शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटल ग्राउन्ड मोरङ : मत माग्ने ‘पञ्चायती’ शैली !

बुधबार, १३ मङ्सिर २०७४, १६ : १४
बुधबार, १३ मङ्सिर २०७४

मोरङ– ‘आन्दोलन तथा चुनावको समयमा हामीलाई खोज्ने नेताहरू अरू बेला किन खोज्न आउँदैन ? हामी चाहन्छौँ प्रत्येक दिन भेट नभए पनि ६–६ महिनामा नेताहरू आएर हामीसँग कुरा गरून्, हामीसँग भेटूनु, हाम्रो दुःखपीडा बुझून् । तर चुनाव जितेर गएपछि फर्केर आउँदैनन्, यसरी कहाँ हुन्छ ?’

यो कुरा एकजना मतदाताले प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारलाई प्रत्यक्ष भने । सङ्घीय समाजवादी फोरम नेपालका उमेदवार राजकुमार यादव र जयराम यादवलाई पछ्याउँदै विराटनगरबाट सात किलोमिटर टाढा रहेको नेपाल–भारत सीमामा पुगेका थियौँ । मोरङमा मङ्सिर ११ गतेको कुरा हो यो । 

भारतको सीमा नाका जोगवनीसँगै टाँसिएको विराटनगर–१५ को रानीमा पुगेका थियौँ । सो वडाको मोहन मण्डलको आँगनमा भीड थियो । हामी त्यहाँ पुग्दा मतदाताले नेताहरूसँग सवाल जवाफ गर्दै थिए ।

प्रतिनिधिसभाका उम्मेदावर राजकुमार यादव र प्रदेशसभाका उम्मेदवार जयराम यादव मतदाताको कुरा सुनिरहेका थिए । मतदाता बोलिसकेपछि मात्र जवाफ दिने दुई जना उम्मेदवार सबैको कुरा सुन्दै गए ।
 
सायद चुनावको समयमा मतदातालाई यसरी भेला गरेर उनीहरूको गुनासो सुन्ने यो नौलो कार्यक्रम थियो । जब कि नेताहरू अहिले घरदैलो जाँदा मतदातालाई बसाएर आफ्नो कुरा मात्र सुनाउने गरेको पाइन्छ । तर, राजकुमार यादव र जयराम यादवले मतदाताको असन्तुष्टि सुनेर सो अनुसारको रणनीति बनाउने योजना थियो ।

कार्यक्रम सम्पन्नपछि रातोपाटीसँग कुरा गर्दै जयराम यादवले भने, रोग पहिचान भइसकेपछि डाइग्नोसिस गर्न सजिलो हुन्छ ।’

शिक्षकबाट अवकास पाइसकेका वासुदेव ठाकुर अरू युवाभन्दा अलि कडा रूपमै प्रस्तुत भएका थिए । उनले भनेका थिए– ‘आन्दोलन गर्ने बेलामा यहाँबाट जनतालाई बोलाई बोलाई लैजाने तर आन्दोलनमा घाइते भएकाहरूको बारेमा कहिले सोधखोज गर्नुभयो ? घाइते तथा आपाङलाई भेटेर दिएका आश्वासन आजसम्म किन पूरा भएन ? आन्दोलनमा टायर बाल्ने हामी, ढुङ्गा फ्याल्ने हामी तर आन्दोलन सकिएपछि हालसम्म कुनै सोधखोज भएको छैन ।’

पवन सिंहल आफूहरूले नेताबाट कुनै कुरा अपेक्षा नगरेको, तर बेलाबेलामा भलो कुभलो सोधे पुग्ने बताए ।
 
उनले चुनाव जितेर गएपछि नेता फर्केर नआउने गरेको बताए । एकैचोटि फेरि भोट माग्न आएको उनले गुनासो गरे । आक्रोशित हुँदै पवन सिंहले भने– ‘हामीलाई न पहाडी दलले पत्याएको छ न मधेसी दलले । मधेसका लागि यत्रो आन्दोलन गरियो । तर मधेसी नेताहरू कहिल्यै कुनै सोधखोज गर्दैनन् । हामीले पहाडी दललाई मत दिए पनि उनीहरू पत्याउँदैनन्, मधेसी दललाई नै मत दिएको भन्छन्, तपाईंहरूलाई मत दिँदा पनि तपाईंहरू हामीलाई बेवस्ता गर्नुहुन्छ ।’

यस्तो भनिरहँदा नेताहरू सुनिरहे । कालोनिलो अनुहार बनाएर बसेका नेताको पक्षबाट बेलाबेलामा असलम आलमले बोल्न खोज्दा मतदाताहरूले बोल्न दिइरहेका थिएनन् । असलम आलम फोरम नेपालका कार्यकर्ता हुन् । उनी जयाराम र राजकुमारसँगै आएका थिए ।

पवन सिंहले भन्दै गए– ‘आन्दोलनको समयमा झण्डै हाम्रो ज्यान गएको थियो । अलिकति मात्र अगाडि बढेको भए हाम्रो ज्यान जानसक्थ्यो, त्यसबेला तपाईंहरू के गर्नुहुन्थ्यो । हामी ज्यानको बाजी लगाएर आन्दोलन गर्ने तपाईंहरू हामीलाई भेट्न पनि नआउने किन ?’

मोहन मण्डलले मधेसवादी दललाई मत दिनुबाहेक आफूहरूसँग कुनै  विकल्प नरहेको बताउँदै मधेसवादी दललाई मत नदिएको कुरा अरू दलले आफूहरूलाई नपत्याउने धारणा राखेका थिए । 

उनीहरूको गुनासो सबभन्दा बढी जयराम यादवसँग थियो । सो क्षेत्रमा उपेन्द्र यादवपछिको नेता जयराम यादव नै हुन् । पहिलो संविधानसभा चुनावको उपचुनाव जयराम यादवले जितेका थिए ।

मोरङ र सुनसरी गरी दुई ठाउँबाट चुनाव जितेका उपेन्द्र यादवले सुनसरी रोजेका थिए ।
 
०६५ मा उपचुनाव जितेका जयराम यादवप्रति उनीहरूको एउटै गुनासो थियो । चुनाव जितेर गएपछि यतातिर आउनै छाडे ।

राजकुमार यादव फोरम नेपालका जिल्ला अध्यक्ष हुन्, उनीप्रति मतदाताको खासै गुनासो छैन, किनभने उनले ती जनतासँग कुनै प्रतिबद्धता गरेको थिएन । 

मतदाताले आआफ्नो गुनासा पोखिसकेपछि असलम आलम र मो. फैयादले उनीहरूको चित्त बुझाउने प्रयास गरेका थिए । असलम आलमले वितगमा जे भए पनि, ती सबै तीतामीठा कुरा छाडेर मधेसी नेतालाई जिताउन आग्रह गरे । 
उनले जयराम यादवको बचाउ गर्दै भने– ‘जयराम यादवजी पहिलो संविधानसभाकै बेलामा बिराम पर्नुभयो । सोचेजस्तो केही गर्न सक्नुभएन, बिरामी भएको अवस्थामा पनि उहाँले सकेजति सहयोग गर्नु नै भएको छ । यहाँसम्म तपाईंको घरसम्म आउन नसक्नु गल्ती भयो । उहाँको तर्फबाट म माफी चाहन्छु तर उहाँ किन आउनु भएन, त्यो कुरा पनि तपाईंहरूले बुझिदिनु पर्यो ।’

जयराम यादवलाई जिताउनुस् आइन्दा कुनै समस्या हुँदैन भन्दै असलमले मधेसवादी दल जिते मात्र मधेसको कल्याण हुने धारणा राखेका थिए ।

१५ नम्बर वाडाका प्रमुख समेत रहेका मो. फैयादले आफू वडा अध्यक्ष भएको कारणले यो वडाको समस्या समाधानका लागि अब कसैको मुख ताक्नु नपर्ने आफूले नै समाधान गर्ने धारणा राखेका थिए । तपाईंहरूले काङ्ग्रेस, एमाले, माअ‍ोवादी केन्द्रलाई मत दिए पनि पत्याउँदैनन् तर मधेसवादी दललाई जिताउनुभयो भने तपाईंहरूको सेवामा हरदम तयार रहनेछौँ ।’

पुराना कुराहरू छाड्न उनले पटक पटक आग्रह गरेका थिए । सबैले कुरा राखिसकेपछि जयराम यादवले कुरा राखेका थिए । संविधानसभा सदस्य भएदेखि हालसम्मको सबै कुरा राख्दै उनी आफू बिरामी भएको कारणले सोचेअनुसार जनतामा जान नसकेको र त्यसमा आफ्नो त्रुटि भएको भन्दै क्षामा मागेका थिए । 

अब आफूबाट त्यस्तो कहिल्यै हुँदैन भन्दै उनले आफूले थोरै समयसम्म संविधानसभा सदस्य भएर बसे पनि अरूभन्दा बढी काम गरेको भन्दै कामको फेहरिस्त सुनाएका थिए । मधेसी दल नजितेसम्म मधेसको समस्या समाधान नहुने भन्दै उनले फोरम नेपालको उम्मेदवारलाई मतदान गर्न पटकपटक आग्रह गरेका थिए । 

प्रतिनिधिसभा सदस्य राजकुमार यादवले पनि विभिन्न प्रतिबद्धता जनाउँदै मत मागेका थिए । काँग्रेस, एमाले र माओवादीले पटक पटक धोका दिएको धारणा राख्दै मधेसी दल जिते मात्र मधेसको मुक्ति हुने दाबी गरेका थिए । 

यी सबै कुराको स्पष्टीकरण दिइसकेपछि त्यहाँ उपस्थित मतदाताहरू जयमधेसको नारा लगाउँदै फोरम नेपालमा नै मतदान गर्ने प्रतिबद्धता जनाएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप