शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटल ग्राउन्ड सिरहा : काङ्ग्रेसको ‘रूख’ बन्यो वामपन्थीको ‘छहारी’ !

शुक्रबार, १५ मङ्सिर २०७४, १६ : २२
शुक्रबार, १५ मङ्सिर २०७४

नेत्र पन्थी र एसके यादव

सिरहा– औरही गाउँपालिका वडा नम्बर–५ स्थित सुरेशचन्द्र दास यादवको घरमा करिब दुई सय वर्ष पुरानो भाल्सैर (फूल) को ठूलो रूख छ । यो अरू रूख जस्तो सामन्य होइन, यसमा काङ्ग्रेसको विरासत र इतिहास छ ।

यो यस्तो रूख हो जहाँबाट काङ्ग्रेसको रूख चिन्ह जन्मेको मानिन्छ । यद्यपि यसको औपचारिक कुनै दस्तावेज छैन । तर गाउँका स्थानीय मान्छन् कि बीपी कोइरालाले यहीँ रूख हेरेर काङ्ग्रेसको चुनाव चिन्ह रूख बनाएका थिए । मैथलीमा रूखलाई गाछी भनिन्छ । ‘यो रूखामा काङ्ग्रेसका धेरै इतिहास लुकेको छ’ स्थानीय भन्छन् । 

तर विडम्बना अब त्यो रूखलाई काङ्ग्रेसको ‘स्पर्श’ पनि प्राप्त हुँदैन । ७०–७५ वर्षसम्म काङ्ग्रेसको ‘स्पर्श’ र लालपालनमा बाँचिएको त्यो रूखले अब वाम गठबन्धनलाई छहारी दिने भएको छ ।

रूख अहिले पनि जस्ताकै त्यस्तै छ । बरु काङ्ग्रेस बूढो भयो । त्यसका नेता बूढो भए । कतिपय बिते पनि तर, त्यो रूख ठिङ्ग उभिएको छ । अझै त्यो रूख लाग्छ, लक्का जवान छ ।  

यो रूख वाम गठबन्धनका उम्मेदवार सुरेशचन्द्र दास यादवको घरमा रहेको छ । काङ्ग्रेस छाडेर हालै माओवादी केन्द्रमा प्रवेश गरेका सुरेशका हजुरबुबाले नै त्यो रूख रोपेको स्थानीय बताउँछन् । 

सुरेशका बुवा देवनाथ दास यादव र काका सूर्यनाथ दास यादव काङ्ग्रेसमा हुँदा बीपी कोइराला र गिरीजप्रसाद कोइराला पटक पटक औरहीस्थित उनको घरमा जान्थे ।

त्यो भाल्सैर रूखमुनि बसेर पार्टीका योजना बनाउँथे । तर आज वर्षौंपछि त्यहाँको माहोल बदलिएको छ । विचार बदलिएको छ । सिद्धान्त फेरिएको छ तर मान्छे उही, ठाउँ उही ।
 
घरदैलो कार्यक्रमको क्रममा धनगढीमाई नगरपालिकाको तेत्तीसबिघामा भेट भएका सुरेशले भने– ‘रूख (काङ्ग्रेस पार्टीको चुनाव चिन्ह) रोप्नुमा मेरा बुवाको निकै योगदान छ तर पार्टीले मलाई घेरबन्दीमा पारे, म गुटबन्दीको शिकार भएँ ।’

सुरेशका बुबा देवनाथ दास यादव हुन् भने सूर्यनाथ दास यादव काका हुन् । देवनाथ र सूर्यनाथ दुवै दाजुभाइ हुन् । २०१५ सालमा देवनाथ  र सूर्यनाथ दुवैजनाले काङ्ग्रेसबाट चुनाव लडेका थिए । त्यतिबेला सप्तरी पनि सिरहामै गाँसिएको थियो । 

देवनाथ ३८ र सूर्यनाथ ३९ नम्बर क्षेत्रबाट चुनाव जितेका थिए । त्यतिबेला देवनाथ नेपालमै सबभन्दा बढी मत ल्याएर चर्चामा आएका थिए । सूर्यनाथ दास यादव बीपी मन्त्रीमण्डलका कानुन मन्त्री थिए । 

२०१७ सालमा राजा महेन्द्रले कू गरेपछि देवनाथ भारतमा गएर बसेका थिए । २०१८ सालमा राजा महेन्द्रले उनको सम्पत्ति जफत गरे । देवनाथ पक्राउ गर्ने पनि निकै प्रयास भएको थियो । नेपालमा आत्मसमर्पण गर्न पनि दबाब परेको थियो । 

तर, उनले आत्मसम्र्पण गरेनन् । सब परिवार भारतमै बस्न थाले । दरभङ्गामा घर बनाएर छोराछोरीलाई समेत उतै राखेर बस्न थाले । त्यहीँबाट सुरेशमा राजनीतिक चेतनाको विकास भएको हो । बुबाको अर्धभूमिगत राजनीतिकका प्रत्यक्ष असर सुरेशमा परेको थियो । 

भारतमा प्रवासी जीवन बिताइरहँदा गिरीजा प्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायतका नेताहरू भारतस्थित घरमा जान्थे । हप्तौँसम्म त्यहाँ बस्थे । आन्दोलनको योजना त्यहीँबाट बन्थ्यो । 

२०१३ सालमा जन्मेका सुरेशले भने– ‘काङ्ग्रेसका लागि मेरो परिवारले कति गरेको छ, त्यो म आफ्नै आँखाले देखेको र भोगेको हुँ । मेरो घर अगाडि रहेको त्यो ठूलो विशाल रूखमुनि बसेर पार्टीका योजना बन्थ्यो । त्यहीँबाट पार्टीको चुनाव चिन्हको परिकल्पना भएको मैले पनि सुनेको हुँ, यद्यपि यो कुरा कतै लिपिबद्ध छैन ।’

राजा महेन्द्रले जफत गरेको सम्पत्ति सुरेश आफै सांसद बनेपछि फिर्ता गराएका थिए । सुरेश भन्छन्– ‘२०४८ सालमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बनेपछि महेन्द्रले जफत गरेको सम्पत्ति फिर्ता भएको थियो ।’ 

२०४६ सालपछि प्रजातन्त्र स्थापनाको पहिलो आम चुनाव सुरेश पनि जितेका थिए । त्यसपछि २०५६ मा भएका अर्को चुनाव पनि उनले जितेका थिए । काङ्ग्रेसबाट लगातार दुइटा चुनाव जितेका सुरेशमाथि त्यसपछि अङ्कुश लाग्यो । 

उनी भन्छन्– ‘२०६४ र २०७० सालको संविधानसभा चुनावमा पनि मलाई टिकट दिनका लागि जिल्ला र क्षेत्रबाट केन्द्रमा सिफारिश भएको थियो तर पार्टीको गुटबन्दी र घेराबन्दीका कारण मैले टिकट पाइनँ । यो चुनावमा पनि जिल्ला र क्षेत्रबाट मलाई टिकट दिने भनेर केन्द्रमा सिफारिश भएको थियो तर गुटबन्दीका कारण मैले टिकट पाइनँ ।’

टिकट पाउने आश्वासन पार्टी सभापति शेरबहादुर देउवादेखि अन्य नेताहरूबाट पनि पाएको तर अन्त्यमा अरूलाई नै दिएको सुरेशको दाबी छ । टिकट अरूले पाएपछि यस क्षेत्रका जनताले आफूलाई जुनसुकै पार्टीबाट भए पनि चुनाव लड्न दबाब दिएको सुरेशको भनाइ छ ।

उनले आफूलाई माओवादी केन्द्रले विचार ठीक लागेकाले माओवादीमा गएको बताए । उनले टिकट माओवादीले दिएपछि सिरहा क्षेत्र नम्बर २ बाट चुनाव लड्न आएको सुनाए ।

उनले भने– ‘जनताले पार्टीको सिद्धान्त र विचारभन्दा पनि यस्ता नेता खोज्छन्, जसले दुःख सुखमा साथ दियोस् सधैँ उसको साथमा रहोस्, । सिद्धान्तभन्दा विश्वास ठूलो हुन्छ र ममाथि जनताले विश्वास गरेको छ । त्यसैले म चुनाव जित्छु भनी मलाई पूर्ण विश्वास छ ।’

पँजेरो कान्डमा मुछिएपछि पार्टीमा निष्कृय रहेका उनी २०६४ सालमा टिकटका लागि निकै प्रयास गरेका थिए । तर उसलाई नदिएर उनकै काकाका छोरा सुरेन्द्रकुमार दास यादवले टिकट पाएका थिए । 

तर सुरेन्द्रलाई उनै सुरेशले हराउन भूमिका खेलेको आरोप पनि उनीमाथि लागेको छ । सयौँ बिघाका मालिक सुरेशको भारतमा पनि घर छ । माओवादी द्वन्द्वको बेला उनका थुप्रै जमिन कब्जामा लिएर झण्डा गाडेको थियो । 

माओवादी शान्ति प्रकृयामा आएपछि मात्र सो जमिन फुकुवा भएको थियो । माओवादीले जग्गा कब्जा गरेको सम्बन्धमा सुरेश भन्छन्, ‘हरेक पार्टीमा व्यक्ति खराब हुन्छ । पार्टीको सिद्धान्त र विचार खराब हुँदैन । त्यही खराब चरित्रका व्यक्तिले त्यो गरेको होला तर त्यो पुरानो कुरा हो । आज म त्यही पार्टीको सिद्धान्त र विचार आत्मसात गरेर यता आएको छु ।’

सुरेशका प्रतिस्पर्धी काङ्ग्रेसका रामचन्द्र यादव र सङ्घीय समाजवादी फोरम नेपालका सत्रुधन सिंह कोइरी हुन् । यी तीनजना बीचमा कडा प्रतिस्पर्धा देखिएको छ । सो क्षेत्रमा धनगढी नगरपालिका (३ देखि १४ वडासम्म), लक्ष्मीपुर पतारी गाउँपालिका (१ नम्बर वडा), गोलबजार नगरपालिका (१३ नम्बर वडा), सुखिपुर नगरपालिका, वरियारपट्टी, नवराजपुर, औरही र अर्नमा (४ र ५ वडा) गाउँपालिका रहेका छन् । 

सिरहा १८ वटा तहमध्ये काङ्ग्रेसले दुईटा मात्र जितेको छ भने फोरम नेपालले पाँच, माओवादी केन्द्रले छ र एमालेले चार तह जितेको छ । 

त्यसमध्ये दुई नम्बर क्षेत्रमा माओवादीले चारवटा तह जितेको छ भने फोरम नेपालले दुई र काङ्ग्रेस तथा एमालेले एकएकवटा तह जितेको छ । एमाले र माओवादीको वाम गठबन्धन भएका हुनाले सो गठबन्धनले आठमध्ये पाँचवटा तहमा कब्जा जमाएको छ ।

धनगढीमाई नगरपालिका मेयर हरिनारायण चौधरीले भने– ‘स्थानीय तहको मत हिसाबले वाम गठबन्धनका उम्मेदवार सुरेशलाई विजय भइसकेका उम्मेदवार हुन् । अत्यधिक मतले सुरश जित्दै हुनुहुन्छ ।

सुरेशचन्द्र दास यादव काङ्ग्रेसबाट आएका हुनाले त्यहाँको मत पनि काट्ने सम्भावना देखिएको छ । काङ्ग्रेसका रामचन्द्र यादव देउवा गुटका हुन् । उनी चित्रलेखा यादवका दबाबमा रामचन्द्रले टिकट पाएका हुन् ।

निवर्तमान सांसद रामचन्द्र यादव चर्चित पहलमान हुन् । उनी खलिफाको नामबाट चिनिन्छ । फुलकहाकट्टीको दुई चोटि अध्यक्ष भइसकेका व्यक्ति हुन् । गाविस अध्यक्ष हुँदा उनी पहलमानी खेल्थे । जिल्लाको विभिन्न ठाउँमा पहलमानी खेल्दै गरेका उनलाई सुरेशचन्द्र यादवले पार्टीमा ल्याएका हुन् । 
रामचन्द्र सुरुमा जनमोर्चामा थिए । काङ्ग्रेसमा आएपछि उनी गाउँ एकाइ कमिटीका सदस्य भएका थिए । पछि उनी क्षेत्रीय सभापति भए । २०७० सालमा सविधानसभा सदस्यमा चुनाव जितेका उनी पार्टीका जिल्ला सभापति पनि बनेका हुन् ।

पार्टीका केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवको लठैत (लाठी बोकेर सुरक्षामा सहयोग गर्ने) को रूपमा चिनिएका उनीपछि उनैसँग जिल्ला सभापतिमा पराजित भएका थिए । त्यही कारणले यी दुवैजना बीच दुरी बढेको हो । पछिल्लो समय सीता देवी गुटका नरेश यादवलाई सभापतिमा हराएका थिए । 
  
भगवानपुरमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा चुनावीसभाको आयोजना गरिएको थियो । त्यो कार्यक्रमा चित्रलेखा यादवले भनिन्, ‘वाम गठबन्धनलाई निस्तेज पार्नुस् र रूख छापमा भोट हाल्नुस् ।’ 

काङ्ग्रेस पार्टीले नै वामगठबन्धनको दुःखबाट बचाउन सक्छ भन्दै उनले वाम गठबन्धनले रावणराज र काङ्ग्रेसले रामराज ल्याउन लागेको टिप्पणी गरेकी थिइन् । उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै सविधान संशोधन हुन नदिएको आरोप लगाइन् र भनिन्, ‘मधेसको अधिकारका लागि काङ्ग्रेसलाई मतदान गर्नुस् ।’

सिरहा क्षेत्र नम्बर एककी चित्रलेखा यादवले दुई नम्बर क्षेत्रमा हस्तक्षेप गरेको भन्दै त्यहाँ काङ्ग्रेसका कार्यकर्ता चित्रलेखा यादव र उनका उम्मेदवार रामचन्द्र यादवप्रति रुष्ट देखिएका छन् ।

तीन नम्बर क्षेत्रमा रहेकी पार्टीका कोषाध्यक्ष सीतादेवी यादवले पनि सुरेशले नै टिकट पाउन भनी पार्टीमा सिफारिश गरेकी थिइन् । तर, चित्रलेखा यादवको दबाबका कारण पार्टी सभापति देउवाले राचन्द्रलाई नै टिकट दिएको चर्चा सुनिएको छ । त्यसले गर्दा दुई नम्बर क्षेत्रमा काङ्ग्रेसका थुप्रै मत आफूलाई आउने सुरेश यादवको दावी छ । 

फोरम नेपालका उम्मेदवार सत्रुधन सिंह कोइरी २०६४ सालमा चुनाव जितेका उनी २०७० मा पराजित भएका थिए । उनी पर्यटन राज्यमन्त्री पनि भएका थिए । फोरम नेपाल विभाजन हुँदा उनी विजयकुमार गच्छदारको साथमा गएका थिए । पछि उनी सो पार्टी छाडेर फोरमै फर्केका हुन् । 

उनी मधेस राजनीतिमा आउनुभन्दा पहिले गोलबजारमा बसको टिकट काट्ने काम गर्थे । त्यही बेला उनी मधेस आन्दोलनमा सहभागी भएका थिए । टिकट पाएपछि उनी पहिलो संविधानसभा जितेका थिए ।

सिरहामा फोरम नेपालको सङ्गठन राम्रो भए पनि राजपा नेपालको राम्रो छैन । स्थानीय तहमा एउटा पनि सिट राजपाले हात पारेको छैन । कोइरी राजपा र फोरम नेपालका साझा उम्मेदवार हुन् । 

स्थानीय पत्रकार रामबाबु यादवका अनुसार चुनावी दौडमा कोइरी अगाडि देखिन्छन् । उनी दुई कारणले दौडमा अगाडि देखिन्छ । एउटा, उनीसँग कोइरी, महतो आठ हजार जातीय मत छ, जो उनलाई नै आउने पक्का पक्की छ । अर्को, मधेस आन्दोलनको कारण मधेसीको स्वतन्त्र मत पनि आउने सम्भावना छ । तेस्रो कारण उनको आफ्नो दलको साङ्गठनिक मत रहेको छ ।

सो क्षेत्रमा फोरम नेपालले दुइटा तह जितेको छ ।

सिरहाका वरिष्ठ पत्रकार चन्द्रदेव कामत भन्छन्, ‘तराई मधेसमा जातीय भोटले धेरै नै फरक पार्छ, हरेक उम्मेदवारले आआफ्नो जातको मतलाई होल्ड गरेर बसेका छन् ।’

दुई नम्बर क्षेत्रमा स्थानीय तहको मतअनुसार वाम गठबन्धन बलियो देखिए पनि फोरम नेपाल पनि कमजोर नरहेको बताउँदै उनी मधेस आन्दोलनको भावना पनि जोडिएको बताए । 

फोरमका उम्मेदवार कोइरीसँग उनका आफ्ना जातीय मत पनि थुप्रै रहेको उल्लेख गर्दै सो क्षेत्रमा दुईजना यादव भिडेका कारण यादवको मत विभाजन हुने देखिएको उनले बताए । सो क्षेत्रमा यादवको मत ३० हजारभन्दा बढी रहेको छ । 

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य देवकुमार यादव भन्छन्, ‘यादवको मत २ नम्बर क्षेत्रमा बढी भए पनि अरू जातको जस्तो कट्र हुँदैन । आफ्नो जातीय उम्मेदवार नै मत हाल्नुपर्छ भने सोच यादवहरूमा देखिएको छैन । साह, महतो (कोइरी), मुसलमान, बाहुनहरू जसरी आफ्ना स्वजतीयलाई मत हाल्छन्, त्यसरी यादवले हाल्दैन ।’

यदि यादवहरूको सबै मत एक ठाउँमा गयो भने सिरहा सप्तरीमा अरू कुनै जातको उम्मेदवार आउनै सक्दैन भनी उनको तर्क छ । दुई नम्बर प्रदेशमै सबभन्दा बढी मतदाता यादवको रहेको छ ।  
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप