मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सूर्य चिन्हमा चुनाव लडेपनि मधेस आन्दोलन बिर्सेको छैन : हृदयेश त्रिपाठी (भिडियो वार्ता)

मङ्गलबार, १२ मङ्सिर २०७४, ०७ : ३६
मङ्गलबार, १२ मङ्सिर २०७४

सोमबार नवलपरासी (पश्चिम बर्दघाट) को प्रतापपुर गाँउपालिका वडा नंं. २ को एक होटल अगाडि ४ जना बृद्धहरु सोही क्षेत्रका एकजना प्रभावशाली उम्मेदवारलाई दिँउसो २ बजेदेखि पर्खिरहेका थिए । 

उनीहरु ती उम्मेदवारले धेरै राम्रा काम गरेको भन्दै उनले चुनाव जित्ने दावी गरिरहेका थिए । सोही होटल भएको घरमा ती उम्मेदवारको चुनावी प्रचार कार्यक्रमको सम्पर्क कार्यालय समेत रहेको थियो । पार्टी सम्पर्क कार्यालयमा टाँगिएको ब्यानरमा संयुक्त वाम गठबन्धन तथा स्वतन्त्र राजनीतिक समूहको साझा उम्मेदवार भनेर उनको फोटो सहित सूर्य चिन्हमा भोट मागिएको ब्यानरहरु टाँगिएको छ । बिहानदेखि घर दैलो कार्यक्रमा ब्यस्त रहेर साँझ पार्टी सम्पर्क कार्यालयमा आइपुगेका ती उम्मेदवार हुन मधेश राजनीतिका चर्चित खेलाडी हृदयेस त्रिपाठी । 

यसअघि तमलोपाको जोर गोरु निर्वाचन चिन्ह र राजपाको छाता चिन्हमुनी राजनीति गर्दै आएका त्रिपाठीले सूर्य चिन्हमा भोट माग्न थालेपछि नवलपरासीका कतिपय स्थानीय चकित समेत परेका छन् । यद्यपी त्रिपाठीका समर्थकहरुको मत भने भिन्न थियो । उनीहरु त्रिपाठीले जुन चुनाव चिन्ह लिएर उठे पनि सो क्षेत्रका लागि आवश्यक नेता भन्दै उनलाई जिताउन मरिमेटेर लागेको बताँउदै थिए । 

त्रिपाठीको चुनाव प्रचार कार्यालय नजिक कपाल काट्ने पसल सञ्चालन गर्दै आइरहेका सुरेश ठाकुरले हृदयेस त्रिपाठीले सडक, बिद्यालय जस्ता विकासका काम गरेको बताँउदै उनले जित्ने निश्चित भएको तर्क गरे । पार्टी प्रचार कार्यालयको बाँया तर्फ रहेको हार्डवेयर पसलमा काम गर्ने सुनिल ठाकुर भने ७ महिना अघि ३ बर्ष साउदी अरबमा काम गरेर नेपाल फर्किएका थिए । केही महिनापछि बिदेश जाने तरखरमा रहेका सुनिल भने राजनीतिक दलका नेताहरुले केही नगर्ने भन्दै राजनीति प्रति नै बितृष्णा लागेको बताए । 

उनले आफ्नो क्षेत्रमा निर्वाचनमा उठेका नेताहरु को को छन् भनेर समेत चासो नराखेको बताए । यस्तै स्थानीय मुकेश कलवारले भने त्रिपाठीले मधेश आन्दोलनको मर्ममा प्रहार गरेको भन्दै उनी एमालेको पाउमा पर्नु दुखको कुरा भएको बताए । यी प्रतिनिधी जनता जस्तै नवलपरासीमा अहिले बाम गठबन्धनको सहयोगमा निर्वाचनमा उठेका हृदयेस त्रिपाठीबारे अनेक चर्चा हुने गरेको छ ।  

त्रिपाठीको भन्छन्ः आन्दोलन बिर्सेको छैन 
२०७३ असारमा नयाँ संविधानको मस्यौदा बाहिर आएसँगै तराई केन्द्रीत दलहरुले संविधानमा आफ्नो अधिकार नसमेटिएको भन्दै बिरोध शूरु गरेका थिए । असोज ३ गते संविधान जारी भएपछि लामो समयसम्म संविधान संसोधनका लागि आन्दोलन गर्ने आन्दोलनकारीका रुपमा रहेका पात्र मध्ये हृदयस त्रिपाठी पनि एक हुन् ।

त्यतिबेलादेखि नै उनीहरुको आन्दोलन र संविधान संसोधनको विपक्षमा एमाले रहेको थियो । आन्दोलनकारी पक्ष र एमाले बिच तित्ततापूर्ण कटुता नसकिँदैै  तमलोपा हुँदै राजपामा समाहित भएका हृदयस त्रिपाठी स्वतन्त्र समूह बनाएर एमालेको चुनाव चिन्ह सूर्य लिएर निर्वाचनमा भाग लिएपछि धेरैले अनौठो मानेका छन् । 
सोमबार साँझ नवलपरासीको प्रतापपुरमा भेटिएका हृदयेश त्रिपाठीले निर्वाचनमा एमाले सहित बाम गठबन्धनको सहयोग लिए पनि आफूले मधेश आन्दोलन र संविधान संसोधनको बिषयलाई त्याग नगरेको बताए । 

 

सदभावना पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी सहित ६ वटा पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टीे २ नंबर प्रदेशमा मात्र केन्द्रीत भएको, संविधान संसोधनका लागि ठूलो आन्दोलन गरेर बिना उपलब्धी औचित्यहीन ढंगले निर्वाचनमा सहभागी भएको प्रति आफ्नो असन्तोष रहेको उनले बताए । उनले स्थानीय तहको निर्वाचन बहिष्कार गर्दा नवलपरासीमा समेत गोली चलेको स्मरण गर्दै राजपाका नेताहरुले किन बहिष्कार गरे र किन निर्वाचनमा सहभागी भए त्यसको कारण अहिलेसम्म नदिएको बताए । त्रिपाठीले राजपा २ नंबर प्रदेशमा मात्र केन्द्रीत भएकोले भन्दै अब मधेश मुद्धा राष्टिय मुद्धा भएको बताए । मतदाताको शीर निहुरिने गरी केही काम नगर्ने भन्दै उनले विकास खोसेर भए पनि आफ्नो क्षेत्रमा नयाँ कामहरु गर्ने त्रिपाठीको दावी छ ।   

बाटोमा भेटिएका कलवारले भनेः त्रिपाठीलाई ढलाइदिन्छु
यसैबिच नवलपरासीको प्रतापुरमा भेटिएका कांग्रेसका उम्मेदवार सन्तु कलावारले बाम गठबन्धनका उम्मेदवार हृदयेस त्रिपाठीलाई आफूले पराजित गर्ने दावी गरेका छन् । नवलपरासी  क्षेत्र नं. १ का जनताको विश्वास लोकतान्त्रिक गठबन्धनमाथि रहेको भन्दै आफू पराजित हुने कुनै कारण नभएको दावी गरे । 

यस्तो छ स्थानीय तहको मत परिणाम
प्रदेश नं. ५ अन्र्तगत रहेको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं. १ मा  प्रतिनिधी सभा निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनबाट सन्तु कलवार र बामपन्थी गथबन्धनबाट हृदयेस त्रिपाठी चुनावी मैदानमा छन् । यहाँ १ लाख २ हजार ३ सय ६८ मतदाता छन् । 
गत स्थानीय तहको निर्वाचनमा यो निर्वाचन क्षेत्रमा कांग्रेसले २१ हजार ७ सय २९, एमालेले १८ हजार ५ सय ९२, माओवादीले ६ हजार ६ सय ५ र राप्रपाले २ हजार ६ सय १३ मत पाएको थियो । यस आधारमा यहाँ बाम गठबन्धनको पक्षमा २५ हजार १ सय ९७ र लोकतान्त्रिक गठबन्धनको पक्षमा २४ हजार ३ सय ४३ मत छ । अर्थात यहाँ बाम गठबन्धन ८ सय ५५ मतले अगाडि छ । यो मतलाई आधार मान्ने हो भने त्रिपाठी र कलवार बिच यहाँ कडा प्रतिष्पर्धा हुने अनुमान गर्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप