शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१२ नेताको मृत्युमोह

बिहीबार, १४ मङ्सिर २०७४, ०९ : ५६
बिहीबार, १४ मङ्सिर २०७४


जन्मेपछि मर्नैपर्छ । मृत्यु शाश्वत सत्य हो । मृत्यु सहज होस् भन्ने सबैको चाहना हुन्छ । जुन अस्वाभाविक होइन । तर पनि सबैको मृत्यु सहज हुँदैन । 

गीत गाउँदागाउँदै मर्न पाइयोस् भनेर इच्छा व्यक्त गर्ने जनवादी गायक खुसीराम पाख्रिनको जस्तो सहज मृत्यु कमैका होलान् । केही समयअघि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको चुनावी कार्यक्रममा कविता सुनाउँदासुनाउँदै श्रीभद्र पण्डितको निधन भएको थियो भने माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको समेत हृदयाघात कारण गत मंसिर ३ गते निधन भएको थियो ।

पाख्रिन, पण्डित र दाहालको जस्तो सहज मृत्यु सबैको हुँदैन । तैपनि मृत्युमोह नहुने कुरै भएन । कार्यवहाक प्रधानमन्त्री, दुईपटक उपप्रधानमन्त्री र पाँचपटक मन्त्रीको भूमिका निर्वाह गरिसकेका भरतमोहन अधिकारीको इच्छा छ, ‘मेरो मृत्यु बुवाआमा र दाइकै जस्तो होस् ।’ नेता अधिकारीको बुवा तास खेल्दाखेल्दै र आमा दूध पिएर सुतेको अवस्थामा बितेका थिए । उनका सहोदर दाइ मनमोहन अधिकारी कार्यक्रम सकेर घर फर्कंदै गर्दा गाडीमै बितेका हुन् । 

मृत्यु अनिवार्य परिणाम हो । जसलाई हामीले स्वीकार्नुपर्छ । जीवन मिसन हो । पुरानो पात नखसी नयाँ आउँदैन । नयाँ पात आउन पुरानो झरिदिनैपर्छ । ‘मृत्यु अन्तिम सत्य हो । भौतिक वस्तुमा सबैको अन्त्य हुन्छ,’ नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे निश्चिन्त छन्, ‘मृत्यसँग डर लाग्दैन । मृत्युसँग डर लाग्ने हो भने राजनीतिमा लाग्दै लाग्दिनथें ।’ 

नेकपा (मसाल) महामन्त्री मोहनविक्रम सिंहले मृत्यु यस्तै होस् भनेर परिकल्पना गरेका छैनन् । नेता सिंह भन्छन्, ‘मृत्युको परिकल्पना गर्नु व्यर्थ हो ।’ मृत्यु अकाट्य छ । यो अकास्मात् हुन्छ । मृत्यु सम्झेर चिन्ता गर्नै पर्दैन । उनले सुनाए, ‘सम्भव भएसम्म मेरो शव गाउँमै पुर्याइयोस् भनेर श्रीमती दुर्गालाई भनेको छु ।’

मृत्यु मानवजीवनको अभिन्न पाटो हो भन्ने उद्योगमन्त्री सुनील थापालाई मृत्युसँग डर लाग्दैन । मन्त्री थापा पहिलेपहिले मृत्युसँग डराउँथे । संयुक्त राष्ट्रसंघमा काम गरेपछि मृत्युसँग डर लाग्न छाडेको बताउने उनको इच्छा छ, ‘मृत्यु सम्मानपूर्ण होस् ।’ 

पटकपटक मन्त्रीको भूमिका निर्वाह गरिसकेका पूर्वमन्त्री अग्नि सापकोटाले ओम पुरीको भनाइ पैंचो लिँदै भनें, ‘मर्न त मलाई डर लाग्दैन तर बिरामी भएर अरूलाई दुःख दिएर बाँचिरहनचाहिँ डर लाग्छ ।’ पूर्वमन्त्री सापकोटाको लोभ छ, ‘काम गर्दागर्दै अन्तिम सास फेर्न पाइयोस् । मान्छेको सेवा गर्दागर्दै प्राणान्त होस् । एकछिन बिरामी नभई, एकैछिन कामबाट विश्राम नलिई मर्न पाऊँ भन्ने पाइयोस् ।’ 

पूर्वमन्त्री जीवनबहादुर शाहीको मान्यता छ, ‘मर्नुअघि राम्रो काम गर्ने प्रयत्न गर्छु ।’ जन्मेपछि मर्नैपर्छ भनेर थाहा भएकाले पूर्वमन्त्री शाहीलाई मृत्युसँग डराउँदैनन् । उनलाई मृत्युपछिको मोह छँदै छैन ।

पूर्वउपसभामुख पूर्णा सुवेदीलाई भोलिका पुस्ताले अनुशरण गर्नेखालको काम गरेर मर्न पाए हुन्थ्यो भन्ने लोभ छ । मृत्यु विज्ञानको नियम हो । जन्मेपछि मर्नैपर्छ ।

मृत्युलाई सहजपूर्वक लिनुपर्ने पूर्वउपसभामुख सुवेदीले तिलगंगा आँखा अस्पताललाई आँखादान गरिसकेकी छन् । उनको शरीरदान गर्ने इच्छा छ । भनिन्, ‘मृत्यु सहज होस् । पार्टीको झन्डा ओढाउने भइरहूँ ।’ 

एमाले केन्द्रीय सदस्य सूर्य थापाले मृत्यु जन्मपछिको स्वाभाविक परिणति भन्छन् । नेता थापाले सुनाए, ‘अरूलाई दुःख नदिई सहज मृत्युवरण गर्न पाए जाती हुन्थ्यो । बिरामी परेर, अरूलाई दुःख दिएर र वाक्कदिक्क पारेर मृत्युवरण गर्न नपरोस् ।’

काँग्रेस महासमिति सदस्य सुवास पोखरेललाई मरिसकेपछि यो वा त्यो होस् भन्ने लोभ छैन । भन्छन्, ‘म कर्तव्यमा सचेत छु ।’ 

‘मृत्युप्रति त्यति संवेनशील छुइनँ । मृत्यु सामान्य कुरा हो,’ नेता पासाङ शेर्पाको बुझाइ छ, ‘मृत्युलाई संवेदनशील ठान्नुभयो भने गन्तव्य पहिल्याउन गाह्रो हुन्छ । मृत्यु सोच्दा पनि सोच्दिनँ । मृत्युसँग डराएर छल्न पनि सकिँदैन ।’

नयाँ शक्ति पार्टी नेता मदन राईको मृत्युमोह पृथक छ । नेता राईका अनुसार, मृत्यु तत्व रूपान्तरणको शक्ति हो । मानिस विभिन्न तत्वले बनेका हुन् । यो रूपान्तरण भइरहन्छ ।  उनले श्रीमतीलाई आफ्नो मलामी नजानू भनेका छन् । 

‘सकेसम्म मेरो शव गिद्ध, काग, स्याललाई खुवाइयोस् । होइन भने पाँच फिटजतिको खाडल खनेर पुरेर फुल्ने वा फल्ने बिरुवा रोपियोस्,’ उनले भने, ‘त्यसका लागि १०÷२० हजार रुपैयाँ छुट्याएको छु । म मरेको दिन खुसी मनाउनू भनेर परिवारलाई भनिसकेको छु । मलामी जानु भनेको सबैभन्दा ठूलो अपराध हो । मानिसको स्वार्थ हो ।’ 

काँग्रेस केन्द्रीय सदस्य डा. डिला पन्तको सुझाव छ, ‘बाँचुन्जेल हाँसीखुसी बाँच्नुपर्छ । ‘भिजन’ र ‘मिसन’ सहित बाँच्नुपर्छ ।’ मृत्यु शाश्वत सत्य भएकाले नेता पन्त त्यसप्रति मोह पालिरहन आवश्यक ठान्दिनन् । 

पूर्वसांसद डा. खिमलाल देवकोटा धेरैपटक मृत्युको नजिकनजिक पुगेका थिए । माओवादी जनयुद्धमा धेरैपटक जम्काभेट भए उनी माओवादी हुन् भनेर सेनाले पत्याएनन् । घेराबन्दी पर्दा भागेर होइन सेनाले गोली नचलाएकाले उनी बाँचेका थिए । 

नेता देवकोटा इच्छा व्यक्त गर्छन्, ‘मृत्यु सहज होस् भन्ने धेरैको चाहना हुन्छ । मेरो चाहना त्योभन्दा परको छैन ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप