शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेत बजारमा चुनावको उल्लास, गिरीघाटमा बाढीपीडितको आक्रोस र आँशु (फोटो/भिडियो)

आइतबार, १७ मङ्सिर २०७४, १६ : ५८
आइतबार, १७ मङ्सिर २०७४

सुर्खेत–चुनावी गीत, नारा–जुलुुस र भाषणले यतिबेला सुर्खेतका बजार, चोक, गाँउघर गुञ्जायमान छ । सबैतिर चुनावको लहर र उत्साह छ । उम्मेदवार तथा नेताहरु माला लगाएर मन्द मुस्कानमा हात जोड्दै लावा लस्कर लिएर भोट माग्न हिँडिरहेका छन् ।  

शुक्रबार बिहान सुर्खेत सदरमुकाम बीरेन्द्रनगर पुग्दा चुनावी चहलपहलले बजार रंगिएको थियो । घर घरमा विभिन्न पार्टीका झन्डा ब्यानर सजिएको थियो भने जुलुस सहित घरदैलो कार्यक्रमहरु भइरहेका थियो ।   

तर  वीरेन्द्रनगरबाट केही किलोमिटर पर रहेको गिरीघाट खोलाको जंगलमा भने गिट्टी कुटेको आवाजले गुञ्जिरहेको थियो । सडकमा गुडरहेका ट्रिपर, ट्रक र बसले धुलोमा रंगिदै दायाँबाँया बालबालिका देखि बृद्ध बृद्धासम्म हातमा हम्मर लिएर गिट्टी कुटिरहेका थिए । 

यहाँ यसरी झन्डै १ सय ५० परिवारले गिट्टी कुट्ने गर्दछन् । 

नजिकै रहेको गिरीघाट खोलाबाट ढुङ्गा ल्याएर गिट्टी कुटेर जीवन गुजारा गरिरहेका उनीहरुको पुख्र्यौली पेशा भने होइन यो । बिगत ४ बर्षदेखि उनीहरु जंगलमा त्रिपालको ओत लागेर गिट्टी बेचेर आएको पैसाले बाँच्ने मेलो गरिरहेका छन् ।  

२०७१ को बर्षायाममा आएको बाढी पहिरोले उनीहरुको बस्ती र जग्गा जमिन सबै बगाएर लग्यो । घरबास, गाई बस्तु, जग्गाजमिन सबै गुमाएर ४ बर्षदेखि बसेको डेड सय परिवार बसेको उनीहरुको अस्थायी झुपडीमा चुनावले छोएको छैन् । यहाँ अहिलेसम्म भोट माग्न कुनै नेता नपुगेको उनीहरुले बताए । 
 

घरबार बिहिन बुढेसकालः गिट्टी र हम्मरको साहारा 

२००७ सालमा जन्मिएकी बृद्धा नम्रता उजई मगर हरेक दिन बिहानै जंगलमा रहेको त्रिपालको झुपडीबाट गिरीघाट नदीमा पुग्छिन् । छोरीलाई साथमा लिएर बिहानभरी खोलाबाट जंगल छेउको सडक किनारमा ढुङ्गा ओर्साछिन र दिनभरी गिट्टी कुट्छिन् । उनको साथमा एउटी अपाङ्गता भएकी छोरी छिन, जो कान सुन्दिनन् र बोल्न पनि सक्दिनन् ।

७१ साल अघि उनको आफ्नै घर थियो, गाई गोरु भैसी थियो, उब्जनी गरेर खान पुगेकै थियो । साविकको हरिपुर गाबिसमा आएको बाढीले उनीहरुले घरखेत बगाएको थियो । 

उनका छोरा बुहारी पनि थिए तर छोडेर गए । हम्मर र गिट्टी नै यतिबेला उनका लागि बुढेसकालको साहारा बन्न पुगेको छ । 

के हामीले अब त्रिपाल चपाएर खाने हो ? 

बाढी प्रभावित चन्द्रा शाहीको घर वीरेन्द्रनगर नगरपालिका वडा नं. ४, खोला छेउमा थियो । २०७१ को बाढीले घर जग्गा सबै बगाएपछि उनको परिवारले गिरीघाट खोला छेउको जंगलमा त्रिपालमुनी आश्रय लिएको चार बर्ष भइसक्यो, नेता, सांसद, मन्त्री सबैलाई पुर्नस्थापनाको माग गर्दा पनि माग पूरा नगरेपछि यो चुनावमा चन्द्रा जस्तै विस्थापित डेढ सय परिवार भोट माग्न आँउने नेताहरुप्रति आक्रोशित भएका छन् । 

रातोपाटीसँग कुरा गर्दै शाहीले भनिन्–‘उनीहरुलेह हामीलाई के दिए, एकुन्टा पाल दिए, के यो पाल चपाउने कि पकाएर खाने हो ? दुःखी गरिबलाई कसैले पनि हेर्ने रैनछन् ।     जितेर जान्छन्, उनी अनि फर्केर पनि हेर्दैनन् ।’

बन सरकारकोः खोलाका ढुङ्गा ट्रिपरको 
आयस्रोत र आम्दानीको बाटो केही नभएपछि बाढी प्रभावितहरु खोलाको ढुङ्गामा आफ्नो जीवन खोजिरहेका छन् । जंगलको दाउरा बेच्न सरकारले प्रतिबन्ध लगाएको छ भने खोलामा रहेका ढुङ्गा पनि ट्रिपरले उठाएर लान थालेपछि उनीहरुलाईल अर्को पीर थपिएको  सुकमाया नेपालीले बताइन् । पहिला उनको घर हरिहरपुर वडा ६, दुबीचौरमा  थियो । भेरी नदीले घर जग्गा लग्यो । अहिले १४ जनाको परिवार जंगलमा त्रिपालले छेकेको झुपडीमा बसेको छ ।

उनले भनिन्–‘जंगलमा दाउरा काटेर बेच्न नपाइने, खोलाको ढुङ्गा कुटेर पनि खान नदिने भए । ढुङ्गा पनि ट्रीपरहरु आएर लान थाले, अब के खाएर जीवन चलाउने चिन्ता छ ।’ 

नेताहरुले समस्या देखेनन्, भोट मात्र देखेः हरिकला विक 


४ बर्ष देखि जंगलको चिसो, सडकको धुलो खाएर कष्टकर जीवन बिताउदा पनि सरकार र नेताहरुले बाढी प्रभावितको समस्या प्रति ध्यान नदिएको भन्दै हरिकला बिकले गुनासो गरिन् । उनले भनिन्–‘बाढी पहिरो आएर जमिन जग्गा सबै लग्यो, पालमा बसका छौँ, चिसो छ । नेताहरुले पनि हाम्रो समस्या देखे, तर भोट माग्ने बेला मात्र आँउछन् । अहिले चुनाव शुरु भयो अहिलेसम्म आएका थिएनन् अब आउछन् ।’

जो देला खाजा, उही हुन्छ राजा 
घरबार बिहिन भएर जीवन गुजारा गरिरहेका प्रभावितहरु नेताहरु प्रति आक्रोसित थिए । उनीहरुको झपडीमा चुनावको कुनै रौनक थिएन । आयस्रोत केही नभएका उनीहरु गिरीघाट नदीको ढुङ्गा नै जीवन गुजारा एक मात्र आधार बनेको छ ।  गिरीघाटमा १३ बर्षीया बालिका देखि ७० बर्षसम्मका बृद्धबृद्धाहरु यसरी नै हरेक दिन गिट्टी कुटिरहेको अवस्थामा भेटिन्छन् । 

निर्वाचन बारेमा हाम्रो जिज्ञासामा बस्तिमा भेटिएका महिलाहरुले नेताहरुले समस्या समाधान नगरेकाले चुनावको कुनै मतलव नभएको बताए । एक महिलाले भनिन–‘हाम्रो समस्या समाधान गर्ने कोही भएनन्, हाम्रो लागि त जो देला खाजा उही हुन्छ राजा ।   

सुर्खेत बजार विभिन्न राजनीतिक दलको ध्वजा पतका, झन्डा, ब्यानरले रंगिए पनि गिरीघाटको झन्डै डेढ सय झुपडी भने गिट्टी, ढुङ्गा र धुलोले रंगएको छ ।  

नेताहरु सुर्खेत बजारमाः समस्या समाधान गर्छुः थानी 


शुक्रबार बिहान ११ बजे सुर्खेत सदरमुकाम वीरेन्द्रनगर बजारमा बाजागाजा सहित नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानी भोट माग्न हिँडिरहेका थिए । 
उता बाम गठबन्धनका नेता नवराज राउत र प्रदेश नं. ६ का मुख्य मन्त्रीका रुपमा प्रचारित एमाले नेता तथा प्रदेशसभा निर्वाचनका उम्मेदवार यमलाल कँडेल कंडेल पनि घरदैलोमा ब्यस्थ थिए भने चुनावी जुलुस र सभामा सहभागी भइरहेका थिए । उता प्रदेशसभा तर्फका बाम गठबन्धनका चर्चित उम्मेदवार तथा एमालेका नेता यमलाल कँडेल पनि लावालस्कर सहित घरदैलो अभियानमा थिए । 

बाढी प्रभावितहरुको पुर्नवास अहिलेसम्म किन नभएको भन्ने हाम्रो प्रश्नमा पूर्व सांसद समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानीले आफूले पहल गरे पनि सरकारले नटेरेको दावी गरे । भुकम्पपीडितलाई दिने सुविधा बाढीपीडितलाई दिन मन्त्रीपरिषदले निर्णय गरे पनि सरकारले नै काम नगरेको बताए । आफुले निर्वाचित भएमा उनीहको समस्या समाधान गर्ने उनको आवाश्सन पनि थियो । 

तर बाढी प्रभावितहको झुपडी बस्तीमा पुगेर दलका उम्मेदवारहरुले अहिलेसम्म झन्डा गाड्ने हिम्मत गर्न सकेका छैनन् । किनभने उनीहरु ४ बर्ष बित्दा समेत सरकारले आफ्ना लागि केही नगरेको भन्दै आक्रोशित बनिरहेका छन् । उनीहरु भोट दिन भन्दा गिट्टी कुट्नु राम्रो भन्दै सडक किनारमा बसेर हम्बरले ढुङ्गा फुटाइरहेका छन् । 

भिडियाे हेर्नुहाेस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप