बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रूपन्देही ३ मा खाँडको निर्वाचन क्षेत्र ‘हाइज्याक’ गरेका बोहोरा र भुसालको यस्तो छ चुनावी टक्कर

बुधबार, १३ मङ्सिर २०७४, ०९ : ४०
बुधबार, १३ मङ्सिर २०७४

रुपन्देही—मंसिर १२ गते मंगलबार बिहान साढे ९ बजे रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १४ खैरियाटोलमा लोकतान्त्रिक गठबन्धनले चुनावी सभा आयोजना गरेको थियो । यो रुपन्देही क्षेत्र नं. ३ अन्र्तगत पर्दछ । चुनावी सभाका मुख्य बक्ता थिए राप्रपा प्रजातान्त्रिकका नेता तथा स्वास्थ्यमन्त्री दीपक बोहोरा ।

साढे ११ बजेसम्म भएको चुनावी सभाको अन्तिमतिरका बक्ता रहेका मन्त्री बोहोराले सभामा आफूले गरेका कामको फेरिहस्त सुनाए । उनले जाँदा जाँदै भने, २१ गतेसम्म मलाई साथ दिनुहोस्, २२ गतेदेखि तपाईहरुलाई म साथ दिन्छु ।

उनले बाम गठबन्धन आफ्नो लागि चुनौती नभएको भन्दै आफूले विगतदेखि गरेको कामको मूल्याङ्कन जनताले गर्ने र आफ्नो जित हुने दावी गरे ।

यो निर्वाचन क्षेत्रमा बाम गठबन्धनबाट एमालेका घनश्याम भुसालले उनलाई टक्कर दिएर चुनावी मैदानमा उत्रिएका छन् । चुनावी मैदानमा उत्रिएका यी दुई उम्मेदवारहरुको राजनीतिक चरित्र भने फरक छ । पञ्चालयत कालदेखि गणतन्त्रसम्म भुसाल र बोहोराको सम्बन्ध सधै चिसो रहेको स्थानीय बताँउछन् । स्थानीय ब्यवसायी धर्मराज ज्ञवाली भन्छन्– पञ्चायत कालदेखि नै हाटहुटे ग्याँङको नेतृत्व बोहोराले गरे भने भुसालले क्रान्तिकारी यूवाहरुलाई समेटदै ३६ सालतिरबाट अखिलको राजनीति गरे ।

यता बोहोराको चुनावी सभामा भेटिएका एक ब्यापारी नारायण चन्दले भने –अरुले मण्डले भनेर प्रचार गर्छन्, विकास निर्माण सबै बोहोराले गर्छन्, घनश्याम भुसाल काठमाडौं बसेर केन्द्रको राजनीति गर्छन्, उनलाई विकास निर्माण के हो थाहै छैन । अनि कसले जित्छ चुनाव आफै भन्नुस् ।

पञ्चालयत जोगाउन उक्त समयमा बोहोराले राष्ट्रबादी बिद्यार्थी मण्डलको शुरुवात रुपन्देहीबाट नै गरेका थिए । त्यो बेलामा निरञ्जन थापा र बिनोद थापा राजनीतिक स्वभावका थिए भने बोहोरा गुन्डागर्दीमा रमाउने गर्थे । उता भुसाल भने जनमत संग्रह देखि अनेरास्ववियुबाट बिद्यार्थी आन्दोलनमा लागे ।
 
पूर्व रक्षामन्त्री तथा काग्रेस नेता बालकृष्ण खाँडको निर्वाचन क्षेत्र यतिबेला राप्रपाका दीपक बोहोराले हाइज्याक गरेका छन् । उता खाँड भने समानुपातिकमा थन्किएका छन् ।  
 

विकास मेरो प्राथकिताः  बोहोरा
कार्यक्रम स्थलमा रातोपाटीसँग कुरा गर्दै मन्त्री बोहोराले जनताले मुख्य रुपमा विकासको चाहना राखेको बताँउदै जनताले आफ्नो क्षेत्रको विकास, कालोपत्रे बाटो, खानेपानी सुविधा चाहेको बताए । संविधान जारी पछि त्यसको कार्यान्वयन र लोकतन्त्रको रक्षा र विकास निमार्ण चाहेकोले त्यो पूरा गर्न आफू चुनावी मैदानमा होमिएको उनको प्रतिक्रिया थियो ।

तत्कालीन रुपन्देही क्षेत्र नं. २ मा ७० सालमा आफूलाई विजयी गराएपछि उक्त क्षेत्रका ८५ वडामा आफूले गरेको विकास निर्माण र पूर्वाधार विकासलाई हेरेर आफुलाई विजयी गराउने दावी गरे । उनले बुटवललाई प्रदेश नं. ५ को राजधानी बनाँउने, अन्र्तराष्टिय विमानस्थल बनाँउने, सुनौली नाकादेखि कोरलासम्म ब्यापारिक मार्ग बनाएर चिनसँगको ब्यापारलाई अगाडि बढाँउने, भीम अस्पतालाई ५० बेडको बनाँउने, मेडिकल कलेज खोल्ने आफ्ना एजेन्डा रहेको उनले बताए ।
आफू धेरै पटक मन्त्री भएका बेला जनताको सिधै गुनासो सुन्ने गरेको बताँउदै आफ्नो फोन नंबर लिन र केही समस्या परे सिधै फोन गर्न समेत आग्रह गरे ।

चुनावी सभा सकिन लागेको बेला दुई महिला बोहोरालाई आफ्नो केही समस्या सुनाई रहेका थिए । उनले चुनाव पछि भेट्नुस तपाईको समस्या समाधान गर्न पहल गर्छु भन्ने आश्वासन दिएर फर्काए ।
 

चुनाव जित्ने मेरो आधार जनमत  घनश्याम भुसाल
एमालेका उपमहासचिव समेत रहेका घनश्याम भुसालले गाँउपालिका, नगरपालिकाको मत बाम गठबन्धनको पक्षमा रहेको, स्थानीय  तहको नेतृत्व पनि बाम गठबन्धनको पक्षमा रहेकोले सजिलै जित निकाल्ने बताए । 

रातोपाटीसँग कुरा गर्दै नेता भुसालले नेपाली कांग्रेस उनका प्रतिष्पर्धी बोहोराको पक्षमा नरहेको बताँउदै प्रजातन्त्रका लागि लडेका कांग्रेसहरुले हलोमा भोट हाल्न नसक्ने बताँए । बोहोराको संगठन पनि राम्रो नभएकोले आफु विजयी हुनेमा कुनै शंका नरहेको भुसालको दावी छ ।

उनले रातोपाटीसँग कुरा गर्दै भने –दुई चार जना सुन्ड मुन्डलाई लिएर संगठन बनाँउन पनि सकिँदैन, ब्यक्तिगत रुपमा बोहोरा बदनाम छन् जो पञ्चायतदेखि थिए । अहिलेसम्म पनि छन् । भाषणले विकास हुने भए पहिले नै भइसक्थ्यो, ४२ सालदेखि बोहोरा मन्त्री छन्, उनले हरेक चोटी अनेक काण्डहरु गरिरहेका छन् । त्यो कुरा जनताले झल्झली देखिरहेका छन् । जनमतमा पनि, र अंगगणितमा पनि हामी अगाडि छौँ । मेरो जीवनमा कुनै दाग लागेको छैन, तर उनको स्टेप स्टेपमा दाग लागेको छ, अब मुलुकमा बाम सरकार बन्छ, त्यसले रुपन्देही र बुटवलको विकास गर्छ  ।

भुसालले राप्रपा प्रजातान्त्रिकको देशभरमा ४ जना प्रतिनिधी सभाको उम्मेदवार रहेको बताउदै त्यो पार्टीले सरकार बनाँउछु, विकासको खोलो बगाँउछु भनेर दिँउसै रात पार्न खोजेको बताए । उनले भने –हामीले गौतमबुद्ध जन्मिएको यो भुमिलाई विश्व मानचित्रमा तीब्र विकास गर्नुछ । संभावनाले भरिपूर्ण यो ठाँउ हो, विकासको एउटा ठूलो द्धार पनि बुटवल हो । पर्यटनको विकास गरियो भने यहाँका सिंगो जनताको जीवनस्तर उकास्न सकिन्छ ।

उता माओवादीका समानुपातिक उम्मेदवार रामप्रसाद बञ्जाडे भन्छन्— रुपन्देही बामपन्थीको किल्ला बन्नेछ, सूर्य र हँसिया हथौडा अंकित उम्मेदवारहरुले यो पटक विजयी भएरै छोड्नेछन् । बिष्णु पौडेलको घरदैलो अभियानमा भेटिएका माओवादी नेता बञ्जाडेले प्रतिनिधी सभा तर्फ सूर्यलाई भोट माग्दै समानुपातिकमा भने हँसिया हथौडामा भोट दिन आग्रह गरे ।

यस्तो छ स्थानीय तहको मतको अंकगणित
गत स्थानीय तहको निर्वाचनमा यहाँ काङ्ग्रेसले ११ हजार १ सय ९८ र राप्रपाले पाएको ३ हजार ८ सय ३२ गरी लोकतान्त्रिक गठबन्धनको पक्षमा १६ हजार २० मत पाएको थियो । यस्तै एमालेले पाएको १३ हजार ५ सय १७ र माओवादीले पाएको ४ हजार ४ सय ५ गरी वाम गठबन्धनको पक्षमा १७ हजार ९ सय २२ मत रहेको छ । स्थानीय तहको निर्वाचनको अङ्क हेर्ने हो भने यहाँ वाम गठबन्धन २ हजार ९ सय २ मतान्तरले अघि रहेको छ । सानो मतान्तर भएका कारण यहाँ दुई गठबन्धनबीच कडा चुनावी प्रतिस्पर्धा हुने आँकलन गर्न सकिन्छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप