बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तानातानमा प्रदेश नम्बर ५ को राजधानी, जता उम्मेदवार उतै राजधानी !

शुक्रबार, १५ मङ्सिर २०७४, ०८ : ०३
शुक्रबार, १५ मङ्सिर २०७४

ओम शर्मा /शम्भु दंगाल
 

दाङ—प्रदेश नम्बर ५ को मुख्यमन्त्रीका लागि प्रचारित एमाले नेता शंकर पोखरेल बुधबार दाङ क्षेत्र नं. २ को घोराही उपमहानगरपालिकाको सुनपुरमा आयोजित चुनावी सभामा बोल्दै थिए । सभामा उपस्थित भएका स्थानीयलाई उनले आफ्नो मुख्य एजेण्डाबारेमा पटक पटक आस्वस्त पार्दै थिए । उनको त्यो महत्वपूर्ण चुनावी एजेण्डा थियो दाङलाई प्रदेश नम्बर ५ को राजधानी बनाउने ।

कार्यक्रममा सम्बोधन गर्दै उनले भने–प्रदेश नम्बर ५ को राजधानी दाङ बाहेक अरु विकल्प हुन सक्दैन । बर्दियादेखिका मानिसहरुका लागि पनि सेन्टरमा पर्नुपर्यो, नवलपरासी सम्मका मान्छेहरुका लागि पनि सेन्टरमा पर्नुपर्यो, त्यो हिसावले पनि दाङ मध्य भागमा पर्छ । त्यति मात्र हैन दाङको हावापानी पनि अनुकुल छ, तराईमा जस्तो लुको समस्या पनि छैन्, शीतलहरको समस्या पनि छैन, पहाडको जस्तो विकट भू–बनोट पनि छैन । यस्तो ठाँउमा हामीले प्रदेशको राजधानी बनायौँ भने मानव बसोबासका दृष्टिकोणले अत्यन्त उपयुक्त उपत्यका रहेको छ । दाङमा सार्वजनिक जमिन पनि धेरै भएकोले राजधानीका लागि न्यूनतम लगानीमा धेरै पूर्वाधारका काम गर्न सक्छौँ ।’

सोही कार्यक्रमका अर्का बक्ता तथा सरकारका विनाविभागीय उपप्रधानमन्त्री र दाङ क्षेत्र नं. २ का प्रतिनिधीसभाका उम्मेदवार कृष्ण बहादुर महराले पनि दाङलाई जसरी पनि प्रदेश नं ५ को राजधानी बनाएरै छोड्ने प्रतिज्ञा गरे । उनले सो क्षेत्रको विकासका लागि केन्द्रबाट आफूले पहल गर्ने र प्रदेशका लागि एमाले नेता पोखरेलले मिहेनत गरेर दाङ र सिंगो ५ नम्बर प्रदेशलाई समृद्ध बनाउने उद्घोष गरे ।

 

प्रदेशको सीमाङ्कनको विषय टुङ्गिए पनि नामाकरणको विषयमा सहमति  नजुटिसकेका बेला हरेक जिल्लाका उम्मेदवारहरुले यतिबेला भोट माग्ने आफ्नो मूल एजेन्डा प्रदेशको राजधानी बनाएका छन् । उनीहरुले सम्भव होस वा नहोस् आफ्नै जिल्लामा प्रदेशको राजधानी बनाउने भन्दै जनतासागमत मागिरहेका छन् ।  आफ्नो जिल्ला प्रदेशको राजधानी हुन सक्नेमा उनीहरुका आफ्नै खाले तर्क बितर्कहरु समेत रहेका छन् ।
यही सन्दर्भमा प्रदेश नं. ५ को राजधानीका सन्दर्भमा रातोपाटीको प्रश्नमा मन्त्री महराले एसियाकै ठूलो उपत्यका, हावापानी, जग्गा जमिन सबै राम्रो भएकोले दाङ नै राजधानीका लागि उपयुक्त भएको दावी गरे । 

रुपन्देहीको बुटवल, कपिलबस्तुलाई पनि त्यस क्षेत्रका नेताहरुले राजधानी बनाउने भनेको लाई उनले चुनाव जित्नका लागि मात्र भनिएको दावी गरे । उनले भने–‘दाङ मध्ये प्रदेश नं. ५ को मध्यबिन्दुमा पर्छ, सुरक्षाका दृष्टिकोणले पनि उपयुक्त हुन्छ, दाङ चाँही हुने राजधानी हो, अरु राजधानी चाँही भोट माग्ने राजधानी हो ।’

 

मंसिर २१ को प्रतिनिधी सभाको निर्वाचनलाई लक्षित गरी यतिबेला प्रदेश नं. ५ का विभिन्न जिल्लाका उम्मेदवारहरुले भोट माग्ने कार्डको रुपमा प्रदेशको राजधानीलाई उठाएका छन् ।

उम्मेदवारहरुले बताए अनुसार प्रदेश नं. ५ को राजधानीका रुपमा यतिबेला रुपन्देहीको बुटवल, कपिलबस्तु र दाङ चर्चामा रहेको छ । यी जिल्लामा उम्मेदवारहरु यतिबेला आफ्नो क्षेत्रलाई जसरी पनि प्रदेशको राजधानी बनाउछु मलाई भोट दिएर जिताँउनुस भन्दै घरदैलो गरिरहेका छन् ।

प्रदेश नंबर ५ को राजधानी बुटवल बनाउने कि दाङ बनाँउने कि, कपिलबस्तु बनाउने भन्नेमा उम्मेदवारहरु बीचको जुँगाको लडाई सतहमा आएको छ । प्रदेश नं. ५ अन्र्तगत गुल्मी, पाल्पा, अर्घाखाँची, रुपन्देहीका प्रतिनिधीसभा तथा प्रदेश सभाका उम्मेदवारहरु अहिले प्रदेश राजधानी बुटवल बनाँउने भन्दै घर घरमा भोट माग्न ब्यस्थ देखिएका छन् । यता पूर्वी रुकुम, रोल्पा, प्युठान र दाङका उम्मेदवारहरु भने दाङलाई प्रदेश राजधानी बनाउने भन्दै घर घरमा कुदिरहेका छन् । यता कपिलबस्तुका उम्मेदवार कपिलबस्तुलाई र बाँके, बर्दियातिरका उम्मेदवारहरु भने नेपालगञ्जलाई पाँच नंबर प्रदेशको राजधानी बनाँउछु भन्दै आश्वासन दिइरहेका छन् ।

मंसिर १२ गते रातोपाटी टोली पूर्व अर्थमन्त्री समेत रहेका एमालेका उपमहासचिव बिष्णु पौडेलको बुटवलस्थित घरमा पुगेको थियो । उनी बिहानै भोट माग्नका लागि घरदैलो कार्यक्रममा जाने तयारीमा थिए । हामीले पौडेलसँग उनका चुनावी एजेन्डाबारे छलफल गर्यौँ । उनले आफ्नो मुख्य चुनावी एजेन्डा नै ५ नम्बर प्रदेशको राजधानी रुपन्देहीको बुटवल बनाउने रहेको बताए । त्यसपछि मात्र विकास निर्माण र समृद्धीका योजना रहेको थियो ।

रुपन्देही क्षेत्र नं. २ मा बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका विष्णु पौडेलले पूर्वाधारका दृष्टिकोणले, प्रशासनको सुगमता, जनताको चाहनाका दृष्टिकोणले र भोली प्रदेश सभामा आउने २ तिहाई भन्दा ठूलो हिस्साले प्रदेश राजधानी बुटवल बनाउने तर्क गरे । उनले प्रदेश नं. ५ को राजधानी बुटवल नहुनेमा कुनै शंका नगर्न समेत आग्रह गरे ।

सोही दिन रुपन्देही क्षेत्र नं. ३ का लोकतान्त्रिक गठबन्धनबाट चुनावमा  होमीएका राप्रपा प्रजातान्त्रिकका उम्मेदवार दीपक बोहोरासँग पनि रातोपाटीको कुराकानी भएको थियो  । उनले पनि प्रदेश राजधानी बुटवल नै बनाईछोड्ने दावी गरे ।

रुपन्देहीका दुई जना उम्मेदवारको मुख्य योजना सुनेपछि हामी कपिलबस्तुतर्फ लाग्यौँ । कपिलबस्तु क्षेत्र नं. १ मा बाम गठबन्धनबाट माओवादी केन्द्रका नेता चक्रपाणी खनाल बलदेव र लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका नेता तथा पूर्व राजदुत दीप कुमार उपाध्याय चुनावी मैदानमा छन् । छुट्टा छुट्टै रुपमा भएको बार्ताका क्रममा कांग्रेसका उम्मेदवार उपाध्याय र माओपादीका खनाल दुबैले प्रदेश नं. ५ को राजधानी कपिलबस्तु बनाउन लागिपर्ने बताए । 

खनालले बाँके बर्दिया र नवलपरासीका जनताका लागि बिचमा पर्ने भएको र भौगोलिक आधार, पूर्वाधार विकासका आधारमा कपिलबस्तु राजधानी बनाँउनुपर्नेमा जोड दिए । कांग्रेसका उम्मेदवार उपाध्यायले पनि लुम्बिनीको विकास र बुद्ध जन्मिएको भूमीलाई प्रदेश नं. ५ को राजधानी बनाउन आफूले भूमिका खेल्ने बताए ।


चुनावको मुखमा एमाले नेता बिष्णु पौडेल, प्रदीप ज्ञवाली, घनश्याम भुसाल, माओवादी नेता टोपबहादुर रायमाझी, कांग्रेस नेताहरु बालकृष्ण खाँण, चन्द्र भण्डारी राप्रपा प्रजातान्त्रिकका दीपक बोहोरा लगायतका नेताहरु बुटवललाई प्रदेश नं. ५ को राजधानी बनाउने आश्वासन दिइरहेका छन् भने दीप कुमार उपाध्याय, चक्रपाणी खनाल लगायतका नेताहरु भने कपिलबस्तुलाई र शंकर पोखरेल, कृष्णबहादुर महरा, बर्षमान पुन, जनार्दन शर्मा लगायतका नेताहरु भने दाङलाई प्रदेश नंबर ५ को राजधानी बनाउने आश्वासन दिइरहेका छन् ।

 

५ नंबर प्रदेशको राजधानी कहाँ बनाउने भन्नेमा निर्वाचन पछि  पनि विवाद निम्तने कुरा अहिले उम्मेदहरुले जनतालाई बाढेको आश्वासनबाट थाहा पाउन सकिन्छ । पछिल्लो समय आफ्नो जिल्लालाई प्रदेशको राजधानी बनाउनुपर्छ भन्दै सोही क्षेत्रका ब्यवसायीहरुले समेत आवाज निकाल्न थालेका छन् । प्रदेशसभा र प्रतिनिधी सभाको निर्वाचनपछि प्रदेशको राजधानी कहाँ बनाउने भन्ने बिषय पेचिलो भएर आउने निश्चित देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप