बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटल ग्राउन्ड जनकपुर : विमलेन्द्र र राजेन्द्रको ‘भविष्य’ टक्ला र जूलीको ‘हातमा’ !

शनिबार, १६ मङ्सिर २०७४, १२ : ०५
शनिबार, १६ मङ्सिर २०७४

नेत्र पन्थी / एसके यादव  

धनुषा – एक साता लामो उपचारपछि आफ्नो चुनावी क्षेत्रमा फर्केका काङ्ग्रेस नेता विमलेन्द्र निधि एमालेसँग निकै आक्रमक छन्, जब कि त्यस अघिसम्म उनी एमालेको भोटमाथि नजर राखेका थिए । अब उनी यो निष्कर्षमा पुगेका छन्, उनलाई एमालेका भोट आउने छैन ।

काठमाडौँमा उनले आफूलाई एमालेका भोट नआउने केही खेल थाहा पाए, जनकपुर फर्केर एमालेमाथि हमला सुरु गरे । निधिलाई लागेको छ, आफूलाई हराउन एमाले अध्यक्ष ओली र राजेन्द्र महतोबीच साँठगाठ छ । सबै कोणबाट हेर्दा धनुषा–३ मा चुनाव हारजितमा एमालेको सबैभन्दा ठूलो भूमिका हुनेछ र यसको फिल्ड कमान्डर छिन्, २०७० मा निधिसँग चुनाव हारेकी एमाले नेतृ जुली महतो । 

जनकपुरका एक खेलाडी सञ्जय साह टक्ला निधितिर उभिएका छन् भने जुली महतोको व्यक्तिगत सद्भाव राजेन्द्र महतोतिर जान सक्ने सम्भावना पनि कायमै छ । यद्यपि महतो यसलाई अस्वीकार गर्छिन् । 

‘टक्ला’ निधितिर !
जेलभित्रैबाट जनकपुरको राजनीतिलाई दायाँबायाँ मोड्न सक्ने हैसियत बनाएका पूर्वसांसद सञ्जय साह ‘टक्ला’को जनकपुरको घरमा पुग्दा उनका बुबा मात्र थिए । टक्लाकी आमा र श्रीमती  काठमाडौँ गएका रहेछन् । घरको सरसफाइ थिएन । घरको अवस्थाले नै देखाउँछ कि त्यहाँ दुःखको पहाड छ ।

 

प्रदेशसभा र प्रतिनिधिसभाका चुनावमा टक्ला परिवारको सोच के छ ? यहीँ जान्न रातोपाटीको टिम उनकोे घर पुगेको थियो । जहाँ घरमा भेटिएका टक्लाका ७४ वर्षका बुबा साधु साह राजपाका अध्यक्ष मण्डलका सदस्य तथा धनुषा–३ मा मधेसवादी दलका साँझा उम्मेदवार राजेन्द्र महतोमाथि खनिए । ‘राजेन्द्र धोकेबाज भयो, ठग भयो ।’ साधुले रातोपाटीसँगको कुराकानीमा भने ।

राजेन्द्र महतो धनुषा–३ बाट प्रतिनिधिसभाका लागि राजपा नेपाल र फोरम नेपालका साँझा उम्मेदवार हुन् । सर्लाहीबाट राजेन्द्र काङ्ग्रेस नेता विमलेन्द्र निधिलाई टक्कर दिन यहाँ आएका हुन् । आआफ्नै दाबीका कारण निधि र महतोको निर्वाचन प्रतिस्पर्धा दुवै नेताका लागि प्रतिष्ठाको विषय बन्न पुगेको छ । यस्तोमा टक्लाले आफ्नो ‘पोजिसन’ स्पष्ट गरेका छन् । 


जनकपुरको राजनीतिमा अर्थपूर्ण हस्तक्षेप र प्रभाव राख्ने टक्लाले जेलबाट राजेन्द्र महतोविरुद्ध अपिल जारी गरेपछि यहाँ तरङ्ग पैदा भएको छ । टक्ला समर्थकले राजेन्द्रको विरोधमा जनकपुरमा प्रदर्शन पनि गरिसकेका छन् । टक्लाले जेलबाटै, ‘जेल से सञ्जय साह की अपिल’ शीर्षकमा चुनावको मुखमा प्रर्चा बाहिर ल्याए । पर्चाको सुरुमै राजेन्द्रमाथि हमला छ, ‘दुस्मनो ने तो दुस्मनी की पर, राजेन्द्र महतो ने सवसे बडी गद्दारी की ।’

यो प्रर्चा अहिले टक्लाका बुबाले घरमा जाने जो कोहीलाई दिने गरेका छन् । हामीलाई पनि गोजीबाट निकालेर दिए । आफ्नो पर्चामा टक्लाले लेखेका छन्, ‘अहिले चुनावी माहोल छ । जहाँ राजेन्द्र महतो जस्ता बहुरूपिया (अनेक रूप) जनकपुरमा आएका छन् । आफ्नो दुष्कर्मबाट गुमाएको शान र सौकात फेरि पाउन महतो जनकपुर आएका हुन् । स्वार्थबाट प्रेरित भएर मेरो राजनीतिक हत्या गर्ने र सहिदको लासमा राजनीतिक रोटी पोल्ने महतोलाई जनकपुरका जनता पक्कै पनि पाठ सिकाउनेछन् ।’


त्यति मात्र होइन, टक्लाले जेलबाट जारी गरेको अपिलमा लेखिएको छ, ‘सर्लाहीवासीलाई उनले एक पटक ठगे । दोस्रो पटक सक्दैनन्, त्यसैले उनी जनकपुर आए । महतो जनकपुरबाट चुनाव लडेर मन्त्री बन्ने चाहना राखेका छन् । उनले सत्ताको स्वार्थमा मधेसीलाई मराए । सहिदको रगतमा भिजेर कुर्सीमा बस्छन् ।’ 

यसका अतिरिक्त टक्ला लेख्छन्– ‘महतो राजनीतिक व्यापारी र नौटङ्कीबाज छन् । उनले सहिदको नाममा पैसा कमाए । आफ्नो परिवारलाई खुसी पारे । तपाईंहरू महतोलाई सोध्नुहोस्, उनले कहिले सहिद परिवारलाई भेटे ? सहिद परिवारको दुखमा के साथ दिए ?  आज उनलाई भोट माग्न सहिद परिवार चाहियो ।’
सञ्जयले जेलबाटै अपिल निकालेर यसो भनेपछि काङ्ग्रेस उम्मेदवार विमलेन्द्र निधि उत्साही भएका छन् । त्यसो त केही समय अगाडि निधिले काठमाडौं जेलमै गएर टक्लासँग भेट गरेका थिए, जुन भेट स्थानीय तहको चुनावपछि भएको हो । टक्लालाई ‘राजेन्द्रले आफ्नो राजनीति भविष्य सिध्याएको र अहिले जनकपुरमा आएर संसदीय चुनाव लडेको’ चित्त बुझेको छैन ।

टक्ला र निधिको नजिकिँदो सम्बन्ध आफैमा अनौठो र अर्थपूर्ण त छ नै, यसले प्रतिनिधिसभा र प्रदेशसभाको यहाँको चुनावलाई थप पेचिलो बनाइदिएको छ । स्थानीय तहको चुनावमा जनकपुर नगरपालिकमा जित निकालेर उत्साही भएका राजपामाथि दबाब पैदा गरेको छ । टक्ला निधिको दाहिने भएका छन् । चुनाव निधिले जिते भने टक्ला यसको मुख्य फ्याक्टर हुनेछन् भन्ने अनुमान छ । 

दुई तीन दिनअगाडि चुनाव प्रचारमा गएका बेला निधिले टक्लाका बुबालाई पनि भेटेका थिए । त्यसबेला निधिले भनेको उद्धृत गर्दै टक्लाका बुबाले भने, ‘म पनि तपाईंको छोरा हुँ । मैले सञ्जयको न्यायका लागि जितेर गएपछि पहल गर्छु ।’ जब कि कुनै बेला यस्तो थियो टक्लाले आफूलाई फसाउन विमलेन्द्रले भूमिका खेलेको बताउँथे । 

विमलेन्द्र निधिले टक्लालाई आफ्नो प्रतिस्पर्धी सम्झिन्थे । आफूलाई फाइदा हुने बुझेर नै निधिले टकलालाई जेल पठाएको समाचारहरू बाहिर आएका थिए । अहिले त्यही निधिलाई टक्लाले जेलबाट नै सहयोग पुग्ने गरी अपिल गरेपछि धेरैले यसलाई आश्चर्यका रूपमा लिएका छन् । 

हुन त उनको अपिलमा कही पनि निधिलाई सहयोग गर्नुस् भनी उल्लेख गरिएको छैन तर निधिलाई जिताउन भित्रभित्रै टक्लाले आफ्ना कार्यकर्ता परिचालन गरिसकेका छन्, जुन उनका बुबा साधु साहले पुष्टि गरे ।

साधु साह भन्छन्, ‘हामी निधिलाई जिताउँछाँै, निधिले राम्रो विकास गर्नुभएको छ, छलाइनको बाटोदेखि लिएर एडीबीको प्रोजेक्टबाट विकासका कार्यहरू अगाडि बढाउनु भएको छ ।’

राजेन्द्रलाई जुलीको ‘मौन’ समर्थन ! 
टक्लाजस्तै जनकपुरको अहिलेको राजनीतिमा खेलाडी हुन्, पूर्वसांसद एवं एमाले केन्द्रीय सदस्य जुली महतो । जुली महतोलाई अर्को कोणबाट परिचय गराउँदा विश्वका धनाढ्यमध्येका एक डा. उपेन्द्र महतोका बहिनी र रघुवीर महासेठकी श्रीमती हुन् । २०६४ मा उनी समानुपातिक संसद थिइन् । त्यसपछि उनले प्रत्यक्ष निर्वाचनका लागि तयारी थालिन् र काम गरिन् । त्यही अनुसार २०७० को दोस्रो संविधानसभामा उनी विमलेन्द्र निधिसँग चुनाव लडिन् । तर, उनी पराजित भइन् । 

चुनाव हारे पनि उनले आफ्नो क्षेत्रको विकासमा ध्यान दिइरहिन् । पार्टी सङ्गठनमा काम गरिन् र आफ्ना मतदातासँग निरन्तर सम्पर्कमा बसिन् । यसको कारण थियो, २०७४ को प्रतिनिधिसभाको चुनावको तयारी ।

उनले चुनाव नलड्ने कल्पनासमेत गरेकी थिइनन् । तर अन्तिम समयमा आएर उनको टिकट खोसियो, नाम दिइयो वाम गठबन्धनको । जुली समानुपातिकमा बसिन् र वाम गठबन्धनले निधि र महतोसँग चुनावी मैदानमा उतार्यो रामसिंह यादवलाई । 

यादवको यो उपस्थिति जुलीका मतदाताका लागि मन परेको छैन् । अर्थात जुली मैदानमा नउठेपछि उनलाई आउने भोट दाँयाबाँया हुन सक्ने सम्भावना देखिएको छ । जुली महतोको मत राजेन्द्र महतोलाई जाने प्रबल सम्भावना बढेको छ । यदि जुली त्यही क्षेत्रमा कायम रहने हो भने रणनीतिक हिसाबले जुलीका लागि रामसिंह र निधिभन्दा सजिलो महतो हुनेछन् । महतो बाहिरिया हुन् सधँैका लागि नबस्न सक्छन्, मैदान बनाएर राख्यो भने जहिले पनि खेल्न सकिने रणनीतिमा जुलीले महतोलाई सहयोग गर्ने विशेष स्रोतहरूको दाबी छ । प्रतिपक्षको नाताले जुलीले निधिलाई हराउनु धर्म पनि बन्छ भन्ने केहीको बुझाइ पनि रहेको छ ।

यिनै कुराहरूको पुष्टि गर्नका लागि जब रातोपाटीको टिम ब्याटल ग्राउन्ड रिपोर्टिङका लागि धनुषा ३ का विभिन्न ठाँउमा पुग्यो, मतदाताले स्वयं यो कुराको खुलासा गरे । 

हामी धनुषा ३ मा पर्ने नारायण नगरपालिका ३ मा पर्ने फुलगमा गाउँमा पुग्दा त्यहाँ केही स्थानीय भेटिए, जसले २०६४ र २०७४ को स्थानीय चुनावमा एमालेलाई भोट हालेका थिए । तर, ती मतदाताले अहिले राजेन्द्र महतोलाई भोट दिने सोच बनाएको पाए । 

‘हामीले जुलीलाई भोट हालेका थियौँ । स्थानीय तहको चुनावमा पनि एमालेलाई भोट हालेका थियौँ । अहिले एमालेको उम्मेदवार छैनन् । अब जुलीलाई दिने मत छातामा जान्छ’ ६९ वर्षका त्रिवेणीलाल साहले भने, ‘मधेसको हक अधिकारको कुरा छ र संविधान संशोधनका आवश्यकता छ । यहीँ मुद्दामा हामी भोट हाल्छौँ ।’
फूलगमा गाउँमा हामीले जेजति मतदाता भेट्यौँ, विगतमा उनीहरूले भोट एमालेलाई दिएका थिए र यसपालि भोट अन्यत्र हाल्दैछन् । नारायण नगरपालिका–२ जटहीका लक्ष्मीश्वर महतो पनि यसपालि राजेन्द्रको पक्षमा छन् । फूलगमाका रामेश्वर मण्डलले तीन चार पटक निधिलाई भोट दिएर पठाएको तर यसपालि विकल्प सोच्ने बताए । उनले सीधै त भनेनन्, ‘गाउँमा सल्लाह भएअनुसार नै हुन्छ ।’ 


चुनाव लड्न नपाएकोमा जुली महतोको असन्तुष्टि देखिनु (यद्यपि औपचारिक रूपमा उनको यस्तो असन्तुष्टि देखिन्न) र त्रिवेणीलाल साहजस्ता एमालेको परम्परागत मतदाताले राजेन्द्र महतोलाई भोट हाल्ने सोच बनाउने कुरा जनकपुरको राजनीतिमा निकै अर्थपूर्ण छ । 

अर्थपूर्ण यसकारण कि कतिपय मान्छन्, ‘निधिसँग हारको बदला लिन जुलीले राजेन्द्रलाई साथ दिन सक्छिन् ।’ यदि यो फ्याक्टरले काम गर्यो भने धनुषा ३ को चुनाव ट्वान्टी ट्वान्टी फर्मेटको क्रिकेटजस्तो हुनेछ, जहाँ हारजितको अनिश्चता मात्र हुनेछ । 

हामीले जिल्लाको राजनीतिमा चासो राख्ने केही व्यक्तिहरू भेट्यौँ । सबैले धनुषा–३ को चुनावी हारजितमा अब जुली महतो ठूलो फ्याक्टर बनेर आउने बताए । जुली आफै मैदानमा छैनन् । त्यसैले उनले सम्पूर्ण समय धनुषा–४ मा लगाएकी छिन्, जहाँबाट उनका पति रघुवीर महासेठ वामगठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् ।

जुलीले धनुषा–३ मा कम समय दिनुलाई कतिपयले यसलाई राजेन्द्र र जुलीबीचको राजनीतिक संवादको नतिजा पनि ठान्छन् । जुली र राजेन्द्र एउटै समुदायका हुन् । यहाँको चुनावमा साहु महाजनको भोट एकैतिर जाने परम्परा पनि छ । 

निधिले पत्रकार सम्मेलन गरेर भनेका छन्, ‘एमाले अध्यक्ष ओलीले मलाई हराउन यहाँ राजेन्द्रलाई पठाएका हुन् ।’ अनौपचारिक कुराकानीमा महतोले आफ्ना निकटकालाई भन्ने गरेका छन्, ‘हामीलाई एमालेको समर्थन गर्छ ।’ 

हामीले विभिन्न पक्षसँग कुराकानी गरेपछि एउटा निष्कर्ष निकाल्यौँ कि जुली राजेन्द्र र निधिको लडाइँमा महत्वपूर्ण छिन् । यही कारणले शुक्रबार साँझ रातोपाटीको टिम जुलीलाई भेट्न जानकी मेडिकल कलेज नजिकै रहेको उनको घरमा पुग्यौँ । हामीसँगको कुराकानीमा चाहिँ उनले वाम गठबन्धनको भोटप्रति शङ्का गर्ने ठाउँ नरहेको बताइन् ।

 

‘निधिले त्यस्तो आरोप लगाउन गलत छ । राजेन्द्रले मलाई समर्थन आउँछ भन्नु गलत छ ।’ निवासमा रातोपाटीसँगको कुराकानीमा जुलीले भनिन्, ‘कसैसँग केही पनि सम्झौता हुँदैन र भएको छैन् । वाम गठबन्धनको भोट वाम गठबन्धनमै जान्छ, यी दुईको लडाइँमा वाम गठबन्धन जित्ने निश्चित छ ।’
२०७४ को प्रतिनिधिसभा चुनाव लड्ने जुलीको तयारी थियो । तर, त्यो क्षेत्र माओवादी केन्द्रको भागमा परेपछि चित्त उनले बुझाइन् । 

उनले भनिन्, ‘२०६४ मा समानुपातिक संसद थिए । त्यसपछि मैले चुनाव लड्ने गरी क्षेत्रमा ध्यान दिएँ । २०७० मा चुनाव लडेँ । थोरै मतले हारेँ । यसपालि पनि चुनाव लड्न चाहेकी थिएँ । वामगठबन्धको निर्णयअनुसार यहाँ एमालेको भागमा परेन । समानुपातिकमा मधेसी महिलामा मेरो एक नम्बरमा नाम छ । म पार्टी निर्णय मान्छु र मान्नुपर्छ ।’

कुराकानीका क्रममा उनले आफ्नो व्यक्तिगत प्रभाव रहेको स्वीकार गर्दै भनिन्, ‘मेरो व्यक्तिगत प्रभाव छ । म प्रत्यक्ष चुनाव नलडे पनि तपाईंहरूको सुखदुःखमा साथ दिन्छु भनेर मतदातालाई भनेको छु ।’ तर, उनले व्यक्तिगत कारणले धनुषा–३ मा समय दिन नसकेको पनि बताइन् । जुलीले भविष्यमा पार्टीले मौका दिए आफू प्रत्यक्षमा चुनाव लड्ने पनि बताइन् । 

राजेन्द्र महतोलाई तपाईंको साथ छ कि छैन ? पटक पटकको जिज्ञासामा उनले ‘छैन’ नै भनिन् । तर, उनले २०७० मा आफूले चुनावी प्रचारका लागि बनाएको गीतको सङ्गीत अहिले राजेन्द्र महतोले जस्ताको त्यस्तै प्रयोग गरेको सुनाइन् । उनले भनिन्, ‘अरू सबै शब्द र सङगीत उस्तै छन्, सूर्यको ठाउँमा छाता राख्नुभएको छ, मलाई पनि अच्चम लाग्यो ।’ 

रघुवीर महासेठ र राजेन्द्र महतोबीच गठबन्धन भएको र महासेठले नेता महतोलाई सहयोग गर्ने आन्तरिक तयारी भइरहेको दाबी गर्नेहरू पनि छन् । यसपालिको चुनावमा वामपन्थी गठबन्धनले कमजोर उम्मेदवारलाई उठाएको छ । रामसिंह यादव सो क्षेत्रका लागि नयाँ अनुहार हुन् । 

रामसिंह यादवको निर्वाचन क्षेत्र धनुषा–१ पर्दछ । तर, उनले धनुषामा–१ मा प्रदेश तथा प्रतिनिधि दुवैमध्ये कुनैमा टिकट नपाएपछि उनी ३ तिर हिँडेका हुन् । उनी वाम गठबन्धनको उम्मेदवार भएकाले चुनावी दौडमा अगाडि आउने विश्वासमा छन् ।

मतदाताको मन 
कतिपय मतदाता चाहिँ निधि र महतोे दुवै मधेसका लागि चाहिने नेता भएको बताए । जनकपुर नगरपालिका–३ का एक मतदाता मुस्लिम रायनले भने, ‘दुवै नेता उस्तै हुन् । दुवै मधेसलाई चाहिन्छन् । मतदाता अन्योलमा छन् । उनीहरूलाई आआफ्ना पार्टीका मत जान्छन् ।’ उनले संविधान संशोधन र विकास अब मधेसका मुख्य मुद्दा भएको बताए ।

अर्का मतदाता जोगेन्द्र ठाकुरले भने, ‘हामीलाई सडक, पानी र धर्मशाला चाहियो । सडक बनाएर मात्र भएन हाम्रा छोराछोरीलाई पनि रोजगारी चाहियो ।’
हकिम रायन चाहिँ निधिको कामबाट खुसी छैनन् । उनले भने, ‘२०–२२ वर्षदेखि यहाँ खास केही भएको छैन् । जनता भोका छन् । नेता मात्र मोटाएका छन् ।’

यी मुख्य प्रतिपस्पर्धी नेतालाई अहिले मतदाता रिझाउन हम्मे–हम्मे परेको छ । नेताका कार्यक्रममा कोणसभा, पार्टी प्रवेश, घरदैलो अभियान दिनरात चलिरहेको छ । प्रायः सबै नेताले आफ्ना कमजोरी लुकाउन जातीय शक्तिलाई प्रयोग गरिरहेका देखिन्छ ।
 
सबैको ध्यान छ यहाँ
धनुषा निर्वाचन–३ मा यतिबेला सबैको ध्यान केन्द्रित यसकारण छ कि, काङ्ग्रेसका निधि र राजपाका  महतो कसले बाजी मार्ने भनेर चौतर्फी चर्चाको विषय बनेको छ । यतिखेर मतदातालाई फकाउन काङ्ग्रेसका नेता निधि र राजपाका नेता राजेन्द्र महतो दिनरात खटेका छन् । बिहान उठेदेखि अबेर रातिसम्म दुवै नेताको प्रचार प्रसारका कार्यक्रम चलिरहेको हुन्छ । दुवै नेताले जित आफ्नो पक्षमा पार्नका लागि आफ्नो क्षेत्रबाहेक कुनै क्षेत्रमा जान सकेका छैनन् ।
धनुषामा कूल ३८ लाख ९३ हजार ८६ मतदाता रहेकामा पुरुष २० लाख २८ हजार ८९, महिला १८ लाख ६४ हजार ९१ र तेस्रोलिङ्गी ६ जना रहेका छन् । धनुषामा ३ मा पाँचवटा स्थानीय तह पर्छन् । 

वदेह नगरपालिका वडा नम्बर ९, धनकौजी गाउँपालिका, नगराइन नगरपालिका, मुखियापट्टी मुसहरमिया नगरपालिका, जनकपुर उपमहानगरपालिकाका १, २, ३, ४, ५, ६, ७, ८, १०, ११, १२, १५, १६, २०, २३, २४ र २५ वडा पर्छन् । 

धनौजी गाउँपालिकामा स्थानीय तहमा काङ्ग्रेसले जितेको छ । मुखियापट्टि मुसहरमिया नगरपालिकामा एमालेले जितेको छ । नगराइन नगरपालिकामा काङ्ग्रेसले जितेको छ । जनकपुर उपमहानगरपालिकामा राजपाले जितेको छ । विदेह नगरपालिकमा माओवादीले जितेको छ । 

के भनेर भोट माग्छन् निधि र महतो ?
शुक्रबार रातोपाटीको टिमले निधिका दुईवटा चुनावी सभा अवलोकन गर्यो र निधिको भाषण पनि सुन्यो । सार्वजनिक रूपमा निधि के मुद्दामा चुनाव लड्दैछन् भन्ने जान्न हामीले उनको दुईवटा भाषण सुनेका थियौँ ।

जनकपुर नगरपालिकाको ३ र ४ वडामा भएका कार्यक्रममा उनले आफ्ना मुख्य एजेन्डा मतदातासँग सुनाए । उनले राष्ट्रिय मुद्दामा चाहिँ कुरै गरेनन् । ‘जनकपुरलाई दुई नम्बर प्रदेशको राजधानी बनाउने मेरो पहिलो एजेन्डा हो र त्यसको कार्यालय बन्द रहेको जनकपुर चुरोट कारखानाको प्राङ्गणमा राख्ने पनि तयारी भइरहेको छ, चुरोट कारखानामा काम गर्ने कामदारले पाउनुपर्ने बक्यौता रकम पनि मैले सरकारबाट दिलाउँछु ।’ 

उनले भन्न नछुटाउने अर्को एजेन्डा रहेको छ, जनकपुरमा राजर्षी विश्वविद्यालय । उनले सो विश्व विद्यालय आफूले नै स्थापना गर्न लगाएको दाबी गरे । सबै कानुनी प्रकृया पूरा भइसकेको छ अब यसलाई कार्यान्वयन गराउने जिम्मेवारी पनि आफ्नै भएको कुरा मतदातालाई सुनाउँछन् । 

त्यसैसँग जोडिएको अर्को एजेन्डा पनि उनले सुनाउने गर्छन् त्यो हो ‘ढल्केवार, जनकपुर, जटहीसम्मको ६ लेनको सडक ।’ उनले आफ्नै पहलमा सो सडक निर्माण कार्य पनि सुरु भएको बताउँछन् । 

महतो सर्लाहीबाट आएर जनकपुरमा चुनाव लड्दैछन् । त्यसैले उनले मधेस आन्दोलनको विषयलाई विशेष जोड दिएर उठाउँछन् । आन्दोलनको भावना अनुसार संविधान संसोधनका लागि पहल र सङ्घर्ष गर्न आफूले जित्नुपरे एजेन्डा राखेका छन् । 

काङ्ग्रेसका जिल्ला नेताले निधिलाई भावी प्रधानमन्त्री र काङ्ग्रेस सभापतिका रूपमा अगाडि सारेका छन् । 
मुद्दा कति पेचिलो छ भने पत्रकार महासङ्घका पूर्वसभापति धर्मेन्द्र झा निधिको प्रचारमा छन् । उनले एक कार्यक्रममा भने, ‘मधेस मधेसीको हनुपर्छ । जनकपुर जनकपुरीयाको हुनुपर्छ ।’ उनले नामै नलिई राजेन्द्र सर्लाहीबाट आएको भन्दै जनकपुरका निधिले जित्नुपर्ने बताए ।

मुस्लिम मतदातामाथि नजर
मुस्लिम मतदातामाथि दुवै नेताको खास चासो छ । उदारणका लागि शुक्रबार जनकपुर टुडेमा छापिएका विज्ञापन प्रयाप्त छ । पहिलो पेजमा मुस्लिम समुदायलाई मुवारकसहित निधि र महतोले विज्ञापन छपाएका छन् । विज्ञापनमा नाम मात्र फरक छ, डिजाइन र शब्द चयन उस्तै छ । धनुषा–३ मा मुस्लिम मतदाताको मतले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले त्यसतर्फ पनि दुवै नेता जोड दिएका छन् ।

दुवैको राजनीतिक भविष्यसँग जोडिएको चुनाव
धनुषा–३ को चुनाव दुई हेभीवेट नेताकै राजनीतिक भविष्यको ‘टर्निङ पोइन्ट’ जस्तो बनेको छ । १८ वर्षअघि यहीँबाट चुनाव हारेका निधिका लागि यसपटकको चुनाव राजनीतिक भविष्यका जीवन मरणको सवाल छ ।
किनभने उनलाई यहाँका काङ्ग्रेसले भावी प्रधानमन्त्री र पार्टी सभापतिका रूपमा पनि हेरेका छन् । जनकपुर सहर पर्ने क्षेत्रबाट २०५६ सालमा चुनाव हारेपछि निधिले आफ्नो पुस्ताँैनी घरतिरको क्षेत्रमा सरेका थिए । 


राजेन्द्र महतोका लागि चुनाव उत्तिकै पेचिलो छ । दोस्रो संविधानसभा चुनाव २०७० मा उनले आफ्नै घर भएको क्षेत्रमा चुनाव हारेका थिए । त्यसपछि लगातार मधेस आन्दोलनमा सक्रिय उनले यहीँ मनोविज्ञानमा चुनाव जित्न चाहन्छन्, जसको बलमा राजपाको शक्तिशाली नेता बन्न सकियोस् ।

मतदाताको मौन अवधि 
यहाँको मत अझै अनिर्णीत छन् । यसैले तस्बिर अस्पष्ट छ । अन्तिम समयमा जातीय समाजले कसलाई भोट हाल्ने भनेर निर्णय गर्छन् । धनुषा ३ मा मैथिल ब्राह्मण र स्थानीय भाषामा साहुजी भनिने सुडी, कलवार र तेली समाजले जसलाई चाह्यो उसले चुनाव जित्ने अवस्था छ ।

साहुजी जनकपुरका वास्तविक साहुजी पनि मानिन्छन् । ब्राह्मण निधिसँग असन्तुष्ट छन् । अर्को महतो आफैं साहुजी (सुडी) हुन् । यसको लाभ महतोलाई हुन सक्छ । निधिले पछिल्लो समय जातिवादलाई बढावा दिएको र ब्राह्मण समुदायका मतदातासँग राम्रो तालमेल गर्न नसकेको बताइएको छ । यहाँ २६ हजार ब्राह्मण मतदाता छन् । धनुषा ३ मा ९७ हजार मतदाता छन् ।

धनुषाका अरू क्षेत्रमा पनि शीर्ष नेता 
धनुषा जिल्लाको चारवटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा आठजना शीर्ष नेतालाई कडा प्रतिस्पर्धा गर्नुपरेको  छ ।  
कडा प्रतिस्पर्धाबीच राजनीतिक भविष्य दाउमा रहेको शीर्ष नेतामा धनुषा निर्वाचन क्षेत्र नं १ मा नेपाली काङ्ग्रेसका नेता आनन्दप्रसाद ढुङ्गाना, माओवादी केन्द्रका मातृकाप्रसाद यादव, क्षेत्र नं २ मा वर्तमान कृषिमन्त्री एवं काङ्ग्रेस नेता रामकृष्ण यादव, माओवादी केन्द्रका नेता रामचन्द्र झा, क्षेत्र नं ३ मा काङ्ग्रेसका नेता विमलेन्द्र निधि, राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो र क्षेत्र नं ४ मा खानेपानी मन्त्री तथा काङ्ग्रेस नेता महेन्द्र यादव तथा एमाले नेता रघुवीर महासेठ चुनावी प्रतिस्पर्धामा छन् ।
 
जनकपुरको चरित्र
जनकपुरको गज्जबको राजनीतिक विरासत छ । २०१८ मा राजा महेन्द्रमाथि जनकपुरमै बम प्रहार भएको थियो । पञ्चायतका दुवै प्रत्यक्ष चुनाव (२०३८÷२०४३) मा धनुषाबाट हेमबहादुर मल्ल विजयी भएका थिए । २०४३ मा त हेमबहादुर मल्लकी श्रीमती शारदा मल्लले जितेकी थिइन् । २०४६ सालको जनआन्दोलनमा जनकपुर सहर आन्दोलनको पक्षमा देखियो । २०४८ सालमा काङ्ग्रेसतिर ढल्क्यो । 

एक वर्षपछि भएको स्थानीय चुनावमा काङ्ग्रेसका बागीले मेयर र उपमेयर जिते । मध्यावधि चुनाव (२०५१) मा पनि काङ्ग्रेस नै जित्यो । २०५६ को स्थानीय चुनावमा फेरि बागी उम्मेदवारले जिते । धर्म, सांस्कृतिक मूल्य मान्यतामा विश्वास गर्ने भएकाले जनकपुर आफैंमा यथास्थितिवादी चरित्रको सहर मानिन्छ । सहरको भोटले २०५६ को आमचुनावमा विमलेन्द्र निधिलाई हराएर राप्रपाका कृष्णप्रताप मल्ललाई जिताएको थियो । २०६४ र २०७० मा सद्भावनाका सञ्जय साहले जितेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप