शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावपछि राजपा–फोरम पार्टी एकता : अध्यक्ष यादव

मङ्गलबार, ०५ मङ्सिर २०७४, २१ : २२
मङ्गलबार, ०५ मङ्सिर २०७४

सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँगको चुनावी तालमेल मधेशी जनताको अधिकार प्राप्तिका लागि भएको बताएका छन् । 

राजविराजमा आज रासससँग कुराकानी गर्दै उनले भने – “ यसको सफलतापछि पार्टी एकताको प्रक्रियालाई पनि अगाडि बढाइने छ ।” 

अध्यक्ष यादबले संविधान संशोधन, मधेसीको पहिचान, अधिकार र राज्यमा मधेशीको सहभागिताका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीले चुनावी तालमेल गरेको र यो सफल हुने दाबी गरे। 

मधेसको अधिकार प्राप्ति नभएसम्म मधेशीको लडाइँ समाप्त नहुने उल्लेख गर्दै उनले मधेशी गठबन्धनले बहुमत प्राप्त गरेमा मधेशीको अधिकार सुनिश्चित हुने विश्वास व्यक्त गरे । 

अध्यक्ष यादबले काँग्रेस, एमाले र माओवादी केन्द्रले जति मीठो भाषण र आश्वासन दिए पनि मधेशी हितमा नभएको आरोप लगाउँदै राज्यमा सबैभन्दा बढी कर तिर्ने मधेशमा सरकारी लगानी अत्यन्त कम भएको धारणा व्यक्त गरे । 

निर्वाचनमा आफ्नो पार्टीको बहुमत आएमा सबै खालका विभेद अन्त्य गर्ने बताउँदै उनले शिक्षा, स्वास्थ्य र रोजगारीको वातावरण बनाउनका लागि राज्यको लगानी बढाउनेमा जोड दिइने बताए । 

उद्योगधन्दाका लागि स्वदेशी तथा विदेशी लगानी वृद्धि गर्ने र कृषि उद्योगमा जोड दिने पनि उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप