बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो देखियो नवलपरासीदेखि कैलालीसम्मको चुनाव प्रचार शैली : कोमलको सेल्फीदेखि आरजुको सूर्यलाई नमस्कारसम्म

सोमबार, १८ मङ्सिर २०७४, ०९ : ५०
सोमबार, १८ मङ्सिर २०७४

काठमाडौँ । मध्यरातदेखि मौन अवधी शुरु हुनै लाग्दा आज राजनीतिक दलका नेता कार्यकर्ताले चुनावी प्रचार प्रचारको कार्यक्रमलाई मैजारो गर्दैैछन् । मंसिर २१ हुने प्रतिनिधी सभा र प्रदेश सभाको दोश्रो चरणको निर्वाचनका लागि झन्डै एक महिनादेखि उनीहरुले चुनावी प्रचार प्रसार शूरु गरेका थिए । आफ्नो जित निकाल्नका लागि नेताहरुले अनेक शैली र तरिकाबाट चुनावको प्रचार गरेका छन् । 

देशका विभिन्न भागमा मतदान पूर्व भइरहेको चुनावी सभा, नेताका धारणा र जनताका चाहना बुझ्न रातोपाटीका टोलीहरु ब्याटल ग्राउन्ड अर्थात चुनावी मैदानमा पुगेका थिए । जसमध्ये एक टोली चितवन, नवलपरासी, रुपन्देही, दाङ, बाँके, बर्दिया, सुर्खेत हुँदै कैलालीसम्म पुगेको थियो । यी जिल्लाका विभिन्न निर्वाचन क्षेत्रहरुमा राजनीतिक दलहरुले ब्यापक रुपमा आ–आफ्नो शैलीमा चुनाव प्रचार प्रसार गरेका थिए । 

निर्वाचन आयोगले टोपी, टिसर्ट, पोष्टर पम्पलेट जस्ता सामग्री प्रयोग गरे आचारसंहिता लाग्ने र त्यसको लागि कडा रुपमा अनुगमन भइरहेको बताए पनि यस्ता सामग्रीहरुको निर्वाद रुपमा प्रयोग भइरहेको थियो । 

हामी पुगेका उक्त स्थानहरुमा राजनीतिक दलले चुनाव प्रचार प्रसार मात्र गरेका थिएनन्, विभिन्न संघ संस्थाहरुले मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गरेका थिए । 

नवलपरासीमा हामी पुग्दा त्यहाँ नेपाली काङ्ग्रेसका नेता डा. शशांक कोइरालालाई चुनौती दिइरहेका भविश्वर पराजुली घरदैलो कार्यक्रममा थिए । त्यहाँको काङ्ग्रेस चोक भन्दा केही पर उनका कार्यकर्ता घर दैलो सकेर खाना खाइरहेका थिए । त्यहाँ हामीले उनीसँग केही बेर कुरा ग¥यौँ । उनले कोइरालालाई आफूले पराजित गर्ने दावी गरे । 

उता नवलपरासीमा बर्दघाट सुस्ता पश्चिममा हामीले एमालेको चुनाव चिन्ह लिएर उठेका नेता हृदयेस त्रिपाठीलाई भेट्यौं । उनले आफुले मधेश मुद्दा नर्बिएको भन्दै आफूले जित्ने दावी गरे । 

यस्तै रुपन्देहीमा हामीले एमाले उपमहासचिव विष्णु पौडेल र राप्रपाका नेता तथा स्वास्थ्य मन्त्री दीपक बोहोरालाई भेट्यौँ । उनीहरु आफ्नो चुनाव प्रचार अभियानमा निकै व्यस्त रहेका थिए । बोहोरा रुपन्देहीको पत्थरडाँडाभन्दा अलि परेको गाँउमा चुनावी सभा गरिहेका थिए । 

कोमल र शान्ताको सेल्फी   
यता दाङको घोराही उपमहानगर पालिकामा रहेको सुनपुरमा बाम गठबन्धनले चुनावी सभा गरेको थियो । उक्त कार्यक्रममा विनाविभागिय उपप्रधानमन्त्री कृष्ण बहादुर महरा, मुख्य मन्त्रीका रुपमा प्रचारित एमाले नेता शंखर पोखरेल र एमालेमा हालै प्रवेश गरेर टिकट नपाएपछी स्वतन्त्र उम्मेदवारी दिएर फिर्तासमेत लिएकी कोमल ओली पनि कार्यक्रममा सहभागी थिइन् । केही बेर मञ्चमा बसेकी उनीसँग एमाले नेतृ शान्ता चौधरी सेल्फी लिइरहेकी थिइन् । 

उता सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा काङ्ग्रेस नेता हृदयराम थानी बाजागाजासहित चुनाव प्रचरमा व्यस्त थिए । उनी घर–घरमा गएर भोट माग्ने भन्दा पनि दाँयाँ बाँयाका घर हेर्दे बाटोबाटै नमस्कार गर्दै भोट मागिरहेका थिए । 

तीन करोडको घरबाट आरजुको सूर्यलाई नमस्कार 
चुनाव प्रचारकै लागि धनगढी उपमहानगरपालिका आरजु राणा देउवाले घर खरिद गरेकी छिन् । घरधनीले ३ करोड मागेपनि २ करोड ४० लाख आफूले प्रस्ताव गरेको र बैना वापत ५० लाख दिएको उनले बताएकी थिइन् । 

बिहान साडे ६ बजे सुनसान देखिएको उनको निवासमा ७ बजेदेखि कार्यकर्ताहरु चुनाव प्रचारका लागि आउन थालेका थिए । चुनाव अघि बिहान अबेर सम्म सुत्ने आरजु राणा बिहान साँढे ७ बजे घरको बार्दलीमा देखिइन् । उनको हातमा धुँवा आइरहेको ४ ओटा अगरबक्ति थियो । आकासमा सुर्यतिर फर्किएर तीन पटक उनले अगरबक्ति घुमाइन् र धुपदानीमा राखेर नमस्कार गर्दै भित्र छिरिन् ।  बिहान ८ बजेदेखि उनी चुनाव प्रचारमा निस्किइन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप