शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माथिल्लो तामाकोशी २०७५ मंसिरमा सम्पन्न हुने

मङ्गलबार, ०५ मङ्सिर २०७४, १८ : २७
मङ्गलबार, ०५ मङ्सिर २०७४

 रमेश लम्साल 

दोलखा - विसं २०७५ मंसिरदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । 

आगामी असारमा आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउने बताइए पनि सबै युनिट एकैसाथ सञ्चालनमा ल्याउने गरी नयाँ समयसीमा निर्धारण गरिएको हो । 

सुरुङ निर्माण सम्पन्न भएसँगै आयोजनाको भौतिक प्रगति ९३ प्रतिशतको हाराहारीमा पुगेको छ । कुल ८।५ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भएपछि आयोजनाको प्रमुख काम सम्पन्न भएको छ । सुरुङ निर्माण सम्पन्न भएपछि त्यसको मर्मत तथा सम्भार गर्ने कार्य शुरु हुनेछ । 

सो आयोजनाको सुरुङ अन्य आयोजनाको तुलनामा फरक ढंगले निर्माण गरिएको छ । नेपालमा पहिलो पटक सुरुङमार्गमा ठाडो सुरुङसमेत रहेको छ । ठाडो सुरुङमा ‘स्टिल लाइनिङ’ गर्ने कार्य नै सबैभन्दा अप्ठ्यारो कार्यको रुपमा रहेको आयोजना प्रमुख विज्ञान श्रेष्ठको भनाइ छ । आयोजनामा अत्यन्तै अप्ठ्यारो कार्यका रुपमा रहेको दुईवटा ठाडो सुरुङ निर्माण यसअघि नै सम्पन्न भएको हो । 

आयोजना प्रमुख श्रेष्ठले दुईवटा ठाडो सुरुङ नेपालमा निर्माणाधिन आयोजनामध्ये पहिलो भएको बताउनुभयो । कुल ३११ मिटर लामो माथिल्लो पेनस्टक सार्प टनेल गत भदौ ३१ गते निर्माण सम्पन्न भएको हो भने ३७३ मिटर लामो तल्लो पेनस्टक सार्प टनेल २०७१ माघमा सम्पन्न भएको हो । तर सो कार्यमा संलग्न निर्माण व्यवसायीको कार्यशैली र कार्यक्षमतामा प्रश्न उठेको छ । पेन स्टक पाइप आयात गर्न समय लागेको छ । सो कार्यको जिम्मा भारतीय कम्पनी टेक्स म्याको रेल एण्ड इञ्जनियरिङ कम्पनीले लिएको छ । 

आयोजनाले ठेकेदारलाई कुनै पनि विषयमा लापरबाही नगर्न र तोकिएको समयमा काम गर्न निर्देशन दिएको जनाएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका अध्यक्ष समेत रहेका कुलमान घिसिङले आयोजना आम नेपालीको आशा र भरोसाको केन्द्रका रुपमा रहेकाले यसलाई शीघ्र सम्पन्न गराउन आयोजनामा कार्यरत सबै कर्मचारी र निर्माण व्यवसायीलाई निर्देशन दिए । 

“एक दिन पनि ढिला गर्ने र हुने काम नगर्न म सबैलाई निर्देशन दिन्छु, यो राज्यको प्राथमिकताको आयोजना हो । कुनै पनि व्यक्ति वा निकायले कमजोरी गरे, त्यो मान्य हुँदैन,” उनले भने । 

सरकारले आयोजनाका लागि अत्यावश्यक सबै साधन स्रोत उपलब्ध गराएको छ । ऊर्जा सचिव अनुपकुमार उपाध्यायकाअनुसार मुलुकको विद्युत् माग सम्बोधन गर्न महत्वपूर्ण मानिएको आयोजनामा समस्या आउन नदिन सरकारले अत्यावश्यक स्रोत साधन उपलब्ध गराएको र बजेट समेत समयमै दिइएको छ । 

भौतिक निर्माण कार्य लगभग सम्पन्न हुने चरणमा रहेको छ । बाँकी रहेको काम भने हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल र सिभिल निर्माणमा संलग्न ठेकेदारको आवश्यक समन्वयमा गर्नुपर्नेछ । 

‘गोरखा भूकम्प’का कारण डेढवर्ष पर धकेलिएको आयोजना निर्माणमा देखिएको प्रगति जस्तै प्रसारण लाइन निर्माणमा सफलता हासिल भएको छ । कुल २२० केभी क्षमताको प्रशारण लाइनमा निर्माण हुने १२७ टावरमध्ये हालसम्म ९७ वटा टावर जडान कार्य सम्पन्न भएको छ । 

त्युस्तै ११८ वटा टावरको जग निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएकामध्ये ७.५ किलोमिटर तार तान्ने कार्य समेत सम्पन्न भएको छ । आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोड्नका लागि निर्माणको क्रममा रहेको न्यू खिम्ती सवस्टेशनका कारण भने समस्यापर्ने देखिएको छ । आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्न भारतको केइसिइन्टरनेशनले माटो परीक्षण गरिरहेको छ । 

एक वर्षभित्र सवस्टेशन निर्माण सम्पन्न हुने अवस्था भने देखिदैन । सो सवस्टेशन निर्माण सम्पन्न नभए पनि खिम्तीमा रहेको हिमाल पावरको सवस्टेशनबाट काठमाडाँै वा तराईमा विद्युत् प्रवाह गर्न कुनै समस्या नहुने आयोजनाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप