शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हाम्रो दाबी काठमाडौँमाथि छ (महन्थ ठाकुरसँगको अन्तर्वार्ता)

सोमबार, १८ मङ्सिर २०७४, १३ : ५७
सोमबार, १८ मङ्सिर २०७४

महन्थ ठाकुर नेपाली राजनीतिको परिचित नाम हो । उनी नेपाली काङ्ग्रेसका पुरानो नेता तर १० वर्षयता उनको परिचय फेरिएको छ । काङ्ग्रेस छाडेर मधेसवादी दल गठन गरेपछि उनी मधेसको आन्दोलनकारी नेताको रूपमा परिचित छन् ।

शान्त, शालीन र भद्र–भलादमी नेताका रूपमा चिनिएका उनी पछिल्लो नेपालको राजनीतिमा विवादस्पद अभिव्यक्ति दिएका कारण चर्चामा छन् । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका संयोजकसमेत रहेका महन्थ ठाकुर महोत्तरी–३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका छन् ।

सर्लाहीमा दुइटै संविधानसभा चुनाव हारेका महन्थ ठाकुर बडो सचेतताका साथ जित्ने गरी महोत्तरी आएका हुन् । सर्लाही उनको कर्मभूमि हो भने महोत्तरी जन्मभूमि । राजेन्द्र महतोलाई जस्तै उनलाई बहरियाको आरोप लाग्दैन बरु ढिलै भए पनि घर फर्केको भन्दै त्यहाँका जनता खुशी भएका छन् ।

उद्योग वाणिज्य सङ्घ महोत्तरीका महासचिव मोहनप्रसाद साहले महन्थ ठाकुर महोत्तरीबाट चुनावमा लडेकामा यहाँका जनताले आफूलाई भाग्यमानी ठानेको छन् । बरु सर्लाहीबाट किन चुनाव लडेको यतैबाट चुनाव लड्दा हुन्थ्यो नि भनी पहिला आरोप लाग्ने गरेको थियो । तर, यस पटक त्यस्तो छैन । सो क्षेत्रमा उनको प्रतिस्पर्धा सोहीबाट बागी उम्मेदवार चन्दे्रश्वर झासँग रहेको छ, जसलाई दुई महिनाअघि उनैले टीका लगाएर पार्टीमा भित्र्याएका थिए । सो क्षेत्रको स्थानीय चुनावको मत परिणामको आधारमा महन्थ ठाकुर प्रतिस्पर्धामा अगाडि देखिन्छ ।

भारतीय सीमा नजिक टाँसिएको मटिहानी बजारमा घरदैलो कार्यक्रमा भेट भएका महन्थ ठाकुरलाई हामीले सोधेका थियौँ–

घरदैलो कार्यक्रमको अन्तिम दिन, व्यस्त हुनुहुन्छ । मतदाताको घरमा जाँदा उनीहरूले तपाईंहरूसँग राखेको माग के–के हुन् ?
–पहिलाको तुलनामा यस पटक घरदैलो गर्न मुस्किल छ । सबैको घरमा जान सम्भव छैन । पहिला सानो सानो क्षेत्र हुँदा सबैको घरघर जान भ्याइन्थ्यो तर यस पटक गाह्रो छ । यस पटक सेन्टर बनाएका छौँ । विशेष विशेष ठाउँमा गएर जनतालाई सम्बोधन गर्ने, कोणसभा गर्ने जस्ता कार्य गरेर जनतासँग मत माग्ने गरेका छाँै । हाम्रो क्षेत्रमा एउटा ठूलो विघी नदी छ । त्यसमा आएको बाढीको अवशेष अझै पनि छ । साउनमा आएको बाढीका कारण प्रभावित भएका जनताले अझै राज्यबाट राहत पाएका छैनन् । राहतको आशमा अझैसम्म बसेका छन् । 

अर्को कुरा, मणिपाल अस्पताल बनाउनका लागि ३२ बिघा जमिन खरिद गरिएको छ तर अझैसम्म त्यो तयार भएको छैन । जनकपुर–अयोध्या  करिडोर, रेल्वेलगायतका विषयमा पनि जनताले जिज्ञासा राख्ने गरेका छन् । जिल्लाको सदरमुकामको अवस्था खत्तमै छ । बाटोघाटो पूर्वाधार केही पनि छैन । हुन त दुई नम्बर प्रदेशको आठवटै जिल्लाको अवस्था उस्तै छ तर महोत्तरी जलेश्वरको अवस्था झनै खराब छ । गाउँबाट वा बाहिरबाट जलेश्वर आउने एउटा पनि सडक सही अवस्था छैन । बाहिरका मान्छे हत्तपत्त जलेश्वर आउन नपरोस् भनी सोचिरहेका हुन्छन् । जलेश्वरको मान्छेलाई बाहिर जान नपरोस् भनी सोचिरहेका हुन्छन् । त्यस्तै, यहाँ बाल मृत्युदर निकै बढेको छ । अरू जिल्लाभन्दा निकै बढी छ यहाँको बालमृत्यु दर । बालमृत्यु दलको अवस्था चिन्ताजनक छ ।


 
यस्तो किन ?
–यसका कारण धेरै हुनसक्छन् । त्यसमध्ये मुख्य कारण उच्च जनसङ्ख्या नै हो । गाउँदेखि सहरसम्म जनसङ्ख्या उच्च रहेको छ । त्यसको अवश्यकता पूरा भइरहेको छैन । खानपान व्यवस्थित बसाइ, स्वास्थ्य, शिक्षाको अभाव देखेँ मैले । जनताले स्वास्थ्यमा त्यति ध्यान दिएको पाइएको छैन । अस्पतालको पहुँच नहुनु, पहुँच भएको ठाउँमा पनि प्रसूतिका लागि महिलाहरू अस्पताल नजानु त्यसका मुख्य कारण देखिएको छ । परम्परा ढङ्गबाट अझै पनि बच्चा जन्माइएको छ । स्वास्थ्य मन्त्रालयका प्रतिवेदन अनुसार एक महिनामा ३० बच्चाको मृत्यु हुने गरेको देखाइएको छ । शिक्षामा पहिलादेखि नै पछाडि रहेको यो जिल्लाको सडकको अवस्था कही दुरुस्त रहेको छ ।
 
मधेसवादी दलका नेताहरूसँग कुरा बुझ्दा र घोषणापत्रलाई अध्ययन गर्दा विकासभन्दा बढी तपाईंहरूले संविधान संशोधनलगायत अधिकारका कुरालाई उठाउनुभएको छ, पहिला अधिकार कि विकास ?
–हाम्रो अहिले पनि मुख्य एजेन्डा नै संविधान संशोधन हो । संविधान संशोधन नभएसम्म मधेसले मुक्ति पाउन सक्दैन र कुनै विकास पनि हुनसक्दैन । राज्यले मधेसमाथि गरेको विभेदको कारणले नै महोत्तरीको अवस्था यस्तो भएको हो । मधेसी जनताले नै भनिरहेका छन्, राज्यबाट पहिला अधिकार लिऔँ अनि विकास आफै गरौँला । त्यही भएर हामीले संविधान संशोधनलगायत मधेसका अन्य अधिकारलाई मुख्य एजेन्डाको रूपमा चुनावमा अघि बढाएका छौँ । संविधान संशोधन नभएका कारणले हाम्रो धेरै नोक्सान भएको छ । जुनकुरा संविधान उल्लेख भइसकेको थियो त्यो पनि अहिले हटाएको छ । संविधान संशोधनका लागि मधेसी जनताले यस्तो योगदान दिएको छ । अब यस अवस्थामा त्यसलाई त्यतिकै छोड्न मिल्दैन । यो नयाँ संविधान निकै कठोर छ । सजिलो तरिकाले संशोधन हुने अवस्था छैन ।
 
संविधान संशोधन मुख्य एजेन्डा बनाउनुभएको छ तर संसदमा मधेसवादी दलले एक्लैले संशोधन गराउने अवस्था पनि छैन, तपाईंहरूको जति सिट छ, सबै जिते पनि तपाईंहरूको बहुमत पुग्दैन । त्यस अवस्थामा के गर्नुहुन्छ ?
–अहिले संविधान संशोधनको कुरा हामीभन्दा उनी (ठूला दलका नेता) हरूले बढी उठाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वयं आफै यो संविधान संशोधन गराउने बोल्दै हिँड्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि विभिन्न चुनावीसभामा संविधान संशोधनको कुरालाई प्राथमिकतामा राख्नुभएको छ । संविधान संशोधनको विरोध गर्ने केपी शर्मा ओलीले पनि संविधान संशोधन गर्ने कुरा गरिरहनुभएको छ भने हामीलाई किन चाहियो बहुमत वा अल्पमत । उहाँहरू आफै संविधान संशोधनका लागि अगाडि बढ्नुभएको छ राम्रो कुरा हो । मधेसी जनताको मागअनुसार गराइयोस् संविधान संशोधन तर हामीलाई थाह छ, उहाँहरूले संविधान संशोधन गराउनु हुन्न । हाम्रो दाबी काठमाडौँमाथि छ । हाम्रो दाबी दुई नम्बर प्रदेशमाथि रहेको छ, जो हामी लिएर छाड्छौँ । काठमाडौँ हामीले बसाएका हौँ र मधेस हाम्रो आफ्नै भइहाल्यो दुई ठाउँमा हाम्रो दाबी छ । त्यो दिन उहाँहरू तयार हुनुपर्यो ।

बहुराष्ट्रको विषयलाई जानी जानी विवादमा ल्याउने प्रयास भइरहेको छ । पहिलो संविधान सभाले बहुराष्ट्र भन्ने कुरा पारित भएको विषय हो । यो कुरा संविधानको प्रस्तावनामा नै उल्लेख थियो तर दोस्रो संविधान सभाबाट त्यसलाई हटाएको छ । यहाँ त राजनीतिक बेइमान हुने गरेको छ ।


 
तपाईंहरूको जुन अंक आउनेबाला छ त्यसले गर्दा संविधान संशोधनका लागि ती ठूला दलहरूको साथ चाहिन्छ नि ?
–साथ त चाहिन्छ, पहिला पनि हामीले साथ खोजेकै हो । पटक पटक आग्रह गरिएको हो । संशोधनका लागि दबाब दिन आन्दोलन गरिएकै हो तर उनीहरूले गर्न चाहेन विभिन्न बाहाना बनाउँदै पछि हटे । तर हामी पनि त्यतिकै मान्नेबाला छैनौँ । संविधान संशोधन त कुनै पनि हालतमा गर्नुपर्छ । यदि संविधान संशोधन गरिएन भने हामी त्यसको विकल्प खोज्छौँ । तपाईं जुन कुरा खुलाउन चाहनुभएको छ, त्यो म खोल्दिन्छु । यहाँ पढाइ पूरा नभएपछि पढ्नका लागि मान्छे बाहिर जान्छ कि जाँदैन ? यहाँ उपचार भएन भने उपचारका लागि बाहिर जान्छ कि जाँदैन ? यहाँ रोजगार पाइएन भने रोजगारका लागि बाहिर जान्छ कि जाँदैन ? हो यदि हामीले पनि कुनै विकल्प पाएनाँै भने त्यसको विकल्प खोज्छौँ । मान सम्मान र प्रतिष्ठाको आफ्नो सीमा हुन्छ । सबैको आआफ्नो मार्यादा हुन्छ । धेरै दिनसम्म जिल्लत (अपमान) सहेर बस्न सकिँदैन । इज्जतको एक दिनको जिन्दगी जिल्लतको सौ वर्षको बराबर हुन्छ । कति दिन सहेर बस्ने ? कुनै एउटा परिवारमा एकअर्कालाई अपमान गर्छ भने त्यहाँ झगडा हुन्छ र अलग हुन्छ, यो त देश हो । मैले यो कुरा पटक पटक भनेको छु । अब पनि सम्हलिएन भने हामी आफ्नो बाटो खोज्छौँ ।


 
तपाईंहरूले ल्याउनुभएको घोषणापत्रमा बहुराष्ट्रको कुरा गरेर त्यही कुराको सङ्केत गर्नुभएको हो ?
–बहुराष्ट्रको विषयलाई जानी जानी विवादमा ल्याउने प्रयास भइरहेको छ । पहिलो संविधान सभाले बहुराष्ट्र भन्ने कुरा पारित भएको विषय हो । यो कुरा संविधानको प्रस्तावनामा नै उल्लेख थियो तर दोस्रो संविधान सभाबाट त्यसलाई हटाएको छ । यहाँ त राजनीतिक बेइमान हुने गरेको छ । सरकार परिवर्तन हुँदा त सबै कुरा परिवर्तन हुने ठाउँमा संविधानसभा नै परिवर्तन भएपछि उनीहरू यस्ता कुरालाई कहाँ बाँकी राख्छन् । त्यसैले यो बहुराष्ट्रको कुरा कुनै नयाँ विषय होइन । हामीले ध्यानाकर्षण गराएको मात्र हो । बहुराष्ट्र भनेको देश अलग गर्ने होइन । बहुराष्ट्र भयो भने सबै समुदाय र वर्गका जनताले अधिकार प्राप्त गर्नेछ । यसलाई अनावश्यक उचालिएको हो ।
 
मधेस सरकार तथा मधेस प्रदेशको कुरा गर्नुहुन्छ, चुनावपछि यही दुई नम्बर प्रदेशलाई मधेस प्रदेश बनाउनुहुन्छ कि अरू थप बाँकिरहेका जिल्लाका लागि पनि केही गर्नुहुन्छ ?
–यो दुई नम्बर प्रदेश (आठ जिल्ला) हाम्रो आधार हो । यसैलाई टेकेर हामीले अरू जिल्ला माग गर्छौं । अहिले जति मिलेको छ, त्यसलाई नै बनाउनेछौँ । त्यो नै हाम्रो घर हो, त्यसलाई पहिला सफा र राम्रो बनाउँछाँै । यसलाई सुरक्षित गर्छौं । त्यसपछि अरूका लागि सोच्छौँ । पूर्वदेखि पश्चिमको तराईका भूभाग एउटै बनाउने मुद्दा हाम्रो जीवित छ । त्यसका लागि हाम्रो सङ्घर्ष जारी नै रहन्छ तर पहिलो चरणमा हामीले जति पाएका छौ, त्यसलाई राम्रो बनाउँछौँ ।
 
मधेस एक राष्ट्र हो भनी तपाईंहरूको भनाइलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशद्रोहीको संज्ञा दिनुभएको छ, यसलाई कसरी लिनुभएको छ ?
–मधेसीलाई सधैँ देशद्रोही भन्नुभएको छ, उहाँले यो कुनै नयाँ कुरा होइन । अधिकारको कुरा गर्दा यस्तै यस्तै कुरा गर्नुहुन्छ उहाँले । उहाँहरूले पटक पटक मधेसलाई अपमान गर्नुभएको छ । मधेसको अपमान गर्न अझै छाड्नु भएको छैन । यसको हिसाब किताब मधेसी जनताले राखिरहेको छ ।

कम्युनिज्मको जन्म जसरी भएको छ, जुन परस्थितिमा भएको छ, त्यसको जुन रूप थियो त्यो अब सम्भव छैन । उनीहरूले सम्राज्यवादी, अधिनायकवाद ल्याउन चाहेका छन् भने त्यो उनीहरूका लागि ठूलो भुल हुनेछ । तर वामगठबन्धनको लक्षण राम्रो छैन ।


 
मधेसका जिल्लाहरूमा घुम्दा त मधेसवादी दल लोकतान्त्रिक गठबन्धन भन्दा वामगठबन्धनसँग भित्रभित्रै नजिक देखिएको छ । भित्रभित्र केही पाकी रहेको छ कि ?
–होइन, त्यस्तो केही छैन । हामीले लोकतान्त्रिक गठबन्धन बनाउने प्रयास गरेका थियौँ तर केही कुराका कारण हुनसकेन । अहिले हामी कुनै पनि गठबन्धनमा छैनौँ । कसैसँग तालमेल पनि छैन । दुई नम्बर प्रदेशमा राजपा नेपाल र फोरम नेपालबीच चुनावी तालमेल भएको छ, त्यसबाहेक अरू कुनैसँग छैन । बरु कुनै कुनै क्षेत्रमा दलगत हिसाबले एकअर्कालाई सहयोग गर्ने कुरा भएको छ । जस्तै, यो तीन नम्बर क्षेत्रमा काङ्ग्रेसले आफ्नो उम्मेदवारी फिर्ता लिएर मलाई सहयोग गरेको छ । हामीले पनि कुनै ठाउँमा गरेका छौँ । तर गठबन्धनै बनाएर त्यस्तो कही केही छैन । वामगठबन्धनसँग त झन केही सम्बन्ध नै छैन । वामगठबन्धनले जुन उद्देश्यका साथ अगाडि आएको छ, त्यसमा परिवर्तन गरे मात्र उनीहरूसँग तालमेलका लागि सोच्न सक्छौँ ।
 
वामगठबन्धन किन गठन भएको हो, त्यसको नीति के हो जस्तो लाग्छ तपाईलाई ?
–कम्युनिज्मको जन्म जसरी भएको छ, जुन परस्थितिमा भएको छ, त्यसको जुन रूप थियो त्यो अब सम्भव छैन । उनीहरूले सम्राज्यवादी, अधिनायकवाद ल्याउन चाहेका छन् भने त्यो उनीहरूका लागि ठूलो भुल हुनेछ । तर वामगठबन्धनको लक्षण राम्रो छैन । जो संविधान संशोधन कहिल्यै चाहेका थिएनन् । त्यो आज संविधान संशोधनका कुरा उठाइरहेका छन् । दुई तिहाई बहुमत ल्याएर संविधानमा उनीहरू के संशोधन गर्न खोजिरहेका छन्, त्यो स्पष्ट छैन । त्यसले धेरैमा शङ्का उब्जाएको छ ।
 
तपाईंको क्षेत्रको कुरा गरौँ, तपाईंले जुन नेतालाई दुई महिना अगाडि पार्टीमा प्रवेश गराउनुभयो आज उहाँले तपाईंहरूको विरुद्धमा उम्मेदवारी दिनुभयो, यसलाई तपाईंले कसरी लिनुभएको छ ?
–‘जनता सब जानती है ।’ यसको इन्साफ जनताले नै दिनेछन् । लोकतान्त्रिक मुलुकमा हरेक कुरा गर्न सबैलाई छुट छ । सबैजना स्वतन्त्र छ । त्यसमा कसैले हस्तक्षेप गर्न मिल्दैन । यसको फैसला जनताले गर्नेछ ।
 
तपाईंको प्रतिस्पर्धा कोसँग छ त ?
–मैले अघि भने नि कि ‘जनता सब जानती है ।’ जनताको अगाडि कसैको केही चल्दैन । चुनाव लडेपछि पक्कै पनि आफ्नो प्रतिस्पर्धीसँग नै प्रतिस्पर्धा हुन्छ । त्यो प्रतिस्पर्धामा जनताको मान सम्मान, अधिकार र प्रतिष्ठाका लागि जसले लडेका हुन्छ त्यसले नै जनताको मन जित्ने हो ।
 
सर्लाहीलाई चुनावी क्षेत्र बनाउनुभएको तपाईं एकाएक महोत्तरीबाट चुनाव लड्नु भयो, किन त्यस्तो ?
–मेरा लागि सर्लाही र महोत्तरीका जनता उस्तैउस्तै हुन् । मलाई दुवै ठाउँका जनता त्यत्तिकै मन पराउँछन् । महोत्तरी मेरो जन्मघर हो भने सर्लाही मेरो कर्मघर हो । जन्मघरका जनताले मलाई बोलाउनुभयो, म आएँ । यहाँबाट चुनाव लडेँ । कुनै बेला सर्लाहीका जनताले बोलाएका थिए, पछि पनि बोलाउँछन् ।
 
अन्त्यमा आफ्ना मतदातालाई केही भन्नुहुन्छ ?
–हामीले भन्दैछौँ कि हाम्रो सरकार निर्माण भयो भने मधेसका माग पूरा हुनेछन् । मधेसीमाथि लागेका सबै मुद्दाहरू फिर्ता हुनेछन् । जेलमा रहेका आन्दोलनकारीहरू सबै रिहा हुनेछन् । संविधान संशोधन गराएर अधिकार सम्पन्न बनाइनेछ । मधेस सरकार बनाएर मधेसको सबभन्दा विकसित राज्य बनाइनेछ । यही कुराहरू मतदातासँग हुन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप