मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटल ग्राउन्ड–राजधानीको मैदानमा एक्ली ‘हेभिवेट’ महिला !

शनिबार, ०९ मङ्सिर २०७४, १४ : ३६
शनिबार, ०९ मङ्सिर २०७४

ललितपुर–प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने महिला नगन्य छन् । त्यसमध्ये ठूला दलबाट ‘हेभिवेट’ महिला उम्मेदवार पम्फा भुसालमात्रै हुन् भन्दा फरक पर्दैन ।

माओवादी केन्द्र प्रवक्तासमेत रहेकी ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार भुसालका अनुसार आसन्न निर्वाचनले महिलाको नेतृत्व विकास गर्ने मामिलामा कहीं न कहीं ‘ब्रेकर’ को काम गरेको छ । भन्छिन्, ‘यसले चुनौती खडा गरेको छ । यही स्थिति पुनरावृत्ति हुने हो भने महिला मतदातामात्र हुन्छन् । त्यस्तो हुनुहुँदैन । महिलाको कोणबाट कसैले सोचेमा महिलाले मतदान नै नगरे के हुन्छ भन्ने छुट्टै बहस होला ।’

‘त्यो राजनीतिक बहसको एजेन्डा बन्छ । आगामी निर्वाचनमा जित्ने ठाउँमा पार्टीले महिला उम्मेदवार बनाएर र पुरुषलाई समानुपातिकमा उभ्याउँदा फरक पर्दैन,’ उनले थपिन्, ‘एकपटक समानुपातिकमा परेकाले जहिल्यै प्रत्यक्षमा उम्मेदवारी दिनुपर्छ । जहिल्यै समानुपातिकको पुनरावृत्ति गर्नुहुँदैन । त्यसो गरिए कसैको क्षमता विकास हुँदैन ।’

‘हो,’ उनले स्वीकारिन्, ‘ठूला पार्टीले आसन्न निर्वाचनको प्रत्यक्षमा हेभिवेट महिला उम्मेदवार उठाएका छैनन् ।’

किन ?

‘निर्वाचन खर्चिलो बन्दै गएको छ,’ उनले थपिन्, ‘त्यसैले सबै पार्टीसम्बद्ध महिला उम्मेदवार बन्न हच्केका हुन् ।’

त्यतिमात्रै हो कारण ?

होइन नि ।

भनिदिनुस् न अन्य कारण ?

‘जहाँ सजिलै जित्ने पार्टी सङ्गठन छ, त्यहाँ महिला सिफारिसमै पर्दैनन्,’ उनको बुझाइ छ, ‘तयार भएका महिला तालमेलले सिट पाउनै सकेनन् । समानुपातिकमा पार्न सकिहालिन्छ नि भन्ने हुने र परिन्छ भन्ने मनोविज्ञानले समेत काम गरेको छ ।’

राजनीतिमा समेत आरक्षण व्यवस्था गरिएको छ । मन्त्रीको भूमिकासमेत निर्वाह गरिसकेकी नेता भुसालको भनाइ छ, ‘हामीले महिलालाई ३३ प्रतिशत भनेर जुन ढङ्गले गर्यौं, त्यो आरक्षणमात्र हो भनियो भने त्यसले महिलाको नेतृत्व र क्षमता विकास कहिल्यै हुँदैन ।’ भारतमा समेत महिला, दलितका लागि सिट सुरक्षित रहेको छ । आरक्षण र पारिवारिक विरासतबाट आउनुभन्दा प्रतिस्पर्धाबाट आउने कैयौं गुना प्रभावकारी हुन्छ । एकपटक अवसर दिएपछि मात्रै महिलाले विश्वास र क्षमता विकास गर्न सक्छन् । उनले सुनाइन्, ‘३३ प्रतिशत पुर्याउने कुरा न हो भन्ने सोच छ । अहिले कुनै पनि पार्टीको समानुपातिकमा पुरुष जाने भनेको करिब–करिब असम्भव छ । जुन ढङ्गले उम्मेदवार उठाएका छन्, उठाएका उम्मेदवारमध्ये जतिले जित्छन्, जित्दा ३३ प्रतिशत पुर्याउन महिला पठाउनुपर्ने । आफूले पाएको मतले ३३ प्रतिशत पुर्याउन नसकिने हुँदा संवैधानिक संकट आउन सक्छ ।’

त्यो राम्रो होइन । त्यसैले अबको बहस उठ्ने सिट आरक्षण गर्नुपर्छ । उठ्ने र समानुपातिकमा पठाउने बराबर कुरा हो । स्थितिलाई अलिकति उल्टाइदिए नयाँ क्षमताको नयाँ ढङ्गले विकास हुन्छ । माओवादी केन्द्रजस्तो महिला मुक्तिको एजेन्डा बोकेर नेतृत्व गरेको पार्टीले त यसमा जोड दिनुपर्छ ।

नेता भुसालले अहिलेसम्म कुनै पनि क्षेत्रमा पार्टीभित्र र बाहिर प्रतिस्पर्धा गरेकी थिइनन् । उनले सुझाइन्, ‘अन्य दलसम्बद्ध महिला नेतासमेत यसरी नै आउनुहोस् । प्रतिस्पर्धा नगरी क्षमता विकास हुँदैन ।’ मुख्य सत्ता पार्टी सत्ता हो, त्यो लिनुहोस् भन्दै आएकी उनले महिलालाई जुन तहको भए पनि पार्टीको जिम्मेवारी लिनुहोस् भन्दै आएकी छन् । त्यसो गर्न सके राजनीतिक सत्ताको अवसर आउँछ भन्ने उनको मान्यता छ ।

‘संसारलाई सन्देश दिनेगरी महिला आन्दोलन असाध्यै उत्कर्षमा पुगेको छ । नेपालमा एकैपटक कार्यपालिका, व्यवस्थापिका, न्यायालिकामा महिला पुगे,’ उनले महिला मतदातालाई अपिल गरिन्, ‘अन्ततः आसन्न निर्वाचनसम्म आइपुग्दा पुनः महिलाको हकमा पछि फर्कने अवस्था सिर्जना भएको छ । महिलालाई मतदातामात्र बनाउने हो भने जहाँ महिला उठेका छन्, त्यहाँका महिलाले महिलालाई मात्र मत हाल्नुपर्छ । पार्टी हेर्नुहुँदैन । यो बेला महिला मतदाता सचेत हुने समय आएको छ ।’

नेता भुसालले १० वर्षपछि पुनः निर्वाचनमा उम्मेदवारी दिएकी हुन् । संवत् २०६४ को संविधानसभा निर्वाचनमा उनी नयाँ थिइन् । उनकाअनुसार, त्यतिबेला जनताले उम्मेदवार को हुन् भनेर चिन्न खोज्ने र मैले पनि समग्र जनतालाई चिन्नुपर्ने स्थिति थियो । उनले त्यतिबेला गरेका काम जनताले बुझेकै छन् । त्यतिबेला राम्रो संविधान लेख्न मत दिनुहोस् भन्दै घरदैलोमा हिँडेकी उनले यसपटक आर्थिक विकास र समृद्धिको नारा बनाएकी छन् ।

प्रचार सामग्री घरघरमा पुर्याउँदै मतदातालाई प्रत्यक्ष भेट्दै आएकी उनले प्रत्येक वडाका ९० प्रतिशत मतदाताको घरमा पुग्दै छिन् । मतदाताकहाँ पुग्दा आफ्नो प्रतिबद्धतापत्र दिने, उनीहरूका आवश्यकता र गुनासा संक्षिप्तमा सुन्ने गर्छिन् । मतदाताको गुनासो बाटो, पानी, ढल, सरसफाइ भएन भन्नेबाहेक जटिल छैन । उनले सार्वजनिक गरेको ललितपुर घोषणापत्रमा समेत आर्थिक विकास र समृद्धिलाई प्राथमिकता दिएकी छन् । ‘मैले आफ्नो निर्वाचन क्षेत्रमा कहाँबाट आर्थिक समृद्धि र विकास गर्ने भन्ने विषय सूक्ष्म ढंगले अध्ययन गरें । सर्वेक्षण गराएँ । १ हजार १ सयदेखि प्रत्येक ३ सय मानिसको समूहबाट एकजनालाई फाराम भराएँ,’ उनले भनिन्, ‘फाराममा उनीहरूका आवश्यकता के हुन् ? समस्या के–के छन् भन्ने डेढ महिना लगाएर बुझें । त्यसलाई आधार बनाएर विकास र समृद्धिलाई अगाडि बढाउनुपर्छ भन्ने निष्कर्षमा पुगें । कला, संस्कृतिको सम्वद्र्धनबाट पर्यटन विकास गर्न सकिन्छ । यसको विकासका लागि भौतिक पूर्वाधार, उद्योग, व्यवसाय, रोजगार विकास कसरी गर्न सकिन्छ भन्ने प्रस्ट खाका छ ।’

पर्यटक ललितपुरको पाटन दरबार स्क्वायर र केही बुङ्मती–खोकनासम्म पुग्छन् । ललितपुरमा हरिसिद्धि, ठैब, ठेचो, सुनाकोठी, बुङ्मती, खोकना, सैंबुलगायत नेवारी कला, संस्कृति र गुठी ३ नम्बर निर्वाचन क्षेत्रभरि छन् । पाटन दरबार स्क्वायरबाहेकलाई एउटा पर्यटकीय चक्रपथ बनाउने सोचेकी उनले हस्तकला, मूर्तिकला, चित्रकलालाई उद्योगका रूपमा विकास गर्ने योजना बनाएकी छन् । पर्यटकलाई आवश्यक पर्ने भौतिक पूर्वाधार होटल, रिसोर्ट, होमस्टे विकास गरी रोजगारी सिर्जना गर्ने र जीवनस्तर उकास्ने योजना पनि छ । चक्रपथबाहिर उर्वर भूमि र कृषिमा आश्रित धेरै छन् । त्यसलाई कृषियोग्य भूमिका रूपमा वर्गीकरण गरेर अर्गानिक खेती र परम्परागत बीउविजन रक्षा गर्दै जाने योजनाबद्ध योजना छ । त्यतिमात्रै होइन, उत्पादन बढाउने नाममा हाइब्रिड ल्याउने, परम्परागत बीउविजन लोप हुँदै गएका छन् । त्यसलाई जोगाउने र अर्गानिक खेतीमा पहिचान बनाउने योजना पनि छँदै छ ।

‘सहायक ढंगले आर्थिक वृद्धि गर्ने काम पनि छन् । भर्खरै महानगरमा आएका गाउँबस्ती र भौतिक पूर्वाधार विकासमा ठूलो अन्तर छ,’ नेता भुसालले प्रतिबद्धता जनाइन्, ‘आधारभूत सुविधासम्पन्न बनाएर त्यहाँको कला, सम्पदा र साहित्यलाई बचाउँदै आधुनिकीकरण गर्दै पाँच वर्षभित्रमा सबै बाटो कालोपत्रे गर्नेछु । बाँकी सार्वजनिक, निजी जग्गालाई ग्रिनरी बनाउनेछु ।’ बागमती, नख्खु, गोदावरी, कर्मानशा नदीका दुवैतर्फ करिडोर निर्माण गरी ग्रिनरी विकास गर्दै बहुआयामिक ‘ग्रीन एन्ड क्लिन’ ललितपुर बनाउने उनको सपना छ ।

ललितपुर खेलकुदको सहर हो । काठमाडौंबाट पस्नबित्तिकै कुपन्डोलमा फ्रेन्डस् क्लब छ । त्योभन्दा भित्र पसे सानेपा क्लब, अर्कोतिरबाट गए पुल्चोक क्लब जाउलाखेल, थ्री स्टार सातदोबाटो छन् । उनले खेलकुदलाई स्रोत–साधनसम्पन्न बनाइदिने, क्लब निर्माण गर्दै जाने सोच बनाएकी छन् । खेलकुदमात्रै नभएर ललितपुर शैक्षिक ‘हब’ पनि हो । सबै वर्गका शिक्षा गुणस्तरीय बनाउने चुनौती छँदै छ । वृद्धवृद्धा र महिलाको स्वास्थ्य जाँच्न र खास रोगका लागि निःशुल्क उपचार गरिदिनेसम्बन्धमा बहुआयामिक ढंगले आफ्नो कुरा राख्दै आएकी उनले ललितपुरलाई क्लीन एन्ड ग्रीन ललितपुर बनाउने योजना अघिसारेकी छन् ।

केही जिल्लामा वाम गठबन्धनबीच अन्तरविरोधजस्तो देखिएका छन् । ललितपुरमा त्यस्तो देखिएको छैन । तर, ललितपुरमा समेत माओवादी र एमालेका उम्मेदवार बन्न आकांक्षी हुने नै भए । त्यसको एउटा मनोविज्ञान पक्ष र अर्को तालमेलमा माओवादी केन्द्रले ६० एमालेलाई र एमालेले ४० प्रतिशत माओवादी केन्द्रलाई छाड्नुपर्ने थियो । तसर्थ, तालमेलमा जित्ने ग्यारेन्टी हुँदा उम्मेदवार बन्ने तीव्र आकांक्षा हुने नै भयो । त्यसले दुवै पार्टीमा उम्मेदवार हुन खोज्नेले नपाउँदाको मनोविज्ञान असर त पर्ने नै भयो । तर, पार्टी एकता हुने तालमेल हो भन्ने कुराले बिर्साउँदै लगेको छ । ‘त्यसैले मलाई चुनाव जित्छु भन्ने लाग्छ । आजसम्म मैले करिब ५० प्रतिशतजस्तो वडाहरू भ्याएँ,’ उनको दाबी छ, ‘महानगरका २० वडा, गोदावरी नगरपालिकाको दुई वडा पर्छ । तीमध्ये ११ वटा वडाको घरदैलो गर्दा म अहिलेसम्म गएका ठाउँमध्ये सबै ठाउँमा जितिन्छ भन्ने विश्वास छ ।’

भनिन्छ, ‘राजधानीको मत अस्थिर हुन्छ ।’ ललितपुर त्यत्तिको होइन भन्ने नेता भुसालको बुझाइ छ । ‘ललितपुरको ग्रामीण क्षेत्र स्थिर छ । गएको चुनावमा पनि माओवादीले जितेका वडा धेरै छन्,’ उनले सुनाइन्, ‘भित्र आउँदा पनि एमालेले जितेका वडा धेरै छन् । दुवै गरेर ७५ प्रतिशत हाम्रा गठबन्धनबाट जितेका मान्छे छन् । यहाँ त्यति धेरै अस्थिर भन्ने होइन । संगठित भोट पनि राम्रो छ ।’ अलिकति भित्रको सहर, अलि सम्पन्न हुने नै भयो । उनीहरूले भने अलिकति उम्मेदवार, ‘लिडरसिप’ हेर्ने गर्छन् ।

उम्मेदवारले नै चुनाव खर्चिलो भयो भन्दै गर्दा नेता पम्फा भुसाल आफूलाई भाग्यमानी ठान्छिन् । ललितपुर क्षेत्र नम्बर ३ सबैभन्दा कम खर्चिलो क्षेत्र भएको नेता भुसालको स्वीकारोक्ति छ । ‘क्षेत्र नम्बर ३ को जुनसुकै क्षेत्रमा म आधा घन्टामा पुग्न सक्छु । आफ्नै घरमा बस्छु । खाना आफ्नैमा खान्छु,’ उनले गर्व गरिन्, ‘आफ्नै गाडीमा प्रचार–प्रसार गर्दै आएकी छु । एकछाक खाना हामी सबै सँगै खान्छौं । दुई–तीन सयको औसतमा बिहानको खाना खान्छाँै । बेलुका आ–आफ्नै घर फर्कन्छौं । अरूको तुलनामा यो खर्च थोरै हो ।’ यसैगरी, कतिपय प्रचार सामग्री भनेर आफ्नै साथीहरूले सहयोग गरिदिएका छन् । कतिपय ठाउँमा उनलाई पारिवारिक नातेदारले पनि सहयोग गरेका छन् । कतिपय ठाउँमा खाना खाएकोसमेत साथीहरूले तिरिदिन्छन् ।

पम्फा भुसाल जनप्रतिनिधि हुँदा र नहुँदा पनि ललितपुर विकासका निम्ति सिंहदरबार धाइरहन्थिन् । उनले ललितपुरका लागि धेरै काम गरेकी छन् । उनले सडक निर्माण, ढल र कतिपय ठाउँमा खानेपानीसम्बन्धी काम गरेकी छन् । ‘अहिले महानगरभित्रका ज्यादै महत्वका सिँचाइ भनेको घोर्ले कुलो हो,’ उनले भनिन्, ‘दुईवटा वडा त्यसले भ्याउँछ । पहिलेको तीनवटा गाविस छम्पी १ नम्बरमा पर्छ । हरिसिद्धि, ठैब र इमाडोलसम्म आउने दुई राजकुलोसमेत निर्माण गरेकी थिएँ । त्यो विशेषगरी सिँचाइका हिसाबले महत्वपूर्ण छन् ।’ चोभारनजिकको थानागाउँ हाइटमा खानेपानी व्यवस्था गरेपछि स्थानीयले उनलाई अझै बिर्सेका छैनन् ।

ललितपुर निजी स्कुलको राजधानी हो भन्दा फरक पर्दैन । यहाँका सरकारी स्कुलमा समेत पढाइ स्तरीय छ । शिक्षक दरबन्दी पाए पनि भौतिक पूर्वाधार विकास नभएका पुराना भवन नेता भुसालले नबनाइदिएको भए गोरखा भूकम्पले सबै विद्यालय भवन भत्किन्थे । उनले ३ नम्बर क्षेत्रका चक्रपथबाहिर र रिङरोडभित्रका कुपन्डोलको प्रगति माविका भवन बनाइदिइन् । त्यहाँ ७० वर्षसम्म ढुक्कसाथ विद्यार्थीले पढ्न पाउँछन् । उनले ललितपुरमा नगरेको काम केही छैन । उनले आफ्नो क्षेत्रमात्र नभएर, ललितपुरमा आफूसम्बद्ध पार्टीबाट नेतृत्वदायी भूमिका खेलेकी थिइन् । बाटोका निम्ति अर्बौंको योजना पारेकी उनले १ नम्बर क्षेत्रका बाटो निर्माणाधीन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप