शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्याटल ग्राउण्ड कपिलबस्तु १ : पूर्व ‘डिप्लोम्याट’ र ‘पूर्व डेपुटी’ कमान्डरको रोचक प्रतिस्पर्धा

बुधबार, १३ मङ्सिर २०७४, ०९ : २१
बुधबार, १३ मङ्सिर २०७४

ओम शर्मा/ शम्भु दंगाल

कपिलबस्तु— कपिलबस्तुको मायादेवी गाँउपालिका वडा नं. ९ पकौंडी बजारको चोक छेउमा स्थानीय घनश्याम मुराईको पान पसल छ । 

मुराई हरेक बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म पान बनाएर बिक्री गर्छन् । उनले आजभोली आफ्नो पसल अगाडिबाट हरेक दिन राजनीतिक दलका कार्यकर्ताको जुलुस तथा घरदैलो कार्यक्रम देखिरहेका छन् । उनको पान पसलमा पनि नेता कार्यकर्ताहरुले पान बनाएर खाने र आफ्नो पार्टीलाई भोट दिन आग्रह गर्ने गरेका छन् । 

उनले पनि भोट माग्नेहरुलाई निराश बनाएका छैनन्, जसले भोट मागे पनि हुन्छ हजुर भन्ने गरेका छन् । रातोपाटीसँगको कुराकानीमा उनले भने, ‘कहिले को पार्टी आँउछ, कहिले को आँउछ, थरी थरीको झन्डा बोक्छ र भन्छ मलाई भोट देउ । हामीले पनि उनीहरु सबैलाई भोट दिन्छु त भनेको छु तर म आफू बिचार गरेर मात्र दिन्छु । भोट माग्न त आँउछन् तर कसैले केही गर्दैनन् ।’

उनको पान पसल छेउ र वरीपरीको स्थान नेपाली कांग्रेसको झन्डा र ब्यानरले छपक्कै छोपिएको छ । मुराईको पान पसलको एक छेउमा छ, नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्व राजदूत दीपकुमार उपाध्यायको चुनावी सम्पर्क कार्यालय । जहाँ बेला बेला पार्टी कार्यकर्तासँगै उपाध्याय पनि आउने गर्दछन् । 

उपाध्याय मंसिर २१ गते हुन लागेको दोश्रो चरणको प्रतिनिधी निर्वाचनमा लोकतान्त्रिक गठबन्धन अन्र्तगत कांग्रेसबाट कपिलबस्तु क्षेत्र नं. १ मा उम्मेदवार बनेका छन् । उनी बामपन्थी गठबन्धनबाट उम्मेदवार रहेका माओवादीका प्रभावशाली नेता चक्रपाणी खनाल बलदेवसँग प्रतिष्पर्धामा रहेका छन् । 

कपिलबस्तु क्षेत्र नं. १ मा पूर्व राजदुत समेत रहेका उपाध्याय र पूर्व माओवादीका डेपुटी कमान्डर समेत रहेका खनालबिचको प्रतिष्पर्धा रोचक हुने भएको छ । एउटै क्षेत्रमा लामो समयदेखि राजनीति गर्दै आएका दुबै उम्मेदवारले एक अर्काको ब्यक्तिगत आलोचना गर्न चाहेनन् । राजनीतिमा प्रतिस्पर्धा भएपनि खनाल र आफूबीच दाजुभाईको सम्बन्ध रहेको उपाध्यायले बताए ।

दुबै उम्मेदवारले आफ्नो मुख्य एजेन्डामा लुम्बिनीको पर्यटन विकासलाई लिएका छन् । बाम गठबन्धनका उम्मेदवार खनालले भने कृषि क्षेत्रमा पनि आमुल परिवर्तन गर्ने एजेन्डा भएको बताए । साथै खनालले प्रदेश राजधानी कपिलबस्तु बनाँउन आफू मरिमेट्ने उल्लेख गरे । 

पयर्टन विकास मुख्य एजेन्डाः उपाध्याय


बुद्धभूमिलाई उत्कृष्ट स्थल बनाउन् र जनताका चाहना पूरा गर्न आफूले हुँदा खाँदाको राजदूत पद छोडेर निर्वाचनमा आएको उपाध्यायले सुनाए । उनले जनताका आवश्यकता पूरा गर्ने योजनाका साथ आफू चुनावी मैदानमा आएको बताउदै बाम गठबन्धन बनेपछि केही चुनौती थपिएको उपाध्यायको स्वीकारोक्ति छ । र यसलाई आफूले स्वभाविक रुपमा लिएको समेत उनले बताए । 

भारतका लागि दुई पटक राजदूतको भूमिका निर्वाह गरेका उनले भारतसँगको सम्बन्धलाई राम्रो र मेलमिलापपूर्ण बनाउन जोड दिए ।  

उनले आफू विजयी भएमा कपिलबस्तु क्षेत्र नं. १ मात्र नभई राष्टिय मुद्दाहरुलाई उठाउने, कपिलबस्तु जिल्लाको विकास र पर्यटन क्षेत्रलाई अगाडि बढाउने चुनावी एजेन्डा रहेको सुनाए  ।

युद्ध भन्दा चुनाव जटिलः चक्रपाणी खनाल बलदेव 
 

युद्ध र चुनावको मोर्चा फरक फरक भएपनि दुइटैमा जटिलता र अप्ठ्यारा पनि पाएको  उम्मेदवार चक्रपाणी खनाल बलदेवले बताए । 

उनले भने— म यो काम गरी छोड्छु भनेपछि सजिलो पनि हुँदो रहेछ । युद्ध मोर्चा आफैंमा एक जटिल बिषय पनि हो र चुनाव चाँही धेरै बिषयका  तानाबानाहरुलाई एकैठाँउमा ल्याएर विश्लेषण गर्नुपर्ने हुँदा चुनाव पनि कम जटिल चाँही होइन रहेछ । २०७० सालमा भएको चुनावमा भन्दा अहिले मैले सरल महशुस गरेको छु । 

उनले २०७० को चुनावमा कारणबस आफूले पराजय भोग्नु परेको भन्दै अहिले २०४६ मा आन्दोलनमा संगै रहेका एमाले पनि साथमा रहेका कारण आफ्नो जित निश्चित भएको दाबी गरे ।

कपिलबस्तुमा कृषि विश्वविद्यालय, कृषिमा आधुनिकीकरण, किसानलाई सरल रुपमा बिउ, मल र सिंचाइको ब्यवस्था गर्ने आफ्नो मूल एजेन्डा रहेको उनले बताए । 

दोश्रो एजेण्डामा पर्यटन रहेको उनले सुनाए । पर्यटनका क्षेत्रमा कपिलबस्तु जिल्ला हेपिएको भन्दै उनले लुम्बिनी गुरुयोजना अन्र्तगत तिलौराकोट सम्मलाई राखिएको भएपनि लुम्बिनी अझै ओझेलमा परेको बताए । लुम्बिनीमा साइबेरियाबाट चरा आउने पोखरी समेत रहेको सुनाउदै यसको कसैले मतलब नगरेको बताए । 
आफू निर्वाचित भएमा लुम्बिनीलाई पर्यटन हव बनाउने योजना रहेको खनालको भनाई छ । लुम्बिनीमा पर्यटनको प्रचुर सम्भावना रहेको बताउदै त्यसको विकासका लागि आफू एक मात्र विकल्प भएको उनको दावी छ । अहिले बाम गठबन्धनको लहर भएको र जनताले विकास गर्ने मान्छे खोजेको र त्यसको लागि आफू उपयुक्त उम्मेदवार भएको खनालले बताए । 

के भन्छन् मतदाता ?
मायादेवी गाँउपालिका पर्कौैडीको सानो तरकारी बजारमा भेटिएका स्थानीय अकवाल अलीको घरमा पनि धेरै उम्मेदवारहरु भोट माग्न आएका छन् । उनको घरबाट श्रीमती   र उनले भोट खसाल्ने छन्  । तर अहिलेसम्म कसलाई भोट दिने भन्नेमा निर्णय गर्न सकेका छैनन् । चुनावको दिनसम्म निर्णय गर्ने बताएका उनले कांग्रेस र बाम गठबन्धन दुबैका समर्थकहरु बराबरी रहेको प्रतिक्रिया दिए । 

यस्तै वाणगंगा नगरपालिका वडा नं. १ का स्थानीय टिकाराम घिमिरेले कपिलबस्तुमा रहेका पहाडी मुलका अधिकांश जनताहरु लोकतान्त्रिक गठबन्धनको पक्षमा रहेको र मधेसी मुलका जनताहरु केही बढी नेपाली कांग्रेसतिर रहेको उनको अनुभव सुनाए । 

उनले भने–यहाँ कांग्रेसका समर्थकहरु पनि छन् तर बहुमत भने बाम गठबन्धनको पक्षमा छ । 

सोही क्षेत्रमा अटोरिक्सा चलाउने सतिस खनालले भने बाम गठबन्धनको प्रभाव बढी रहेको अनुभव सुनाए । स्थानीय तहको मतपरिणाम र स्थानीयहरुको भनाईलाई आधार मान्दा कपिलबस्तु क्षेत्र नं. १ मा बाम गठबन्धनका खनाल र लोकतान्त्रिक गठबन्धनका उपाध्यायबिच कडा प्रतिष्पर्धा  हुने देखिएको छ । 

यस्तो छ स्थानीय तहको मत आँकडा


गत स्थानीय तहको निर्वाचनमा यहाँ काङ्ग्रेसले २५ हजार ५ सय ९, एमालेले २३ हजार १ सय ९४, माओवादीले ६ हजार ५ सय ३, राप्रपाले १ हजार ८ सय ७३ र समाजवादी फोरमले ६ हजार २ सय ५९ मत ल्याएको थियो । यसअनुसार यहाँ वाम गठबन्धनको पक्षमा २९ हजार ६ सय ९७ र लोकतान्त्रिक गठबन्धनको पक्षमा २७ हजार ३ सय ८२ मत रहेको छ ।

स्थानीय तहको दलले पाएको मतलाई आधार मान्ने हो भने यहाँ वाम गठबन्धन २३ सय १५ मतले अगाडि छ । 
यो मतका आधारमा पनि यहाँ बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने अनुमान गर्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप