ब्याटल ग्राउन्ड मर्चवार : नेतालाई भोटको चिन्ता, जनतालाई खुर्दलोटन बाँधको पीडा

person access_timeमंसिर १८, २०७४ chat_bubble_outline0

तेजेन्द्र केसी

मर्चवार, रूपन्देही– मर्चवार बेतकुइयाँका ४९ वर्षीय उमेश कुर्मीलाई गत वर्षको  डुबानले धानबाली नष्ट गरेको झल्झली याद अहिले पनि आउँछ । निकै मिहिनेत गरेर  लगाएको धान गत वर्ष भदौमा आएको बाढी सखाफ पारी दियो ।

मलखाद, ट्याक्टर, तेल आदिकोे जोहो गरेर लगाएको ७ बिघा खेतमा खुर्दलोटन बाँधबाट पसेको पानीले सबै नष्ट गरिदयो । अहिलेको वर्षा के हुने हो खेतीबाली लगाउने कि न नलाउने दोधारमा छन् ।

शुक्रबार दिउँसो रसियावाल खुर्दलोटन बाँधको करिब तीन कलोमिटर दूरीमा रहेको समरिमायाँ गाउँपालिका बार्ड नम्बर ३ थुमुवास्थित सनस्टार बोर्डिङ नकिजै भेटिएका कुर्मीले रातोपाटीलाई सुनाए ।

उनले भने– ‘हामीलाई सधैँ बाढी चिन्ता हो । बल्ल खेती लागयौँ, सबै डुब्छ के गर्ने ठूलो समस्या छ ।’

बाँधको पीडाले उनी जस्तै धेरैलाई सताउँछ । यसै त रूपन्देहीको मर्चवार क्षेत्र विकासको हिसाबले पछि छ । सडक गतिलो छैन । खानेपानी, स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकताको पखाइमा छन् नागरिक । उम्मेदवार गाडीमा दौडिरहँदा नागरिकको मनमा भने अभावबाट कसरी मुक्ति पाइएला भन्ने पिरलोमा छन् । यस्तो पीडाको प्रतीक कुर्मी हुन्  ।

रूपन्देही सदरमुकाम भैरहवाबाट २७ किमि दक्षिणमा रसियावाल खुर्दलोटन बाँध छ ।

यतिखेर मर्चवार क्षेत्रमा झन्डावाला  गाडीमा प्रतिनिधि र प्रदेशसभा सदस्यका उम्मेदवारहरू दौडिरहेका छन् । तर  उनीहरूले रसियनवाल खुर्दलोटन बाँधलाई ऐजेन्डा बनाएका छैनन् ।

बेतकुइयाँका अर्का बाढीपीडित जगन्नाथ कुर्मी भन्छन्– ‘हामी जनता सधैँ डुबानमा पर्छौं, नेताहरू आएर भोट माग्छन् तर समस्या सम्बोधन गर्दैनन् ।’
राष्ट्रिय बाँध सरोकार मञ्चका कोषाध्यक्षसमेत रहेका जगन्नाथ कुर्मीले दलहरूले कुनै चासो नदिएको गुनासो गरे ।

उनीजस्तै असारदेखि असोजसम्म डुबानबाट पीडित हुनेहरू सयौँ परिवार छन् । डुबानबाट रूपन्देहीका थुम्हवा पिप्रहवा, बेतुकइया, तराइनी, गुलरिया गाउँ प्रभावित हुने सम्मरीमाई गाउँपालिका वडा नम्बर ३ का वाडाध्यक्ष सुकई कुर्मीले बताए । उनका अनुसार सानो बाढी आउँदा केही गाउँ प्रभावित भए पनि ठूलो बाढी आउँदा एक सयभन्दा बढी बिगाहाको खेतीपाती नष्ट हुन्छ ।

रूपन्देही क्षेत्र नम्बर ४ का उम्मेदवारले भने खुर्दलोटन बाँधले निम्त्याएको समस्या बारे कुनै चासो दिएका छैनन् । जनता समस्या एकातिर नेताहरू ध्यान एकतिर भएको स्थानीयको भनाइ छ ।

प्रत्येक पटक यही क्षेत्रका जनताको भोटले चुनाव जितेका नेतासमेत फर्केर नआएको गोनाहाका ४५ वर्षीय मोतीलाल हरियानाले दुखेसो पोखे ।

अहिले उम्मेदवार भएका कुनै पनि नेताले खुर्दलोटन बाँधका बारेमा न त स्थानीय प्रतिबद्धतामै उल्लेख गरेका छन् । न त सार्वजनिक सभा समारोहमै बोलेका छन् ।
रूपन्देहको निर्वाचन क्षेत्र नम्बर ४ मा पर्ने यो क्षेत्रबाट चिफ सापका रूपमा परिचित राजपाका उपाध्यक्ष एवं पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ला, राजपाकै उपाध्यक्ष पद छाडेर एमाले प्रवेश गरेका पूर्वमन्त्री ओमप्रकाश यादव गुल्जारी र नेपाली काङ्ग्रेसका प्रमोद यादव चुनावी मैदानमा छन् ।

प्रदेशसभा सदस्यतर्फ पनि एक दर्जन उम्मेदवारको लर्को छ । तर यति धेरै उम्मेदवार  भए पनि कसैले खुर्दलोटन बाँधले निम्त्याएको पीडाका बारेमा बोलेका छैनन् ।

सिमाविद डा. बुद्धिनारायण श्रेष्ठले भारत सरकारले साढे ४७ किलोमिटर लामो बाँध निर्माण गर्ने योजना अनुसार खुर्दलोटन बाँधको निर्माण थालेको बताए । यो बाँध भारत सरकारले आफूले चाहेअनुसार निर्माण गरे यसको असर लुम्बिनीसम्म देखिने उनको भनाइ छ ।

उनका अनुसार २०५६ सालमा भारतले बाँध निर्माण गरेकै वर्ष नेपालका १८ गाउँमा बाढीले असर पुर्याएको थियो । त्यतिखेर केही अधिकारकर्मीहरूले यसको विरोध गरेका थिए । जसका बाँध भारतीय सरकारको योजनाअनुसार निर्माण हुन पाएन । बाँध पूरा हुन १२ किमि मात्रै बाँकी छ ।

भारतले आफ्ना तीन गाउँ (रसियावाल, खुर्दा र लोटन) गाउँलाई बाढीबाट सुरक्षित गर्नका लागि निर्माण गरेको बाँध हो । वर्षामा दानव नदीको बहावलाई रोक्न भारतले निर्माण गरेको रसियावाल खुर्दलोटन बाँधको पीडा भने नेपालका मर्चवारबासीले भोग्दै आएका छन् ।  ठूलो पीडालाई उम्मेदारले ध्यान दिएका छैनन् ।


 
शुक्ला चिफ साहेबको गाउँ, विकास नभएको ठाउँ
राजपाका उपाध्यक्ष एवम् पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्लालाई गाउँमा चिफ साहेब भनिन्छ । पटक पटक मन्त्री बनेका शुक्लाको घरनजिकै  गाउँको अवस्था भने  विकास दृष्टकोणले निकै पछाडि देखिन्छ ।

शुक्ला चिफ साहेब घरभन्दा किरब दुई किलो मिटर रोहनीहवाँ २ पाण्डेडीहमा दानव नदीको कटानले किसान हैरान छन् । वर्षामा नदीले बाटो बदलेर धानबाली नष्ट गर्छ । नदी धानबाली हुँदै मर्चवारका सडकसम्म आउँछ । स्थानीयहरू कम्मर कम्मर पानीको छालसँगै वर्षायाम बिताउन बाध्य छन् ।

‘बाढीले धान नष्ट गर्छ, घरभित्र पानी पस्छ’ रोहनीहवाका पूर्वअध्यक्ष रामपति यादवले भने ‘नेतालाई भोटको चिन्ता छ, हामीलाई बाढीको चिन्ता ।’

भैरहवादेखि मर्चवार जाड्ने एक मात्र सडक छ, त्यो पनि खाल्डाखुल्डी परेको छ । पटक पटक मन्त्री बनेका सर्वेन्द्रनाथ शुक्ला घर पुग्न यही सडक प्रयोग गर्नुपर्छ । खानेपानीका लागि धारा छैनन् । नजिक विद्यालय छैनन् । भएका विद्यालयमा पनि राम्रोसगँ पढाइ हुँदैन ।

रोहनीहवाँ पाण्डेडीहरूका मुन्नीलाल मुराव आफ्नो खेत बाढीले बगाएको शुक्रबार पुग्दा रातोपाटीलाई सुनाए । ‘६ बिघा जग्गा नदीले खाइदियो, खोलाको वारपार गर्नका लागि पुल छैन’ मुरवाले भने ।

मर्चवारीबासीले मत हाल्ने चुनाव चिन्हहरू अनेकौँ फेरिए । तर उनीहरूको अभाव अझै फेरिएन । न त आर्थिक अवस्थामा नै सुधार आयो ।

अहिले पनि मर्चवारका गाउँमा सहज रूपमा सिटामोल पाइँदैन । बिरामीले छटपटिँदा भैरहवा आउनुको विकल्प छैन । गाउँमा खोलिएका स्वास्थ्य चौकीमा चिकित्सक छैनन् । न त प्रयाप्त औषधी नै  छ ।

मर्चवारका रोहनीहवाँ  ७३ वर्षीया  उपेन्द्र यादवले भने– त्यही सिटामोल पाउन पनि चार, पाँच किलोमिटर धाउनुपर्छ । मसिरको चिसो पानीमा कम्मरमाथि लुङ्गी सार्दै स्थानीयहरू बारपार गरेर शुक्रबारको हाट बजार आएका थिए ।

उनले पहिलो माग पुल थियो । रोहनीहवाँ २ पाण्डेडीहबासीहरू हाट बजार मात्र होइन, लुम्बिनी जान २२ किलोमटर घुमेर जानुपर्छ । यदि त्यो ठाउँमा पुल बने ६ किलो मिटरमा लुम्बिनी पुगिन्छ ।  

टेन्टमा पार्टीको चुनावी सम्पर्क कार्यालय
रोहनीहवाँ २ पाण्डेडीहमा हाट बजारमा नेपाली काङ्ग्रेस उम्मेदार प्रमोद यादव र उनको अन्य उम्मेदारको ठूलो फोटो झुन्डाएको छ । रूखमा मतदान गर्न आग्रह गरिएको छ ।

नजिकै शुक्ला चिफ साहेब अर्थात राजपा उपाध्यक्ष एवम् सो क्षेत्रमा उम्मेदार सर्वोन्द्र नाथ शुक्लाको नमस्कार गरेको फोटाहरू धैरे टाँसिएका छन् । उनको चुनाव चिन्ह छाता अतङ्कित झन्डाहरू पनि फराइरहेका छन् । हाट बजार नजिकै रहेको पार्टीको सम्पर्क कार्यालय बोर्ड छ । त्यसमध्येका एक कार्यकर्ताले भने शुक्ला चिफ साहेबको राम्रो छ, उनले नै जित्छन् ।

भैरहवादेखि मर्चवार जाने बाटोमा चोक चोकमा पार्टीको सम्पर्क कार्यालयले देखिन्छन् । केही साना घरमा सम्पर्क कार्यालय स्थापना गरेका छन् । केही टेन्ट टाँगेर पनि ठाउँठाउँमा पार्टीहरूले सम्पर्क कार्यालय स्थापना गरेका छन् ।  दुई चारजना कार्यकताबाहेक अन्य चलह पहल देखिँदैन ।

नेताजी खोजीमा हामीले राजपाको टेन्टमा रहेको सम्पर्क कार्यलय भेटिएका एक कार्यकर्तालाई सोध्दा उनले भने ‘नेताजीहरू बोटोमा कुदिरहनुभएको छ । यहाँ आउनुहुन्न ।’  

उम्मेदवार सडकमा हुइँकिन्छन् जनताको घर टेक्दैनन्
भैरहवादेखि १० किलो मिटर दूरीमा रहेको गोनाहको चिया पसलका शुक्रबार दिउँसो भेटिएको शिवपुरका ४५ वर्षीय मोतिलाल हरियानाका अनुसार नेताहरू मर्चाबार सडक गाडीमा माइकमा बजाउँदै हुइँकिने गर्छन् ।  नेताहरू यही बाटो हँुदै हुइँकिन्छन्, कहिले गाउँ बस्दैनन्, जनताका समस्या बुझ्दैन् । उनीले यस्ता कुरा चिया पसलमा सुनाउँदै  गर्दा ओम प्रकाश यादव गुल्जारी भारतीय नम्बर प्लेटको गाडीमा सूर्य चिन्ह फहराउँदै आए ।

दुई तीनजना कार्यकर्तासगँ बाटोमा गाडीभित्रैबाट कुराकारी गर्दै हुइँकिए । उनलाई पछ्याउँदै ५ वटा गाडी गए । ती सबै भारतीय नम्बर प्लेटकै थिए ।  यसैबीचमा ठूलो अवाजमा मसाल चिन्ह मतदान गरौं भन्दै  डेकमा गीत बजाउँदै अर्को गाडी आयो तर चोकमा रोकिएन । चिया पसल अन्य पसलमा बसेकाहरू आफ्नै तालमा मस्त थिए । उनीहरू नेताको प्रचार गर्न आउने गाडीलाई कुनै वास्ता गरेनन् ।

चकलेटमा चुनाव चिन्हको प्रचार  

चुनावको प्रचार गर्ने निश्चित विधि निर्वाचन आयोगले तोकेको छ । उम्मेदारहरू भने आआफ्नौ शैली बनाएका छन् । मर्चवार क्षेत्रमा मसाल चुनाव चिन्हको चकलेट मतदातालाई बाढ्दै हिँडेका  कार्यकता पनि भेटिएका छन् ।

सङ्घीय समाजवादी फोरम नेपालका प्रदेशका उम्मेदवार सन्तोष पाण्डेले हातले समातेको मसाल स्थानीय भाषामा (लुक्का ) चिन्ह छापेको नयाँ चकलेट वितरण गरिरहेका थिए ।  चकलेट दिँदै चकलेटको खोलमा रहेको मसाल चिन्हमा मतदान गरेर आफूलाई जिताउन आग्रह गरेका छन् । उनले ससाना झन्डा साइकलमा राखेर प्रचार गर्न ठाउँठाउँमा कार्यकर्ता खटाएका थिए । 

कहिल्यै पुग्दैन मतदाता शिक्षा मर्चवारमा

रूपन्देहीको मर्चवार क्षेत्रमा  हरेक चुवानमा मतदाता शिक्षा प्रभावकारी रूपमा पुग्दैन । क्षेत्र नम्बर चारमा साविक १४ वटा गाविस पर्ने यस क्षेत्रमा ९० हजार मतदाता छन्  ।

स्थानीय तह जिल्लाको अन्य क्षेत्रको तुलनामा  धेरै मत बदर भएको मर्चवार क्षेत्रमा अहिले  केन्द्रीय र प्रदेश  सभा  निर्वाचनको मतदान गर्ने  केही दिन बाँकी रहदासम्म केही पनि कर्मचारी  र दलका नेताहरूले मतदान गर्ने विषयमा नबताएको मर्चवारको  शिवपुरका ४५ वर्षीय मोतिलाल हरियानले बताए । उनी जस्तै धेरैलाई मतदान  कसरी गर्ने, कति मतपत्र हुन्छ । कसरी पट्याउने जस्ता विषयमा केही पनि थाहा छैन ।

समरीमाई गाउँपालिका वडा नम्बर ३  थुमुवामा रहेको सन स्टार इङ्लिस बोर्डिङ स्कुलका प्राचार्य  सुखराम यादव भन्छन्– ‘मतदान गर्ने पढेलेखेकालाई पनि राम्रोसँग थाहा छैन । निर्वाचनका कर्मचारी कहाँ छन् । दलहरूका कार्यकताले पनि  मतदाता प्रशिक्षण दिएको थाहा छैन् । 

प्रतिनिधिसभा र प्रदेशसभा चुनावको दिन नजिकिँदै गए पनि कसरी मतदान गर्ने भन्ने विषयमा मतदाता निकै अन्योलमा रहेको देखिएको छ ।

रूपन्देहीको क्षेत्र नं ४ अन्तर्गत पश्चिमी क्षेत्र मर्चवारको मुटु मानिने मझगावामा मतदाता शिक्षा शून्य जस्तै देखिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले दोस्रो चरणको निर्वाचनका लागि मत माग्न गाउँगाउँ पुग्दा मतदाता कसरी मत हाल्ने भन्ने विषयमा अन्योलमा रहेको देखिएको थियो ।

सरकारले मतदाता शिक्षाका लागि भनेर करोडौँ रूपियाँ खर्च गरे पनि त्यसको प्रभावकारिता अत्यन्तै न्यून देखिएको छ । निर्वाचन आयोगले मतदाता शिक्षा गाउँमा पुर्याउन नसक्दा मतदातामा थप अन्योल बढेको हो । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि रकम विनियोजन गरी मर्चवार क्षेत्रका नाममा गरेको खर्च बालुवामा पानी सरह भएको छ ।

निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रमका लागि स्वयंसेवक गाउँमा परिचालन गरेको बताएको छ । कार्यालयले स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा दिएको बताए पनि गाउँमा मतदाता शिक्षा दिन उनीहरू पुग्न नसकेको मतदाताले बताएका छन् ।

मङ्सिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कतिवटा मतपत्र हुन्छन्, कुन मतपत्रमा कतिवटा स्वस्तिक छाप चिह्न लगाउँदा बदर हुँदैन जस्ता विषयमा आफूहरूलाई अहिलेसम्म कुनै पनि जानकारी नभएको स्थानीय मझगावाका मतदाता रामप्रसाद त्रिपाठीको गुनासो छ ।

उनले अहिलेसम्म कोही पनि मतदाता शिक्षाका लागि मर्चवारमा नआएको बताए । ‘मतदाता शिक्षाका लागि थुप्रै स्वयंसेवक गाउँगाउँ आएको भन्ने सुनेको थिएँ तर अहिलेसम्म हामीलाई कोही पनि सिकाउन आएका छैनन्’  रोहनिहवाँ पाण्डेडीहाका मुन्नीलाल मुरावले भने, ‘चुनावसम्म नआए थुप्रै मत रद्द हुने अवस्था छ ।’

जिल्लाका प्रतिनिधिसभाका पाँच क्षेत्र र १० वटा प्रदेशसभा रहेको रूपन्देहीमा सबै उम्मेदवार चरणबद्धरूपमा कार्यक्रम लिएर मतदाताको घरमा प्रत्येक दिन भोट माग्न व्यस्त छन् । तर उनीहरूले मतदाता शिक्षामा त्यति धेरै ध्यान दिन सकेका छैनन् ।

मतदान गर्ने दिन नजिकिँदै गर्दा निर्वाचन कार्यालय र राजनीतिक दलले भने अहिलेसम्म मतदाता शिक्षाको कार्यक्रम गाउँघरमा पुर्याउन नसक्दा मर्चवारवासीले प्रयोग गर्ने मत खेर जाने हो कि भन्ने डर बढेको छ ।

निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम लिएर गाउँगाउँमा स्वयंसेवक परिचालन गरिएको र समय थोरै भएकाले सबै मतदाताको घरमा कर्मचारी पुग्न नसकेको बताएको छ । थोरै समयका कारण मतदाता शिक्षा दिने स्वयम् सेवकले सामूहिक रूपमा मतदाता शिक्षा कार्यक्रम दिने जिल्ला निर्वाचन कार्यालय रूपन्देहीले जानकारी दिएको छ ।

निर्वाचन कार्यालयका प्रमुख अयोध्याप्रसाद भण्डारीले मर्चवारमा पनि मतदाता शिक्षा दिइएको दाबी गरे ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ