शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यसकारण काठमाडौं ७ को चुनावी भिडन्त रोचक, कसले मार्ला बाजी ?

शुक्रबार, १५ मङ्सिर २०७४, १२ : ०४
शुक्रबार, १५ मङ्सिर २०७४

काठमाडौं–राजधानीमा केही स्थान ‘हेभीवेट’ उम्मेदवारका कारण चर्चामा छन् भने काठमाडौँ क्षेत्र नम्बर ७ दुई ध्रुवका विपरीत दलको गठबन्धनले चर्चामा छ ।
 आसन्न प्रतिनिधि सभाका लागि काठमाडौँ ७ मा वाम गठबन्धनले रामवीर मानन्धरलाई अघि सारेको छ भने  लोकतान्त्रिक गठबन्धनले विक्रम थापालाई प्रतिस्पर्धामा उतारेको छ । 

पूर्वपञ्चहरूको दल राप्रपाका लागि काङ्ग्रेसले काठमाडौँ ७ छोडेपछि यस क्षेत्रको चुनावी चासो बढेको छ । पञ्चायतकालमा जिविस सभापति भएका थापा २०६० र ०७० मा प्रतिनिधिमा सदस्य बनेका थिए । पञ्चायतकालदेखि राप्रपाको माथिल्लो तहमा रहेका थापा र अष्टनारायण हलका सञ्चालक मानन्धरबीच काठमाडौँ ७ मा प्रतिस्पर्धा हुँदैछ । 

 

०७० को निर्वाचनमा विजयी भएका मानन्धर यस पटक पनि जित निकाल्ने दाउमा छन् । एमालेको स्थानीय तहको मत परिणामले पनि मानन्धरलाई उत्साह थपेको छ । यस पटक पनि जित निकाल्ने तयारीका साथ मानन्धर बिहीबार दलबलसहित चुनावी प्रचारमा निस्केका थिए । 

रिङरोडको सानो भर्याङबाट केही मिनेट रिङरोड बाहिर निस्केपछि नेपाल आर्मीको मेडिकल कलेज पुगिन्छ । मेडिकल कलेज रहेको स्थानबाट मानन्धरको बिहीबारको घरदैलो सुरु भएको थियो । प्रदेश सभा ख का उम्मेदवार प्रकाश श्रेष्ठको साथ लिएर चुनावी अभियानमा निस्केका मानन्धरले मतदातालाई भेट्ने साथ उठाउने विषय थियो– स्थिर सरकार । 

प्रचार सामग्रीले रङ्गिएका गाडीसहित मानन्धरको प्रचार टोली अझ उत्तर दिशातिर लाग्यो । मानन्धरको टोलीले भेटेका धेरै मतदाताले उनीप्रति समर्थन देखाए । रातो गुम्बा पुगेको टोली सशस्त्र प्रहरीको प्रधान कार्यालयको पछाडिको स्थानमा पुग्यो । एमालेप्रति झुकाव रहेकी एक किराना पसल सञ्चालिकाले प्रचार टोलीलाई चकलेट बाँड्दै शुभकामना दिइन् । गैरीगाउँ चोकबाट ओरालो लागेको टोलीले दुई वृद्धालाई भेटे । मानन्धरले त्यहाँ पनि स्थिर सरकारको कुरा गरे । वृद्धले मत तपार्इंलाई भन्दै आश्वासन दिए । 

बुद्धचोक झर्दै गरेको टोलीले सर्लाहीबाट कामका लागि राजधानी छिरेका पाँच युवालाई भेटे । मानन्धरले युवाहरूलाई करिब दश मिनेट समृद्धिको भाषण दिए । उनले भने ‘स्थिर सरकार भयो भने विकासले फड्को मार्छ । जहाँबाट भए पनि सूर्यमा मत हाल्नुस् । स्थिर सरकार नहुँदा नै तराईको विकासमा अवरोध आएको हो ।’ उपस्थित एक युवकले भने– ‘तराईमा पैसा थोरै दिन्छ । अनि विकास कसरी हुन्छ ? मानन्धरले आश्वस्त पार्ने प्रयास गर्दै भने– ‘प्रत्येक सांसदलाई विकासका लागि दिएको रकम बराबर हो । त्यहाँको सांसदले विनियोजित रकम राम्रोसँग परिचालन गर्न नसकेर हो ।’

स्वयम्भु चोकतिर ओर्लंदै गरेको टोली मूल घर झापा भएका एक मतदाताको घरमा प्रवेश गरे । ग्रहशान्तिको पूजा लगाँउदै गरेका मतदाताले मानन्धरलाई मत दिने बताउँदै विजयीपश्चात पनि आउन आग्रह गरे । पूजामा लागिरहेकी महिलाले भनिन्– ‘आगो साक्षी राखेर गरेको कुरा हो,  तपाईंको जितेपछि नफर्कने बानी हामीलाई राम्रो लागेको छैन । मानन्धरले भने– ‘मेरो नम्बर टिपेर राख्नु । आइन भने भन्नु होला ।’ त्यसैबीचमा अर्का युवक बोले ‘हामी झापाली हौँ । जन्मेदेखि नै रातो किताब पढेर हुर्केको मत सूर्यमै हो ।’

बिहानी घरदैलो टुङ्याउने क्रममा रहेको प्रचार टोली एक ग्रिल उद्योगमा प्रवेश गर्यो । काममा व्यस्त युवकले दलहरूप्रति वितृष्णा जगाउँदै आफ्नो दुखेसो पोखे । ‘जसले  जिते पनि हामी कतार जानुपर्छ । गरिखाने अवस्था छैन ।’ नमस्ते गरिरहेका मानन्धरलाई हेर्दै नहेरी युवकले आफ्नो पीडा पोखिराखे ।  

चुनावी टोलीमा रहेका प्रदेश ख का उम्मेदवार प्रकाश श्रेष्ठ प्रतिनिधि सभाका उम्मेदवारभन्दा बढी सक्रिय देखिन्थे । भेटिएका मतदातासँग फोटो सेसन गर्न उनको रुचि थियो । मतदातासँग यो बाटो मेरो पहलमा बनेको भन्दै खर्च मैले गरेको भन्दै सुनाएका थिए । प्रदेश खबाट एमाले नजिकका विदुर धमलाले स्वतन्त्र उम्मेदवारी दिएकाले मानन्धरको मनमा केही डर पनि रहेछ ।  स्वतन्त्रको भर्याङले के गर्ला ? सहभागी एकले जवाफ दिए ‘उसको अवस्था बलियो छैन ।’

नेपाली काङ्ग्रेसका निष्ठावान कार्यकर्ताले मलाई भोट दिन्छन् (अन्तर्वार्ता)
दिनहुँ घरदैलो प्रचारमा हुनुहुन्छ । तपाईंको अवस्था कस्तो रहेछ ?

जनताले एउटा रेस्पोन्स दिएका छन् । संविधान बनाइसकेपछि जनताको जुन चाहनाअनुसार नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन बनेको छ । एक पटक हेरौँ भन्ने सबै नेपाली जनताको चाहना छ । हामीसँग क्षेत्र नम्बर ७ मा नेपाली काङ्ग्रेस प्रतिद्वन्द्वी होइन । राप्रपा प्रतिद्वन्द्वी हो । हाम्रो क्षेत्र आन्दोलनको भुमरीबाट निस्केको ठाउँ हो । हाम्रो जित सुनिश्चित छ ।


 

स्थानीय तहमा एमाले पहिलो हुनु, वाम गठबन्धन बन्नु र राप्रपा उम्मेदवार हुनुले तपाईं उत्साहित हुनुभएको हो ? 
सात नम्बर क्षेत्रमा जम्मा ५० वडाहरू छन् । स्थानीय निकायको निर्वाचनमा हामीले ४३ स्थानमा जितेका हौँ । नेपाली काङ्ग्रेसले आठ स्थानमा पनि यहाँ जित्न सकेन । मेरो क्षेत्रअन्तर्गतको प्रदेश ख का ३० स्थानमध्ये २८ स्थान जितेका थियौँ । हामी हौसिएका त छैनौँ । वाम गठबन्धनले गर्दा हामी थप व्यवस्थित भएका छौँ ।

नेपाली काङ्ग्रेस र एमालेले ०४६ देखि आन्दोलनसँगै गर्दै आयौँ । प्रजातन्त्र र गणतन्त्रका लागि हामीले दुइटा हातमा दुई दलका झण्डा बोकेका सहयात्री हौँ । हाम्रो आन्दोलनका कसका लागि भन्दा राजतन्त्र अन्त्यको लागि । अब फेरि एकात्मक राज्यको कुरा गर्ने, राजतन्त्रको कुरा गर्ने, हिन्दु धर्म नै मान्नुपर्छ भन्ने दललाई नेपाली काङ्ग्रेसका निष्ठावान र इमानदार मतदाताले मत देलान् जस्तो मलाई लाग्दैन । नैतिकवान कार्यकर्ताले राजतन्त्रको वकालत गर्ने दललाई मत हाल्दैनन् । निष्ठावान कार्यकर्तामा एक जनाले पनि गाईमा मत हाल्दैनन् । राजतन्त्र फर्कियो भने सबैभन्दा घात त नेपाली काङ्ग्रेसलाई हुन्छ । त्यसकारण निष्ठावान नेपाली काङ्ग्रेसका कार्यकर्ताका कारणले पनि मेरो जित सुनिश्चित छ । 

तपाईं यहाँको जनप्रतिनिधि पनि, हाल घरदैलो गर्दा अझ बढी जनताका समस्याहरू अवगत हुन्छ । केके रहेछन् जनताका समस्या ? 
सबैभन्दा ठूलो समस्या बाटो नै हो । उद्योगदेखि लिएर पर्यटनका लागि पनि बाटो अनिवार्य हो । पानी अर्को समस्या रहेको छ । छोटो दूरीका लागि पनि समय धेरै लागिरहेको छ । मुख्य समस्या बाटो नै देखियो । 

मतदाताको आशा जनप्रतिनिधिसँग हुन्छ । तपाईंबाट यहाँका मतदाताले के अपेक्षा गर्ने ?
स्थानीय सरकार र उपल्लो तहसँग समन्वय गरी अघि बढ्छु । फुटपाथ भएको सडक मेरो परिकल्पना हो । मेरो कार्यकालमा नहोला तर एजेन्डा बनाएर हिँडियो भने फुटपाथसहितको सडक बन्छ । फुटपाथका कारण बालबालिका, अपाङ तथा वृद्धवृद्धाहरू सहज तरिकाले हिँड्ने अवस्था छैन । मेरो एउटा मात्रै लक्ष्य फुटपाथसहितको बाटो हो । 

स्थानीय तहको अङ्कगणित 
नयाँ संरचना अनुसार काठमाडौँ क्षेत्र नम्बर ७ मा दुई नगरपालिका र एक महानगरपालिकाका वडाहरू पर्छन् । तारेकेश्वर नगरपालिकका ३, ४ र ५ तथा नार्गाजुन नगरपालिकाका १, २ र ३ पनि यसै क्षेत्रमा राखिएको छ । त्यस्तै काठमाडौँ महानगरपालिकाका १६, १७, १८ र २५ वडा यस क्षेत्रमा पर्छन् । 

एक महानगर र दुई नगरपालिकाका गरी १० वडाहरू राखिएको यस क्षेत्रमा ६ वडामा एमाले विजयी भएको छ भने ४ वडामा एमाले विजयी भएको छ । स्थानीय तह निर्वाचनको आधारमा विश्लेषण गर्दा एमाले पहिलो स्थानमा छ । एमालेले १३ हजार ५३५ मत ल्याएको थियो भने दोस्रो स्थानमा रहेको नेपाली काङ्ग्रेसले १२ हजार ६४५ मत प्राप्त गरेको थियो । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको ३ हजार ४७४ सहित वाम गठबन्धनको पक्षमा १७ हजार ९ हुन्छ । नेपाली काङ्ग्रेसले १२ हजार ६४५ र राप्रपाको २ हजार १४८ मत जोड्दा लोकतान्त्रिक गठबन्धनको पक्षमा  १४ हजार ७९३ मत हुन्छ । स्थानीय निर्वाचनको आधारमा  लोकतान्त्रिक गठबन्धन २ हजार २१६ मतले पछि परेको छ । 

०७० को दोस्रो संविधान सभामा मानन्धरले १३ हजार २८९ मत ल्याई विजयी भएका थिए । उनको निकटम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसबाट प्रमिलादेवी डङ्गोलले थिइन् भने तेस्रो स्थानमा एमाओवादीबाट हिसिला यमी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप