शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटल ग्राउन्ड धनुषा : अन्तरविरोधको मार खेप्दै उम्मेदवार !

सोमबार, १८ मङ्सिर २०७४, १५ : ३३
सोमबार, १८ मङ्सिर २०७४

नेत्र पन्थी र एसके यादव
 

धनुषा– यहाँका चारवटै प्रतिनिधिसभा र आठवटै प्रदेशसभामा राजनीतिक दलहरूले अन्तरविरोधको मार खेपिरहेका छन् । गठबन्धनभित्रका अन्तरविरोधका झिल्कोले उम्मेदवार तनावमा छन् ।

वामगठबन्धनमा एमाले र माओवादी केन्द्रबीच पूरै विश्वास छैन । उता मधेसवादी दलहरूबीच पनि गठबन्धनको मार छ । राजपा र सङ्घीय समाजवादी फोरमले यहाँ संयुक्त रूपमा चुनाव लडेका छन् तर एकले अर्कालाई पूरै सहयोग गर्न डराएका छन् । काङ्ग्रेसभित्र पनि उम्मेदवारी चयनबाट सुरु भएको अन्तरविरोध अहिलेसम्म यथावत छ ।

औपचारिक कुरामा दलका नेताहरू अन्तरविरोध नभएको बताउँछन् तर अनौपचारिक कुराकानीमा चाहिँ अन्तरविरोधको सामना गर्नुपरेको बताउँछन् । सङ्घीय समाजवादी फोरम, नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले संयुक्त रूपमा चुनाव लडेका छन् । तर, उनीहरूको प्रचार भने आआफ्नो पार्टीको छ ।

धनुषा १ मा वामगठबन्धनका उम्मेदवार मातृका यादव अलिअलि अन्तरविरोधलाई स्वभाविक मान्छन् र यसमा मूल नेतृत्वले हस्तक्षेपकारी भूमिका निभाउनुपर्ने बताउँछन् ।

यादवले रातोपाटीसँगको कुराकानीमा भने, ‘माओवादी र एमालेको नितान्त सिद्धान्त व्यवहार फरक छ । धेरै मुद्दामा सोच्ने तरिका फरक छ । व्यवहार जाने तरिका फरक–फरक छ । अचानक मिलेर जानुपर्छ भनेर आयो । कतिपय ठाउँमा खुनी सङ्र्घष पनि भएका छन् । जनता मारिएका छन् । कोही जेल भएका छन् । त्यस्तो अन्तरविरोधमा जेलिएका पार्टीबीच अलि अलि समस्या त आउँछ नै । मलाई लाग्छ त्यो माथिल्लो नेतृत्वले हल गर्नुपर्छ । जो अनुशासन र नीतिमा बस्दैनन्, त्यसको बारेमा सम्झाइदिनुपर्छ । इमानदारीपूवर्क लाग्यो भने हल हुन्छ । सक्रिय हस्तक्षेपको खाँचो छ ।’

नेता यादवले चुनावमा इमानदारीता प्रदर्शन नभए त्यसको असर पार्टी एकतामा हुन सक्ने बताए । ‘दुवै पार्टीका लागि चुनाव परीक्षणकाल हो । इमानदारिता प्रदर्शन भएन भने त्यहाँ पार्टी एकताको कुरा कसरी होला । अलग अलग पकाएर खाएर बसेकाहरूबीच अलिअलि समस्या त भइहाल्छ ।’ यादवले भने ।

एमाले केन्द्रीय सदस्य एवं पूर्वसांसद जुली महतोले वामगठबन्धनमा केही ठाउँमा अलिअलि समस्या देखिए पनि मतमा समस्या नहुँने बताइन् । ‘चुनावी सिट बाँडफाँडमा धेरै आकाङ्क्षी छुटेका छन् । यसले केही ठाउँमा असन्तुष्टि देखिएको छ तर वाम गठबन्धनको भोटमा समस्या हुँदैन ।’

धनुषा जिल्लाको चारवटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा सात दर्जनभन्दा बढीले उम्मेदवारी दिएका छन् । मुख्य आठजना शीर्ष नेताले भने कडा प्रतिस्पर्धा गर्नुपरेको छ ।

धनुषा निर्वाचन १ मा काङ्ग्रेसका नेता आनन्दप्रसाद ढुङ्गाना र माओवादी केन्द्रका मातृकाप्रसाद यादवबीच टक्कर छ । यहाँ सङ्घीय समाजवादीका दीपक कार्की मैदानमा छन् । उनी पहिला काङ्ग्रेसमा थिए । काङ्ग्रेसले टिकट नदिएपछि अन्तिम समयमा उनले पार्टी बदलेका हुन् । कार्कीलाई एकाएक टिकट दिएपछि सङ्घीय समाजवादी फोरमभित्र पनि अन्तरविरोध देखिएको छ ।

काङ्ग्रेस नेता आनन्दप्रसाद ढुङ्गाना धनुषाबाट दुई पटक सांसद भएका र एक पटक पराजित भएका थिए । उनलाई काङ्ग्रेसले संविधानसभा २ मा समानुपातिकबाट सभासद् बनाएको थियो ।

ढुङ्गानासँग धनुषा–१ मा लडेका माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादव पहिलो पटक चुनाव लड्दै छन् । उनी वाम गठबन्धनका साझा उम्मेदवार हुन् । उनको निर्वाचन क्षेत्रमा पनि वाम गठबन्धनभित्रको अन्तरविरोध देखिएको छ । एमालेका केही नेताले असहयोग गरेको बताइएको छ ।

पहिलो संविधानसभाको चुनावमा उनलाई माओवादीले समानुपातिकबाट सभासद् बनाएको थियो । माओवादी अध्यक्ष प्रचण्डसँग असन्तुष्टि बढेपछि उनले कार्यकाल पूरा गर्नुअघि नै सभासद्बाट राजीनामा दिएका थिए ।

क्षेत्र नं २ मा वर्तमान कृषिमन्त्री एवं काङ्ग्रेस नेता रामकृष्ण यादव र माओवादी केन्द्रका नेता रामचन्द्र झाबीच लडाइँ छ । यहाँ सङ्घीय समाजवादीका उमाशङ्कर अगारिया यादव र झासँग लडिरहेका छन् ।

नेका नेता रामकृष्ण यादव धनुषा निर्वाचन क्षेत्र नं. २ बाट दुई पटक लगातार निर्वाचित भएका छन् । पहिलो पटक सभासद् बनेपछि लेखा समितिको संयोजकसमेत भएका थिए । यादव अहिले कृषिमन्त्रीसमेत हुन् ।

सोही क्षेत्रबाट आफ्नो भविष्य खोजी रहेका माओवादी नेता रामचन्द्र झा पनि दुई पटक सांसद बनिसकेका छन् । पहिलो संविधानसभाको चुनावमा एमालेबाट जितेका थिए । दोस्रो संविधानसभाको चुनावभन्दा केही महिनाअघि मात्रै माओवादीमा प्रवेश गरेका झा दोस्रो चुनावमा पराजित भएका थिए । झा प्रचण्ड नेतृत्वको सरकारमा स्थानीय विकासमन्त्रीसमेत भएका थिए ।

क्षेत्र नं ३ मा काङ्ग्रेसका नेता विमलेन्द्र निधि र राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोबीच मुख्य प्रतिस्पर्धा छ । यहाँ वामगठबन्धनका तर्फबाट माओवादीका रामसिंह यादव चुनावी मैदानमा छन् । वामगठबन्धनले कमजोर उम्मेदवारी दिएको भन्दै महतोले एमालेका भोटमाथि नजर राखेका छन् । यहाँ महतोले पनि अन्तरविरोधको सामना गर्नुपरेको छ । राजपाभित्रको तमलोपा समूहका नेताहरूले महतोलाई सघाइरहेका छैनन् । जनकपुरमै रहेका राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले राजेन्द्र महतोलाई सघाउनुको सट्टा उनी महन्थ ठाकुरलाई जिताउनका लािग महोत्तरीमा डेरा जमाएर बसेका छन् ।

महतो घरदैलो कार्यक्रम होस् या अरू कुनै कार्यक्रम उनीका साथमा अधिकांश सदभावना पार्टीका नेता तथा कार्यकर्ता मात्र हुन्छन्, जुन पार्टी मिलेर राजपा नेपाल बनेको छ । राजेन्द्र महतो जनकपुरबाट चुनाव लडेको कुरा तमलोपाका नेताले मन पराएका छैनन् । तमलोपा राजपा नेपालमा मिलाइएको छ । उनीहरू त्यहीँका स्थानीय नेतालाई नै उम्मेदवार बनाउने उनीहरूको चाहना थियो । राजपा नेपालभित्रका थुप्रै कायस्थहरू विमलेन्द्र निधिको पक्षमा मतदान गर्ने पक्षमा रहेको देखिएको छ ।

यहाँबाट पूर्वसांसद एवं एमाले केन्द्रीय नेता जुली महतो आफै चुनाव लड्न चाहेकी थिइन् । तर अन्तिम समयमा आएर उनी समानुपातिकमा बसिन् । उनी आफूलाई समानुपातिकमा राखेको भनी खुशी छैनन् । निधिबाट पराजित जुली महतो पछिल्लो समय आफ्नो क्षेत्रमा निकै मिहिनेत गरेकी थिइन् तर कहाँबाट कसरी षड्यन्त्र भयो थाह छैन तर पार्टीको निर्णय मान्न बाध्य भएको उनी बताइन् । उनी भन्छिन्, आफ्नो इच्छा जेभनी पार्टीको निर्देशन मान्नुपरेको छ । जुलीले अहिले अधिकांश समय धनुषा ४ मा खर्चेकी छिन्, जहाँबाट उनका पति रघुवीर महासेठ वामगठबन्धनका तर्फबाट चुनावी मैदानमा छन् । जब कि उनले आफ्नो क्षेत्र (तीन नम्बर) मा समय दिनुपर्ने हो किनभने त्यहाँबाट वामगठबन्धनका रामसिहं यादव चुनाव लडेका छन् तर जुली महतोलाई खासै त्यहाँ मतलब छैन ।

स्रोतहरू भन्छन्, भित्रभित्रै उनले राजेन्द्र महतोलाई समर्थन गरेकी छिन् । जुली महतोका लागि निधिभन्दा राजेन्द्र महतो नै सजिलो हुने उनी निकट नेताहरू बताउँछन् । राजेन्द्र महतो बाहिरको भएको कारणले जुलीलाई क्षेत्रमा काम गर्न सजिलो हुने रणनीतिक अनुसार विमलेन्द्रलाई हराउनतिर लागेको स्रोतले जनाएको छ । यद्यपि यो कुराको पुष्टि कसैले गरेको छैन । नेपाली काङ्ग्रेसका नेता एवं धनुषा २ का उम्मेदवार रामकृष्ण यादवले पार्टी वा बाहिर कुनै पनि प्रकारको असन्तुष्टि नरहेको बताए । एउटै परिवारमा बस्दा त भाइभाइमा मनमुटाव हुन्छ, यो त पार्टी हो, केही न केही असन्तुष्टि त पक्कै होला तर त्यसलाई असन्तुष्टि रूपमा लिनु हुँदैन ।

विमलेन्द निधिको क्षेत्रमा काङ्ग्रेसका जिल्ला सभापति रामसरोज यादवले पनि फुली सपोर्ट गरेको देखिँदैन ।    

धनुषा ३ मा यतिबेला सबैको ध्यान केन्द्रित  छ । काङ्ग्रेसका  निधि र राजपाका  महतोबीच कडा टक्कर छ । दुवै नेताले जित आफ्नो पक्षमा पार्नका लागि आफ्नो क्षेत्रबाहेक कुनै क्षेत्रमा जान सकेका छैनन् । धनुषा–३ मा मुस्लिम मतदाताको मतले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले त्यसतर्फ पनि दुवै नेता जोड दिएका छन् । यहाँ झन्डै २० हजार मुस्लिम मतदाता छन् ।  

धनुषा ४ मा खानेपानी मन्त्री तथा काङ्ग्रेस नेता महेन्द्र यादव तथा एमाले नेता रघुवीर महासेठ चुनावी प्रतिस्पर्धामा छन् । यादव पहिलो पटक संसद्मा चुनाव लड्दै छन् । पहिलो र दोस्रो संविधानसभा चुनावमा उनलाई समानुपातिकबाट संसद्मा प्रतिनिधित्व गराइएको थियो । यादव तरुण दलको केन्द्रीय अध्यक्षसमेत भएका छन् ।

एमाले नेता रघुवीर महासेठ धनुषाबाट एक पटक सांसद भएका छन् । राष्ट्रपतिमा डा. रामवरण यादव चुनिएपछि उनको खाली भएको सिटमा भएको उपचुनावमा महासेठले जित निकालेका थिए । तर, दोस्रो संविधानसभा चुनावमा महासेठलाई पराजित हुनुपरेको थियो । महासेठ एक पटक मन्त्रीसमेत भएका छन् ।

धनुषाका अस्थिर मतदाताले उम्मेदवारमाथि दबाब बनाइरहेको जस्तो देखिन्छ । २०१८ मा राजा महेन्द्रमाथि जनकपुरमै बम प्रहार भएको थियो । २०४६ सालको जनआन्दोलनमा जनकपुर सहर आन्दोलनको पक्षमा देखियो । माओवादी जनयुद्ध र मधेस आन्दोलनमा पनि धनुषा मधेसका जिल्लामा अगाडि नै थियो । धर्म, सांस्कृतिक मूल्य मान्यतामा विश्वास गर्ने भएकाले जनकपुर आफैंमा यथास्थितिवादी चरित्रको सहर मानिन्छ ।

चुनावकै कुरा गर्दा पञ्चायतका दुवै प्रत्यक्ष चुनाव (२०३८/२०४३) मा धनुषाबाट हेमबहादुर मल्लले जिते । २०४३ मा त हेमबहादुर मल्लकी श्रीमती शारदा मल्लले जितेकी थिइन् । अहिले उनका छोरा मनोज मल्ल पनि चुनावी मैदानमा छन् ।

धनुषा २०४८ सालमा काङ्ग्रेसतिर ढल्क्यो । तर एक वर्षपछि २०४९ मा भएको स्थानीय चुनावमा काङ्ग्रेसका बागीले मेयर र उपमेयर बाजी मारे ।

मध्यावधी चुनाव (२०५१) मा पनि काङ्ग्रेस नै जित्यो । २०५६ को स्थानीय चुनावमा फेरि बागी उम्मेदवारले जिते । २०५१ मा चुनाव जिते पनि २०५६ को आमचुनावमा विमलेन्द्र निधिले हारे । राप्रपाका कृष्णप्रताप मल्लले जिते । २०६४ र २०७० मा सद्भावनाका सञ्जय साहले जितेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप