मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रिमियर लिग राउण्ड अप : थ्रिलरमा युनाइटेडसँग आर्सनल पराजित, लिभरपुलको गोलको वर्षा

आइतबार, १७ मङ्सिर २०७४, ०७ : ४८
आइतबार, १७ मङ्सिर २०७४

लण्डन । यो सिजनकै सम्भवतः उत्कृष्ट खेलमा आर्सनलको रक्षापंक्तिको गल्तीको फाइदा उठाउँदै म्यान्चेस्टर युनाइटेड ३–१ गोल अन्तरले विजयी भएको छ ।
आर्सनलको घरेलु मैदानमा गत जनवरी पछि कुनै पनि टोलीले जीत हासिल गरेको यो पहिलो अवसर हो ।

खेलको ७४ औँ मिनेटमा पाउल पोग्बाले रातो कार्ड खाँदै मैदान छाड्न बाध्य बनेपनि गोलकिपर डेभिड डि गेयाले उत्कृष्ट खेल प्रदर्शन गर्दै तीन अंक दिलाए ।
खेलको शुरुवातमा नै एन्टोनियो भ्यालेन्सिया र जेसे लिन्डगार्डको गोलको मद्दतले युनाइटेडले २–० को अग्रता बनाएको थियो ।

त्यसपछि आर्सनलले निरन्तर रुपमा युनाइटेडमाथि दबाब बनाए पनि डि गेयाले एकपछि अर्को उत्कृष्ट बचाउ गर्दै युनाइटेडको अग्रता कायम राखेका थिए ।

खेलको दोस्रो हाफको शुरुवातमा नै अलेक्सान्डर लाकाजेटले गोल गर्दै आर्सनललाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, फेरि लरेन्ट कोसियाल्नीको गल्तीको फाइदा उठाउँदै लिन्डगार्डले अर्को गोल थपे ।

निकै रोमाञ्चक खेलमा डि गेयाले १४ वटा बचाउ गरेका थिए । यो नै खेलको निर्णायक पक्ष बन्न पुग्यो ।

उता, एक गोलले पछि परेको स्थिति उल्टाउँदै चेल्सीले न्यु्क्यासल युनाइटेडलाई पराजित गरेको छ ।

खेलको शुरुवातमा नै ड्वाइट गेलको गोलबाट आश्चर्यजनकरुपमा चेल्सी पछि परेको थियो ।

तर, एडिन हजार्डको दुई तथा अल्भारो मोराटाको एक गोलको मद्दतले चेल्सीले महत्वपूर्ण तीन अंक बटुल्यो ।

अर्को खेलमा ब्राइटनविरुद्ध गोलको वर्षा गर्दै लिभरपुल गत अगस्तपछि पहिलो पटक लिगको चौथो स्थानमा उक्लेको छ ।

जर्गन क्लपको टोली ५–१ ले विजयी बन्दा रोबर्टो फर्मिन्होले दुई, एमरे च्यान र फिलिपे काउन्टिन्होले एक–एक गोल गरे भने लेविस डंकले आत्मघाती गोल गरे । ब्राइटनका लागि एक मात्र गोल ग्लेन मरेले गरे ।

सबै प्रतियोगितामा घरेलु मैदानबाहिर खेलिएका पछिल्ला चार खेलमा लिभरपुलले १५ गोल गरेको छ ।

उता, खराब दौरलाई जारी राख्दै टोटनहम हटस्पर्स वार्टफर्डसँग १–१ को बराबरीमा रोकियो भने एभर्टनले हडर्सफिल्ड टाउनलाई २–० गोल अन्तरले पराजित गर्दै लिगको दशौँ स्थानमा उक्लिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप