चितवनका जनताले अग्रगमन रोज्ने कि पश्चगमन ?

person access_timeमंसिर १५, २०७४ chat_bubble_outline0

मुलुक यतिबेला नेपाली जनताको ठूलो त्याग, बलिदान र समर्पणबाट प्राप्त सङ्घीय गणतन्त्र नेपालको संविधान कार्यान्वयनको अविभारामा जुटेको छ । यस युगीन अभिभारालाई पूरा गर्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैसाथ हुँदैछ । संविधान जारी भएपछि हुन गइरहेको राष्ट्रिय निर्वाचनको महाअभियानसँगै यस पटकको निर्वाचनमा राजनीतिक ध्रुवीकरण तीव्र भएको छ । अर्कोतिर संविधानमा व्यवस्था भएको ‘थ्रेसहोल्ड’का कारण पनि राष्ट्रिय दल बन्न सङ्घर्षरत ससाना पार्टीहरू तीव्र ध्रुवीकरणको बाध्यतामा छन् । यसपटको निर्वाचनमा नेपालका दुई ठूला कम्युनिस्ट पार्टीबीच भएको तालमेल र एकताले राष्ट्रिय मात्र हैन, अन्तर्राष्ट्रिय जगतमा समेत ठूलो हलचल पैदा भएको छ । एमाले–माओवादी नेतृत्वको वाम गठबन्धनका विरुद्ध काङ्ग्रेस–राप्रपाले लोकतान्त्रिक गठबन्धनको नारा दिए पनि त्यसले पूर्ण आकार र स्वरूप पाएको भने देखिँदैन ।

यो दलीय शक्ति आँकलनका लागि हुने निरन्तरताको साधारण आवधिक निर्वाचन होइन । नेपाली जनताको ७० वर्ष लामो एकलव्य तपस्या र भीषण रक्तपातपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संवैधानिक रूपमा संस्थागत गर्ने ऐतिहासिक मोड हो । यो निर्वाचन अमूक दल वा नेताको जीतहारसँग जोडिएको प्राविधिक विषय मात्र होइन । यो नेपाली जनताको अथक सङ्घर्ष र उत्सर्गले विजय प्राप्त गरेपछिको उत्सवमय पर्व पनि हो । त्यसैले यो ऐतिहासिक निर्वाचनमा लहडका भरमा नभै विगतमा निर्वाह गरेको भूमिकाका आधारमा जनताले  निर्णय गर्नुपर्ने भएको छ । यतिबेला  दल र नेताभन्दा बढी व्यवस्थालाई रोज्न जिम्मेवारीपूर्वक मतदान गर्नुपर्ने संवेदनशील घडी हो  । यसैले हामीले यसपटक मत हाल्दा  हात मात्र होइन, निधार पनि खुम्च्याउनु पर्छ । हाम्रा हातहरूले सङ्केत गरेको स्वस्तिक चिह्नले हाम्रै  भाग्य र भविष्यको फैसला गर्नेवाला छ ।

प्रचण्ड चितवन नै किन ?
यतिबेला म चितवनको ३ नम्बर निर्वाचन क्षेत्रमा छु । यो क्षेत्रले सर्वाधिक रूपमा सबै ध्यान तानेको छ । नेपाली जनताको न्यायपूर्ण सङ्घर्षमा जीवनमरणको लडाइँ लडेका कमरेड प्रचण्डको उम्मेदवारी रहेको क्षेत्र भएका कारण स्वभाविक रूपमा समग्र राष्ट्रकै आँखा परेको छ ।

मैले प्रचण्डलाई जीवन पढाएको र जगत बुझाएको चितवनको बाटो र माटोमा उभिएर हेरेँ । पेरुङ्गो जस्तो भोको पेट लिएर कैयौँ पटक प्रचण्डले यी घुम्ती र मोडहरूमा ओहरदोहर गर्नुभयो । कास्कीमा हुँदा दुई पेट खान नपुगेर चितवन झरेको कहानी स्वयम् प्रचण्डले कैयौँ पटक सुनाउनुभएको छ । जमिनदारको निर्मम पैताला मजदुरको मेरुदण्डमा पर्दा कति कष्टकर र असह्य हुन्थ्यो भन्ने प्रचण्डले यही माटोमा उभिएर सिक्नुभयो । प्रचण्डको मष्तिष्कमा विद्रोहको पहिलो झिल्को चितवनमै बलेको थियो । उहाँका आँखामा शोषण, अत्याचार र विभेदको विद्रुप तस्बिर परेको फाँट यही थियो । आफूजस्तै हजारौँ असहायका लागि लड्नुपर्ने चेत खुलेको पाठशाला यही थियो । जनताको चित्कार र आँशु बटुलेर तिनकै पक्षमा लड्ने कसम खाएका मैदान यिनै थिए । प्रचण्डले चितवनमै कम्युनिस्ट  पार्टीको गर्विलो सदस्यता खल्तीमा हाल्नुभएको थियो । त्यसैले यो भूगोलको प्रत्येक गौंडा र देउराली प्रचण्डलाई प्रचण्ड बनाउने विश्वविद्यालय थिए । यहाँका छाप्रा, झोपडी र जनताको खाली पेट उहाँको प्रारम्भिक पाठशाला थियो । त्यही पाठशालामा लिएको अमूल्य ज्ञान बोकेर उहाँले थुप्रै हिउँद वर्षा काट्नुभयो । र अहिले उहाँ पुनः चितवनको माटोमा फर्किनुभएको छ । निम्न वर्गीय गरिब परिवारको अभावपूर्ण झुपडीमा देखेको सपनालाई पूरा गर्दै  पुनः समृद्धिको अर्को सपना पूरा गर्न लाल झण्डा बोकेर प्रचण्ड चितवनमा खडा हुनुभएको छ ।

सायद कुनै सामान्य नागरिक मात्र भएको भए प्रचण्ड यतिबेला बरखी बारिरहेको हुनुहुन्थ्यो । एक मात्र पुत्रको अल्पायुमै  अकल्पनीय निधन भएपछि प्रचण्ड शोकमग्न हुनुहुन्छ । तर शोकमग्न यात्री क. प्रचण्डलाई  यतिबेला छोरो सम्झिएर रुने र घोत्लिने समय समेत छैन । उहाँले देभभरका लाखौँलाख छोराछोरीहरू नै आफ्ना छोराछोरी भएको बताइसक्नुभएको छ । चितवनका हरेक घरघरमा शोकको हृदयविदारक यस घडीमा पनि  प्रचण्ड वेग रोकिएको छैन । यो समय छोरा प्रकाशलाई सम्झिएर प्रचण्डका पाइला लर्खराए भने बाँकी हजारौँ प्रकाशको भविष्यमा खग्रास ग्रहण लाग्नेछ । प्रचण्डले अलाप गरेरै मात्र बस्नुभयो भने उहाँले भनेका बाँकी लाखौँ प्रकाशहरूले दशकौँसम्म अलाप गरिरहनुपर्नेछ । जनयुद्धका महानायक प्रचण्डले यसबीचमा लाखौँ प्रकाशहरू जन्माइसक्नुभएको छ । हजारौँ रक्तबिजको भविष्य प्रचण्डले शोकलाई शक्तिमा बदलेपछि मात्र चम्किनेछ । हजारौँ प्रकाशहरूको आगत प्रचण्डले दह्रोसँग पाइला टेकेपछि मात्र सुन्दर हुनेछ । इतिहास बदल्ने युगपुरुषहरूले एकैछिन पनि सुस्ताउन नपाउने रहेछन्, एकैछिन पनि आँशु पुछ्न नपाउने रहेछन् । दरबारको कुनै महाराज वा आलिसान महलको मालिकलाई जस्तो नहुने रहेछ भोका नाङ्गाहरूको पक्षमा लड्नेहरूको जीवन । कमरेड प्रचण्ड समयले गरेको बज्रपातलाई बिर्सने प्रयासमा हुनुहुन्छ सायद । बाँकी उहाँका लाखौँ छोराछोरीको जीवन कहालीलाग्दो नबनोस् भनेर आफ्ना आँशु रोकेर चितवन झर्नुभएको छ ।

प्रचण्ड चितवन फर्किनुको प्रतीकात्मक अर्थ झनै गहिरो छ । शान्ति प्रकृयापछि उहाँ रोल्पा र काठमाडौँ दुवै ठाउँबाट निर्वाचन लड्नुभयो । त्यो जनयुद्ध र शान्ति प्रकृयाको बाटोलाई सैद्धान्तिक रूपमा जोड्ने, गाउँ र सहरलाई जोड्ने, विकट र सुगम भूभागलाई बराबरी महत्व दिने कार्यको राजनीतिक थालनी थियो । दोस्रोपटक मधेसमा फाटेको मनलाई काठमाडौँसँग जोड्न उहाँ सिरहा जानुभयो । यतिबेला चितवन आउनुको अर्थ आफ्नो माटो नभुल्नु, चितवनसँगको भावनात्मक र वैचारिक निकटता नभुल्नु पनि हो । प्रचण्डले राजनीतिको कखरा सिकेको चितवनलाई छाड्नुभएन ।

हिजो राजनीतिक  मुद्दा र एजेन्डा स्थापित गर्न सङ्घर्षको चरणमा रोल्पा र काठमाडौँ रोज्नुभएका प्रचण्डले  अहिले विकास र समृद्धिको यात्रा तय गर्न चितवन रोज्नुभएको छ । यसबाट प्रचण्डको चितवन प्रेम, लगाव र मोह झल्कन्छ । प्रचण्डले अहिले चितवन–३ का हेरक टोलमा भन्दै हुनुहुन्छ– ‘मैले तपाईंहरूमा नै प्रकाश देखेको छु । म तपाईंहरूमा प्रकाश छर्न आएको हुँ । विकासको प्रकाश अनि समृद्धिको प्रकाश पनि ।’
 
पुष्पलालको सपना र युगद्रष्टा प्रचण्ड
यतिबेला परिवर्तनको आन्दोलनमा सामेल एमाले र माओवादी केन्द्रले एउटै कम्युनिस्ट पार्टी बनाउने लक्ष्यका साथ चुनावी तालमेल गरेका छन् । कमरेड प्रचण्ड र केपी ओलीको यो दूरदर्शी र अभूतपूर्व निर्णयले नेपालको भाग्य र भविष्य नै बदल्नेमा कुनै शङ्का छैन । हामी २००६ सालमा कमरेड पुष्पलालले देखेका सपना साकार पार्नुपर्ने क्षणमा समेत छौँ । नेपाली धर्तीमा पहिलो पटक गणतन्त्रको सपना देख्ने  कमरेड पुष्पलालको सपना साकार पार्न दुई शिखर व्यक्तित्व कमरेड प्रचण्ड र ओलीले अहिले युगान्तकारी पहल लिनुभएको छ । उहाँहरू टुट, फुट र विभाजनबाट आक्रान्त नेपाली कम्युनिस्ट आन्दोलनको नियतिलाई बदल्ने साहस र सङ्कल्पका साथ इतिहासको यो मोडमा उभिनुभएको छ । कम्युनिस्टहरूले इतिहासबाट शिक्षा लिँदै वर्तमानका प्राथमिक आवश्यकता बुझेर  सही निर्णय लिने साहस गर्नुपर्छ । यसरी मात्र  स्वर्णिम भविष्य निर्माण  गर्न सकिन्छ । जसलाई कार्ल मार्क्सले ‘ठोस वस्तुको ठोस विष्लेषण गर्ने’ सिद्धान्तका रूपमा व्याख्या गर्नुभएको छ । वास्तवमै नेपाली कम्युनिस्ट आन्दोलनलाई फरकफरक धाराबाट एउटै धारामा जोड्ने कुरा सामान्य परिघटना  हैन । नेपाली राजनीतिका  दुई ठूला र शक्तिशाली कम्युनिस्ट पार्टीहरू गठबन्धनको बाटो पार्टी एकतासम्म पुग्ने लक्ष्यका साथ अघि बढेका छन् । फुटेर हैन जुटेर मात्र समाजवादको यात्रा तय गर्न सकिन्छ । यसबीचमा  दुवै पार्टीले आआफ्नो शक्तिको भरमा स्थिर सरकार निर्माण  गरी  समाजवादको दिशातर्फ अघि बढ्ने प्रयत्न नगरेका हैनन् । दुई तिहाइ जनमत वाम पन्थीको पक्षमा हुँदाहुँदै पनि त्यो विभाजित हुँदा त्यो सम्भव भइरहेको थिएन । ००६ सालमा क. पुष्पलालले स्थापना गरेको नेकपा ०१९ सालबाट विभाजित भएको थियोे । विभाजित  कम्युनिस्ट आन्दोलनलाई ०७४ सालमा आएर जोड्ने ऐतिहासिक निर्णय क. प्रचण्ड र क. केपी ओलीले लिनुभएको छ । यो आफैंमा नेपालको स्वर्णिम युगको थालनी हो । एकीकृत कम्युनिस्ट पार्टीले हाम्रो आगामी भविष्य नै बदल्ने छ, आगामी पुस्ताले पटकपट श्रापित हुनुपर्ने छैन । यो महान अभिभाराको स्प्रिटलाई साथ दिने मौका फेरि पनि चितवनकै जनताको हातमा छ । यस पटक इतिहास बदल्ने वा पछाडि फर्किने ऐतिहासिक निर्णय चितवनले लिनुपर्नेछ । आशा छ, नेपालको ७८औँ जिल्ला भनिने चितवनका न्यायाधीश जनताले जनताको छोरोलाई पक्कै विश्वासको भारी बोकाउनु हुनेछ ।
 
परम्पराको साङ्लो चुडाल्ने तरुण काङ्ग्रेस पुस्ता
चितवन–३ मा आज एकातिर जनताले हिजो मण्डले भनेर दुत्कारेका  एक ठेकदार चुनावको मैदानमा छन् भने अर्कोतर्फ जनताका लागि लडेको गरिब किसानको छोरा प्रचण्ड हुनुहुन्छ । म यी दुई पात्रले बोक्ने प्रवृत्तिको तुलना गर्न चाहन्न । जीवनभर महाराजका पाउमा लम्पसार पर्ने संस्कार सिकेको एक ठेकेदार र उत्पीडित जनताका पक्षमा लड्ने योद्धाबीच तुलनै हुन सक्दैन । बरु मलाई के लाग्छ भने नेपालको लोकतान्त्रिक आन्दोलनको अग्र मोर्चामा रहेको नेपाली काङ्ग्रेसका साथीहरूको रोजाइ परिवर्तनकारी  हुनुपर्छ । अझ युवा साथीहरूले यस समय विवेक पुर्याउन झनै जरुरी छ । हामी हाम्रो भविष्य एकजना अयोग्य ठेकेदारका हातमा सुम्पिन चाहन्छौँ कि नेपाली राजनीतिको शिखर पुरुषका हातमा ? कसलाई विश्वास गर्दा हाम्रो र अर्को पुस्ताको समेत आगामी दिन सुखद् हुनेछ ? को योग्य र लायक छ ? को गरिखाने जनताको प्रतिनिधि हो र को अभिजातको वर्गको प्रतिनिधि हो ? जीवनभर राजनीति गरेको व्यक्तिसँग सपना हुन्छ कि ठेकेदारी गरेको र जनताको पक्षमा एकै शब्द नबोलेको व्यक्तिसँग ?  नेपाली काङ्ग्रेसका साथीहरूले सोच्नुपर्ने विषय हो यो । जनताले राजनीतिको रङ्गमञ्चबाट कुचो लगाइसकेको शक्तिलाई होइन, परिवर्तनको बाहकलाई चुन्छ काङ्ग्रेसले भन्ने मलाई विश्वास छ । काङ्ग्रेस परिवर्तनको पक्षमा उभिन्छ र उभिनुपर्छ । हिजो सामन्तवादको नाइकेसँग लडेका बीपी र गणेशमानका उत्तराधिकारीहरूले  राजतन्त्रको जुठोपूरो खाएर हुर्किएको उहीँ सामन्तवादको अवशेषका सामु लम्पसार पर्न सुहाउँला र ? गगन थापाले दीक्षित गरेका तरुण काङग्रेसी मित्रहरू ! हिजो आर्यघाटमा सेलाइसकेका राजतन्त्रका प्रेतात्माहरूलाई फर्काउन मिल्ला र ? आउनुस् तरुण काङ्ग्रेसका साथीहरू छलफल गरौं । गिरिजाप्रसाद कोइरालासँगै  विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्ने क. प्रचण्डलाई मतदान गरेर कोइरालाप्रति पनि सम्मान व्यक्त गरौँ ।

अग्रगामी प्रचण्ड रोज्ने कि प्रश्चगामी पाण्डे ?
यतिबेला प्रचण्ड मात्र होइन, चितवन पनि परीक्षाको घडीमा उभिएको छ । एकजना युगनायक जन्माउने ल्याकत राख्ने चितवन निर्वाचनमा कसको पक्षमा फैसला गर्छ ? चितवनले आजन्म जनताका पक्षमा सङ्घर्ष गरेको प्रचण्डलाई काँध हाल्छ वा जनताले चिहानमा पुर्याएको जन्मसिद्ध श्रेष्ठताको खुनी प्रतीकसँग सती जाने ठेकेदारलाई रोज्छ ? चितवनका बौद्धिक र शिक्षित मतदाताका अघिल्तिर उभिएको प्रश्न हो यो । कहिले कहिले इतिहासले सोधेका यक्ष प्रश्नहरूको गलत उत्तर दिइयो भने वर्तमान मात्र होइन भविष्यले समेत दण्डित गर्न सक्छ । यतिबेला इतिहासलाई अभिशप्त बनाउने, पछाडि फर्काउने वा इतिहासको चक्रलाई अग्रगमन र विकासतर्फ लाने भन्ने कुराको फैसला गर्ने पावन अवसर चितवनको ३ नम्बर क्षेत्रलाई प्राप्त छ । चितवनको ३ नम्बर क्षेत्रले यो प्रश्नको सही उत्तर दिन सक्यो भने सिङ्गो देश हाम्रा अपूरा सपना पूरा गर्ने चरणमा जानेछ । यो उत्तर गलत दिइयो भने चितवन मात्र होइन सिङ्गो देश र समय पछाडि फर्किनेछ । हामी कहालिलाग्दो अन्धकार युगमा प्रवेश गर्नेर्छौं । त्यसैले यो समय चितवनले प्रचण्डलाई अझ नजिकबाट चिन्नुपर्ने समय हो । भनिन्छ, विवेकी जनता र नेताले सही र दूरदर्शी निर्णय लिँदा देश ५० वर्ष अगाडि बढ्छ भने गलत निर्णय लिँदा ५० वर्ष पछाडि फर्किन्छ । देशलाई ५० वर्ष पछाडी फर्काउने वा ५० वर्ष अगाडि लैजाने भन्ने ऐतिहासिक निर्णय लिने अवसर चितवनको ३ नम्बर क्षेत्रलाई प्राप्त छ । मलाई लाग्छ इतिहासका निर्माता र अजेय शक्ति जनताले गलत निर्णय लिने छैनन् । चितवनको माटोमा उभिएर हेर्दा यहाँका शिक्षित जनताले पक्कै गलत निर्णय लिने छैनन् । किनकि प्रचण्ड आफैंमा एउटा युग बदल्ने अभियानको नाम हो । ठेकेदार विक्रम पाण्डेले ठूलो मुनाफासहित ठेक्कामा परेको बाटोसम्म त बनाउलान्, तर प्रचण्ड त सिङ्गो देश बनाउने युगद्रष्टा हुन् । समृद्ध समाजवाद निर्माणका मूल अभियन्ता हुन् । आउनुस्  के काङ्ग्रेस, के एमाले, के माओवादी युगनायक प्रचण्डलाई जिताऔँ ।

(लेखक अखिल क्रान्तिकारीका अध्यक्ष हुन् ।)

रञ्जित तामाङ

अध्यक्ष,अखिल(क्रान्तिकारी) केन्द्रीय समिति ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ