शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटल ग्राउन्ड मोरङ–६ : ‘विरासत’ भर्सेस ‘सेलिब्रेटी’, ‘प्लेन’ भर्सेज ‘साइकल’ !

मङ्गलबार, १२ मङ्सिर २०७४, ११ : ५१
मङ्गलबार, १२ मङ्सिर २०७४

नेत्र पन्थी र एसके यादव 

विराटनगर– एमाले नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितको घर विराटनगर महानगरपालिकाको वडा नम्बर १२ स्थित बखरी बगैँचामा छ । सोमबार बिहान साढे ६ बजे रातोपाटीको टिम उनको घरमा पुग्दा पण्डित चुनावी प्रचारका लागि घरबाट निस्कने तयारीमा थिए । 

मोरङ–६ बाट प्रतिनिधिसभाका लागि चुनावी मैदानमा उत्रिएका पण्डितले तीनवटा कुराले आफ्नो आत्मसम्मानमा चोट पुर्याएको सुनाए । आत्मसम्मानमा चोट पुर्याएको भन्दै उनले हरहालतमा चुनाव जित्न चाहेका छन् । 

आत्मसम्मानमा कसरी चोट पुग्यो ? 
 

रातोपाटीको प्रश्नमा पण्डितले एक एक गरेर तीनवटा विषय सुनाए । प्रतिनीधिसभाका लागि आफ्ना चुनावी प्रतिस्पर्धी काङ्ग्रेस नेता डा. शेखर कोइरालाको अभिव्यक्तिले आफ्नो आत्मसम्मानमा चोट पुगेको पण्डितको भनाइ थियो ।

पण्डितले आफ्नो आत्मसम्मानमा चोट पुगेको पहिलो कारण सुनाए, ‘डा. शेखर कोइरालाले टेलिभिजनको एउटा अन्तर्वार्तामा लालबाबु पण्डितलाई चिन्दिनँ भन्नुभएछ । मलाई देशले चिन्छ । विदेशले चिन्छ । उहाँले चिन्दिनँ भन्नु मेरो अपमान हो । नेतृत्वको अपमान हो ।’

त्यसपछि उनले दोस्रो कारण सुनाए– ‘डा. कोइरालाले म प्लेन चढेर दौडिँदा पनि धेरै काम छुटेका छन् । साइकल चढ्ने मान्छेले यहाँका सबै काम कसरी गर्छन् भन्नुभएछ । यसले मेरो मन दुख्यो । उहाँले भुल्नुभयो– प्लेनबाट माथि मात्र देखिन्छ, साइकलबाट जमिनमा देखिन्छ । मैले यसअघि साइकल चढेर नै चुनाव जितेको हुँ, उहाँले भुल्नुभएछ ।’

एकछिन रोकिएका पण्डितले अगाडि थपे, ‘म तपाईंहरू मिडियाकै साथीका अगाडि भन्छु, २१ गतेको भोटिङपछि चुनावमै जित्छु ।  जितेपछि साइकल चढेर कोइराला निवास जान्छु र म लालबाबु पण्डित हुँ भनेर डा. शेखरसँग परिचय दिन्छु ।’

त्यसपछि पण्डितले तेस्रो कारण सुनाए, ‘म २०५१ सालमा मोरङ सुकुम्बासी आयोगको अध्यक्ष थिएँ । हजारौँको सङ्ख्यामा लालपुर्जा वितरण गरियो । ९ महिनाको कार्यकालमै एमालेको सरकार ढल्यो । केही काम बाँकी थिए । तर, डा. शेखरले त्यसबेलाको आयोग पनि नक्कली र लालपुर्जा पनि नक्कली भन्नुभएछ । यो विषयमा पनि मेरो मन दुख्यो ।’

पण्डितसँगको अन्तर्वार्ताको ठीक १२ घण्टापछि साँझ रातोपाटीको टोलीले कोइराला निवासमै पुगेर मोरङ–६ का काङ्ग्रेस उम्मेदवार डा. शेखर कोइरालासँग अन्तर्वार्ता गर्यो । अन्य विषयबाहेक हामीले चुनावी प्रतिस्पर्धी पण्डितले लगाएका तीन आरोपबारे डा. कोइरालाको स्पष्टीकरण जान्न खोज्यौँ । त्यसपछि उनले पनि एक एक गरेर आफ्नो कुरा राखे ।

लालबाबुको त्यो चित्त दुखाइप्रति डा. शेखरले आफ्नो प्रष्टिकरण दिए ।

पहिलो प्रष्टीकरण थियो– ‘हो, म मेरो प्रतिद्वन्द्वीलाई चिन्दिनँ । प्रतिद्वन्द्वीलाई चिनियो भने त सक्किगयो नि । मेरो अर्जुनदृष्टि रूख चिन्हमा छ । त्यसमा कसैले कुनै शङ्का नगर्नुहोस् । जब कि लालबाबु पण्डितसँग मेरो अन्त्यन्तै राम्रो सम्बन्ध छ । पीआरको विषयमा उहाँलाई बल दिने काम मैले गरेको हुँ भन्ने कुरा उहाँले टेलिभिजनलाई पटक पटक भनिरहनुभएको छ । मैले भनिरहनुपर्दैन । पीआरमा इस्युमा डा. शेखरले मलाई ठूलो सहयोग गर्नुभएको छ भनेर उहाँले पटक पटक भन्नुभएको छ । पीआरको इस्युमा म पनि कडा थिए । उहाँ मन्त्री हुनुहुन्थ्यो, म सांसद थिएँ ।’

प्लेन र साइकलका विषयमा लालबाबुको आरोपमा डा. शेखरले भने– ‘म कहिल्यै यस्ता कुरा गर्दिनँ । लालबाबु झुठ बोलिरहनुभएको छ । यति मात्र हो ।’

नक्कली सुकुम्बासी आयोग र धनीपूर्जाबारे लालबाबुको भनाइमा डा. शेखरको जवाफ छ, ‘लालबाबु पण्डित आयोगको नक्कली अध्यक्ष होइनन् । मनमोहन अधिकारीको पालामा लालबाबु मोरङको अध्यक्ष हुनुहुन्थ्यो । मलाई यो कुरा थाहा पनि थिएन । कसैले कागजात देखाएका पनि थिएनन् । यसपालि लालबाबु चुनाव उठिसकेपछि साथीहरूले कागजात ल्याएर देखाए । हामीलाई उहाँले लालपुर्जा त दिनुभयो, हामी मालपोत जान्छौँ श्रेस्तामा जग्गा नै छैन भन्नुभयो । म लालपुर्जा नक्कली भन्दिनँ । तर, २२ वर्ष भयो ती मानिसहरू मालपोत गएका छन्, तर जग्गा भेटाएका छैनन् । तपाईं जानुस्, लालबाबुको हस्ताक्षर भएको कागज छ । त्यो के हो ?’ 

तर, सोमबार दिउँसो मोरङको टङ्किसिनवारीमा भएको कार्यक्रममा डा. शेखरले नक्कली लालपुर्जाको कुरा उठाएका थिए । चुनावी सभालाई सम्बोधन गर्दै उनले भनेका थिए– ‘हामी एमालेजस्तो नक्कली लालपुर्जा बाँड्दैनौँ । 
 
काङ्ग्रेसको विरासत रहेको भनिएको मोरङमा यसपालि चुनावी प्रतिस्पर्धा रोचक छ । मोरङका ६ वटै प्रतिनिधिसभाका क्षेत्रमा काङ्ग्रेस र वाम गठबन्धनका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा छ । यही प्रतिस्पर्धामा छन्, डा. शेखर कोइराला र लालबाबु पण्डित । सबैभन्दा रोचक यो छ कि, डा. शेखर कोइराला परिवारको ‘विरासत’सहित चुनावी मैदानमा छन् । उता लालबाबु चाहिँ ‘सेलिब्रेटी’ उम्मेदवार भनेका छन् । त्यसैले यहाँको चुनाव ‘विरासत’ भर्सेस ‘सेलिब्रेटी’ बन्न गएको जस्तो देखिन्छ । पण्डित पूर्वसामान्य प्रशासन मन्त्री हुन् भने कोइराला नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य हुन् ।

पण्डित साइकल चढेर बेलाबेला चुनावी प्रचारमा जान्छन् । उनलाई हेर्ने र सुन्नेहरूको भीड ठूलै हुन्छ । राजकुमार गौतम, जो एमाले समर्थक हुन् । उनी पण्डितलाई चुनाव जिताउन अमेरिकाबाट शनिबार मात्र नेपाल आएका रहेछन् । विराटनगरको एउटा चिया पसलमा उनी भेटिएका थिए । 

पण्डित कोइराला परिवारको ‘विरासत’ छ भन्ने मान्दैनन् भने डा. शेखर पनि आफू ‘विरासत’मा विश्वास नगर्ने बताउँछन् । ‘म शेखरको उम्मेदवारीलाई ‘विरासत’का रूपमा लिन्नँ । यहीँबाट मनमोहन अधिकारी पहिलो कम्युनिस्ट प्रधानमन्त्री बन्नुभयो । भरतमोहन अधिकारीले यहीँ राजनीति गर्नुभयो । मदन भण्डारीले पनि यहीँबाट राजनीति गर्नुभयो । म पनि ३४ वर्षदेखि यही राजनीतिमा छु । २०५८ सालदेखि यहाँ काङ्ग्रेस र वाम मत यस्तै हो । मोरङ कोइराला परिवारको ‘विरासत’ हो भन्ने म मान्दिनँ ।’


‘विरासत’ जोगाउने विषयमा जब हामीले डा. शेखरसँग कुरा गर्र्यौँ, उनले जवाफ दिए, ‘विरातमा विश्वास गर्दिनँ, काङ्ग्रेस भनेको एउटा पहिचान हो । काङ्ग्रेस भनेको समाजिक पहिचान हो यसका लागि विरासतको आवश्यकता पर्दैन ।’
    
पण्डितले नाकाबन्दीका बेला डा. शेखरले मौन समर्थन गरेको आरोप लगाए । 

पण्डितलाई अन्तिममा सोध्यौँ– तपाईंको चुनौती के हुन् ? उनले प्रतिस्पर्धीको पारिवारिक ‘विरासत’ र आर्थिक रूपमा कमजोरीलाई आफ्ना चुनौती ठाने । 

त्यसो भए चुनावी खर्च कसरी जुटेको छ ? पण्डितले जवाफ दिए, ‘म गरिबलाई गरिबको सहयोग छ । १००–२०० को रिचार्ड कार्ड पनि आएको छ । एक एक सय उठाएर कतारबाट मजदुरले ६० हजार पठाएका छन् । अस्टे«लियबाट राधिका पोखरेलले ५ लाख १ सय ११ रुपियाँ पठाउनुभयो । उहाँको आफन्तले पत्रकार सम्मेलन गरेर मलाई चेक दिनुभयो । म जनताको बीचमा छु । मत किनेर म चुनाव लड्दिनँ । नैतिकताको राजनीति गर्छु ।’

विराटनगर उद्योगी व्यापारीको क्षेत्र, उनीहरूको पनि त सहयोग होला नि ? पण्डितले भने– ‘धनीले धनीलाई पैसा दिने हो । म गरिब छु । मलाई धनीको सहयोग छैन ।’

तर, कोइराला परिवारका सदस्य डा. शेखरलाई चुनावका लागि पैसाको अभाव नहुन सक्छ । यद्यपि चुनावी खर्चबारे समय अभावका कारण हामीले कोइरालासँग कुराकानी गर्न पाएनौँ । 

स्थानीय तहमा डा. शेखर र पण्डितका एजेन्डा उस्तैउस्तै छन् । तर, चुनावी सभामा डा. शेखरले काङ्ग्रेसलाई भोट दिनुपर्ने दाबी सुनाए, ‘कम्युनिस्टको निरङ्कुशताको अन्त्यका लागि काङ्ग्रेसलाई भोट दिनुस् । प्रजातन्त्र र लोकतन्त्रको सुदृढीकरणका लागि रूखमा भोट हाल्नुस् । एकमुष्ठ सामाजिक सुरक्षाका लागि काङ्ग्रेसलाई जिताउनुहोस् । विराटनगरलाई एक नम्बर प्रदेशको राजधानी बनाउनका लागि काङ्ग्रेसलाई भोट हाल्नुहोस् । पूर्वाअञ्चल विश्वविद्यालयका हातामा एक वर्षभित्र मेडिकल कलेज स्थापनाका लागि काङ्ग्रेसलाई भोट दिनुस् ।’

उता पण्डित चाहिँ डा. शेखरले नोबेल मेडिकलसँग जोडिएर पूर्वाअञ्चल विश्वविद्यालयको मेडिकल शिक्षाको काम रोकेको आरोप लगाए । पण्डितले थपे, ‘डा. शेखरले विराटनगरलाई १ नम्बर प्रदेशको राजधानी बनाउन चाहनुभएको छैन । उहाँले जाली कुरा गरिरहनु भएको छ ।’

अन्य क्षेत्रमा जस्तै स्थानीय तहको अङ्कगणितमाथि पनि उम्मेदवारको चासो छ । यो निर्वाचन क्षेत्रमा आगामी निर्वाचनका लागि १ लाख १० हजार ३ सय २२ मतदाता रहेका छन् ।

स्थानीय तहको चुनावी हिसाबले एमालेका पण्डितभन्दा काङ्ग्रेसका डा. शेखरलाई बढी मत आउन सक्छ । गत स्थानीय तहको निर्वाचनमा मोरङ क्षेत्र नं. ६ मा नेपाली काङ्ग्रेसले १९ हजार ८ सय २, नेकपा एमालेले १८ हजार १ सय ६८, माओवादी केन्द्रले ८ हजार ६८, राप्रपाले २ हजार ५ सय ९९, फोरम लोकतान्त्रिकले ८ हजार १ सय ९६ र सङ्घीय समाजवादी फोरमले ४ हजार ६ सय ७७ मत पाएका थिए । 

काङ्ग्रेस र फोरम लोकतान्त्रिकबीच एकता भइसकेको छ । यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा २६ हजार २ सय ३६ मत रहेको छ भने काङ्ग्रेसलाई २७ हजार ९ सय ९८ मत रहेको छ । यस आधारमा यहाँ वाम गठबन्धनभन्दा नेपाली काङ्ग्रेस १७ सय ६२ मतले अगाडि रहेको छ । लोकतान्त्रिक गठबन्धनमा रहेको राप्रपाको २५ सय ९९ मत छ । राप्रपाले पनि काङ्ग्रेसलाई समर्थन गर्ने बताएको छ । अङ्कगणितमा पण्डितभन्दा डा. शेखर अगाडि छन् । 

यही कारण हुन सक्छ, डा. शेखर वाम गठबन्धनले आफ्नो निर्वाचन क्षेत्रमा केही असर नपार्न बताउँछन् । उनले भने– ‘म वाम गठबन्धन भन्दिनँ, कम्युनिस्ट गठबन्धन भन्छु । यसले देशभर प्रभाव पार्न सक्छ र पार्छ पनि । तर, यहाँ कुनै असर गर्दैन । हाम्रो मत धेरै छ ।’

मोरङ–६ मा डा. शेखर र लालबाबुसँग नयाँ शक्तिले महिला उम्मेदवार उठाएको छ । नयाँ शक्तिकी उम्मेदवार विमला अर्यालले हामीसँगको भेटमा डा. शेखर र लालबाबुको पत्नीले आफूलाई भोट दिने बताइन् । ‘कोइराला र पण्डितजीको म्याडमले मलाई भोट दिनुहुन्छ ।’ उनले भनिन्– ‘महिलाको पक्षमा अब उहाँहरू घरबाट निस्कनुपर्छ ।’

तस्बिर : बिजु महर्जन 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप