शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटल ग्राउन्ड सप्तरी : लाइन लागेर किसानले नेतालाई यस्तो भने

बिहीबार, १४ मङ्सिर २०७४, १३ : १९
बिहीबार, १४ मङ्सिर २०७४

राजविराज, सप्तरी । राजविराज नगरपालिकाको सूर्यदय टोलमा जिल्ला सहकारी सङ्घको कार्यालय छ । त्यसको ठीक अगाडि सङ्घीय समाजवादी फोरम, नेपालको जिल्ला पार्टी कार्यालय छ । 

प्रदेश र प्रतिनिधिसभा चुनाव नजिकिँदै गर्दा सङ्घीय समाजवादी फोरमको कार्यालयभन्दा जिल्ला सहकारी सङ्घको कार्यालयमा धेरै ठूलो भीड हुन्छ । एकातिर फोरमका कार्यकर्ता हुन्छन् र अर्कोतिर किसान ।

फोरम कार्यलयमा जम्मा भएका कार्यकर्ता चुनावी काममा हुन्छन् भने किसान आफ्ना दुःखसहित उभिएका हुन्छन् ।

बुधबार दिउँसो रातोपाटी टिम सूर्यदय टोल पुग्दा किसानको ठूलो लाइन देखियो । उनीहरू सबै गहुँ रोप्नका लागि मल लिन आएका थिए । तर, भनेजति मल पनि पाएका थिएनन् र समयमा पनि पाएका थिएनन् ।

लाइनमा भेटिए, बग्गुवा गाउँपालिकाका किसान विन्देश्वरप्रसाद यादव । उनले कुनै पनि नेताले किसानका दुःखमाथि ध्यान नदिएको गुनासो गरे । उनले दुईवटा गुनासा सुनाए । पहिलो गुनासो थियो– ‘म बिहानदेखि लाइनमा छु । (कुराकानी गर्दा दिउँसोको २ बजेको थियो) अहिलेसम्म पालो आएको छैन । किसानका समस्या छन् । नेतालाई मतलव छैन । पैसा तिरेर पनि मल समयमा पाइन्न । बाटो पनि छैन । सिंचाइ छैन । भोट माग्दा सबै गर्छु भन्छन्, जितेपछि फर्केर आउँदैनन् ।’

विन्देश्वरप्रसाद यादवको दोस्रो गुनासो छोराको रोजगारीसँग थियो । भने– ‘रोजगारी चाहियो । छोराले डिग्री पढेको छ । जागिर छैन । खर्च गरेर पढाएर पनि के काम ?’

त्यही लाइनमा थिए– २४ वर्षका शिवशङ्कर रजक । उनले भने– ‘हामीलाई चुनाव लागेको छैन । यहाँ पैसा तिरेर पनि ५० केजी मल पाउन कठिन छ । नेताले केही गर्दैनन् । चुनाव अगाडि सबै गर्छु भन्छन्– चुनावपछि केही गर्दैनन् ।’

लाइनमा बसेका अर्का किसान थिए ६६ वर्षका निरज बस्नेत । उनले पनि नेताको कार्यशैलीमाथि हमला गरे– ‘नेताले त पैसा बाँडछन्, जसरी हुन्छ चुनाव जित्छन् । लाइन बसेको, चार पाँच घण्टा भयो । दुई बिगहा खेत छ । मल छैन ।’

अर्का किसान रघु शर्माले भने– ‘चुनावको बारेमा केही अनुमान गर्न सकिन्न । उम्मेदवार गाउँ पस्न थालेका छन् । रुपियाँ बाँडेका छन् । हामीजस्ता सोझाका हातमा पैसा पनि आउँदैन । हामीलाई देखाएर खाने त अर्कै छन् । मत कहाँ जान्छ भन्ने अझै खुलेको छैन ।’ 


उनी उपेन्द्र यादवको बलियाबथना महदेवा गाउँपालिकाका हुन् । 

लाइनमा बसेका किसानहरूले जिल्ला सहकारी सङ्घका कर्मचारीले ब्ल्याकमा रातिराति मल बेच्ने गरेका कारण किसानले दुःख पाएको पनि आरोप लगाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप