शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वाम गठबन्धनबाट अपेक्षा के गर्ने ?

बुधबार, १३ मङ्सिर २०७४, १६ : ०२
बुधबार, १३ मङ्सिर २०७४

प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि माओवादी केन्द्र र नेकपा एमालेबीच भएको गठबन्धनप्रति नेपाली जनतामा अपार उत्साह देखियो । यी दुई पार्टीको गठबन्धनले चुनावी परिणाम दुईतिहाइ बहुमतको हैसियतसम्म पु¥याउन सक्ने अनुमान भइरहेको छ । दुईतिहाइ बहुमतको सरकार वामपन्थी दलको बन्यो भने त्यो सरकारबाट नेपाली जनताले निश्चय पनि नेपालको विकास र समृद्धि हुने आशा गर्नु स्वाभाविक हुन्छ । त्यही आशा र विश्वासका साथ नेपाली जनताले वामपन्थी सरकारको चाहना पनि गरेका हुन् भन्ने बुझ्न सकिन्छ ।  नेपालका सबै कम्युनिष्ट नेताहरूले कम्युनिष्ट एकताको आवश्यकतालाई औंल्याउने गरिरहेको पाइन्छ । नेताहरूको एकताको चाहना जनताको भावनासँग पनि जोडिएको देखिन्छ । त्यसैले पनि यसपटक बनेको चुनावी गठबन्धन देशको आश्यकता हो र जनताको चाहना पनि हो भन्न सकिन्छ ।

एउटा इमानदार, लगनशील र निष्कलंकित अग्रज कम्युनिष्ट नेता खगुलाल गुरुङको अभिनन्दन गर्ने कार्यक्रममा देशका सबै कम्युनिष्ट नेताहरू भेला भएर कम्युनिष्ट एकताको आवश्यकता महसुस गरेका थिए । सबै कम्युनिष्ट नेताहरू एउटै मञ्चमा उभिएर कम्युनिष्ट एकताको आवश्यकता महसुस गर्ने नेताहरूले एकताको निम्ति पहल गर्लान् भनेर त्यतिबेलैदेखि आशा पलाएको हो । ढिलै भए पनि चुनावी गठबन्धनका नाममा एमाले र माकेका नेता र कार्यकर्ताबीचमा अपनत्वको भावना विकसित भएको पाइन्छ । एकआपसमा प्रतिस्पर्धीजस्ता देखिने एमाले र माकेका नेता, कार्यकर्ताहरू एउटै झण्डामुनि गोलबद्ध भएको पाउँदा वाम पक्षधर मतदाता नेपाली जनताले निकै उत्साह पनि देखाएका छन् । वाम सरकार बन्यो भने देश समृद्धितर्पm जाने छ र विकासको गति तीव्र हुनेछ भन्ने आशा नेपाली जनताले लिनु स्वाभाविक हो । माके र एमाले पार्टीका नेताहरूले नेपाली जनताका बीचमा बाँडेका आश्वासन कार्यान्वयन हुने आधार नै वाम सरकार हो ।

त्यसैले वाम सरकारको चाहना पूरा गर्न कम्युनिष्ट पार्टीहरूबीचको एकता नै आवश्यक हुन्छ । त्यो आवश्यकता पूरा हुने आशा नेपाली जनताले गरेका छन् । 
परन्तु कम्युनिष्ट पार्टीहरूबीच एकता भएर मात्र हुँदैन भन्ने कुरा इतिहासले पुष्टि गरिसकेको छ । कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेका विगतका सरकारहरू प्रभावकारी भएनन् । जनताले अपेक्षा गरेअनुसारको काम गर्न कम्युनिष्ट नेतृत्वका सरकारहरू पूर्ण रूपमा असफल भएको विगतले आगामी दिनको पनि सम्भावना संकेत गर्दछ । तथापि जनताले जुन आशा र विश्वासका साथ नेताहरूलाई सत्तामा पु¥याएका हुन्छन् । त्यो आशा र विश्वासप्रति घात हुँदैन भन्ने चेतना अब नेताहरूमा पनि विकसित हुने आशा गर्न सकिन्छ । 

देश यतिबेला विखण्डनको संघारमा पुगेको छ । तराई क्षेत्रलाई विखण्डित गराएरै छोड्ने छिमेकी देशको गतिविधिप्रति जनता सचेत छन् । तराई केन्द्रित राजनीतिक दलहरूलाई एकीकृत गराउन छिमेकी देशको कसरत किन भयो ? यो महत्वपूर्ण प्रश्न नेपालका राजनीतिक दलहरू, खासगरी वामपन्थी दलका नेताहरूले गम्भीरतापूर्वक यो प्रश्नलाई लिनु पर्दछ । छिमेकी देश भारतले नेपालप्रति सकारात्मक सोच राख्दैन भन्ने कुरा  जति ढिलो बुझिन्छ, त्यति नै नोक्सानी हाम्रो देशलाई हुनेछ । त्यसैले छिमेकी देशका शासकहरूको नेपालप्रतिको नकारात्मक सोचलाई सबक सिकाउन नेपाल आफैमा आत्मनिर्भर बन्ने बाटो चयन गर्नुपर्दछ । वामपन्थी सरकारले सबैभन्दा पहिले आफ्नो कार्यसूची देशलाई आत्मनिर्भर बनाउनेतर्पm केन्द्रित गर्नु आवश्यक छ ।

हुन त देशलाई आत्मनिर्भर बनाउनका लागि आधारभूत कुरा हामीसँग पर्याप्त छ । तर, त्यसको सदुपयोग गर्न नसक्दा हामी अलमलिएका छौं । हाम्रो देशलाई आत्मनिर्भर तुल्याउन हामीसँग पर्याप्त जलसम्पदा नै काफी छ । जलसम्पदाको उचित सदुपयोग गर्न सक्ने हो भने नेपाल आत्मनिर्भर बन्ने मात्र होइन भारतलाई समेत नेपालमाथि निर्भर बनाउन सकिन्छ । जलविद्युत्को उत्पादन बढाएर भारतलाई त्यसको बजार बनाएर नेपाल–भारतको स्वर्ग बन्न सक्दछ । नेपालसँग रहेको यो शक्तिलाई नेपालका नेताहरूले नै बुझ्न सकिरहेका छैनन् । आपूmमा रहेको शक्तिलाई बुझ्न नसक्दा नेपालका जलसम्पदा भारतको स्वार्थमा मात्र प्रयोग हुने गरी सम्झौताहरू भइरहेका छन् । कार्यान्वयन पनि हुन नसक्ने र नेपालले आफ्नो स्वामित्व पनि गुमाउने    गरी भएका विभिन्न सम्झौताहरू खारेज गर्नुको विकल्प नेपालसँग अरु छैन । 

नेपालले आफ्नो गौरव गाथा गाउँदै आएको नेपालका जलसम्पदा भारतको स्वामित्वमा हस्तान्तरण भइरहेका छन् । गण्डकी, कोशी, कर्णाली, मेची र महाकाली हाम्रो देशका गहना हुन् । यी गहना अब कसका भएका छन् ? हामी नेपाली जनता गम्भीर भएर सोच्नुपर्ने स्थिति छ । नेपालको जलसम्पदा भारतको जिम्मामा लगाउने हो भने नेपाललाई आत्मनिर्भर बन्ने अरु कुनै बाटो छैन । यो अवस्थाबाट नेपाललाई बचाउन अरु कुनै पनि शक्तिले सक्ने छैन । त्यसैले नेपाली जनताले वाम गठबन्धनप्रति ठूलो उत्साह देखाएका छन् । यो कुरा वाम नेताहरूले बुझ्न जरुरी छ । अब पनि लम्पसार परेर देशलाई धोका दिइयो भने नेपाली जनताले माफी गर्ने छैनन् । नेताजीहरूलाई चेतना भया !
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निमकान्त पाण्डे
निमकान्त पाण्डे
लेखकबाट थप