शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं–१ मा अनिलको प्रचारशैलीः मतदाताका घरघरमा हवाईपत्र

सोमबार, ११ मङ्सिर २०७४, १५ : ५०
सोमबार, ११ मङ्सिर २०७४

काठमाडौं–आसन्न प्रतिनिधि र प्रदेश सभाका लागि सर्वाधिक चासोको केन्द्र रहेको  क्षेत्र हो– काठमाडौँ क्षेत्र नम्बर १ । प्रतिनिधि सभा सदस्यका लागि ‘कान्छो दल' विवेकशील साझाका संयोजक रवीन्द्र मिश्र चुनावी मैदानमा उत्रिएका छन् । जसले गर्दा यो स्थानको चुनावी पारो अन्य स्थानमा भन्दा बढी चढेको छ । 

मिश्रको संसदीय खुड्किलोका कारण राजधानीको १ नम्बर क्षेत्र धेरैलाई खुल्दुलीको विषय भएको छ । नेपाली काङ्ग्रेसको विरासत भत्काउनउ दाउमा रहेका मिश्र र वामगठबन्धनले चुनावी रौनक थपेका छन् । काङ्ग्रेसको विगतको इतिहासको भङ्ग गर्न मिश्र र अनिल शर्मा अभ्यासरत छन् ।

गत दुई निर्वाचनमा विजयी भएका नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहको आधार भत्काउन मिश्र र वामगठबन्धनको सक्रियता बढेको छ । सहर र सामाजिक सञ्जालमा सिंह र मिश्रको चर्चा बढी हुने गरेको छ । तर, वामगठबन्धनका प्रतिस्पर्धी माओवादी केन्द्रका अनिल शर्माले अरू प्रतिस्पर्धी भन्दा कम नभएको छनक दिइरहेका छन् । 

मिश्रले घरदैलो अभियान  अन्य दलभन्दा छिटो सुरु गरेका थिए । मिश्रको तुलनामा पछिल्लो समय अरू दल पनि उत्तिकै सक्रिय रहेको क्षेत्र नम्बर १ को चुनावी गतिविधिले प्रष्ट्याउँछ । 

बानेश्वरको अल्फाबिटा कम्प्लेक्सबाट दक्षिणतिर लाग्दै गर्दा प्रत्येक पोलमा झुण्डाइएको  नेपाली काङ्ग्रेसको झण्डा र चुनाव चिन्हहरू मार्फत आँकलन गर्ने हो भने नेपाली काङ्ग्रेस विजयी भइसक्यो । तर ग्राउन्ड रियालिटी’ त्यस्तो छैन । 
आर्थिक रूपमा सुविधायुक्त जागिर छोडेर चुनावमा भिड्न निस्केका मिश्र र वाम गठबन्धनबाट अघि सारिएका युवा नेता शर्मालाई पछि पार्न सिंहलाई यस पटक सहज अवस्था देखिँदैन । 

 

चुनावी प्रचारका लागि जोडतोडले लागेका वाम गठबन्धनका उम्मेदवार शर्माले गत मङ्गलबार बुद्धनगर र शान्तिनगर क्षेत्रमा घरदैलो गरे । बिहान सबेर घरदैलोलाई निरन्तरता दिएका शर्माले साँझको समय पनि सोही कार्यलाई छुट्याएका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रका स्थानीय कार्यकर्ता शर्मालाई जिताउन हरसम्भव प्रयासमा जुटेको उनको प्रचार अभियानमा दखिन्छ ।  कोट र पाइन्टमा ठाँटिएका शर्माको चुनावी प्रचारका क्रममा धेरै समय उनका दुई हात जोडिएको अवस्थामा थियो । तीव्र गतिमा पाइला चालेका शर्माको प्रचार टोलीमा पुरुषमा भन्दा महिलाको सङ्ख्या उल्लेख्य थियो । 

काठमाडौँ क्षेत्र नम्बर १ को प्रचारमा अन्यत्रभन्दा भिन्न प्रचार शैली अपनाइएको थियो । टोलीका सदस्यले  सूर्य र हँसिया हथौडाको झण्डालाई समान महत्व दिएर बनाएका थिए ।

प्रतिनिधि सभा क्षेत्र १ अन्तर्गतको प्रदेश सभा १ की उम्मेदवार विष्णुकुमारी भुसालसँगै चुनावी प्रचारमा निस्केका शर्मालाई भेट्नेहरूले मतको आश्वासन दिएका थिए  । अधिकांश घरधनीलाई भेटेका शर्माले अफिस समय सुरु भएका कारण केही मतदातालाई भने भेट्न सकेनन् । भित्री गल्लीमा प्रवेश गरेका शर्माको वृद्धासँग भेट भयो । शर्माले दुई हात जोडे र भने ‘आमा यस पटक भोट हँसिया हथौडामा है’ । वृद्धाले स्विकारेको आभास दिइन् । प्रचार टोली अझ भित्र छिर्यो । एक मतदाताले खादा लगाएर प्रतिनिधि र प्रदेश सभाका प्रत्यासीलाई सम्मान गरे । मतको आश्वासन दिए । 

स्थिर सरकारका लागि मत मागिरहेका प्रचार टोलीले मतदातालाई स्थायी सरकार नहुँदा विकासले गति लिन नसकेको बुझाउने प्रयास गरिरहेका थिए । चुनावी गीत पनि स्थिर सरकारका पक्षमा थियो । चुनावी प्रचारका टोली बिजुली बजारको पुल नजिक पुग्दा एक सहभागीले शर्मालाई भने ‘राप्रपा पक्षधर हुन् । तपाईंले मत मागे आउन सक्छ ।’ अर्का सहभागीले घरको घण्टी बजाए । घरधनी ओर्लिन । मतको आश्वासनसहित शुभकामना दिइन् ।

प्रचारका क्रममा अन्य उम्मेदवार भन्दा शर्माको टोलीसँग अर्को पृथक्  विषयले प्रवेश पाएको छ । उनले   वाम गठबन्धनका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदातालाई सम्बोधन गरेर लेखेको हवाई पत्रपनि मतदातासम्म पुर्याएका छन् । 

 २०७४/०७/२५ को मितिमा एमाले अध्यक्ष केपी ओलीले मतदातालाई  सम्बोधन गरी लेखिएको हवाइपत्रको  सारमा भनिएको छ–‘तपाईंहरूका अगाडि यसपालि वामपन्थी बहुमतको सरकार बनाएर पाँच वर्ष परीक्षण गर्न पाउने सुनौलो अवसर आएको छ । तपाईं सबैले कुनै प्रकारको अलमल नगरी, झुठा प्रलोभनमा नपरी निर्धक्क साथ वाम गठबन्धनका चुनाव चिन्हमा स्वस्तिक छाप लगाएर पूरा समय काम गर्न पाउने स्थायी सरकार बनाउन भूमिका खेल्नुहुनेछ भन्ने हामीले विश्वास गरेका छौँ ।’


मेरो जित सुनिश्चित छ : अनिल शर्मा  (अन्तर्वार्ता )
अन्य चुनावी क्षेत्रभन्दा तपाईंको निर्वाचन क्षेत्र अलि बढी चर्चामा छ । तपाईं जोडतोडले घरदैलो प्रचार अभियानमा लागिरहनुभएको छ । कस्तो पाउनुभयो तपाईंको अवस्था ? 
हाम्रो अवस्था एकदमै राम्रो छ । धेरै मतदातासँग भेट भएको छ । स्थिर सरकारको पक्षमा मतदाताको आशा छ । मेरो पक्षमा स्थिति बनिरहेको छ ।

प्रतिनिधि सभाको निर्वाचनमा तपाईंको पहिलो अनुभव पनि हो यो निर्वाचन । तपाईंको क्षेत्रमा प्रतिस्पर्धीहरू अलि बलिया रूपमा देखिएका छन् । उनीहरू प्रतिको तपाईंको मूल्याकन ? 
बलियो भन्ने मापदण्ड कसरी निक्र्यौल गर्ने भन्ने मूल प्रश्न हो । बलियो भनेको जनआधार पहिलो कुरो हो । अर्को विषय जनआधार पनि हाम्रो पक्षमा छ । मतदाताहरू मेरो पक्षमा छन् भने मभन्दा बलियो को हो ? मेरो प्रतिप्रश्न हो । 

एमालेले क्षेत्र नम्बर १ आफूसँगै राख्ने तयारी गरेको थियो । तर विवेकशील साझाका रवीन्द्र मिश्रलाई सहयोग गर्ने अभिप्रायले माओवादीलाई यो क्षेत्र छोडेको बजारमा उठेको विषय छ नि ? 
सरासर झुठ र हल्ला हो । रवीन्द्र मिश्रको न बलियो पार्टी छ । न जनआधार छ । उहाँ एउटा बीबीसीमा राम्रो वाचन गर्ने व्यक्ति हो । यहाँको जनताको स्थानीय तहको मतको पनि ख्याल गर्नुपर्ने हुन्छ । जनताले कसलाई चाहेका छन् । जनता स्थिरताको पक्षमा छन् । त्यो कुरा कपोकल्पित हो ।

 

घरदैलो कार्यक्रमले तपाईंलाई स्थानीयका समस्या बुझ्ने अवसर मिलेको छ । के–के रहेछन् स्थानीयका समस्या ? 
फोहोर व्यवस्थापनको समस्या छ । ढल अर्को समस्या छ । यहाँको बाटो भद्रगोल अवस्थामा छ । तारहरूले अव्यवस्थित बनाएको छ । पानीको अर्को समस्या छ । यहाँ बिर्सन नहुने अर्को समस्या सुकुम्बासीको हो । 

तपाईंले जित निकाल्नुभयो भने तपाईंसँग जनताले के–के अपेक्षा गर्ने ? 
दुईवटा करिडोर यस क्षेत्रमा रहेका छन् । तिनीहरूको व्यवस्थित र आधुनिक विकास गर्नु छ । काठमाडौँको फोकल केन्द्र निर्माण गर्ने अर्को मेरो प्रतिबद्धता हो । पार्क, योगा केन्द्रहरू बनाउने योजना छ । मूलतः धुलो धुँवारहित क्षेत्र बनाउने तथा सम्भव भएका स्थानमा पm्लाई ओभर निर्माण गर्ने र पुरानो ढुङ्गे धाराहरूको संरक्षण पनि मेरो प्रतिबद्धता हो । 
 

अन्त्यमा, तपाईं जितप्रति कति आशावादी हुनुहुन्छ ? 
९० प्रतिशत मैले जित्छु भन्ने छ । जनआधार र वामगठबन्धनप्रति मतदाताहरूको भरोसाका कारण मेरो जित सुनिश्चित छ । 

विगतको अङ्कगणित 
 

काठमाडौँ क्षेत्र नम्बर १ मा काठमाडौँ महानगरपालिकाका चारवटा वडाहरू रहेका छन् । महानगरपालिकाका १०, ११, २९ र ३१ यस क्षेत्रमा परेका छन् । 
गत स्थानीय तहको निर्वाचनमा तीन वडा काङ्ग्रेसले जितेको छ भने ३१ नम्बर वडामा एमाले विजयी भएको थियो । स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा नेपाली काङ्ग्रेसले आठ हजार ८४२ मत ल्याएको छ भने एमालेले आठ हजार ७१४ मत ल्याएको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको दुई हजार २७४ जोड्दा वाम गठबन्धनको पक्षमा १० हजार ९८८ हुन्छ । वाम गठबन्धनको भन्दा नेपाली काङ्ग्रेसको मत दुई हजार १४६ ले कमी छ । 

काठमाडौँ क्षेत्र  नम्बर १ मा चुनावी मत विश्लेषण गर्दा विर्सन नहुने अर्को विषय हो– स्थानीय तहको निर्वाचनमा साझा विवेकशील दलले ल्याएको मत । साझा विवेकशीलले वडाहरूमा उम्मेदवारी दिएको थिएन । तर मेयर र उपमेयरका अन्य दललाई भन्दा विवेकशील साझालाई बढी मत परेको थियो । 

विगतको दुई निर्वाचनमा जित निकालेका प्रकाशमान सिंहले पहिलो संविधान सभामा एमाले नेता प्रदीप नेपाललाई हराएका थिए भने २०७० को निर्वाचनमा माओवादी केन्द्रकी रेणु दाहाललाई जितेका थिए । पहिलो संविधान सभामा सिंहले १४ हजार ३१८ मत ल्याई विजयी भएका थिए भने २०७० को निर्वाचनमा माओवादी केन्द्रकी रेणु दाहाललाई पछि पार्दै १५ हजार १३९ का साथ विजयी भएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप