शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्याटल ग्राउन्ड धनुषा : यस्तो छ २ नम्बर प्रदेशको संसद वैठक बस्ने ठाउँ (फोटोफिचर र भिडियो)

सोमबार, १८ मङ्सिर २०७४, १४ : २७
सोमबार, १८ मङ्सिर २०७४

नेत्र पन्थी र एसके यादव

धनुषा– जनकपुर चुरोट कारखाना परिसरमा रहेको ‘लाइब्रेरी भवन’लाई दुई नम्बर प्रदेशको प्रदेशसभा भवन बनाउने तयारी भएको छ । जनकपुर चुरोट कारखाना चार वर्षदेखि बन्द छ । 

चुरोट कारखाना परिसरमा रहेका भवनहरूलाई प्रदेश सभाका लागि प्रयोग गर्ने तयारी भएको हो । यसका लागि सरकारी तहबाट तयारी पनि सुरु गरिएको छ । २ नम्बर प्रदेशका आठ जिल्लाबाट ६२ जना प्रदेश सदस्य चयन हुनेछन् । 

तर भवनमा अहिले चुनावका लागि गएको अतिरिक्त सुरक्षाको टोली बसेको छ । बाहिरबाट भवन नयाँ जस्तो देखिए पनि भित्र धेरै मर्मतको खाँचो देखिएको छ । यद्यपि सुरक्षा र ठाउँका हिसाबले यो भवन उपयुक्त देखिन्छ । पार्किङका लागि पनि यहाँ प्रर्याप्त ठाउँ छ । चुरोट कारखाना ३६ बिगाह जग्गामा फैलिएको छ । 

प्रदेश संसदको वैठक भवनबाहेक अन्य कार्यलय पनि चाहिने छन् । प्रदेशसभा भवनबाट प्रदेश सभा सदस्यले शपथ लिनेछन् र त्यहीँ वैठक बस्नेछ । प्रदेशको राजधानी र नामको टुङ्गो लगाउने अधिकार प्रदेशसभालाई दिइएको छ । 

कारखाना परिसरमा ‘लाइब्रेरी भवन’सँगै आवासगृह पनि छन् । मुख्य मन्त्रीदेखि मन्त्रीसम्मलाई पुग्ने आवास गृह छन् । यहाँ जीएम (एक), डीजीएम (एक), निर्देशकहरू (१२) अधिकृतहरू (१२) पाचौँ तहका कर्मचारी (१५) जना बस्ने भिन्दाभिन्दै आवास गृह छन् । तर, कारखाना बन्द भएपछि यहाँ कर्मचारी कोही पनि छैनन् । सबै आवासगृहमा ताला लागेको छ । सामन्य मर्मत गरेर बस्न सकिने भवन छन् । 

धुनषा ३ बाट प्रतिनिधिसभाका लागि चुनाव लडेका काङ्ग्रेस नेता विमलेन्द्र निधिले आफ्नो चुनावी भाषणमा दुई नम्बर प्रदेशको राजधानी जनकपुर हुने र प्रदेशसभाको वैठक जनकपुर चुरोट कारखाना परिसरमा रहने बताउँदै आएका छन् । 

सहरी विकास मन्त्रालयको प्राविधक टोलीले सातवटै प्रदेशमा प्रदेश संसदको वैठक बस्ने भवनको खोजी सुरु गरेको थियो । त्यसै क्रममा दुई नम्बर प्रदेशको लागि कारखाना परिसरमा रहेका ‘लाइब्रेरी भवन’ उपयुक्त हुने देखिएको हो । 

यसबाहेक अन्य प्रदेशका प्रदेशसभा वैठक बस्ने भवनको पनि मन्त्रालयले खोजी गरिरहेको छ । प्रदेश नम्बर १ का लागि इटहरी, धरान र विराटनगरमा प्रदेश कार्यालय र प्रदेश सभा बस्न सक्ने सम्भावित भवनको खोजी गरेको छ । 

इटहरी बजारबाट करिब ९ किलोमिटरको दूरीमा रहेको पूर्वाञ्चल विश्वविद्यालयका लागि बनाइएको मोरङस्थित गोठगाउँको भवन प्रदेश नम्बर १ को प्रदेशसभाका लागि उपयुक्त हुने सिफारिस गरिएको छ । धनकुटास्थित क्षेत्रीय प्रशासन कार्यालय र विराटनगरमा रहेको कृषि कार्यालय वा सभागृह पनि सम्भावित विकल्पमा राखिएको छ ।  

प्रदेश नम्बर ३ मा काठमाडौँ, बनेपा र हेटौँडामा भवनको अध्ययन भएको छ । जावलाखेलस्थित स्थानीय निकाय प्रशिक्षण प्रतिष्ठानको भवन, पुल्चोकस्थित पहिले स्थानीय विकास मन्त्रालय रहेको भवन, राजधानीबाहिर राख्नुपरे बनेपास्थित सूचना प्रविधि पार्कको भवन र हेटौँडामा भए मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय भवनलाई प्रदेशसभाको भवन बनाउन सकिने विकल्प अगाडि सारिएको छ । 

प्रदेश नम्बर ४ मा पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय, पोखरा सभागृह, क्षेत्रीय प्रशासन कार्यालयलाई प्रदेशसभा र प्रदेश सरकारको कार्यालयका रूपमा प्रयोग गर्ने विकल्प दिइएको छ । 

प्रदेश नम्बर ५ मा कपिलवस्तु, दाङ र बुटवलमा प्रदेश सभा, प्रदेश प्रमुख तथा मुख्यमन्त्री र विभिन्न मन्त्रालयका लागि भवनको खोजी गरिरहेको छ । घोराहीस्थित संस्कृत विश्वविद्यालयको भवनलाई उपयुक्त विकल्पका रूपमा अगाडि सारिएको छ । 

त्यसबाहेक प्रदेश नम्बरमा सुर्खेतस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयको भवन र  शैक्षिक तालिम केन्द्रको भवनलाई पनि प्रदेश कार्यालयका रूपमा प्रयोग गर्न सकिने विकल्प दिइएको छ । 

प्रदेश नम्बर ७ का लागि दिपायलस्थित सुदूरपश्चिम क्षेत्रीय प्रशासन कार्यालयको भवन, शैक्षिक तालिम केन्द्र र सीटीईभीटीको कार्यालयलाई प्रदेश सभाका लागि प्रयोग गर्न सकिने विकल्प अगाडि सारिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप