शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गाडी रिर्जभ गर्दै भोट हाल्न घर जानेको ताँती (फोटो/भिडियो)

शनिबार, ०९ मङ्सिर २०७४, ०९ : ००
शनिबार, ०९ मङ्सिर २०७४

काठमाडौँ । काठमाडौंको तीनकुनेमा आज नौलो र फरक दृश्य देखियो । फरक दृश्य यस अर्थमा कि तीनकुनेको खाली रहेको ठाँउमा आज ठूला यात्रुबाहक बस र यात्रुहरुको भीड थियो । जसले गर्दा तीनकुनेको एक भाग कुनै नयाँ बसपार्क जस्तै देखिन्थ्यो ।  

बस चढ्न यात्रुहरु तँछाड–मछाड गरिरहेका थिए भने कोही आफू जाने ठाँउको बस खोजिरहेका थिए । घर जानका लागि उनीहरुले टिकट काट्न र भाडाका लागि बसका सहचालकसँग बार्गेनिङ गर्नुपर्ने झन्झट पनि थिएन । यसरी घर जान लागेका यात्रुहरु कोही आफ्ना परिवार सहित र कोही एक्लै हिँडिरहेका थिए ।  

३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा भोली हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा लागि राजधानीबाट घर जान यसरी यात्रुहरुको भीड लागेको हो । काठमाडौंका विभिन्न नाकाबाट आज हजारौं सर्वसाधारण यसरी आफ्नो गन्तव्यतर्फ लागेका हुन् । 

काठमाडौंको तीनकुनेबाट सिन्धुपाल्चोक, दोलखा, रामेछाप र ओखलढुङ्गा लागि बसहरु तयार गरिएका थिए । धेरैजसो बसहरु भने सिन्धुपाल्चोकका विभिन्न ठाँउका लागि थिए । 

सिन्धुपाल्चोक चौतारा घर भएका बाम गठबन्धनका एकजना कार्यकर्ता जनार्दन फुँयालले सिन्धुपाल्चोक क्षेत्र नं. २ का लागि १५ बस रिर्जभ गरिएको जानकारी दिए । एउटा बसमा ५० जना हाराहारी यात्रु जाने उनले बताए । बाम गठबन्धनका कार्यकर्ता तथा अन्य पार्टीका असक्त ब्यक्तिहरुलाई पनि सिन्धुपाल्चोक पठाएको उनले बताए ।

तीनकुनेबाट बस चढेर सिन्धुपाल्चोक खाडीचौर बलेफी गाँउपालिका घर भएका सीताराम पराजुली भेटिए । काठमाडौंमा गौरीघाट बस्ने उनी भोट हाल्न गाँउ जान लागेका थिए । माओवादी केन्द्रका समर्थक रहेका उनी पार्टीका साथीहरुले घर जान बसको ब्यवस्था गरेको बताएपछि तीनकुने आएका थिए । चुनावमा जितेर गएपछि नेताहरुले केही गर्छन कि भनेर घर जान लागेको उनले बताए । 

सिन्धुपाल्चोकको साँगाचोक घर भएकी सानी गिरी पनि घर जाँदै थिइन् । उनी काठमाडौंको नरेफाँटमा बस्छिन् । स्थानीय तहको निर्वाचनमा पनि भोट हालेकी उनले यसपटक पनि मतदान गर्दैछिन् । चुनावमा भोट हाल्न पाउँदा खुसी लागको उनले प्रतिक्रिया दिइन् । 

केही दिन अघि ओखलढुङबाट छोरी भेट्न काठमाडौं आएकी चिजा परियार भने ओखलढुङ्गा जाने बसको पर्खाइमा थिइन् । गाँउका नेताले तीनकुनेबाट बस जान्छ भनेर १० बजे आएकी उनले बस भेट्न सकिनन् । भूकम्पपछि घर बनाँउन नेताले सहयोग गरेको भन्दै भोट हाल्न जान लागेको उनले बताईन् । 

घर जान लागेका यी मतदाता जस्तै अन्य धेरै मतदाताहरु तीनकुनेमा आफ्नो घरतर्फ जाने बसको प्रतिक्षामा थिए भने कोही बस चढेर आफ्नो गन्तब्यतर्फ लागिरहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप