कस्तो विजोग अवस्थामा छ जनकपुर चुरोट कारखाना (फोटोफिचर र भिडियो)

person access_timeमंसिर १८, २०७४ chat_bubble_outline0

नेत्र पन्थी र एसके यादव

धनुषा– जनकपुर उपमहानगर पालिकाको वडा ९ मा छ, जनकपुर चुरोट कारखाना । ५० वर्ष पुरानो यो कारखाना अहिले बन्द छ । 

कारखाना परिसरमा पस्दा यस्तो विजोग देखिन्छ कि जो कोहीको मनमा ठेस लाग्छ । रुस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बनेर २०२१ पुस २९ मा तत्कालीन राजा महेन्द्र शाहले उद्घाटन गरेको यो कारखाना २०७० असार २० बाट पूर्ण रूपमा बन्द छ । यही दिनबाट यहाँ लागेको ताला खुलेका छैनन् । यद्यपि यहाँको उत्पादन भने २०६८ चैत्रबाट नै बन्द भएको हो । 

मेसिनदेखि अन्य सरसमानमा खिया लागेका छन् । हेर्दा लाग्छ, अब धेरै समानले काम गर्दैनन् । सुरक्षाकर्मी मात्र राखिएको छ, यहाँ । यहाँ तीनजना सरकारी कर्मचारी छन् तर कहिलेकाहीँ मात्र कारखान पुग्छन् । हामी आइतबार त्यहाँ पुग्दा जीएम ऋषिराज कोइराला, उनीपछिका अर्का कर्मचारी दुर्गाप्रसाद पराजुली र लेखा अधिकृत त्यहाँ थिएनन् ।

कारखानाका एक जना सुरक्षा अधिकारी, जो पूर्वप्रहरी पनि रहेछन्, उनले हामीलाई कारखानामा घुमाए । तर प्रशासनिक कर्मचारी नरहेको भन्दै मुख्य मेसिन रहेको भवनको ताला खोल्न भने उनले मानेनन् । प्रशासनिक अनुमति नभएसम्म हामीले ताला खोल्न मिल्दैन भन्ने उनको भनाइ थियो । 

करिब एक घण्टाजति कारखाना परिसरमा घुम्दा हामीले त्यहाँको अवस्था बुझ्यौँ । उत्पादन, प्याकिङ र भण्डारण गर्ने भवनहरू पनि जीर्ण बन्न थालेका छन् । केही गाडीहरू पार्किङ अवस्थामा छन्, तर बिग्रिएका जस्ता देखिन्छन् । पावर हाउसको पनि अवस्था उस्तै छ । 

३७ वर्ष काम गरेका हरिकृष्ण बस्नेतले हामीलाई यहाँको अवस्थाबारे जानकारी दिए । 

२०७० को असार २० को मन्त्रिपरिषद् बैठकले सञ्चालक समिति विघटन गरेर सरकारले जनकपुर चुरोट कारखाना बन्द गर्ने निर्णय गरेको थियो । कर्मचारीलाई पनि अवकास दिने निर्णय भएको थियो । त्यसबेला यहाँ कारखानामा ७ सय ५८ कर्मचारी थिए । कारखाना बन्द भएपछि उनीहरू आआफ्नो घर गए । यो कारखानामा ७५ जिल्लाका कर्मचारी थिए । 

त्यस दिनको मन्त्रीपरिषद् वैठकले उद्योगको संरचना वैकल्पिक रूपमा प्रयोग गर्न अध्ययनसहित सरकारलाई सुझाव दिन कार्यदल बनाएको थियो ।

सरकारले कारखानाको सम्पत्ति वैकल्पिक रूपमा प्रयोग नगरुन्जेल उद्योग मन्त्रालयका सहसचिवलाई नै महाप्रबन्धको जिम्मेवारी दिने निर्णय गरेको थियो । 

तर, कार्यदलले ठोस अध्ययन गरेन । कुनै बेला यो कारखान निजीकरण गर्ने सरकारी तयारी थियो । तर यो प्रक्रिया पनि अगाडि बढेन । 

कम्पनी ऐन २०२१ अनुसार स्थापित उक्त कारखानाले वार्षिक दुई अर्ब ३६ करोड खिल्ली चुरोट उत्पादन गथ्र्यो । 

मुलुकलाई आत्मनिर्भर बनाउन स्थापित २३ राष्ट्रिय तहका उद्योग तथा कलकारखाना अहिले ठप्प छन् । प्रजातन्त्र पुनस्र्थापनापछि २०४८ मा एकै दिन मन्त्रिपरिषद बैठकले चीनसहित विभिन्न मुलुकको सहयोगमा निर्माण भएका उद्योग निजीकरण गर्ने निर्णय लिएको थियो । छिमेकी सदाशयले खुलेका राष्ट्रिय उद्योगको अधोगति त्यसै दिनबाट सुरु भएको मानिन्छ । 

२०४८ को मन्त्रिपरिषद निर्णयअनुसार निजीकरण भएका काठमाडौँका ट्रली बस, बाँसबारी छालाजुत्ता कारखाना, साझा बस, नेपाल एयरलाइन्स, भक्तपुरको चाइनिज इँट्टा कारखाना लिमिटेड व्यवस्थापन गर्न नसकी बन्द भएको दशक बितेको छ । 

मकवानपुरको हेटौँडा कपडा उद्योग, हेटौंडा–काठमाडौं रोपवे, जनकपुरको जनकपुर रेलवे, जनकपुर चुरोट कारखाना, उदयपुरको उदयपुर सिमेन्ट कारखाना पनि अस्तव्यस्त हुँदै व्यवस्थापन र राजनीतिकरणको शिकार बनेर बन्द भएका थिए ।

सुनवल चिनी कारखाना, लुम्बिनी चिनी कारखाना, विराटनगरस्थित विराटनगर जुट मिल्स, सर्लाहीको सर्लाही चिनी कारखाना, गोरखाली टायर उद्योग, बुटवल धागो कारखाना, वीरगन्ज चिनी कारखाना, वीरगन्ज कृषि औजार कारखाना, इलाम चिया कारखाना, हिमाल सिमेन्ट कारखाना चोभार पनि बन्द छन् । नवलपरासीको भृकुटी कागज कारखाना पनि यसैगरी बन्द भयो । 

अहिले जनकपुर चुरोट कारखाना परिसरमा रहेको ‘लाइब्रेरी भवन’लाई दुई नम्बर प्रदेशको प्रदेशसभा भवन बनाउने तयारी भएको छ । 


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ