बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मतदान सकिएपनि सकिएन छटपटी !

शुक्रबार, १५ मङ्सिर २०७४, १२ : २५
शुक्रबार, १५ मङ्सिर २०७४

दार्चुला – ३२ जिल्लाका उम्मेदवारहरुलाई मतदान सकिएपनि मतपरिणाम सार्बजनिक नहुँदा बेचैन भएको छ । मतदाता फकाउन र आफ्नो मत बढाउन  १ महिना धौडधुप गरेका उम्मेदबारहरुलाई मतदानपछि केही फुर्सद भएपनि चैनको निन्द्रा भने पर्न सकेको छैन । ‘मतदान त सकियो तर नतिजा मतपेटिकामा कैद भएको छ, नतिजा थाहा पाउन लामो प्रतिक्षा गर्नुपर्ने भयो’दार्चुलामा प्रतिनिधिसभाका गठबन्धनबाट प्रत्यक्ष उम्मेदवार गणेश सिह ठगुन्नाले भने, ‘जितिन्छ भन्नेत छ, तर विजयउत्सव मनाउन लामो समय कुर्नुपर्ने भयो ।’ 

बोहराको मात्रै हैन पहिलो चरणमा निर्वाचन भएका सबै जिल्लाका उम्मेदवारको प्रतिक्रिया यस्तै छ । मतपरिणाम सार्वजनिक हुन अझै समय लाग्ने भएकाले सबैजसो उम्मेदवार बेचैन बनेका हुन् । निर्वाचन सकिएपछि अबिर लगाउने धोको भएका उम्मेदबारहरु अनुमान लगाएरै मतहरुको जोडघटाउ गरिरहेका छन् । दार्चुलामा विभिन्न दलबाट प्रत्यक्ष चुनाब लडेका १५ जना उम्मेदवारहरुमध्ये ३ जनाको बिजय र बाँकी १२ जनाको पराजय निश्चित छ । 

दिन गन्दै दलका कार्यकर्ता
उम्मेदवारमात्रै हैन, उम्मेदवारलाई जिताउन लागि परेका कार्यकर्ता पनि परिणामका लागि व्यग्र प्रतिक्षामा छन् । ‘यही हुन्छ भन्नै नसकिने भयो, चुनाव सकिएलगत्तै मतगणना गर्दा जसतो उत्साह हुन्थ्यो, त्यो छैन’ प्रदेश क्षेत्र नम्बर १ का मतदाता शिवराज जोशीले भने,‘चुनाव सकिएलगत्तै मतगणना भएको भए उत्साह हुन्थ्यो, सदरमुकातिरै बसिन्थ्यो । अहिले नै मतगणना नहुने भएपछि गाउँ फर्कीसकेको छु २१ गतेको पर्खाइमा छु ।’ 
प्रदेश तथा प्रतिनिधि सभामा सांसद् बन्ने उम्मेदवारको भविष्य केही समय मतपेटिकाभित्र कैद भएपछि कार्यकर्ताहरुमा परिणामबारे उत्साह कम हुदै गएको छ । निर्वाचन सम्पन्न भएका ३२ ओटै जिल्लामा मंगलबारसम्म मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लगिएका छन् । प्रदेशनम्बर ७ का बझाङ, दार्चुला लगायत जिल्लाको केहि बिकट एवं दुर्गम मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत लगिएको छ भने अन्य ठाउँमा कडा सुरक्षाबीच स्थलमार्गबाटै मतपेटिका सदरमुकाम पुर्याइएको छ । 

उत्साह सेलाउँदै, उत्सुकता बढ्दै 
प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनाव सम्पन्न भएका दार्चुला, बैतडी, बाजुरा र बझाङका मतदातालाई मतपरिणाम कुर्न गाह्रो भएको प्रतिकृया दिएका छन् । 
लामो समयसम्म कुर्नुपर्दा उत्साह कम हुदै गएको  उनिहरुले बताएका छन् । ‘कसले चुनाब जित्ला वा नतिजा कसको पक्षमा आउला, आफुले मतदान गरेको उम्मेदबारको अवस्था के होला भन्ने कौतुहलता बढ्दै गएको छ ’शैल्यसिखर नगरपालिका ६ का स्थानीय नबराज धामीले बताए । 

जिल्ला र देश बाहिर गएका मतदाता पनि चुनावमा फर्किएका थिए । तर, मतपरिणाम ढिला सार्वजानिक हुनेभएपछि कर्मथलो फर्किसकेका छन् । कार्यकर्ता शुभचिन्तकहरुलाइ विजय ¥यालीमा सहभागी हुने रहर छ तर बिदा नहँुदा जिल्ला बाहिरबाट आएका मतदाता फर्किएका हुन् । 

२४ सै घन्टा मतपेटिकाको सुरक्षामा तैनाथ 
दार्चुलाका राजनीतिक दलका प्रतिनिधिहरु सुरक्षाकर्मीसँगै मतपेटिकाको सुरक्षा गर्न ड्युटिमा खटिएका छन् । निर्वाचन आयोगले मंसिर २१ गते दोस्रो चरणअन्तर्गतको निर्वाचनपछि मात्रै मतगणना गर्ने निर्णय गरेपछि संकलित मतपेटिकाहरुलाइ पहरा दिन सुरक्षाकर्मीसँगै उम्मेदवारका प्रतिनिधिहरु खटिएका हुन् । मतपेटिका साटिनसक्ने सम्भावना रहेको भन्दै उम्मेदवारहरुले आफ्ना प्रतिनिधिलाई मतपेटिका भण्डारण गरेको ठाउँमा २४ सै घण्टा खटाएका हुन् ।

दार्चुलामा बाम गठबन्धका तर्फबाट ५ जनालाई २ जनाका दरले २ घन्टा पालो मिलाएर पहरा दिनेगरी ड्युटि गरीरहेको बाम गठबन्धनका ड्युटि कमान्डर भुवन सिह धामीले बताए । जिल्लाका सबै मतदान केन्द्रका मतपेटिका संकलन भइसकेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । तर उक्त ठाउँमा रातको समयमा चिया पानी र कपडासम्मको ब्यबस्थापन नहुँदा समस्या भएको धामीको भनाई छ । दार्चुलाका १ सय २९ मतदान केन्द्रबाट संकलन भएको मतपेटिका राखिएको कोठाको ढोकामा मूख्य निर्वाचन अधिकृतको ताला, प्रमुख राजनीतिक दलहरुको ताला र लाहा छापका साथमा निर्वाचन आयोगको सुरक्षण सिल गरिएको छ । मतपेटिकाको सुरक्षामा गेट बाहिर नेपाली सेना, परिसरमा शसस्त्र प्रहरी र मतपेटिका राखिएको कोठानजिक नेपाल प्रहरीले पहरा दिने व्यवस्था गरिएको छ ।

 तराइको चुनाव प्रचारमा हिँडे उम्मेदवार 
दार्चुलाका राजनीतिक दलका नेता, कार्यकर्ता र उम्मेदवारहरु दोस्रो चरणमा निर्बाचन हुने जिल्लाको प्रचारमा गएका छन् । पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव सम्पन्न भएपछि उम्मेदवार र कार्यकर्ता डडेल्धुरा, कैलाली र कञ्चनपुरमा पुगेका हुन् । पहिलो चरणको चुनाव सम्पन्न भइसकेको ठाउँमा दोस्रो चरणको चुनावपछि एकै चरणमा मतगणना गरिने भएपछि दोस्रो चरणको चुनाबमा आफ्नो पार्टीलाई सहयोग गर्न भन्दै दार्चुलाका नेता कार्यकर्ता तराई झरेका हुन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र प्रसाद जोशी
लोकेन्द्र प्रसाद जोशी

जोशी रातोपाटीका दार्चुला प्रतिनिधि हुन् । 

लेखकबाट थप