बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पाहुना बनेर होटलबाट टिभी चोर्ने यी चोर, साथमा १२० टिभी बरामद

बिहीबार, १४ मङ्सिर २०७४, १७ : ०४
बिहीबार, १४ मङ्सिर २०७४

बैंगलोर । होटलमा पाहुना बनेर टिभी चोर्ने एक चोर पक्राउ परेका छन् । दक्षिणी भारतमा चोरी गर्ने यी चोरले पछिल्ला चार महिनामा विभिन्न होटलबाट १२० भन्दा बढी टिभी चोरी गरेको बिबिसीमा उल्लेख छ ।

वासुदेव ननाइया नाम गरेका व्यक्तिले यस्तो चोरी गर्ने गरेका थिए । प्रहरीका अनुसार वासुदेवको व्यवहार निकै सामान्य रहने हुँदा होटलका कर्मचारीले पनि कहिल्यै उनीमाथि शंका गर्न सकेनन् ।

ठूलो सुटकेस लिएर होटलमा ग्राहक बनेर जाने र त्यही सुटकेसमा टिभी हालेर भाग्ने गरेका थिए ।

उनी गत अक्टोबरमा पनि होटलबाट टिभी चोरी गरेको आरोपमा पक्राउ परेका थिए तर उनी धरौटीमा रिहा भएका थिए । अहिले उनी फेरि त्यही आरोपमा पक्राउ परेका हुन् ।

हिरासतबाट छुट्ने बित्तिकै उनले फेरि चोरीको काम शुरु गरेको प्रहरीको भनाई छ ।

डेप्युटी कमिस्नर अफ पुलिस चेतन सिंह राथौरका अनुसार आफूले लगेको सुटकेस सानो भए उनले नयाँ सुटकेस किनेर भए पनि चोरीलाई अन्जाम दिने गरेका थिए ।

‘उनी होटलबाट बारम्बार ओहोर दोहोर गर्थे जसले गर्दा उनी कति बेला टिभी चोरेर फररा भए भन्ने कर्मचारीले थाहा नै पाउँदैनन्,’ राठौरले भने ।

वासुदेव टिभी विक्री गर्न खोज्दा पक्राउ परेका थिए । जसलाई उनले टिभी बेच्न खोजे उनलाई वासुदेवको व्यवहार शंकास्पद लागेपछि प्रहरीलाई खबर गरेका थिए ।
बैंग्लोर प्रहरीले उनीमाथि चोरीका २१ मुद्दा दर्ता गरेको छ र यसपटक लामो जेल सजाय हुने आशा गरेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप