शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटल ग्राउन्ड मोरङ : महेशको ‘दिल’मा मोदीको ‘धड्कन’ !

बिहीबार, १४ मङ्सिर २०७४, ११ : ४६
बिहीबार, १४ मङ्सिर २०७४

नेत्र पन्थी र एसके यादव
मोरङ, मङ्सिर १४– ‘हरहर मोदी, घरघर मोदी’ यो नारा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि लाग्ने गथ्र्यो, अहिले त्यही नारा मोदीकै लागि लागेको छ तर त्यो नरेन्द्र मोदी होइन, यो अमनलाल मोदीका लागि हो ।

मोरङ–४ का वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता अमनलाल मोदीका लागि यो नारा निकै सजिलो भएको छ । ब्रान्डेड यो नारा उनका कार्यकर्ताले गाउँघरमा लगाउँदै मत मागिरहेका छन् । 

जानुकागाछी–१४ मियाँटोलका ३७ वर्षीया मोहम्मद अफुज आलमले घरघरमा मोदीको चर्चा रहेको बताए । विराटनगरको कटहरी बजारमा टेलर सञ्चालन गरी बसेका अफुजले आफू्जस्ता गरिबका छोरा जित्दा राम्रो बताउँदै गरिब परिवारबाट आएकाहरू सबै पीरमर्का बुझेका हुन्छन् र त्यसले काम गर्ने पनि सम्भावना भएका हुनाले मोदी नै जित्ने उनले दाबी गरे । 

आलमले मात्र होइन, अमनलाल मोदीले पनि आफू गरिबको छोरा विभेद र पीडा के हो । सबै बुझेको हुनाले काम गर्न सजिलो भएको बताउँदै सहरको भन्दा ग्रामीण क्षेत्रका जनताले आफूलाई मत दिने विश्वास गरे ।

उनले भने– ‘मेरा बुबा सानैमा बित्नुभयो, आमाले अर्काको घरमा भाँडा माझेर मलाई हुर्काउनुभयो आज त्यही वर्गका मान्छेले मलाई मेरो काम हेरेर मत हाल्नेछन् ।’ विद्यार्थी उमेरमै माओवादीको भूमिगत राजनीतिमा लागेका मोदी संविधान निर्माणको क्रममा संविधानसभामा खेलेको भूमिकाका कारण परचित अनुहार बनेको छ । पहिलो संविधानसभा समानुपातिकबाट सभासद् बनेका थिए । 

संविधानसभा बैठकमा तोडफोड र संविधानसभा हलका ‘कुर्सी भाँच्ने काण्ड’को अगुवा बनेको चर्चा पनि उनको क्षेत्रमा सुनिन्छ । थारू बहुल क्षेत्रबाट जातिगत मत प्राप्त गरेर आचार्यलाई टक्कर दिने रणनीतिमा रहेका उनी भन्छन्– ‘वाम पार्टीबीच भएको गठबन्धन र थारू समुदायबाट प्राप्त हुने सहयोग नै मेरो जितका आधार हुन् ।’

वाम गठबन्धनका कारण दबाबमा रहेका महेश आचार्यले पनि गठबन्धनसँग प्रतिस्पर्धा रहेको स्वीकार गरे । उनले भने– ‘गठबन्धनको दबाब छ तर मैत्रीपूर्ण । गठबन्धनसँग प्रतिस्पर्धा छ तर मैत्रीपूर्ण । प्रतिबद्धता हुन्छ तर तीक्ततापूर्ण प्रतिस्पर्धा हुन्छ जस्तो लाग्दैन ।’

मङ्सिर ११ गते विराटनगरको कवर्ड हलको छेउमा मोरङ जिल्ला खेलकुदकर्मीले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता आचार्यले २५ वर्षअगाडि ५४ वर्ष औसत आयु थियो । अहिले ७५ पुगेको छ, बाल तथा मातृदर घटेको छ, खानेपानी गाउँगाउँमा पुगेको छ, पहिला छोरालाई मात्र स्कुल पठाइन्थ्यो अहिले छोरीहरू पनि जान थालेका छन् । यी सबै काम काङ्ग्रेसले गरेको दाबी गरे ।

तर मोदी भन्छन्– महेश आचार्यले यो काम मैले गराएको छु भनी भन्न सक्दैनन् । २० वर्ष अगाडि महेश आचार्यले जे भन्नुहुन्थ्यो आज पनि त्यही भन्नुहुन्छ, चार चार पटक मन्त्री बन्नुभयो तर केही गर्न सक्नुभएन ।’ 

रातोपाटीसँग कुरा गर्दै मोदीले विराटनगरलाई मरुभूमि बनाउने काम महेश आचार्यहरूले गरेको आरोप लगाउँदै विराटनगरको सहर र गाउँ फरक रहेको छ । सहरमा महेशको चहल पहलदेखिए पनि गाउँतिर काङ्ग्रेस भगाऔँ देश बचाऔँको नारा लागिरहेको दाबी गरे ।

वाम गठबन्धन धेरै दिन स्थिर नरहने दाबी गर्दै गैरकम्युनिस्ट र कम्युनिस्टबीच ध्रुवीकरण भयो भने देशमा स्थिरता नहुने उनले दाबी गरे । गठबन्धनको दबाबमा रहेका महेशले साम्यवादी शासन ल्याउन नेपालमा सम्भव नरहेको टिप्पणी गरे । 

गिरिजाप्रसाद कोइरालाको निगाहबाट काङ्ग्रेस राजनीतिमा उदाएका महेश आचार्य चौथो पटक सो क्षेत्रबाट चुनावमा उठेका हुन् । सुरुमा महेश आचार्यलाई काङ्ग्रेसमा धेरैले रुचाएका थिएनन् । तर कोइराला परिवारको नाममा पछिल्लो समय पार्टीमा आफ्नो पकड बनाउन सफल भएका छन् । 

काङ्ग्रेसका केन्द्रीय सदस्य महेश आचार्य पञ्चायती कालदेखि नै राजनीतिमा लागेका हुन् । बीपी कोइराला परिवारका भान्जा भएकाले उनलाई बाल्यकालदेखि नै काङ्ग्रेसको राजनीतिले आकर्षित गरेको थियो । बीपी कोइराला, गिरिजाप्रसाद कोइरालालगायतका नेताहरूसँगै उनी पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सरिक भएका उनी २०४६ साल र २०६२÷०६३ को आन्दोलनमा पनि उनको सक्रिय सहभागिता थियो । 

नेपाल विद्यार्थी सङ्घको विभिन्न कमिटी हुँदै काङ्ग्रेसको विभिन्न एकाइ तथा सङ्गठनमा बसेर काम गरेका उनी अर्थमन्त्री, वन मन्त्री र कृषि मन्त्री भइसकेका हुन् । २०७० सालको चुनावमा मोरङ क्षेत्र नं. ६ बाट १२ हजार ५५२ मत ल्याएर उनी विजयी भएका हुन् । 

पहिलो संविधानसभा निर्वाचनमा फोरम लोकतान्त्रिक भीमराज राजवंशीबाट पराजित आचार्य दोस्रो सविधानसभामा चुनाव जितेका थिए । डेढ दशक सत्ताकै वरिपरि रहेका आचार्यबाट विकास निर्माणमा भएको बेवास्तालाई वाम गठबन्धनका उम्मेदवार मोदीले जोडतोडले उठाएका छन् । २० वर्षदेखिको बन्न नसकेको चक्रपथ, लथालिङ्ग वैजनाथपुर क्षेत्रीय रङ्गशाला, विराटनगर महानगरभित्रका भत्केका सडक, खानेपानीको समस्या आचार्यले समाधान गर्न नसकेको आरोप उनीमाथि लाग्दै गरेको छ ।

आफ्नो चुनावी क्षेत्रका विकास योजनाबारे आर्चायले भन– ‘यो क्षेत्रको विकासका लागि जोवनी–किमाथाङ्का सडक निर्माण, विराटनगर विमानस्थलको स्तरोन्नति गरेर क्षेत्रीय विमानस्थल, आईसीपी, विराटनगर जुट मिल सञ्चालन, मोरङ–सुनसरी औद्योगिक क्षेत्र स्थापना, विशेष आर्थिक क्षेत्र (सेज) को निर्माण, रिङ रोडलाई पूर्णता दिने, कटहरीसम्म रेलको लिङ्क जोड्ने, विराटराजाको दरबार क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने, बाहुनी–नेताचोक हुँदै विराटनगरसम्मको सडकलाई स्तरोन्नति गरी कालोपत्रे गर्ने, सिङ्घिया खोलामा तटबन्ध निर्माण गर्नेलगायत थप्र्रै योजना छन् ।’

मोरङका सबै उम्मेदवारको प्रदेश नम्बर १ को राजधानी विराटनगर बनाउने विषय पनि मुद्दा छ । मोदीले भने– ‘म अन्तिमसम्म विराटनगरलाई राजधानी बनाउन लडिरहन्छु ।’

स्थानीय चुनावको अङ्कगणितमाथि पनि उम्मेदवारको नजर छ । मोरङ क्षेत्र नं. ४ मा ९९ हजार १ सय २४ मतदाता रहेका छन् । यो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अमनलाल मोदी, नेपाली काङ्ग्रेसका महेश आर्चाय र सङ्घीय समाजवादी फोरमका तर्फबाट लोक सागर साँवा चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा प्रमुख तथा वडाध्यक्षहरूले पाएको मतका आधारमा क्षेत्र नं. ४ मा मोटामोटी रूपमा नेपाली काङ्ग्रेसले १७ हजार १, नेकपा एमालेले १७ हजार ९ सय ३३, माओवादी केन्द्रले ६ हजार १ सय ३१, राप्रपाले १६ सय ३, फोरम लोकतान्त्रिकले ८ हजार २ सय १ र सङ्घीय समाजवादी फोरमले ४ हजार २ सय २८ मत पाएको थियो ।

यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा २४ हजार ६४ मत देखिन्छ ।  यस्तै  स्थानीयतहको चुनावपछि नेपाली काङ्ग्रेसमा विलय भएको फोरम लोकतान्त्रिकले पाएको मत  नेपाली काङ्ग्रेसले पाएको मतमा मिसाउँदा २५ हजार २ सय २ हुन्छ ।  अर्थात् यहाँ नेपाली काङ्ग्रेस ११ सय ३८ मतले अगाडि देखिन्छ । यहाँ राप्रपाले १२ सय ३ मत ल्याएको थियो ।

तस्बिर : बिजु महर्जन
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप