बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ब्याटल ग्राउन्ड सप्तरी : उपेन्द्रका यी तीन घुम्ती !

शनिबार, १६ मङ्सिर २०७४, १० : ३५
शनिबार, १६ मङ्सिर २०७४

धनुषा–उपेन्द्र यादवको व्यक्तिगत र राजनीतिक जीवन घुम्तीहरु पार गर्दै अगाडि बढेको छ । उनी सप्तरीमा जन्मे । सुनसरीमा हुर्के बढे र विराटनगरबाट शुरु भयो व्यवसायिक जीवन । 
राजनीतिमा पनि उनी एक ठाँउ रहेनन् । एमालेबाट राजनीतिक शुरु गरे । बिचमा माओवादी निकट भए र दोस्रो मधेश आन्दोलनपछि उनी मधेशवादी दलका नेता भए । 

चुनावी मैदानमा पनि उनको उस्तै घुम्ती आए । अहिले उनी तेस्रो पटक चुनाव लड्दैछन् । २०६४ र २०७० मा मोरङ ५ र सुनसरी ५ बाट चुनाव लडे । सुनसरीबाट दुवै पटक जिते । मोरङबाट एकपटक । तर, २०७० को प्रतिनीधिसभा चुनावमा उनले मोरङ र सुनसरी छाडे । अहिले सप्तरी २ बाट चुनाव लडेका छन् । 

आफ्ना परम्परागत निर्वाचन क्षेत्र छाडेर संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव किन सप्तरीमा पुगे ? राजनीतिक वृतमा यो प्रश्न उठिरहेको छ । मोरङ र सुनसरीका मतदाताले उपेन्द्रको यो निर्णयलाई कसरी हेरेका छन् ? यो अर्को महत्वपूर्ण प्रश्न हो । यसबाहेक सवैभन्दा महत्वपूर्ण प्रश्न यो हो कि उपेन्द्रका सप्तरी आगमन रहक हो कि बाध्यता ? 

यीनै प्रश्नहरुको जवाफ जान्नका लागि चुनावी ब्याटल ग्राउन्डको रिपोर्टिङमा रहेको रातोपाटीको टिमले मोरङ र सुनसरीमा रहेका उपेन्द्रका मतदाता र समर्थकसँग भेट गरेको छ । र, हामीले सप्तरीका मतदातासँग पनि जान्न खोज्यौँ कि उपेन्द्रका आगमन उनीहरुका लागि के अर्थ राख्छ ? 

यी प्रश्नहरुको जवाफ खोज्न हामी उपेन्द्रको बाल्यकाल वितेको घर जाने निर्णय गर्यौँ । सुनसरीस्थित उपेन्द्र यादवको निवासमा नजाँदा विषयमाथि न्याय पनि हुन सक्दैन्थ्यो । विराटनगर हुँदै हामी सुनसरी बराह नगरपालिकाको मधुवन–११ पुग्यौं । 

पूर्व पश्चिम राजमार्गको सुनसरी लोकहीबाट ६ किलोमिटर उत्तर रहेको उपेन्द्र यादवको निवास जाने सडक पक्की छ । हालसालै बनाएको पक्की सडक । मधेशका गाउँमा राम्रो पक्की सडकले हामीलाई अचम्मित बनायो । सोच्यौँ, उपेन्द्रले यहाँ विकास गरेका रहेछन् । त्यस अगाडि मोरङमै एक जनाले राजमार्गबाट कच्ची सडक भएर उपेन्द्रका घर जान सकिने सुनाएका थिए । 

मधुवनस्थित उनको घरसम्म पक्की (पीच) बाटो नै । तर, त्यहाँ उनको घरसम्म पुग्दा सडक पक्कीको कथा अर्कै भेटियो । त्यो पीच बाटो उपेन्द्र यादव नबनाको थाहा भयो । उपेन्द्र यादवको छिमेकी नरबहादुर थापाले भने, ‘यो बाटो उपेन्द्र यादवले बनाएकै होइन। भारतका विहार सरकारले बनाएको हो, सुनकोशी बाँध आउन जाउँ गर्नका लागि विहार सरकारले निर्माण गरेको हो ।’

नरबहादुरले आफुलाई गगन थापाका काका भएको बताए । ‘त्यत्रो हेभीवेट नेताको घर मात्र हो यहाँ तर विकासको नाममा केही भएको छैन’ थापाले गुनासो गरे, उपेन्द्र यादव मेरो सर हुनुहुन्छ, उहाँसँग मैले ट्युशन पढेको छु तर झुठो बोल्नु हुँदैन, उपेन्द्र यादवले यहाँका लागि केही गर्नुभएको छैन् ।’
उपेन्द्र यादवको घर भएको गाउँ यसपटक सो क्षेत्रमा परेको छ जुन क्षेत्रबाट उनी चुनाव लडेका थिए । घर यहाँ भएपनि अरु नै क्षेत्रबाट चुनाव लडेका जितेका थिए । यद्यपी नेता भएको कारण आफ्नो गाउँ ठाउँमा विकास गर्नुपर्ने थियो थापाको आरोप थियो । 

उनले उपेन्द्र यादव सुनसरीबाटै चुनाव लडेको भए राम्रो हुने बताए । ‘आफ्नै छिमेकी चुनाव लडोस्, ठूलो मान्छे होस् भनि कसले चाहदैन’ उनले भने, उपेन्द्र यादव सुनसरीबाट पनि चुनाव लडेको भएपनि जित्नु हुन्थ्यो ।’

यस्तै गुनासो छ, उनका अर्का छिमेकी सराजुदिन अन्सारीको । पेसाले शिक्षक रहेका अन्सारीले उपेन्द्रसँग गुनासो गर्दै भने, ‘उहाँ यहाँको जनताका लागि केही गर्दिनु भएन, ठूला नेता हुनुहुन्छ, धेरैले आशा गरेका हुन्छन् । ठूला नेताहरुको जिल्ला तथा उहाँको गाउँमा गएर हेर्नुस्, कति विकास भएको छ । तर, उपेन्द्र यादवले केही गर्नुभएन ।’


‘मानिसहरु उपेन्द्र यादवको घर भन्दै धेरै ठाउँबाट हेर्नका लािग यसरी आइरहन्छन् तर विकासको मामलामा जिरो छ’ उनले भने । 
उपेन्द्र यादव सुनसरीबाट हार्ने डरले सप्तरी गएको दावी गर्दै अन्सारीले भने, ‘उनी यतैबाट चुनाव लड्ने आँट देखाउनु पथ्र्यों ।’

पाँच नम्बर क्षेत्रमा थप भएका गाउँपालिका तथा नगरपालिकाहरु उपेन्द्र यादवको अनुकुल नरहेको बुझिएको छ । त्यहाँ झण्डै २५ हजारका जनसँख्यामा पहाडी समुदायको बसोबास रहेको छ । १७ हजारभन्दा बढी मुस्लिम समुदायका छन् भने यादव समुदायका सँख्या १४ हजार मात्र रहेका छन् । सायद यी हिसाब किताब गरेर उपेन्द्र यादव सप्तरी भागेको अन्सारीको दावी छ । 

तर, कोशी गाउँपालिकाका प्रभुनारायाण यादव भन्छन्, ‘उपेन्द्र यादव जहाँ गएपनि जित्ने नेता हुनुहुन्छ, तर यही सुनसरीबाट लड्दा हुन्थ्यो, उहाँ यहाँबाट पनि जित्नुहुन्थ्यो । हामी अनाथ भएका छौ हामी रुदैछौं । फोरमको यति राम्रो संगठन छ यहाँ तर कुनै गतिविधि छैन पुरै सुनासान छ ।’

मधुवन निवास भनेको मात्र हो तर उनको त्यहाँ केही छैन । उनका भाइका परिवार मात्र बस्छन् । उपेन्द्रको निवास अब विराटनगर हुने भएको छ । सप्तरी जन्मेका उपेन्द्र यादवका हजुर बुवा गाईवस्तु पालनका लागि त्यहाँ गएका थिए । पछि त्यही घर बनाएर बस्न थालेको उनका छिमेकीहरु बताउँछन् । 
उपेन्द्र यादव त्यही ठाउँबाट अध्ययन गरेर मास्टरी पनि गरेका थिए । पछि उच्च शिक्षाका लािग उनी विराटनगर गएका थिए । जागिर गर्दै उतै घरजम गरेर बस्न थालेको बताइन्छ । 


उनका भाउजु तारादेवी यादव भन्छिन्, ‘उपेन्द्र यादव जहाँबाट लडेपनि राम्रै हो, उहाँ यहाँको नेता मात्र होइन, देशैभरिका नेता हुनुहुन्छ, उहाँ जहाँबाट पनि चुनाव लड्न सक्नुहुन्छ ।’

जसले पनि उपेन्द्र यादव यतैबाट चुनाव लडि दिए हुन्थ्यो भन्छन्, ‘आफूहरुको चाहना पनि उनी सुनसरी आफ्नै घरबाट चुनाव लडि दियोस् भनि चाहना रहेको तर चाहना राखेर मात्र नहुने उनले बताइन् । 
सप्तरी पनि उनकै आफ्नै घर हो, भन्दै तारादेवीले भनिन्, ‘विराटनगर, सुनसरी र सप्तरीबाट चुनाव लड्दा आवाज नउठाउनुपर्ने हो, किन उठाई रहेको छ मलाई थाह छैन ।’


पहिलो सविधानसभा चुनावमा विराटनगरबाट चुनाव जितेका उपेन्द्र यादवलाई निर्वाचनमा भाग लिन त्यहाँबाट पार्टी कार्यकर्ताले चाहेका थिए । केन्द्रमा नाम पनि पठाएको थियो तर उनले सप्तरीलाई रोजेपछि विराटनगरका कार्यकर्ताहरु निराश भएका छन् । 

उपेन्द्र यादव चुनाव लड्ने क्षेत्र नम्बर ५ फोरम नेपालको पकड भएका क्षेत्र हो । चुनाव लडेको भए जित्न सकिन्थ्यो तर उनले चुनौति लिन चाहेनन् । आन्दोलनको भूमि सप्तरी गए जहाँ फोरम नेपाल र राजपा नेपालको राम्रो संगठन रहेको छ । 


फोरम नेपालका केन्द्रीय सदस्य एवं मोरगं– ५ का प्रदेशसभाका उम्मेदवार जयराम यादवले भने, ‘उपेन्द्र सरलाई यतैबाट चुनाव लड्नुस् भनेकै हौं, नाम पनि पठाएकै हौं तर उहाँले सधै एकै ठाउँबाट चुनाव नलडौ, अरुलाई पनि मौक दिऔं भनेर उहाँ सप्तरी जानु भएको हो ।’

पार्टीका राष्ट्रिय अध्यक्ष भएका हुनाले उनी देशका जुनसुकै ठाउँबाट चुनाव लड्न सक्ने बताउँदै यादवले भने, ‘इच्छा भएर मात्र हुँदैन, दुई नम्बरमा थुप्रै मधेशी नेताहरु चुनाव लडेका छन्, उपेन्द्र यादव एक नम्बरबाट चुनाव लडेर जित्दा अर्कै सन्देश जान्थ्यो, देशैभरि राम्रो म्यासेज जान्थ्यो । एक नम्बर प्रदेशमा पनि मधेशी नेता जितेको चर्चा हुन्थ्यो ।’

आन्दोलनको अगुवाई गरेका उपेन्द्र यादव सप्तरी आएर चुनाव लड्नु यहाँका लागि सौभाग्य भएको बताउँछन् उनका पार्टीका कार्यकर्ताहरु । फोरम नेपालका सप्तरी अध्यक्ष दिनेश यादवले उपेन्द्र यादव बाहिरको हल्ला गर्नु गलत भएको बताए । ‘उनको यो जन्मधर्ती हो, उनी यहाँ मज्जाले चुनाव लड्न पाउनुपर्छ । ’ उनले भने । 

मनोनयन दार्ता गराएपछि उपेन्द्र यादव बाहिरको भनि प्रतिद्धन्दीहरुले कुरा उठाएपछि उनले आफ्नो नागरिकता सार्वजनिक गर्न लगाएका थिए । नागरिकता अनुसार उनको जन्मस्थान भगवतपुर सप्तरी उल्लेख गरिएको छ । प्राथमिकको पढाई सप्तरीको बभनगामाकट्टीको लक्ष्मी बल्लभ नरसिंह उच्च मा.वि. मा भएको थियो । पछि सुनसरी गएपछि त्यही पढाई शुरु गरेका थिए । 

तर, यो कुरा वामगठबन्धनका उम्मेदवार उमेश यादवले यो कुरा मान्न तयार छैनन् । उनी भन्छन्, मेरा छोराको जन्म धारानमा भएको छ, भोली कुनै प्रमाण लिए म यहाँको धर्तीपुत्र हो, मेरो जन्म यही भनेको छ भनियो भने मान्छन् त्यहाँका स्वीकार गर्छन् त । कदापी स्वीकार गर्दैन्न् । कोही कुनै ठाउँमा जन्मदैमा धर्तीपुत्र हुँदैन, कर्म जहाँ गर्छन् उसको त्यही नै जन्मभूमी हो ।’

उनले उपेन्द्र यादवलाई भगौडाको आरोप पनि लगाए । उनले भने, विराटनगरबाट सुनसरी र सुनसरीबाट सप्तरी भाग्दै आउनु भएको छ, भोली यहाँबाट पनि भाग्नुहुन्छ हेर्नुस् होला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप