बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

यसकारण चुनावमा हुन सक्छ अझै तनाव !

मङ्गलबार, ०५ मङ्सिर २०७४, १४ : ०४
मङ्गलबार, ०५ मङ्सिर २०७४

 
चेतावनी १– सुरक्षामा सम्झौता गर्दै नगर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले अगामी निर्वाचनमा जनताले भयरहित वातावरणमा आफूले रोजेको दल र तिनका उम्मेदवारलाई मतदान गर्न सक्ने गरी सुरक्षा प्रवन्ध मिलाउन निर्देशन सुरक्षा निकायलाई दिए । सोमवार गृहमन्त्रालयमा प्रदेश नं ३ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले भने, ‘सरकार निर्वाचनका लागि आवश्यक सबै सुरक्षाको प्रवन्ध मिलाउन प्रतिवद्ध छ, यस कार्यमा कसैसित सम्झौता हुँदैन । आम मतदातालाई भड्काउने, मतदानस्थल कब्जा गर्ने मनसाय पनि सुरक्षाको चुनौती बन्नसक्छ, सबै सुरक्षा निकायले सुरक्षा प्रणालीमा तहगत निर्देशनलाई उचित रुपमा परिपालना गरेर काम गर्नुस् ।’
 
एक्सन १ – मन्त्री पाण्डेको घर पछाडि राखिएको बम निष्क्रिय
भरतपुर महानगरपालिका वडा नं २ स्थित वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेको घर पछाडि अज्ञात समूहले राखेको बम नेपाली सेनाको टोलीले आइतवार बिहान निष्क्रिय पार्यो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार दूधको क्यानमा ग्रिनेट राखेर बनाइएको सानो बम सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको थियो । बिहान सर्वसाधारणले बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । पाण्डे चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । उनको निवास अगाडि आफ्नै रेडियो कालिका एफएम र टिभी कालिका छ भने पछाडि उनको आफ्नै कालिका कन्स्ट्रक्सन छ । घर र कन्स्ट्रक्सनको बीचमा रहेको नहरको डिलमा बम राखिएको थियो । सेनाले पानी नभएको नहरमा बम झारेर निष्क्रिय पारेको थियो ।


 
नतिजा–१ विप्लवका कार्यकर्ता प्रक्राउ
सिन्धुलीमा नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का तीन कार्यकर्तालाई पक्राउ गरियो । जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको थियो । आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गराउन उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।
 
चेतावनी २– चुनाव बिथोल्नेलाई कारबाही हुन्छः प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव बिथोल्न खोज्ने माथि कडा कारबाही हुने बताए । सोमवार धनगढीमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रजातान्त्रिक पद्धतिमा चुनाव अतिआवश्यक भएकाले चुनाव विरोधी गतिविधि गर्नेलाई कारबाही हुने बताए । गृहमन्त्रालय समेत आफै हेरेका प्रधानमन्त्री देउवाले निर्वाचनको उचित सुरक्षा व्यवस्थापन गर्न नेपाली सेना परिचालन गर्ने निर्णय भइसकेको जानकारी दिएका थिए ।


 
एक्सन २–राज्यमन्त्रीको घरमा बम विस्फोट
सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा सोमवार बम विस्फोट भयो । राति ११ बजे भएको विस्फोटनबाट कुनै मानवीय क्षति भएको छैन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवारसमेत रहुनभएकी राज्यमन्त्री खड्का घरमै रहेको समयमा एक्कासि ठूलो आवाजसहित बम विस्फोट भएको थियो । मध्यरातमा एक्कासि ठूलो आवाजसहित बम विस्फोट भएपछि बजारवासी त्रस्त थिए । विस्फोटनलगत्तै प्रहरीले घटनास्थललाई घेराउ गरेर राखेको छ । बम विस्फोटनबाट घरअघि आँगनमा रहेको पर्खालमा सामान्य क्षति पुगेको छ ।
 
नतिजा–२ बम निष्क्रिय
नेपाली सेनाले दक्षिण रसुवाको उत्तरगया गाउँपालिका वडा नं ५ लहरे चौतारा फेला परेको सुतली बमलाई मंगलवार निष्कृय बनायो । चौतारामा शंकास्पद बस्तु देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि सेनाले बमलाई निष्कृय बनाएको थियो ।


 
नतिजा–३ बम पड्काउने पक्राउ
नुवाकोटका प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेस उम्मेदवार डा रामशरण महत र प्रदेश नंं २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोटन गराउने मध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनामा संलग्न भएको अभियोगमा दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटारका अनन्त धिताललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरेन्द्र बस्यालले जानकारी दिए । धिताल नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का जिल्ला सदस्य भएको र उनीमाथि गएको भदौ ३० गते दुप्चेश्वर गाउँपालिका–१ स्थित इन्द्रेणी प्राविका शिक्षक रामकृष्ण श्रेष्ठलाई मोसो दलेर दुव्र्यबहार गरेको अभियोग समेत प्रहरीले लगाएको छ ।
 
नतिजा–४ विस्फोटक पदार्थसहित चार जना पक्राउ
चितवनमा प्रहरीले विस्फोटक पदार्थसहित चार जनालाई मंगलवार पक्राउ गरेको छ । उनीहरुको साथबाट पाँच किलो विस्फोटक पदार्थ जिलेटिन र पड्काउन प्रयोग हुने विद्युतीय तार बरामद भएको छ ।
 
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले शान्तिपूर्ण र उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भई राजनीतिक दल र उम्मेदवार प्रचारप्रसारमा लागेको बेला एकाएक रुपमा देखिएको सुरक्षा चुनौतीको प्रश्नले सबैलाई गम्भीर तुल्याएको बताएका छन् । आमनिर्वाचन पर्यवेक्षण समिति नेपाल(नियोक)द्वारा निर्वाचन पर्यवेक्षणमा खटिने राष्ट्रिय पर्यवेक्षकका लागि  आयोजित प्रशिक्षणको उद्घाटन गर्दै उनले भनेका थिए, ‘सुरक्षामा चुनौती खडा गर्ने यस्तो घटना किन र केका लागि भइरहेको छ, यसले हामीलाई अनुत्तरित प्रश्न उब्जाएको छ ।’
 
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको यो चिन्ता हल हुने जस्तो देखिन्न । किनभने माथिका यी घटनाक्रमले दिने संकेत हो, चुनाव जति–जति नजिक जान्छ, तनाव अरु बढ्न सक्छ । राज्य जसरी विप्लव नेतृत्वको नेकपाप्रति आक्रमक बन्दै गएको छ, त्यसैगरी सो पार्टीले आफ्नो ‘एक्सन’ पनि बढाउँदै लगेको छ । यद्यपी चुनाव विरोधी सवै गतिविधिमा उसले जिम्मेवारी चाहिँ लिएको छैन ।
 
उम्मेदवार र चुनावी प्रचारका कार्यक्रममात्र नेकपाको निशानामा छैनन्, बरु निर्वाचन आयोगतिर पनि निशाना साधिएको छ । जस्तो कि, मंसिर ३ मा धादिङमा जिल्ला निर्वाचन कार्यालय परिसरमा अज्ञात समूहले राखेको सकेट बम फेला परेको थियो । कार्यालय अगाडि प्रहरीको निगरानी भइरहने स्थानमा सकेट बम फेला परेको थियो । कार्यालयमै बम भेटिएपछि त्यहाँको कामसमेत प्रभावित भएको थियो । यो घटनाले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवमाथि थप चिन्ता बढाएको हुनुपर्छ ।
 
राज्य र नेकपा चुनाव गराउने र विथोल्ने आ–आफ्ना कसरतमा लागेका छन्, यसले चुनावी मिति नजिकिदै जाँदा अरु तनाव बढ्न सक्छ । नेकपाले राज्यले दमन गरेको भन्दै त्यसको प्रतिवाद गर्ने बताईरहेको छ । उता राज्य निर्वाचन विरोधी गतिविधि रोक्न सवै उपाय अबलम्वन गर्न चाहन्छ ।
 
विप्लवले यस अघि नै चेतावनी दिएका छन कि, उनको पार्टी राज्यसँग मूठभेडका लागि तयार छ । अहिलेको संसदीय व्यवस्था विरुद्ध सवैखालका संघर्षका लागि तयार छ । उनको यो रणनीतिक भनाई, अहिलेको चुनावबाट ‘एक्सन’ मा आएको जस्तो देखिन्छ । नेताहरु प्रायः अर्धभूमिगत भएका छन् । घटनाको जिम्मा केही लिएका छैनन् ।
 
जहाँ बम पड्काएका छन, रिमोर्टमार्फत पड्काइएको छ । यो सुरक्षा निकायका लागि चिन्ताको विषय बनेको छ । चुनावको मुखमा नेपाल बन्दको कार्यक्रम राखेर यो पार्टीले तनाव नजिकाउन खोजेको छ । सो पार्टीका एक केन्द्रीय सदस्य भन्छन्, ‘हामी के गर्छौँ, राज्यले लिने नीतिमा भर पर्छ । अहिलेसम्म जसरी हाम्रा नेता–कार्यकर्ता पक्राउ गरिएको छ । यसले राज्य तनाव चाहन्छ भन्ने संकेत दिएको छ । हामी यसका लागि तयार नै छौँ ।’
 
गृह मन्त्रालयले आगामी निर्वाचनका लागि दुई लाख ६७ हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । जसअनुसार, नेपाल प्रहरी ६० हजार, नेपाली सेना ६४ हजार, सशस्त्र प्रहरी बल ३० हजार, राष्ट्रिय अनुसन्धान विभागका एक हजार ५०० र म्यादी प्रहरी ९८ हजार परिचालन भएका छन् । तर, घटना रोकिएका छैनन् । ठाँउ ठाँउमा नेकपाका कार्यकर्ता स्थानीय प्रशासनले पक्राउ गरेको छ ।
 
सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई सुरक्षित र भयरहित बनाउने प्रयास गरेको दावी गरिरहेका बेला हिंसाका घटना बढेका छन् । यसले सुरक्षा निकायमाथि दवाव बढेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन ‘खारेज’ गर्ने भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विरोध अभियान शुरु गरेको छ ।
 
अहिलेसम्मका घटना
 
मंसिर ५– भरतपुर महानगरपालिका वडा नं २ स्थित वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेको घर पछाडि अज्ञात समूहले राखेको बम नेपाली सेनाको टोलीले आज बिहान निष्क्रिय पार्यो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार दूधको क्यानमा ग्रिनेट राखेर बनाइएको सानो बम सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको थियो । बिहान सर्वसाधारणले बम देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
 
मंसिर ४ – सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा बम विस्फोट भयो । राति ११ बजे भएको विस्फोटनबाट कुनै मानवीय क्षति भएको छैन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवारसमेत रहुनभएकी राज्यमन्त्री खड्का घरमै रहेको समयमा एक्कासि ठूलो आवाजसहित बम विस्फोट भएको थियो । मध्यरातमा एक्कासि ठूलो आवाजसहित बम विस्फोट भएपछि बजारवासी त्रस्त थिए । विस्फोटनलगत्तै प्रहरीले घटनास्थललाई घेराउ गरेर राखेको छ । बम विस्फोटनबाट घरअघि आँगनमा रहेको पर्खालमा सामान्य क्षति पुगेको छ ।
 
मंसिर ४–
रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर बजारभन्दा पूर्वपट्टि बाटो छेउमा भेटिएको बेवारिसे बमलाई नेपाली सेनाको एक टोलीले निष्क्रिय बनायो । गौर पुरेनावास्थित इन्द्रबक्स गणबाट आज बिहान गएको सेनाको टोलीले ४ घन्टा बढी समय लगाएर बम निष्क्रिय बनाएको थियो । जिल्लाको उत्तरीभेग चन्द्रनिगाहपुरमा बम विष्फोटको घटना सेलाउँदै नपाउँदै गुजरा नगरपालिकामा आज दोस्रो बम बेवारिसे फेला परेको थियो ।
 
मंसिर ४ नेपाली सेनाले दक्षिण रसुवाको उत्तरगया गाउँपालिका वडा नं ५ लहरे चौतारा फेला परेको सुतली बमलाई निष्कृय बनायो ।

चौतारामा शंकास्पद बस्तु देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि सेनाले बमलाई निष्कृय बनाएको थियो ।

मंसिर २ गते– रौतहटको चन्द्रपुर गाउँपालिकाको राधाकृष्ण मन्दिर छेउमा बाम गठबन्धनको वडा नम्बर ५ को भेलालाई लक्षित गरी अज्ञात समूहले बम विस्फोट आमा र छोरा गम्भिर घाइते भए । प्रहरीका अनुसार सात वर्षीय जैविक राई र ३१ वर्षीय सरिता राई गंभिर घाइते र अन्य ६ जना घाइते भए । 

मंसिर २ गते– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु १० नेपाल डाँडामा प्रेसर कुकुर वम प्रहार । वरिष्ठ नेता पौडेल गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जाँदै थिए । गाडिमा सामान्य क्षति ।  मंसिर २ गते– ओखलढुङ्गामा बाम गठबन्धन र नेपाली कांग्रेसको चुनावीसभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी बम विस्फोट । ओखलढुंगाको सुनकोशी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएपनि मानवीय क्षति भएको छैन् ।  

मंसिर १ गते– नुवाकोट प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेसका उम्मेदवार डा रामशरण महत र प्रदेश नं २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोट गराइयो । विस्फोटनबाट पाँचजना काँग्रेस कार्यकर्ता घाइते भएपनि उम्मेदवार महतद्वय भने सकुशल छन् ।
 
चुनावी प्रचार अभियानका क्रममा मतदाताको घरदैलो कार्यक्रम भइरहेका बेलामा ककनी गाउँपालिका वडा नं ५ काउलेथानामा बिहान १० बजे प्रेसरकुकुर बम विस्फोट गराइएको थियो । बम विस्फोटनबाट काँग्रेसका कार्यकर्ताहरू उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सवीन लामा, रमेश राईलगायत घाइते भए ।

उम्मेदवार महतद्वय चढेको बा१४च ७०४१ नंं को गाडीलाई लक्षित गरी प्रेसरकुकुर बम विस्फोट गराए पनि उक्त गाडी अघि बढिसकेकाले कार्यकर्ता चढेको बा १६ च ६६५ नं गाडीमा बम लागेको थियो ।
 
मंसिर १ गते– चुनावी अभियानका क्रममा रोल्पामा माओवादीका शीर्ष नेताहरुलाई लक्षित गरेर रेड बुल बम पड्काइयो । सुलिचौर हुँदै लिवाङ आउने क्रममा कृष्णबहादुर महरा, बर्षमान पुन ९अनन्त०, पूर्व सभामुख ओनसरी घर्ति र कूलप्रसाद केसीलाई लक्षित गरेर भदौरे भन्ने स्थानमा शुक्रबार दिउँसो बम विस्फोट गराइएको थियो । नेताहरुको सुरक्षामा रहेका सशस्त्र प्रहरीले जवाफी फयार गरेका थिए । करिब तीन राउण्ड गोली चलेको थियो । आक्रमणकारीले बाटोमाथिको जंगलबाट बम खसालेका थिए । तर, बम गाडीमा नलागेर बीच बाटोमा पड्किएको थियो ।
 
मंसिर १ गते–
रामेछापका विभिन्न स्थानमा नक्कली बम फेला पर्यो । रामेछापको निर्वाचन क्षेत्र नं दुई अन्तर्गत गाल्पामा ४, दोरम्बामा २ र राकाथुममा २ ओटा त्यस्ता शंकास्पद बस्तु फेला परेको थियो ।  प्रहरीका अनुसार बम जस्तो बनाएर ढुङ्गा पोको पारेर राखिएको अवस्थामा फेला परेको थियो । निर्वाचन कार्यक्रम विथोल्ने उद्देश्यले कसैले बमजस्तो बनाएर लूगामा पोको पारेर ढुङगा राखेको जिल्ला प्रहरी कार्यलय रामेछापका डिएसपी कुमुद ढुङगेलले जानकारी दिए । बम राखिएको आशंकामा स्थानीय तथा पार्टीका कार्यकर्ता त्रसित बनेका थिए ।
 
कार्तिक ३० गते –
गठबन्धनबाट गोरखा–२ का उम्मेदवार तथा नेकपा ९माओवादी केन्द्र०का नेता नारायणकाजी श्रेष्ठको प्रचार टोलीलाई लक्षित गरी कुकर बम विस्फोट भएको छ । गोरखा नगरपालिका–११ को सिर्दिखोला पुल नजिकै सडक छेउमा बोराभित्र राखिएको बम आज अपराह्न विस्फोट भएको थियो । उम्मेदवार श्रेष्ठको टोलीमा प्रचारका लागि प्रयोग गरिएको एमाले नेता विकलकुमार श्रेष्ठ चढ्ने बा २ च ९४६३ नम्बरको गाडी नजिकै बम विस्फोट भएको थियो ।  
 
कार्तिक २८ गते–  म्याग्दीको बेनी नगरपालिका १ अर्जममा मंगलबार कांग्रेसको प्रचार टोलीलाई लक्षित गरी विद्युतीय धराप विस्फोट गराइएको छ । अर्जम क्षेत्रमा घरदैलोमा जान लागेका कांग्रेस प्रतिनिधिसभा सदस्य उम्मेदवार खम्बिर गर्बुजाको टोलीलाई लक्ष्य गरी विस्फोट गराइएको हो ।


कार्तिक २८ गते–मंगलबार भोजपुर ९ख० प्रदेश सभाका एमाले उम्मेदवार तथा पूर्वमन्त्री शेरधन राईलाई लक्षित गरी बम आक्रमण भएको छ । चुनावी सभामा जाने क्रममा आक्रमण भएको भयो । राईका सुरक्षागार्ड असइ डिल्ली देवकोटाको बायाँ हातमा गम्भीर चोट लागेको थियो ।
 
कार्तिक २८ गते–एमालेबाट संखुवासभामा प्रतिनिधिसभाका उम्मेदवार राजेन्द्र गौतम चढेको गाडीलाई लक्षित गरी धुपुको डकेदेउरालीमा विद्युतीय धराप विस्फोट गरियो । गाडीमा क्षति नपुगेको र उम्मेदवार गौतम सकुशल रहे ।
 
कार्तिक २६ गते –
रोल्पाको बाघमारातर्फ जाने क्रममा माओवादी नेता वर्षमान पुन अनन्तमाथि पुनः आक्रमण भयो । सो टोली हिँडेको सडकमा माथि भीरबाट ढुंगा लडाएर फायरिङ गरिएको थियो । सुरक्षाकर्मीले जवाफी फायरिङ गर्दा झडप भए पनि गम्भीर घाइते कोही भएनन् ।
 
कार्तिक २५ गते –माओवादी नेता तथा रोल्पाका प्रतिनिधिसभा उम्मेदवार वर्षमान पुन अनन्तको टोलीलाई लक्षित गरी नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले एम्बुस विस्फोट गराए । घर्तीगाउँ र ओटको बीचमा पर्ने भिटाबाङमा एम्बुस विस्फोटबाट दुईवटा गाडीमा सामान्य क्षति भएको छ । पुनसहित गाडीमा माओवादीकी समानुपातिक उम्मेदवार जयपुरी घर्ती थिइन् भने अर्को गाडीमा एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य गोकुल घर्ती र एमालेका प्रदेश उम्मेदवार थिए ।
 
कार्तिक २४ गते–
माओवादी नेता तथा पश्चिम रुकुमका प्रतिनिधि सदस्यका उम्मेदवार जनार्दन शर्मा प्रभाकर चढेको गाडीमा अज्ञात व्यक्तिले बम प्रहार गरे । चौरजहारी नगरपालिका–८ गोइरीमा उनको गाडीमा दुईवटा बम हानिएको थियो । एउटा बम पड्किए पनि गाडीमा भने क्षति भएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप