघि ओजिललाई जनवारीमा बिक्री गर्न सक्ने सम्भावना रहेको बताएका थिए । तर, उनी ओजिललाई क्लबमा राख्न नसके प्रिमियर लिग प्रतिद्वन्द्वी भन्दा अन्य लिगमा बेच्ने पक्षमा रहेका छन् । 

युनाइटेडले आर्सनलका एलेक्सिस सान्चेजप्रति पनि इच्छा देखाएको समाचारमा बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप