बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटल ग्राउन्ड सिरहा : चिया मीठो ‘जय नेपाल’को, खाजा मीठो ‘लाल सलाम’ को !

शुक्रबार, १५ मङ्सिर २०७४, ११ : ५९
शुक्रबार, १५ मङ्सिर २०७४

नेत्र पन्थी र एसके यादव  

सिरहा– लहान बजारमा चिया र खाजा खाने दुईवटा सामन्य चिया पसल छन् । तर, यी चिया पसलका विशेषता यस्ता छन् कि जो कोही परिचित छन् । एकअर्कासँग जोडिएका यी चिया पसलको औपचारिक नाम केही छैन् । 

यी दुई चिया पसलमा राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिमाथि चर्चा परिचर्चा हुन्छ । तर, गजब यो छ कि मुद्दालाई हेर्ने मामलामा चिया पिउन आउनेहरूको सोच एकअर्काका उल्टो हुन्छ । उल्टो यसकारणको एउटा विचार राख्नेहरूको चिया पसलमा अर्को विचार राख्नेहरू जाँदैनन् । 

यो, हामीले लहानका ती दुई चिया पसलको कुरा गरिरहेका छौँ, जसको अनौपचारिक नाम छ ‘जय नेपाल’ चिया पसल र ‘लाल सलाम’ चिया पसल । यी चिया पसलको विशेषता के हो भने ‘जय नेपाल’ चिया पसलमा बिहानैदेखि काङ्ग्रेसका स्थानीय नेता कार्यकर्ताको भीड हुन्छ । त्यसैगरी ‘लाल सलाम’ चिया पसलमा एमालेका स्थानीय नेता कायकर्ताको भीड लागेको हुन्छ ।  

अझ अहिले त चुनावको मौसम छ । यहाँ राजनीतिमाथिको मुद्दामाथिको बहस झन् झन् पेचिलो छ ।

अचम्म कस्तो रह्यो भने जब रातोपाटीको टिम चुनावी ब्याटल ग्राउन्डको रिपोर्टिङका लागि लहान पुगेको थियो– काङ्ग्रेसका नेता ‘जय नेपाल’ चिया पसलमा भेटिए भने एमालेका नेता ‘लाल सलाम’ चिया पसलमा । 

सुरुमा हामी काङ्ग्रेस नेता भेट्न ‘जय नेपाल’ चिया पसलमा पुग्यौँ । त्यहाँ भेटिए काङ्ग्रेसका सिरहा–१ का क्षेत्रीय सभापति अचमित लाल चौधरी हामीले चौधरीसँग सिरहाको चुनावी अवस्थाबारे यहीँ बसेर कुरा गर्यौँ ।  

त्यसबाहेक यो चिया पसलमा सञ्जय यादव नेविसङ्घका उपाध्यक्ष पनि भेटिए । 

अचमित लाल चौधरी र सञ्जय यादवबाहेक यहाँ काङ्ग्रेसका अरू कार्यकर्ता पनि थिए । जो सिरहाको चुनावी अबस्थाबारे बहस गरिरहेका थिए । सञ्जय यादवले भने– ‘हो, यहाँ हामी काङ्ग्रेसका नेता कार्यकर्ताको अलि बढी भीड हुन्छ ।’

झन्डै ४० मिनेट ‘जय नेपाल चियापसल’मा बसेपछि हामी लाल सलाम चिया पसलमा गयौँ । त्यहाँ थिए एमालेका नेता कार्यकर्ता । 

हामीले यहीँ चिया पसलमा कुरा गर्यौँ, सिरहा–१ मा वाम गठबन्धनका उम्मेदवार गङ्गाप्रसाद यादव । उनी एमालेका केन्द्रीय नेता हुन् । 

यसबाहेक यो चिया पसलमा भेटिइन, पूर्व सांसद एवं एमाले केन्द्रीय सदस्य ममता गिरी । 

पत्रकार जीवछ यादव पनि यहाँ दुई चिया पसलमा दुई धारका राजनीतिक व्यक्तिहरूको गफ गर्ने ठाउँ बनेको बताउँछन् । 

तर दुईवटा चिया पसलका साहुबीच भने राम्रो सम्बन्ध छ । ‘जय नेपाल’ चिया पसलका साहु हुन् विष्णु चौधरी र ‘लाल सलाम’ चिया पसलमा साहु हुन्, रामअवतार साह । 

‘हामीबीच राम्रो सम्बन्ध छ । ‘ग्राहक कोही यता आउँछन्, कोही उता जान्छन् ।’ रामअवतारले भने । उनको चिया पसलमा आएर माधव नेपाल, झलनाथ खनाल, सुवाश नेम्वाङ, भीम आचार्य, वंशीलाल मिश्र र सत्यनारायण मण्डलजस्ता एमालेका ठूला नेताले पनि चिया र खाजा आएका छन् । रामअवतारले यहाँ चिया पसल खोलेको ३० वर्ष भयो । उनी सिरहा सुखीपुरका हुन् ।

‘जय नेपाल’ चिया पसलका साहु विष्णुले आफ्ना चिया पसलमा काङ्ग्रेस नेता कार्यकर्ता आउन थालेको पष्ृठभूमि सुनाए, ‘मैले चिया पसल खोलेपछि सुरुमा काङ्ग्रेस नजिकका एक दुई जना साथी आउन थाले । उनीहरूलाई भेट्न अरू आउन थाले । विस्तारै विस्तारै आफ्ना साथीहरूको भेट गर्ने र चिया खाने ठाउँ बन्यो । खास कुनै घटना छैन । आजकल सबैले ‘जय नेपाल’ चिया पसल भन्छन् । 

ग्राहकहरूका अनुसार चिया मीठो ‘जय नेपाल’मा पाउँछ भने खाज मीठो ‘लाल सलाम’मा । 

दुई चिया पसलमा ‘लाल सलाम’ को भन्दा ‘जय नेपाल’को कमाइ धेरै छ । तर, भीड चाहिँ ‘लाल सलाम’ चिया पसलमा बढी हुन्छ । 

‘जय नेपाल’ चिया पसलको कमाइ धेरै हुनुको पछाडि दुईवटा कारण छन् । एउटा ‘जय नेपाल’ चिया पसलमा खाना पनि पाइन्छ । जब कि ‘लाल सलाम’मा यो सुविधा छैन । अर्को कारण, कम्युनिस्टभन्दा बढी खर्च गर्ने बानी रहेछ काङ्ग्रेस कार्यकर्ताको । 

‘काङ्ग्रेस कार्यकर्ता आफू पनि खान्छन्, अरूलाई पनि खुवाउँछन्, खर्चमा डराउँदैनन्’ जय नेपाल चियापसलमा भेटिएका एक काङ्ग्रेस कार्यकर्ताले भने ।

हामीले पनि त्यस्तै पायौँ । ‘लाल सलाम’ चिया पसलमा धेरै भीड भए पनि चिया कम खान्छन् । कालो चिया बढी बिक्छ ।  उता ‘जय नेपाल’ चिया पसलमा चाहिँ दूधको चिया बढी बिक्छ । 

‘जय नेपाल’ चिया पसलका साहु महिनामा ५० हजार जति कमाउँछन् भने ‘लाल सलाम’ चिया पसलमा साहुको कमाइ ३० देखि ४० हजारसम्म छ । 

तर, यी दुवै पसलमा साँझ जमघट भने हुँदैन । कारण यहाँ मदिरा पाउँदिन ।  

यी चिया पसल रहेको ठाउँ सिरहाको प्रतिनिधिसभा–१ क्षेत्र हो । यहाँ त्रिपक्षीय प्रतिस्पर्धा छ । काङ्ग्रेसका नेता प्रदीप गिरी, एमाले र माओवादी केन्द्र गठबन्धनका तर्फबाट केन्द्रीय सदस्य गङ्गाप्रसाद यादव र मधेसी गठबन्धनका तर्फबाट सङ्घीय फोरमका केन्द्रीय सदस्य तथा पूर्व बिनाविभागीय मन्त्री राजलाल यादव मैदानमा छन् । 

सिरहा–१ मा लहान नगरपालिका, धनगढीमाई नगरपालिकाका १ र २ वडा, लक्ष्मीपुर पतारी गाउँपालिकाको २, ३, ४, ५ र ६ वडा, सङ्खुवानान्कारीकट्टी गाउँपालिका र भगवानपुर गाउँपालिका पर्छन् । सिरहामा १७ स्थानीय तह छन् । 

यसैगरी प्रदेशसभाका लागि क्षेत्र नं १(क) मा  काङ्ग्रेसका सन्तोषकुमार चौधरी, वाम गठबन्धनबाट एमालेका  लगनलाल चौधरी, फोरम–राजपा गठबन्धनका तर्फबाट फोरम नेपालका वैधनाथप्रसाद साह मैदानमा छन् ।

क्षेत्र नं १ (ख) मा  काङ्ग्रेसका देवनाथ यादव, वाम गठबन्धनबाट एमालेका  अशोक यादव र  फोरम–राजपा गठबन्धनबाट फोरम नेपालका राजकुमार गुप्ताबीच प्रतिस्पर्धा छ । 

मैदानमा जति नेता चुनावी प्रचारमा छन्, त्यतिकै बहस यी चिया पसलमा पनि हुन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप