शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्याटल ग्राउन्ड सुनसरी : भोट बैङ्क मात्र बने कोशीपीडित

बुधबार, १३ मङ्सिर २०७४, १५ : २२
बुधबार, १३ मङ्सिर २०७४

नेत्र पन्थी र एसके यादव
 

सुनसरी– मङ्सिर २१ मा हुन लागेको प्रदेश र प्रतिनिधिसभाको चुनावमा कोशीपीडित र बाढीपीडितको मुद्दा निकै ठूलो छ । कोही पनि उम्मेदवार यो मुद्दाबाट बाहिर जान सक्दैनन्, यसलाई आफ्नो प्राथामिक एजेन्डामा राख्छन् । 

नेताका यी एजेन्डासँग पीडितहरू चाहिँ त्यति सन्तुष्ट छैनन्, जसको गतिलो उदाहरण कोशी गाउँपालिका–४ बुधगन्जमा पुग्दा देखियो । यहाँ सयौँका सङ्ख्यामा कोशी पीडित छन् । दस वर्ष बित्दा पनि ती कोशीपीडितका दुःख उस्तै छन् । यहाँका बासिन्दा उम्मेदवारको नजरमा मतदाता मात्र हुन् । यो गाउँ सुनसरीको प्रतिनिधिसभा क्षेत्र ४ मा पर्छ । 

रातोपाटीको टिम मङ्गलवार दिउँसो बुधगन्ज पुग्दा स्थानीय जम्मा भए । आफ्ना गुनासा सुनाए । सारुहुन खातुन यही बस्तीमा बस्छिन् । उनका श्रीमान विदेशमा छन् । उनले सुनाइन्– ‘नेता भोट माग्न मात्र आउँछन् । केही काम गर्दैनन् ।’

बुधगन्जदेखि कुशवाहसम्मको सडक अस्तव्यस्त छ । यहाँबाट केटाकेटी स्कुल जाने आउने गर्छन् । धुलैधुलो सडकमा बिहान सफा कपडा लगाएर स्कुल गएका केटाकेटी साँझ फर्कदा नचिनिने हुन्छन् । महिला र वृद्धवृद्धा पनि यो समस्या झेलिरहेका छन् । त्यसैले होला सारु हुन खातुनले भनिन्, ‘यति बाटो त बनाएका छैनन्, यी नेताबाट केको आशा गर्ने ?’

मोहम्मद सैया मियाको परिवारलाई कोशीपीडित हो । १० वर्ष अगाडि जतिबेला कोशी बाँध फुटयो उनको एक बिगाह जग्गा सबै पुरियो । अहिलेसम्म पुरिएको जग्गामा खेती गर्ने अवस्था बनेको छैन् । भन्छन्– ‘४० मन धान हुने खेत पुरियो । त्यसपछि हामी सकुम्बासी नै भयौँ । अहिले ज्याला मजदुरी गरेर जीवन चलाइरहेका छौँ ।’

आफ्नो सानो झुपडी अगाडिको सडक बनाउने भनेर नेताले भोट मागेको तर नबनाइदिएको उनको गुनासो छ । ‘बाटो बनाउनछौँ, भोट दिनुस भनेका थिए । कसैले बनाएनन् ।’ उनले भने– ‘अहिले पनि भोट माग्नलाई त्यही कुरा भनेका छन् । हामीले नेताका कुरामा कसरी विश्वास गर्ने ?’

बुधगन्ज पुग्दा गरिब बस्तीको झल्को आउँछ । केटाकेटी त्यति सफा छैनन् । फाटेका कपडा र खाली खुट्टा देखिन्छन् । महिलाहरू पनि सफाइमा ध्यान दिएका छैनन् । युवाहरू गफमै व्यस्त छन् । 

चुनावका मुखमा यो बस्तीले नेताबाट केही न केही अपेक्षा गरेको जस्तो देखिन्छ । तर, भोटपछि नेताले गर्छन् भन्ने विश्वास चाहिँ बस्तीमा कसैमा छैन् । 

नेताहरूले भने आफ्नो चुनावी एजेन्डामा कोशीपीडितको मुद्दा राखेका छन् । 

कोशीपीडितको मुद्दा प्राविधिक विषय मात्र होइन्, यो नेपाल र भारतसँग जोडिएको सरोकारको विषय हो । 

कोशी बाढीपीडित समस्या नेपाल र भारत सरकारबीच सन् १९५४ अर्थात विसं २०११ मा कोशी सम्झौताबाट सिर्जित समस्या हो । २०२२ सालमा आएको बाढी र त्यसपछि बेला बेलामा कोशीको कटानले हजारौँ स्थानीयहरू पीडित छन् । बाढीपीडितसँगै यहाँ यसक्षेत्रका सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या पनि छ । चुनावमा ती मतदाताको पनि अर्थपूर्ण सङ्ख्या छ ।   

२०६५ साल भदौमा कोशी बाँध फुटेर विनाश निम्ताएपछि सिङ्गो देशको ध्यान खिचिएको थियो । १० वर्ष पुग्दा पनि त्यो विनासको पीडा जहाँको त्यहीँ छ । कोशी सम्झौता राजनीतिक मुद्दा बन्छ तर यसले सिर्जित समस्यामा न नेताको न सरकारको पर्याप्त ध्यान पुगेको छ । 


पछिल्लो दस वर्षमा दलहरूबीचको अविश्वास र पटक पटक सरकार फेरिदा कोशीपीडितको समस्या हल गर्न कठिन भएको मान्नेहरू पनि छन् । एमाले सांसद भीम आर्चायको नेतृत्वमा सभासद्हरूको कोशी सरोकार समूह पनि बनेको थियो । समूहले स्थलगत निरीक्षण पनि गरेको थियो । त्यसपछि नेपाल र भारतका मन्त्रीस्तरीय छलफल पनि भएको थियो । तर, अहिलेसम्म पीडितले क्षतिपूर्ति र सट्टाभर्ना पाएका छैनन् । पीडितहरू यसैका आशामा छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला दुई देशका प्रधानमन्त्रीबीच पनि यो विषयमा छलफल भएको थियो । 

सुनसरी क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा २ का प्रदेशसभा उम्मेदवा रहेका एमाले सचिव भीम आचार्यले कोशीपीडितको समस्या हल गर्न आफूले धेरै पहल गरेको बताउँछन् । उनले यो चुनावमा पनि यो मुद्दालाई अगाडि सारेका छन् । रातोपाटीसँगको अन्तर्वार्तामा उनले कोशीपीडितका समस्या समाधानमा आफू लागिरहेको बताए । 

‘कोशी उच्च बाँध निर्माणका सन्दर्भमा पहिला कोशी बाढीपीडित समस्या हल गर्ने र त्यसपछि मात्र अर्को विषयमा छलफल गर्ने कुरालाई अगाडि बढाएको छु ।’ उनले भने– ‘कोशीटप्पु वन्यजन्तु आरक्षणको आकार बढाउने र कोशी भँगालो बीचको सबै जमिन लिने काम अगाडि बढिरहँदा पनि कोशी बाढीपीडितलाई क्षतिपूर्ति दिने विषय अगाडि बढाएको छु । त्यो सकरात्मक दिशमा अगाडि बढेको छ ।’

सुनसरी–४ का प्रतिनिधिसभाका लागि उम्मेदवार रहका काङ्ग्रेस नेता एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि कोशीपीडितको समस्या समाधान गर्ने कुरा आफ्नो चुनावी एजेन्डा रहेको बताए । आफ्नै निवासमा रातोपाटीलाई दिएको अन्तर्वार्तामा उनले भने– ‘कोशीपीडित, कोशी टप्पु, शिक्षा स्वास्थ्य, सिंचाइलगायतका समस्या पाँच वर्षमा पूरा गर्छु ।’

सुनसरीमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि ४ र प्रदेश सभा निर्वाचनका लागि ८ निर्वाचन क्षेत्र छन्  । जिल्लामा कूल ४ लाख ७४ हजार ३ सय मतदाता छन् ।


सुनसरी क्षेत्र नं. १ मा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख २२ हजार ६ सय ८ मतदाता रहेका छन् । वाम गठबन्धनबाट एमालेका जय राई र सङ्घीय समाजवादी फोरमबाट अशोक कुमार राईबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ नेपाली काङ्ग्रेस र सङ्घीय समाजवादी फोरम नेपालले चुनावी तालमेल गरेका कारण नेपाली काङ्ग्रेसले उम्मेदवार उठाएको छैन ।  

सुनसरी क्षेत्र नं. २ मा १ लाख ३० हजार ३ सय ७० मतदाता रहेका छन् । यो निर्वाचन क्षेत्रमा वाम गठबन्धनबाट माओवादी केन्द्रका डम्बर सुवेदी, नेपाली काङ्ग्रेसका सीताराम मेहता र सङ्घीय समाजवादी फोरमका तेज नारायण चौधरी चुनावी मैदानमा छन् ।

सुनसरी क्षेत्र नं. ३ मा १ लाख ९ हजार ८ सय ४१ मतदाता छन् । यो क्षेत्रमा वाम गठबन्धनबाट एमालेकी भगवती चौधरी र काङ्ग्रेसका नेता विजयकुमार गच्छदार बीच चुनावी प्रतिस्पर्धा हुँदैछ । गच्छदार उपप्रधान तथा स्थानीय विकास मन्त्री छन् । 

सुनसरी क्षेत्र नं. ४ मा १ लाख ११ हजार ४ सय ८१ मतदाता छन् । यहाँ आगामी प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनबाट एमालेका रमेश श्रेष्ठ, नेपाली काङ्ग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र फोरम लोकतान्त्रिकका महेन्द्र यादव चुनावी प्रतिस्पर्धामा छन् । कार्की अर्थमन्त्री हुन् । 

बर्सेनि तराई मधेसमा बाढीको कहर आउँछ । यसमा नेपालको राज्य संयन्त्रको पूर्वतयारीको अभाव त रहन्छ नै त्यत्तिकै जिम्मेवार छन् सीमा क्षेत्रमा भारतीय पक्षबाट बनाइएका एकतर्फी बाँध तथा तटबन्धहरू । तर, यो विषय चुनावमा कतै उठेको छैन । तराई मधेसको डुबान भारतीयपक्षले एकतर्फी रूपमा बनाएका बाँधसँग जोडिएको विषयमा चुनावमा कसैले बोल्न चाहँदैनन् । भारतले नेपालको पूवदेखि पश्चिमसम्म सीमा क्षेत्रमा ठाउँठाउँमा बाँध बनाएको छ । जसको असर नेपालले भोगिरहेको छ । 

तस्बिर : बिजु महर्जन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप